Skip to content

दसैँको शैली फेरियो: रौनक उस्तै


समाजका बूढापाकाहरू अहिले पनि दसैँको उखान भन्दैछन् –‘झोला बोक्यो बसैँ, कुखुरो काट्यो दसैँ ।’ तर नेपाली समाज अहिले यो उखानले भनेजस्तो ठ्याक्कै छैन। हो, विगत् केही दसकदेखि नेपाली समाजको सामाजिक अवस्थामा धेरै परिवर्तन आइसकेको छ। शासनका शैलीमात्र फेरिएनन्। हरेक पर्वलाई मनाउने रौनकता पनि बद्लिएको छ। यो कुरालाई नेपाली समाजमा आएको बद्लावले पनि देखाइसकेको छ।

नेपालमा अहिले दसैँको मौकामा करिब ४ खर्ब बराबरले अर्थतन्त्र चलायमान हुन्छ। गतिशील यो अर्थतन्त्रलाई अरु कुनै पनि नेपालीका पर्वहरूले यतिको प्रभाव पार्न सक्दैनन्। अझ सहरबाट गाउँमा १ खर्ब रुपैयाँ पैसाको फ्लो हुने गर्छ। यो सबै रेमिट्यान्सले गर्दा भएको हो। नेपालीहरू प्रतिदिन १३ सयदेखि १८ सयसम्मका दरले विदेश गैरहेका छन्। काम र काममा खोजीमा विदेश बत्तिएकाहरू यो हिसाबले करिब ४० लाखको संख्यामा नेपाली यतिखेर विदेशमा रहेका छन्। ती सबै दसैँमा आआफ्ना घर आउन नपाए पनि विभिन्न नामका माध्यमबाट नेपालमा आफन्तका छेउ पैसा पठाउँछन्। सञ्चार माध्यममा आएर जोडिन्छन्। शरीर दूर भए पनि मन सन्निकट हुँदा छुट्टै सुखानुभूतिको संचरण हुने गर्छ।

यतिखेर नेपालको मुहार कृषिप्रधान देशबाट रेमिट्यान्स प्रधान देशमा बद्लिएको छ। नेपालीहरू नपुगेको देश र सहर अब विश्वमा कतै पनि रहेन। नेपालीका दुःखले भरिएका कथा र गीत संसारको कुनै पनि स्थानबाट नआउन छाड्दैन। भनाइ नै छ –‘बद्लियो नेपाल अनि बद्लिए नेपालीहरू ।’

‘हिजो गाउँमा वर्षभरि काम गरेर खान नपुग्ने मानिसहरू थिए। तिनीहरू मासु खान र नयाँ लुगा लगाउन दसैँ नै पर्खिन्थे। अब नेपालीहरू देशभित्र र देशबाहिर गएकाले वर्षैभरि नयाँ लुगा र माछामासु खान पुग्ने हैसियतका भएका छन्। ब्रोइलर कुखुराको बेपार गाउँगाउँमा छ्यास्छ्यास्ती छ। त्यसैले दसैँको रौनक हराएको छ ।’ च्याङ्ग्र गाविस –२, भोजपुर घर भई हाल मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा प्राध्यापनरत डिबी भुजेल बताउँछन्।

दसैँ शारदीय पर्व हो। यो सबै नेपालीहरूलाई छुने राष्ट्रिय पर्वका रूपमा मनाइने गरिन्छ। सबै धर्मावलम्बीहरूले धार्मिक एकताका रुपमा यो पर्वलाई लिने गर्दछन्। किराँतीहरूले सेतो अक्षतालाई टीकाका रूपमा ग्रहण गर्ने परम्परासँग हाम्रो परापूर्व कालको युद्ध इतिहास र गाथा जोडिएको छ। हिन्दूहरू भने रातो अक्षतालाई टीकाका रूपमा ग्रहण गर्ने गर्दछन्। मुसल्मानहरूले पनि कतातकै हिन्दूको सिको गरेर दसैँ माने पनि यो पर्वमा विरोध भने गर्ने गरिएको देखिँदैन।

नेपालका धेरैजसो भूभागमा एउटै जातिहरू पनि केहीले हिन्दू र केहीले बौद्ध धर्म मान्छन्। नेवार, मगर र गुरुङका विभिन्न थर र उपजातमा पूर्वकाले हिन्दू धर्म मान्छन् भने पश्चिमकाले बुद्ध धर्म अङ्गीकार गरेका छन्। अतः ती सबैमा रौनक एकै किसिमको पाइन्छ।

यसै सन्दर्भमा ‘मिलाप’ मासिकका सम्पादक कृष्ण भुसाल भन्छन् –‘हिजो र आजको दसैँमा फरक छ। हिजो पारम्परिक दसैँ थियो। आज सञ्चारका विविध सामग्रीबाटै दसैँलाई फरक शैलीले मनाइरहेका छन्। फरक शैली भए पनि दसैँको रौनकमा कुनै अन्तर आएको छैन ।’

‘यो परम्परालाई सुधारका नाममा केही उत्साही क्लब र संघ संस्थाहरूले राम्रा सामूहिक काम समेत गरेका छन्। पुराना सोचका केही मानिसहरू भने तासजूवा र पेय पदार्थमा पनि झुलिरहेका हुन्छन्। गाउँघरमा पिङ् हाल्नु, चौतारो बनाउनु, सामूहिक हितका लागि चिठ्ठा खोल्नु र नयाँनयाँ काम गर्नु दसैँको राम्रो पक्ष भएको देखिन्छ ।’ अवकासीय जीवन बिताइरहेका मन्थली माविका भूपू शिक्षक नारायणप्रसाद सुवेदी आफ्नो अनुभव सेयर गर्दै भन्नुहुन्छ।

हिन्दूको सबैभन्दा ठूलो चाडले नेपाली नेपालीलाई अझ बलियो गरी एकताको सूत्रमा बाँधेको छ। के धनी के गरिब सबैले आफ्नो गच्छे र औकात अनुसारले दसैंको मालश्री धूनलाई आफ्ना घरमा भित्र्याएपछि एक पक्षका पन्ध्र दिन पूरै गाउँसहर दसैँमय हुनेगर्छ। बेपारीहरूलाई नयाँ ब्राण्डका सामान बेच्न भ्याई नभ्याई हुन्छ। अरु बेला नबिकेका समान र स्टक सामानलाई बेचेर कतिले त वर्ष दिनको नाफालाई समेत ब्यालेन्समा ल्याएका हुन्छन्। नगदमा बेपार गर्दा खुसी भएकाहरूले उधारोमा दिन नमान्ने सिजन पनि दसैँ नै हो। दसैँमा उधारो हँुदैन भन्ने वचनले कतिपय नगद नारायण नहुने ग्राहकलाई एसिडिटीको समस्या पनि हुनेगर्छ।

त्यसैले दसैँ सबैका लागि उत्तिकै हर्षोल्लासले आउँछ। तीस र चालिसको दसकमा दसैँलाई आफ्नो जिम्मेवारीमा लिएर परिवारको खर्च धान्ने घरमूली तथा कर्मचारी दामोदरप्रसाद घिमिरे रमाइलो पाराले दसैँ कल्पन्छन् –‘माटाका खाडल पोलेर परालले बेरेर पकाएको केरा, ढिकीमा कुटिएका चिउरा, दसैँको घोर्ले खसीको पक्कु लगाएको मासु र ठेकीमा आमाले जमाएको ढिके दही अहिले कथा भए पनि हामीले त्यो भोगेकाले हामी हाम्रा सन्ततीलाई अझै सुनाउँदै छौं ।’ उनी अझैअघि थप्छन् –‘पहिले दसैँ जोहो गरिन्थ्यो अहिले किनिन्छ। महिना दिन देखिको रातोमाटो र कमेरो ल्याउने संस्कृति अहिले हार्ड वेयर पसलमा गएर गेरुवा माटो र चुन किन्ने शैलीमा अनुवाद भयो। खसीको मासु खानै पर्ने भन्ने पनि छैन। अनेक किसिमका रोगहरूका घर सहरीया मानिसहरू भए। युरिक एसिड, सुगर, प्रेसरका बिरामीहरू कुखुरा र माछातिर लागे पनि बलिया बाङ्गाहरू खसीलाई नै पहिलो प्राथमिकतामा राख्छन् ।’ उनी अझै भन्छन् –‘म त आफ्नो औकात अनुसारले परम्परामा पूर्ण रुपेण रमाउँदछु।

‘दसैँमा रिनपान गरेर मासु नै खानु पर्ने भन्ने पनि छैन। सब्जीमय दसैँ पनि मनाउन सकिन्छ। जसले स्वास्थ्य र अर्थ दुवैका लागि राम्रो काम गर्छ ।’ यो भनाइसँग मन्थलीकै स्थानीय शिक्षक रामकुमार सुवेदी र मन्थली क्याम्पस कै सहायक प्राध्यापक भरतकुमार श्रेष्ठ पनि सहमति जनाउँछन्। उनी अझैअघि भन्छन् –‘दसैँमा खसीबोका र हाँस कुखुराको बलीभन्दा आफूभित्रको दम्भ, आसुरी वृत्ति र अहंकारको बली दिन सक्नुपर्छ। संसारको कुनै पनि धर्मले पनि प्राणी हिंसा गर्नु भन्दैन ।’

दसैँमा आउन नसक्नेले डिजिटल दसैँ मनाएका अनुभव पनि धेरै छन्। जेजसरी भए पनि दसैँको रौनक घटेको छैन। बरू अझ बढेको छ ।’ मन्थली माविमा कक्षा १२ मा समाजशास्त्र अध्यापन गर्ने मन्थलीकै टंकराज सुवेदी भन्छन्।

हिजो बाउ बराजुले मानिल्याएको दसैँलाई सर्लक्कै हामी हाम्रा सन्तती सामु हस्तान्तरण गर्न नसकौंला तर दसैँको चार्ममा रत्तिभर कमि आएको छैन। स्कुल, क्याम्पस र अड्डा अदालतहरू अझै पनि लामो विदा दिइने कारणले कर्मचारीहरू विदामा घरै जाने चलन छ। सञ्चारका साधनले ल्याउने अनेक उपहारका कार्यक्रम र बम्पर प्रोग्रामले दसैँलाई झनै झिलीमिली बनाएको छ। वर्षौवर्ष भेट नभएका दौंतरीको मिलन गराइदिने दसैँ मित्र मिलनको पार्विक महोत्सव पनि हो।

केटाकेटीहरू र बूढापाकाहरूलाई यो चाडको रौनकले उस्तै गरी छुन्छ जस्तो गरी हिजो विगत्मा छुन्थ्यो। ईष्ट देवीदेवताको पूजा, साथीभाइसँगको पुनर्मिलन र साबगास भएसम्म खाने पिउने र मोज गर्ने भन्ने संस्कारले कति नेपालीहरू हरेक दसैँमा आर्थिक रुपमा खस्कँदै पनि गएका छन्। यी केही अपवादलाई छोडेर बाँकी नेपालीलाई दसैँले मानसिक रुपमा भए पनि केही राहत दिएको छ। यो पर्वले जातीय र सामाजिक एकताको डोरीलाई अझ मजबुत पारेको छ। यही नै हामी नेपालीलाई गर्वको सन्दर्भ भएको छ।

गत २०७२ सालको दसैँ नाकाबन्दीमय थियो। अहिले २०७३ को दसैँमा त्यो छैन। गत वर्ष सकसमा नेपालीले दसैँ माने। टीका थापे। पिङ्मा आफूलाई मच्चाए तर अहिले परिस्थिति फेरिएको छ। समयको सुई घुमेर ठिक एक वर्षको भएकाले अब नेपाली त्यो २०७२ को कालो दसैँलाई सम्झनेवाला पनि छैनन्। विगत् इतिहास भैसक्यो अब वर्तमान हुँदैन।

शास्त्रीय भनाइलाई मनन गर्दा –दसैँ आसुरी वृत्तिमाथि दैवी शक्तिको, पापाचार माथि धर्माचारको, असत्यमाथि सत्यको र अन्याय माथि न्यायको विजयको पार्विक उत्सव हो। अहिलेको समयमा जताततै अन्याय, अधर्म र पापाचार बढे पनि हामीले घरघरमा देवी पूजनोत्सव गरेर मनाएको दसैँले असल वृत्तिको वर्षा गराउन यो शारदीय पर्व सफल हुनेमा आसा गर्न सकिन्छ।

देशभित्र र देशबाहिर मनाइने दसैँका खाद्य परिकार र तरल पेयमा फरक होला रे ! तर शैली उस्तैउस्तै हो। जहाँजहाँ नेपालीहरू गएका छन् त्यहाँ नेपालीय शैली नै विद्यमान् छ। पारिवारिक जमघट, हाँसो खुसी अनि औकात अनुसारका खर्च र सन्तोषका विषयातिरेकहरू। नेपाली कहिल्यै दुःखी हुन नजानेको जाती। यो जातिले आफूलाई मात्र होइन आफन्त र साथीभाइ बोलाएर पनि खुसीमा उत्तुङ्ग नाच्न जानेको छ। अरूलाई पनि खुसी पार्न सिकेको छ। उसै माहौलमा विजया दसमीको करौडौं नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *