Skip to content

शरीर परतन्त्र कि स्वतन्त्र ?


मेरो दृष्टिमा, यो शरीरको तलमा जीवनको कुनै उत्तर भेट्न सकिँदैन। र, हामी सबै शरीरको तलमा बाँच्दछौँ। भोक लाग्दछ, प्यास लाग्दछ, लुगा चाहियो, घर चाहियो, त्यसैले बाँचेका छौँ ? एकछिनलाई सोच्नुस्, तपाईंले सबै पाउने हो भने, भोक तृप्त होस्, प्यास तृप्त होस्, तपाईंको वासना पनि तृप्त होस्। तपाईं जे चाहनुहुन्छ, त्यो भेटियोस्, त्यसपछि तपाईं के गर्नुहुन्छ ? मर्नु सिवाय तपाईंसँग अर्को कुनै उपाय बाँकी रहँदैन। तपाईंका सारा इच्छा तृप्त हुने हो भने तपाईं के गर्नुहुन्छ ? त्यसपछि एक क्षण पनि तपाईं बाँच्न सक्नुहुन्छ ? सुत्नुहुन्छ, अनन्त निद्रामा सुत्नुहुन्छ। अहिले पनि जहिलेसम्म तपाईंका इच्छाले तपाईंलाई दौडाउँछन्, दौडनुहुन्छ। कुनै काम नहुँदा सुत्नु सिवाय तपाईंसँग केही बाँकीरहँदैन। तपाईंका सबै इच्छाहरू यदि तृप्त हुने हुन् भने मर्नु सिवाय तपाईंसँग केही बाँकी रहँदैन।

शरीरका तलमा केही अफ्ठ्यारा छन्, तिनलाई पूरा गर्न हामी बाँच्छौँ। तर, थाहा पाउनुस्, शरीर मर्छ, किनकि शरीर जन्मिएको छ। जन्मिएको मर्छ, सुरु भएको अन्त्य हुन्छ। शरीरको तलको जीवनले अनिवार्य रूपमा मृत्युसम्म पुर्याउने छ। यसमा कुनै दुई मत छैन, न हुन सक्छ। यसभन्दा माथि पनि अर्को कुनै जीवन हुन सक्छ ? शरीरको तलमा त कुनै अर्थ र मिनिङ पाउन सकिँदैन। के कुनै अर्को तलमा अर्थ र मिनिङ भेट्न सकिन्छ ? शरीर पूर्णरूपमा प्रकृतिसँग बाँधिएको यन्त्र हो। प्रकृतिले यान्त्रिकरूपमा जसरी चलाउँछ, शरीर त्यसरी नै चल्छ, त्यहाँ कुनै स्वतन्त्रता हुँदैन। त्यहाँ सबै परतन्त्र हुन्छन्। महावीरको शरीर पनि परतन्त्र छ र क्राइष्टको पनि, मेरो पनि र तपाईंको पनि। किनकि महावीर पनि मर्छन्, कृष्ण पनि र क्राइष्ट पनि। शरीरको तलमा आजसम्म कोही पनि स्वतन्त्र भएको छैन। न त शरीरको तलमा आजसम्म अमृत भेट्न सकिएको छ। कसैले पनि पाएको छैन, न कसैले पाउन सक्छ। शरीर मरणशील छ, अमृत त्यहाँ छैन। शरीर मृत्युको घर हो, जीवन त्यहाँ छैन। यदि हामी त्यसैको घेरामा घुमिरहने हो भने, हिजो राती मैले तपाईंलाई भनेजस्तै हामीले जे गरे पनि हामी मृत्युसम्म नै पुग्नेछौँ।

शरीर पूर्णतः परतन्त्र छ, त्यहाँ केही स्वतन्त्र छैन। शरीरभन्दा माथि, शरीरको नजिक हामीभित्र केही छ ? अवश्य नै मनको केही झलक भेटिन्छ। प्रत्येक व्यक्तिलाई आफ्नो मनको बोध हुन्छ। विचारको पाइला, पदचिन्ह सुनिन्छ। चिन्तन चल्छ, सोच–विचार हुन्छ, मनको केही सन्देश भेटिन्छ, मन छ। मैले भनेँ, शरीर अनिवार्य रूपले परतन्त्र छ। मन अनिवार्य रूपले परतन्त्र छैन, मन स्वतन्त्र हुन सक्दछ। तर, सामान्यतया मन पनि परतन्त्र छ। मनको तलमा पनि हाम्रो जीवनमा कुनै स्वतन्त्रता छैन। मनको यो तलमा पनि हामी परतन्त्र छौँ। शरीरको तलमा वासना र वृत्तिहरूले पक्रेका छन्, मनको तलमा विश्वासले पक्रेको छ। मनको तलमा शब्द, शास्त्र र सिद्धान्तले पक्रेका छन्। मन पनि दास हो र मन पनि परतन्त्रताकै धर्सोमा दौडिन्छ र हिँड्छ। त्यहाँ पनि कुनै स्वतन्त्रता छैन। तर मन स्वतन्त्र हुन सक्छ। शरीर र मनमा यही फरक छ। शरीर परतन्त्र छ र स्वतन्त्र हुन सक्दैन। मन पनि परतन्त्र छ तर स्वतन्त्र हुन सक्छ। त्यसभन्दा पनि पर एउटा तत्व छ, त्यसको म चर्चा गर्नेछु। त्यस दिशामा हामी काम गर्नेछौँ, त्यसलाई आत्मा भनिन्छ– अरु पनि केही भन्न सकिन्छ। आत्मा स्वतन्त्र छ र त्यो परतन्त्र हुन सक्दैन।

यी तीन तल छन् जीवनका– शरीर परतन्त्र छ, स्वतन्त्र हुन सक्दैन। मन परतन्त्र छ तर स्वतन्त्र हुन सक्छ। आत्मा स्वतन्त्र छ र परतन्त्र हुन असमर्थ हुन्छ। यो आत्मा अनिवार्य रूपमा स्वतन्त्र हुन्छ, यो जीवन हो, यो अमृत हो र त्यसको कुनै मृत्यु र जन्म हुँदैन। यसलाई बुझ्न स्वतन्त्र मन मात्र समर्थ हुन सक्छ। मन परतन्त्र हुने हो भने, यदि मन परतन्त्र हुने हो भने शरीरबाहेक अरु केही थाहा पाउन सक्दैन। परतन्त्र मनले परतन्त्र शरीर बाहिर दृष्टि पुर्याउन सक्दैन। मन परतन्त्र हुञ्जेल हामी शरीरभन्दा बढी होइनौं भन्ने थाहा पाउँछौँ। मन यदि स्वतन्त्र हुने हो भने स्वतन्त्र मनको दृष्टि स्वतन्त्र आत्मातिर पनि जान थाल्छ र त्यो जीवन हो। त्यसैले, प्रश्न न त शरीरको हो, न त प्रश्न आत्माको हो। जीवन साधनाका सारा प्रश्न मनमा केन्द्रित छन्। मन परतन्त्र हुँदा जीवन शरीरभन्दा माथि जान सक्दैन। अर्थात् जीवनले मृत्युसम्म पुर्याउँछ। मन स्वतन्त्र हुने हो भने जीवनदृष्टि भित्रतिर जान थाल्छ।

हाम्रो मन स्वतन्त्र छ कि परतन्त्र ? हाम्रो मन सामान्यतया परतन्त्र छ। हाम्रो मनले कुनै स्वतन्त्रता बुझेको छैन। हामी लुगा मात्र अरुको जस्तो लगाउँदैनौं, खाना मात्र अरु जस्तो खाँदैनौं, हामी विचार पनि अरु जस्तै गछौँ। विचारको तलमा पनि हामी अनुगामी हौं,

तर अनुगामी परतन्त्र हुन्छ। शरीरको तलमा हामी परतन्त्र छौँ, मनको तलमा पनि हामीले आफूलाई परतन्त्र बनाएका छौँ।

एकाध विचार तपाईंले कहिल्यै गर्नुभएको छ कि सबै विचार तपाईंले सापट लिनुभएको हो ? कहिल्यै एकाध विचार तपाईंभित्र जन्मेको छ कि सबै विचार तपाईंले थुपार्नुभएको हो ? धेरै विचार तपाईंका मनमा होलान्, तिनलाई थोरै नियाल्नुस् र नियाल्दा तपाईं ती अन्यत्र कतैबाट आएर तपाईंको मनमा थुप्रिएका पाउनुहुनेछ। जसरी साँझमा पक्षीहरू आई रुखमा बस्छन्, त्यसरी नै हाम्रो मनलाई विचारहरूले आफ्नो वासस्थान बनाएका हुन्छन्। ती सबै विचार अरुका हुन्, पराईका हुन्, सापटी हुन्। त्यही व्यक्ति मात्र आफूलाई मनुष्य भन्ने हक राख्दछ जसले एकाध विचारको अनुभूतिलाई स्वय म नै उत्पन्न गर्नसकेको हुन्छ। उसभित्र स्वतन्त्रता प्रारम्भ भएको हुन्छ। अन्यथा हामी परतन्त्र हुन्छौँ।

सबै मनुष्य परतन्त्र छन् र उनीहरूको परतन्त्रताको आधार के कुरामा छ भने उनीहरू कहिल्यै आफैं विचार गर्दैनन्। उनीहरूले सबै विचारलाई स्वीकार गरेका हुन्छन्, उनीहरूले हो भनेका हुन्छन्। उनीहरूले आस्था राखेका हुन्छन्, उनीहरूले श्रद्धा गरेका हुन्छन्, उनीहरूले विश्वास गरेका हुन्छन्, विचार होइन। हजारौं वर्षदेखि श्रद्धा सिकाइएको छ, चिन्तन होइन। हजारौं वर्षदेखि मानौँं, आस्था, मान्यता सिकाइएको छ, मनन् होइन। र, परिणाम के आएको छ भने मनुष्य जाति निरन्तर परतन्त्रभन्दा परतन्त्र हुँदै गएको छ। हाम्रा मन सिक्रीले बाँधिएका छन्। ती केवल दोहोर्याउँछन्, रिपिट गर्छन्, केही सोच्दैनन्। यदि मैले तपाईंलाई कुनै प्रश्न सोध्ने हो भने त्यसको तपाईं जे उत्तर दिनुहुन्छ, त्यो करिब–करिव दोहोर्याउनु, पुनरुक्ति गर्नु हुनेछ, रिपिटेशन हुनेछ, चिन्तन हुनेछैन।

यदि म तपाईंलाई सोधूँ, ईश्वर छ ? तपाईंभित्र जे उत्तर आउँछ, विचार गर्नुस्, के त्यो उत्तर तपाईंको हुन्छ ? यदि म तपाईंलाई सोधूँ, आत्मा छ ? र, तपाईंभित्र जेसुकै उत्तर आओस्–आत्मा छ भन्ने उत्तर आए पनि वा आत्मा छैन भन्ने उत्तर आए पनि। के त्यो तपाईंको विचारबाट जन्मिएको हो वा छेउछाउको हावाबाट तपाईंमा प्रविष्ट भएको हो ? तपाईंले कुनै शास्त्रबाट बुझ्नुभयो, कोही गुरुबाट सिक्नुभयो वा तपाईंले आफैं जान्नुभयो ? यदि त्यो उत्तर तपाईंले जान्नुभएको छैन भन्ने तपाईंलाई थाहा भयो भने बुझ्नुस्, तपाईंको मन परतन्त्र छ।

(‘मौलिक क्रान्ति’ पुस्तकको नेपाली अनुवादकत्रय– ध्यान बोध, ध्यान निर्दोष र प्रेम निर्वाण)

1 thought on “शरीर परतन्त्र कि स्वतन्त्र ?”

  1. आत्मा अथवा मन स्वतन्त्र होइन
    आत्मा अथवा मन स्वतन्त्र होइन र भन्या।

Leave a Reply

Your email address will not be published. Required fields are marked *