Skip to content


सिड्यो साब !
म मनमाया नेपाली
मेरो नागरिकता बनाइदिनुपर्‍यो
दुवै कान देखिने पासपोर्ट साइजको फोटो
मुचुल्का, सर्जिमिन र सिफारिस
केही पनि छैन मसँग
छैन मसँग बाबुको नागरिकता पनि
तर म यही धर्तीमा
१९ वर्षअघि जन्मिएको सत्य हो

नपत्याए सोध्नुस् सर
त्यो एकान्त भीरको फेदीलाई
ती वनपाखा र खोलानालालाई
मेरी आमा प्रसव वेदनामा छट्पटाउँदा
साक्षी थिए उनीहरू

नपत्याए सोध्नुस् सर
रगतको टाटा बोकेका
ती निर्दयी चुच्चा ढुंगाहरूलाई
जसले मेरी आमालाई लखेट्दै लखेट्दै
पुर्‍याएका थिए त्यहाँसम्म

त्यतिले पनि प्रमाण नपुगे
सोध्नुस् सर !
त्यो ढलेको उत्तिसको बूढो रूखलाई
ती बाँसका जर्खरिएका झ्याङहरूलाई
ती सुकेका वनमाराका पोथ्राहरूलाई
जसका बुट्टा समाउँदैसमाउँदै
धेरै दिन छट्पटाएकी थिइन् मेरी आमा

अँझै पत्याउनुभएन सर ?
सोध्नुस् मेरी मृत आमाको
एक जोर दूधका लाम्टालाई
रगत र आँसुको दहमा
डुबेको चिसो काखलाई
अँझै विश्वास नलागे सोध्नुस् सर
त्यो एक्लो गोठालेको आत्मालाई
बाख्राको दूध पियाउने त्यो एकलास गोठलाई

त्यसपछि सोध्नुस् सर
भाँच्चिएको गोठको चुकुललाई
र त्यो गोठालेको आँसुको थोपालाई
त्यसपछि सोध्नुहोला
सहरका अग्ला घरका झ्यालहरूलाई
आँसुले माझेका ती कचौरा र थालहरूलाई
हरेक दिन चित्कार निलेर बज्ने
डिस्कोका धुनहरूलाई
त्यसपछि सोध्नुहोला सर
बन्द कोठामा एकपछि अर्को गर्दै आउने
ती राक्षसी घोप्टे जुँगाहरूलाई

सर
यीबाहेक छैनन् मसँग
म जन्मेको प्रमाण
म यही धर्तीको एउटा अक्करे भीरमा
१९ वर्षअघि जन्मिएको सत्य हो
ठोस सत्य !

म नागरिक भएको दिन
जीवनमा पहिलो पटक
नाच्नेछु आफ्नै लागि
जीवनमा पहिलो पटक
गाउनेछु आफ्नै लागि
अनि जानेछु खोज्न
मेरी आमाको हाडखोर
र दिलाउनेछु मेरी आमाको
अनागरिक कंकाललाई
पहिलो दर्जाको नागरिकता

मेरो अस्तित्वमाथि
हजार प्रश्न गर्नु भो
अब तपाईंलाई
मात्र एउटा प्रश्न गर्छु, सिड्यो साब !
‘म नागरिक भएपछि
मेरी आमा जस्तै
के म बलात्कृत हुनुपर्ने छैन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *