Skip to content

सन्देह गर्नु कति ठिक कत्ति बेठिक!


भीडले हजारौं किसिमका मूर्खता हजारौं वर्षसम्म मानेको छ । र, त्यो भीडमा बुद्धिमान् मान्छेहरू समेत सम्मिलित भएका छन् । र, उनीहरूमा कहिल्यै सोच आएन, किनकि सन्देह उठेन । जसको मनमा सन्देह उठ्दैन उसको मनमा विचार जन्मन सक्दैन । सन्देहभन्दा ठूलो आध्यात्मिक क्षमता अरु कुनै छैन । श्रद्धाभन्दा ठूलो पाप छैन, सन्देहभन्दा ठूलो धर्म छैन । सन्देह उठ्नुपर्छ किनकि सन्देह नउठ्ने हो भने तपाईं समाजबाट, भीडबाट मुक्त हुन सक्नुहुन्न । स्वतन्त्र हुन सक्नुहुन्न । भीडले त सन्देह गर्नु भनेर नै सम्झाउँछ, किनकि सन्देह गर्ने नष्ट हुन्छ । म तपाईंसँग निवेदन गर्छु, जसले सन्देह गरेको छ, उसैले पाएको छ र जसले विश्वास गरेको छ, ऊ विश्वास गरेरै नष्ट भएको छ । हुने प्रश्न नै………..किनकि विश्वासको अर्थ हुन्छ, म अन्धो छु, जे भनिन्छ । र, सन्देहको अर्थ हुन्छ, म अन्धो हुन राजी छुइनँ । म विचार गर्छु, आफैंले अनुभव नगरेसम्म विश्वास गर्ने छुइनँ । सन्देहमा साहस छ, विश्वासमा अल्छीपन । अल्छीपनका कारणले हामी विश्वास गरिरहेका हुन्छौं । को खोज्ने ? त्यसैले अरुले जे भन्छन्, हामी त्यसलाई स्वीकार गर्छौं ।

त्यसैले हजारौं वर्षको परम्परा भए त्यसमा बल हुन्छ । हजारौं वर्षसम्म मान्छेले गलत त सोचेनन् होला भन्ने सोचाइ आउँछ । हजारौं वर्षसम्म करोडौँं–करोड मान्छेले यसरी नै सोचेका हुन् भने ठीकै सोचेका हुन् । त, भीड सेक्सन बन्छ, कुनै कुराको सत्यताको । तर, भीड कहिल्यै कुनै कुराको सत्यताको प्रमाण हुँदैन । प्रायः त भीड मरेकाहरूको अनुगमन गरी हिँड्छ । भीडले कुनै अनुभव गर्दैन । भीडसँग अनुभव गर्ने कुनै उपाय छैन । व्यक्ति अनुभव गर्छ, समाज केही पनि अनुभव गर्दैन । समाजसँग अनुभूतिको कुनै आत्मा हुँदैन । समाज त निष्प्राण यन्त्र हो, त्यसैले समाजमा निर्भर रहेकाहरू स्वय म पनि बिस्तारै–बिस्तारै यन्त्र बन्छन् । उनीहरूको व्यक्तित्व पनि नष्ट हुन जान्छ ।

समाजबाट मुक्त नभईकन कोही धार्मिक हुन सक्दैन । यस्ता कुरा त सुनिएका होलान्, सन्यासी समाज छोडेर हिँड्छन्, घर छोडेर हिँड्छन्, परिवार छोडेर हिँड्छन् तर उनीहरू छोडेर हिँड्दैनन् । घर छोडेर हिँड्छन्, परिवार छोडेर हिँड्छन्, तर समाजलाई कुनै सन्यासीले छोड्दैन । कुनै सन्यासीले समाज छोड्दा अवश्य नै सत्य प्राप्त गर्छ । समाजलाई छोड्दैन किनकि जैन घरमा जन्मिएको कुनै व्यक्ति सन्यासी भएर पनि म जैन साधु नै हुँ भन्छ । घर उसले छोडेको छ, समाज उसले छाडेको छैन । पत्नी उसले छोड्यो तर गुरु उसले छोडेन । शरीरको तलबाट ऊ भाग्यो तर मनको तलबाट ऊ दास बन्यो । शरीरको तलबाट भाग्नुको कुनै अर्थ छैन । प्रश्न त मनको तलबाट भाग्नुमा छ । उसले केटाकेटीदेखि जानेका तरिका अहिले पनि उसका मनमै छन् । उसलाई सम्झाइएका शास्त्रहरू नै अँझै पनि ऊ दोहोर्याउँदै छ । ऊ मनको तलमा दास हो । म तपाईंलाई भन्छु, शरीरको तलबाट नभाग्नुुस्, शरीरको तलबाट कोही भाग्न सक्दैन । शरीरको तलबाट भागेको त्यो सन्यासी पनि भागेको हुँदैन । रोटी माँग्न ऊ समाजमा फर्केर आउँछ । लुगा माँग्न समाजमा फर्केर आउँछ । शरीरको तलमा समाजबाट कोही कसरी भाग्छ ? मनको तलमा मुक्त हुन सक्थ्यो, भएन । मुक्त हुनै नसक्ने तलमा भने झुटो दम्भमा फँसेको छ । शरीरको तलबाट त कोही भाग्नै सक्दैन । शरीरको तलमा त समूहमा बाँच्नुपर्छ, ठूलाभन्दा ठूला ज्ञानी पनि समूहमै बाँच्दछन् । तर मनको तलमा मुक्त हुन सकिन्थ्यो, तर भएन । त्यही नै मुक्त हुनु हो । म तपाईंलाई घर–द्वार छोडेर हिंडनुस् भन्दिनँ, त्यो पागलपन हो । तर मनको पर्खाल भत्काउनुस्, मनको घर भत्काउनुस् र मनभित्र बनेका घेरालाई तोड्नुस् । र, मनभित्र रहेका सिक्रीलाई नष्ट गर्नुस्, त्यसबाट जीवनमा स्वतन्त्रताको सुरुवात हुन्छ ।

प्हिलो तथ्य, सन्देह गर्नुस् । जे सिकाइएको छ, त्यसमा सन्देह गर्नुस् । त्यो गलत भएर होइन । यसलाई प्रष्टसँग बुझ्नुस् । महावीरलाई सन्देह गर्नुस्, बुद्धलाई सन्देह गर्नुस् । बुद्ध र महावीरले भनेका कुरा गलत भएर होइन । त्यसैले होइन । विश्वास गर्नु गलत हो । यस कुरालाई बुझ्नुस् । कुरानमा सन्देह गर्नुस्, बाइबलमा गर्नुस्, गीतालाई सन्देह गर्नुस्……..यसकारणले होइन कि त्यसमा जे लेखिएको छ, त्यो गलत छ, म यो भनिरहेको छुइनँ । म भन्दै छु, विश्वास गर्नु गलत हो । विश्वास गर्दा जे त्यसमा लेखिएको छ, जे त्यसमा भनिएको छ, त्यसलाई कहिल्यै बुझ्न पाउनुहुन्न तर सन्देह गर्दा एक दिन त्यो तथ्य तपाईंसामु उद्घाटित हुनेछ, जुन महावीर वा बुद्धसामु उद्घाटित भएको थियो ।

सन्देहले अविचारलाई तोड्छ । श्रद्धाले अविचारलाई घनिभूत पार्छ । विश्वास अविचारको समर्थक हो । सन्देहले अविचारको स्थितिलाई तोड्छ । तर विचारमा पीडा हुन्छ । विचार त एउटा तप हो, उपवास तप होइन । भोकै बस्नु कुनै ठूलो तपश्चर्या होइन, तिर्खै रहनु कुनै ठूलो तपश्चर्या होइन । सर्कसमा पनि कसैले गर्न सक्छ । तर सन्देह गर्नु धेरै ठूलो तप हो । सन्देह गर्नुको अर्थ, असुरक्षामा रहन राजी हुनु हो । सबै सहाराहरू छोड्नु हो । र, सम्झना राख्नुस्, कसैको सहारा लिएर हिँड्दा उसका खुट्टा कहिल्यै पनि हिंड्न सशक्त हुन सक्दैनन् । र, कसैले मनको तलमा विश्वास गरुञ्जेलसम्म ऊ स्वयम्को मनले सत्य खोज्ने शक्ति भेला पार्न सक्दैन । हामी असुरक्षामा पर्दा मात्र शक्ति भेला पार्छौं । हामी असुरक्षामा पर्दा मात्र शक्ति थुप्रिन्छ, जाग्छ । मैले तपाईंलाई दौडनुस् भन्दा, तपाईं दौडनुहुन्छ, असाध्यै बिस्तारै दौडनुहुन्छ । मैले सम्पूर्ण शक्ति लगाएर दौडनुस्भन्दा पनि तपाईं बिस्तारै दौडनुहुन्छ । तर तपाईंको ज्यान लिने गरी कसैले बन्दुक लिएर लखेट्दा तपाईंको खुट्टामा त्यस्तो गति आउँछ, जसको तपाईं स्वयम्ले समेत कल्पना गर्नुभएको हुन्न ।

एकपटक कस्तो भयो भने, जापानमा एउटा असाध्यै ठूलो राजाको नोकर त्यो राजाकी रानीको प्रेममा पर्यो । राजालाई थाहा भयो । एउटा साधारण नोकर, एउटा दासले उनकी रानीलाई प्रेम गर्नु, उनकी रानीको प्रेममा पर्नु, उनका लागि यो असाध्यै अशोभनीय र अपमानको कुरा थियो । यद्यपि प्रेमले थाहा पाउँदैन, को दास हो, को नोकर हो ! तर समाजमा यसको हिसाव हुन्छ । प्रेमलाई केही पनि थाहा हुँदैन, को राजा हो, को नोकर हो । प्रेमले त, जोसँग प्रेम हुन्छ उसैलाई राजा बनाउँछ । र, जोसँग प्रेम हुँदैन, त्यो नगण्य हुन्छ । तर राजाले सोच्यो, यो कस्तो गडबड कुरा भयो ! यो बडो अपमानको कुरा भयो । यो खबर फैलिने हो भने धेरै नराम्रो हुन्छ । उसले नोकरलाई बोलायो । त्यो नोकर साँच्चै नै राजाको प्यारो थियो । त्यो राजा पनि उसलाई प्रेम गर्थ्यो । उसले नोकरलाई भन्यो– उचित त के हुन्छ भने म तरबारले तेरो टाउको छप्क्याऊँ । मैले पनि तँलाईं माया गरेको थिएँ तर तँ अद्भूत व्यक्तिरहिछस्, त्यसैले म तँलाईं एउटा मौका दिन्छु । तरबार उठाएर म अघि आउनू । हामी दुवैजना तरबार लडौं र जो मर्ला, त्यो मर्ला, जो बाँच्ला त्यो मालिक होला ।

त्यो दयाको कुरा थियो । राजाले नोकरसँग लड्नु र उसलाई पनि मौका दिनु अनिवार्य भयो । उसलाई ऊ त्यसै पनि मार्न सक्थ्यो । नोकरले भन्यो– तपाईंको भनाइ त ठीकै हो तर कुरो त जस्ताको त्यस्तै छ । किनकि मैले कहिल्यै तरबार चलाएको छुइनँ, म तरबार चलाएर कतिञ्जेल तपाईंसामु टिकूँला ? तपाईं त असाध्यै कुशल हुनुहुन्छ । टाढा–टाढासम्म तपाईंको नाम चलेको छ, तपाईंजस्तो तरबार चलाउने अर्को कोही छैन । त, तपाईं भन्नुहुन्छ, तँमाथि दया गर्दै छु तर यो कुनै दया भएन । किनकि यसको अर्थ, यसको अन्त्य कस्तो हुन्छ भन्ने मलाई थाहा छ । मैले त कहिल्यै तरबार पक्रेको छैन, मलाई त तरबार कसरी पक्रने भन्ने पनि थाहा छैन । म तपाईंलाई कसरी जितूँला ? फेरि पनि राजाले भन्यो, आज्ञा दियो, त्यसैले उसले तरबार उठाउनै पर्यो । सारा दरवारका मान्छेहरू उभिएर हेर्न थाले । राजाले आफ्नो जीवनमा धेरै युद्ध जितेको थियो । टाढा–टाढासम्म उसको नाम चलेको थियो । ऊजस्तो तरबार चलाउने कुशल व्यक्ति अरु कोही थिएनन् । तर मानिसहरू छक्क परे, राजा आफू पनि छक्क पर्यो । नोकरकासामु तरबार चलाउनु उसका लागि अफ्ठ्यारो हुन गयो । ऊ तरबार चलाउन जान्ने पनि थिएन, राजा प्रतिपल पछि हट्न थाल्यो । नोकर यसरी प्रहार गरिरहेको थियो कि राजा डराउन थाल्यो । नोकरको प्रहार जथाभावी थियो । त्यो आक्रमण पूरै गडवड थियो, पद्धति बाहिरको थियो । तर नोकरकासामु एक मात्र विकल्प थियो– मर्नु या मार्नु । उसका सारा शक्ति सङ्ग्रहित भएका थिए, उसका सबै प्राण जागेका थिए । उसकासामु अर्को कुनै विकल्प थिएन । ऊ मर्ने थियो, यो निश्चित थियो । त्यसैले अब ऊ मार्नका लागि जे पनि गरिरहेको थियो । र अन्ततः राजाले चिच्याउनु पर्यो, पर्खी । र, राजाले भन्यो, म चकित छु । यस्तो मान्छे कतै देखेको थिइनँ । मैले धेरै युद्ध लडेको छु, यो के भयो ? एउटा साधारण नोकर पनि शक्तिवान् कसरी भयो ? उसको वुढो मन्त्रीले भन्यो, म पहिलेदेखि सोचिरहेको थिएँ, सायद तपाईं झन्झटमा पर्नुहुनेछ । किनकि तपाईं केवल कुशल हुनुहुन्छ तर तपाईंकासामु मृत्युको प्रश्न छैन । ऊ कुशल छैन तर उसकासामु मृत्युको प्रश्न छ । तपाईंको सम्पूर्ण शक्ति जाग्न सक्दैन तर उसको सम्पूर्ण शक्ति जागिसकेको छ । उसलाई जित्नु असम्भव छ ।

ओशो

(‘मौलिक क्रान्ति’ पुस्तकको नेपाली अनुवादकत्रय– ध्यान बोध, ध्यान निर्दोष र प्रेम निर्वाण)

Leave a Reply

Your email address will not be published. Required fields are marked *