Skip to content

म ता भक्त हुन्न


पिता मान्छ कोही कुनै मान्छ माता
सश्रद्धा सबै पढ्दछन् ज्ञान गीता
छ त्यो तेजिलो स्वादिलो ज्ञानगङ्गा
म पढ्दा न पढ्दै हुँदै जान्छु चङ्गा ।।

कथा सुन्न थालें दुबै कान थापी
बडो चाख लाग्दो सुनिन्थ्यो तथापि
त्यहाँ भित्रको मर्म के सक्नु सुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

कतै स्नानका छन् कुरा लाजमर्दा
तिमीले चियायौ उठाएर पर्दा
म ता गोपिनीका कतै वस्त्र छुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

थिए यौनका धेर चर्चा प्रसङ्ग
कथा सुन्न थालें भएँ झन् झसङ्ग
म थालूँ कि मेरा दुबै कान थुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

फुटाएर हाँडी कतै खानु नौनी
कतै बक्बके छौ कतै चाहिं मौनी
पुग्यो बाँसुरीको कुनै राग सुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

उता द्रौपदीको बचाएर लाज
यता गोपिनीको डुबायौ जहाज
म तिम्रा कुराबाट कैल्यै नुहुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

कतै चोरी गर्ने छ तिम्रो स्वभाव
कतै पार्दछौ बन्धु मार्ने प्रभाव
कहाँ सक्नु यो दैवको रुप चुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

उपध्रो कतै गर्दछौ दिक्क लाग्ने
छ आदर्श तिम्रो बडो सर्म लाग्ने
म छाडें यहाँ जाल गाथा उधिन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

पिता बन्धु मार्ने कुरा छन् सशक्त
कतै चाहिं बन्छौ स्वयं पितृ भक्त
कहाँ सक्नु तिम्रो चलाखी उछिन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

अघाएँ अघाएँ पुग्यो ज्ञान गीता
र पुज्ने भएँ लौ म ता राम सीता
चुहाएर आँसु पटक्कै म रुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

नसक्तै अघाएँ भयो चाहिएन
म जे खोज्दथेंं त्यो यहाँ पाइएन
म भन्दैछु यो भन्नु नै हुन्छ हुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *