Skip to content

मेरो गाउँः दसैअघि र दसैंपछि


मरो गाउँः दसैंअघि

केही दिनका लागि राजधानी गाउँ गाउँमा आएको छ
त्यसैले हाम्रा गाउँले नयाँ जीवन पाएको छ
यता आउँदा राजधानीले उताको संस्कार पनि
सर्लक्क ल्याएको छ
मानौं गाउँ गाउँमा राजधानी ब्याएको छ ।

फरक परेको छ अहिले हाम्रो गाउँ
किनभने
छेउछाउका दोकानहरुमा
खैनी गुट्खा रजनीगन्धाको बेपार मौलाएको छ
दसैंको रमाइलोले मातेर मेरो गाउँ खौलाएको छ
गाउँका झुप्राहरुमा कौडा हानेर राजधानी निकै बौलाएको छ
होस गर्नुहोला अहिले राजधानी गाउँमा आएको छ
हाम्रा गाउँमा केही दिनलाई राजधानी ब्याएको छ ।

यति मात्रै नसोचौं
गाउँभित्र अरु कुरा पनि छाएको छ
फाटेका लुगाभित्रबाट केके देखिने गरी
गाउँमा राजधानीले इज्जत चुहाएको छ
गाउँका पुराना संस्कारलाई तुहाएको छ
आर्थिक क्रान्ति पनि गाउँले पाएको छ
किनभने कान्छीको भट्टी पसल पनि धुवाएको छ
कसरी भनम र राजधानीबाट आएकी चेलीलाई
यो तिम्रो परिधान सुहाएको छ
तैपनि जेनतेन सिंहदरबार ता आएकै थियो
अहिले ता देशैभरि राजधानी नै आएको छ
गुट्खा भट्टी र साना झुपडीहरुमा पनि
अहिले मेरो गाउँले नयाँ जीवन पाएको छ
किनभने केही दिनलाई राजधानी यतै आएको छ
अहिले केही दिनलाई गाउमा राजधानी मौलाएको छ
धुमधाम मौलाएको छ ।

मेरो गाउँः दसैंपछि

केही दिनका लागि राजधानी गाउँ गाउँमा आएको थियो
त्यसैले हाम्रा गाउँले नयाँ जीवन पाएको थियो
यता आउँदा राजधानीले उताको संस्कार पनि
सर्लक्क ल्याएको थियो
मानौं गाउँ गाउँमा राजधानी ब्याएको थियो ।

निकै फरक भएको थियो हाम्रो गाउँ
किनभने
छेउछाउका दोकानहरुमा
खैनी गुट्खा रजनीगन्धाको बेपार मौलाएको थियो
दसैंको रमाइलोले मातेर मेरो गाउँ खौलाएको थियो
रोटेपिङ र लिङ्गे पिङ हराए पनि
गाउँका झुप्राहरुमा कौडा हानेर राजधानी निकै बौलाएको थियो
हाम्रा गाउँमा केही दिनलाई राजधानी आएको थियो ।

यति मात्रै कहाँ हो र
गाउँभित्र नयाँ कुरा छाएको थियो
फाटेका लुगाभित्रबाट केके देखिने गरी
गाउँमा राजधानीले इज्जत चुहाएको थियो
गाउँका पुराना संस्कारलाई तुहाएको थियो
आर्थिक क्रान्ति पनि गाउँले पाएको थियो
किनभने कान्छीको भट्टी पसल पनि धुवाएको थियो
तसडीको खाल निकै जम्जमाएको थियो ।
कसै गरी पनि भनिएन
राजधानीबाट आएकी चेलीको
पारदर्शी परिधान कहाँ सुहाएको थियो ???
जे भए पनि गाउँ मुख थुनेरै बस्यो
किनभने सिंहदरबार गाउँमा आएकै थियो
देशैभरि राजधानी ता पलाएकै थियो
गुट्खा भट्टी र साना झुपडीहरुमा पनि
राजधानी राजधानी कहलाएको थियो
मेरो गाउँले नयाँ जीवन चल्मलाएको थियो
आर्थिक कारोबारले नयाँ जीवन पाएको थियो
किनभने केही दिनलाई राजधानी ता आएको थियो
केही दिनलाई भए पनि गाउमा राजधानी मौलाएको थियो।

राजधानीबाट आएकी चेलीले
घुँडा फाटेका परिधान लगाए पनि
दसैंबाट प्राप्त आर्थिक क्रान्तिले गर्दा
गाउँले भने आफ्नो फाटेको घुँडाको सुरुवाल टालेको छ ।
अर्को सालको दसैंमा राजधानी
कहिले गाउँ पस्ने होला भनेर
बडो आतुरताका साथ
मेरो गाउँ आजैदेखि बाटो हेर्न थालेको छ
बाटो हेर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *