Skip to content


तिम्रो क्यानभासको आयातन
बढेको पक्कै हो-
जब तिम्रा कुचीले कामुक मुस्कान वाली
विश्वसुन्दरीको चित्र दुरुस्तै कोरेको थियो
तिम्रो क्यानभाषको मूल्य आकासिएको पक्कै हो
जब त्यसमा कोरिए-
नामुद नगरबधुको मोहनी मुस्कान,
चर्चित नेताको मुखाकृति,
दरबारमार्गको बुढो शिरिषको रुख
सिंहदरबार अगाडिका पृथ्वीनारायणको चोर औंला
र मार्क्स लेलिनका जुँगे तस्विर !
शहरले तिमीलाई रातारात महान् बनायो
तिम्रा सबै पेन्टिङ् हातहातै बिक्री भए
मनग्य पैसा कमायौ
सुनें, ठमेलको बिदेशी होटलमा सक्सेस पार्टी दियौ
तिम्रो सम्मानमा स्याम्पेन खोलिए
तालि बजाइए,
सुत्न लागेको सहर एकपल्ट पुनः ब्यूँझियो
तिमीलाई महान् चित्रकारको उपाधिदियो ।

तर,
ओ- महान् चित्रकार महोदय,
तिम्रो घरको एउटा कुनामा
वर्षौंदेखी थन्क्याएर
बेवास्ता साथ फालिएकी म,
तिमी मातेर फर्कँदा
तिम्रो ह्विस्किको तातो नमिठो हस्कोले
हरेक रात निसास्सिइरहेकी छु
तिम्रो उत्तेजनाको डम्पिङ् साइट भएर
हरेक पटक म आफ्नै मृत्युको उत्सव
मनाइरहेछु

मध्यरातमा केही मिनेटको उपयोग पछि
म फेरि उपयोगहीन हुन्छु अर्को मध्यरातसम्म ।
मलाई यी रातहरू
बेश्यालयका नियमित ग्राहक जस्ता लाग्छन् ।

सक्छौ भने मलाई पनि फ्रेममा सजाएर
प्रदर्शनीमा राखिदेऊ न
म आफ्नो मूल्य जान्न चाहन्छु ।

-अजित क्षेत्री
हाल: युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *