Skip to content

आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा


पाइला गर्हौँ छन् आज उसका, अफिसबाट सिधै घरतर्फ पनि गएनन् । ऊ पुग्छ एउटा एकान्त टाकुरामा । यहाँ धेरै मानिसहरू आउँछन । तर यहाँ एकान्तपना को महशुश हुन्छ र यसैको लागि मानिसहरू यहाँसम्म आउँछन । त्यही भीडमा एकान्तपना खोज्दै आज उमेश आइपुगेको छ । मनभित्र कुरा खेलाउँदै ऊ यताउती नजर फ्याँक्छ, जालमा पर्छ एउटा भँगेरा ।

” के यो भँगेरालाई मलाई परेको विपत थाहा पाएको छ ?”

भँगेराको आफूलाई हेर्ने दृष्‍टिकोण बुझ्न ऊ भँगेराको आँखामा नियाल्छ ।

“अँह, थाहा पाएको छैन ।” नतिजाको भावमा ऊ फुस्फुसाउँछ ।

” एकको मनको आवाज अर्कोले सुन्न सक्ने भए पो ! यो चिन्ता पर्ने नै थिएन नि ।”

” छि, हुँदैन ।” आफ्नै मनको आवाज सुनेर ऊ तर्सन्छ । अरुले सुने … ?

“तपाईंलाई लाज लाग्दैन, आफ्नी बहिनी समान युवतीलाई एस्तो दृष्‍टिकोणले हेर्न ?” एक्कासि उसको कानमा गुन्जन पुग्छ सरिताले उसलाई अफिसमा गरेका गालीहरू ।

थाकेझैँ गरी ऊ आफ्नो निधार घुँडामा टेकाउँछ । “सरीता” नचाहे पनि उसको मुखबाट आवाज फुस्कन्छ । ऊ आफैलाई थाहा छैन, उसले कुनै दिन सरीतालाई नराम्रो दृष्‍टिले हेरेको पनि छ कि छैन । सोच्ने कुरा अर्कै हो, त्यो त आफैभित्र त हो नि ।

उसलाई दया जाग्छ सरीतामाथि, उसको पछाडि पछाडि आक्रोशमा मुठ्ठी बटार्नेहरुमाथि, उनीहरुको कमजोर मानसिकतामाथि ।

“पदमा भएँ भनेर जे पनि गर्न पाइन्छ ?” एउटा वाक्य ऊ सम्झन पुग्छ त्यसैबेलाको । कैयौँ घ्रिणित गालीहरू अगिपछि घुमिरहेका थिए ।

केही सोचमा डुबेको छ ऊ आज । उसलाई मानव जिन्दगी तुच्छ लाग्न थालेको छ । शायद आफैलाई घ्रीणा गर्न थालेको छ । ती मानिस हरुलाई सम्झन्छ जो उसलाई भगवान सरह ठान्छन, अनि ती मानिसहरुलाई सम्झन्छ जसलाई ऊ भगवान सरह ठान्दछ । त्यसपछि टाउको हल्लाएर मुस्काउँछ । हरेक कृयाकलाप जो मानिसहरू गर्छन्, त्यो उसलाई कालोपटिमा सेतो चकले लेखेको जस्तो लाग्छ । जसले धेरै लेख्छ, ऊ धेरै सेतो देखिन्छ । उसलाई लाग्दैन, कोफी अन्नानलाई उनको शिक्षकले सेतो बोर्डमा एउटा सानो कालो धब्बा बनाएर जीवनको जुन व्याख्या गरे, त्यो शाही थियो । अहिले उसलाई लाग्छ, गलतै भएर के भो त ? मानिसलाई त लेख्नु छ, धेरैभन्दा धेरै, अरुभन्दा छिटो ।

ऊ घर फर्कने क्रममा बाटोमा एउटा गाडीले हिलो छ्यापिदिन्छ । उसको लुगामा नराम्ररी हिलो लाग्दछ । केही सोच्न नपाउदै उसले देख्यो, बाटोको अर्कोपट्टिरहेका दुई पदयात्राीका लुगा पनि त्यस्ताइ भएछन । नजिकै एउटा धार्मिक पसल थियो, ती दुई यात्रि त्यस पसलबाट “हरे राम हरे कृष्ण” लेखिएको ओढ्ने लिएर आउछन, दाग छोप्न । उनीहरू कुनै “धर्मगुरु” वा कुनै “स्वामी” जस्ता देखिएका थिए । उमेशले यसलाई छोप्न आवश्यक ठानेन, त्यसै हिँडिरह्यो । घर पुगेपछि उसको हाल देखेर उसकी स्वास्नि गाली गर्न थाल्छे –

“के यसरी आउनुभएको ? सफा गरेर वा केही ओढेर आउनुपर्दैन ? के लाज नभएको मान्छे होला ?”

“दाग लाग्नु लागिहाल्यो, अब छोपेर दुनियाँंसँग के लुकाउनु ? दाग त छ आफैँसँग ।”

“छोप्नु त पर्छ, दुनियाँँको अगाडि के हाँसोको पात्र बन्ने त ?”

अचानक ऊ केही सम्झन्छ । गर्भिणी स्वास्नीले ओढिराखेको पछ्यौरा तानेर फालिदिन्छ । के ऊ हेर्न चाहन्थ्यो कि उसकी स्वास्नीले पनि कुनै दाग लुकाएकी छे कि छैन भनेर ? या अरु कुनै कारण थियो ? ऊ केही सोचेर एकोहोरो टकले उसकी स्वास्नीको आँखामा हेर्दछ । स्वास्नी केही सशंकित हुन्छे, केही त्रासले फुल्छे, केही अचम्मित हुन्छे ।

“यो को हो ?” उमेश मनमनै सोच्न थाल्छ । “के यो मेरै स्वास्नी हो ? यो किन मलाई यस्तो भन्दैछे ? म कसरी हाँसोको पत्र भएँ ?”

धेरै अगाडिको एउटा घटना उसको दिमागमा मडारिन्छ । गोदावरीको एउटा कुनै एकान्त स्थलमा ऊ र उसकी कलेजकी सहपाठी रीना आलिङगानमा बाँधिएर कतै हराउदै थिए ।

“उमेश, तिमी मसँग विवाह गर्छौ, हैन ?”

उसलाई सोच्ने फुर्सद थिएन, वा ऊ सोच्न सक्ने अवस्थामा थिएन । तर उसले यत्ति सोच्न सक्यो कि उसले स्वीकारत्मक जवाफ दिनुपर्नेछ, शायद दियो पनि होला ।

लामो समयपछि उनीहरू घर फर्कन लाग्छन ।

“उमेश, यदि घरमा मेरो विवाह अर्कैसँग गर्ने कुरा चले तिमी के गर्छौ ?”

“म तिमीलाई भगाउँछु नि ?”

“छि, नभाग्ने । तिमी मेरो हात माग्न घरमै आऊ न है । भागेर दुनियाँलाई किन हसाउने ?”

ऊ अचानक यथार्थमा आइपुग्छ । केही शंका लागेर वा केही डर लागेर उसकी स्वास्नी अर्कै कोठामा पुगिछे, उसको हातमा फोनको रिसीभर थियो । उमेश हुत्तिदै त्यस कोठामा जान्छ, हातबाट रिसीभर खोसेर फलिदिन्छ ।

“कसलाई फोन गर्न लागेकी हँ ?”

उसकी श्रीमती पूर्णरुपमा त्रसित छे ।

“यो पेटमा रहेको बच्चा कसको हो ?”

स्वास्नी दंग पर्छे ।

“जवाफ दे” ऊ कराउँछ ।

“मेरो” स्वास्नी आत्तिदै हतारमा जवाफ दिन्छे ।

त्यसपछि ऊ खिसिको भावमा हाँस्छ । उसलाई लाग्छ, उसलाई यो जवाफ पहिलै थाहा थियो । के ऊ “तपाईंको” भन्ने जवाफ सुन्न चाहन्थ्यो ? वा ऊ यत्तिकैमा सन्तुष्ट भयो ? ऊ फर्केर पहिल्यैको कोठामा आउँछ र ओछ्यानमा पल्टिन्छ । उसको खुट्टामा अँझैसम्मा जुत्ता छँदैछन ।

*** *** *** **** *** *** ***

उसले काम छोडिसक्यो । सरसफाईमा त्यति ध्यान दिदैन । ओछ्यानमै बसिरहन्छ । श्रीमती उसलाई खाना ल्याइदिन्छे, कहिले खान्छ कहिले खाँदैन । बाहिर निस्के तीन-चार दिनपछि घर आउँछ । मानिसहरू उसलाई पागल भन्छन । श्रीमती डक्टरलाई बोलाउँछे, ऊ भगाउँछ । तर कहिलेकाही उसकी श्रीमती उसको खानामा मन्दबिष हालिदिन्छे, र बेहोश बनाई डाक्टर बोलाउँछे । मानसिक डाक्टरहरू आउँछन, दीमागी हालत जाँच्छन, उसको कृयाकलापको बारेमा बुझ्छन तर रोग खुट्ट्याउन सक्दैनन । एक-दुइले उसलाई “सिजोफ्रेनिया” भएको छ भने, एक-दुइले चाहिं “एस्पर्जर्स सिन्ड्रोम” भएको छ भने । उसको ओच्छ्यानमा श्रीमद्भग्वद गीता, सिग्मन्ड फ्रायडका पुस्तक र अन्य पुस्तकहरू यत्रतत्र छरिएका थिए । ऊ बेहिसाब कहिले एक त कहिले दोस्रो किताब पढ्ने गर्दथ्यो । उसको फ्ल्याट्को तल बस्ने मानिसहरुका अनुसार ऊ आफ्नी स्वास्नीसँग एकदमै चर्को आवाजमा झगडा गर्दछ । पहिले पहिले श्रीमतीको पनि आवाज सुनिन्थ्यो, तर आजकाल उसको आवाज बाहिर आउँदैन । घरमा आउने पाहुनाहरुलाई पनि ऊ मुख छाड्ने गर्थ्यो, त्यसैले उसको घरमा पाहुना पनि आउन छोडिदिए ।

श्रीमती जब उसलाई खाना ल्याइदिन्छे, ऊ केही बोल्दिन । केही बोल्नुको अर्थ झगडा सुरु गर्नु थियो । ऊ कहिले खाना खान्छ, कहिले खाँदैन । श्रीमती ऊसँग आजित भएर एक दिन खानामा बिष हालेर उसलाई दिन्छे र आफू पनि खान्छे । त्यस दिन ऊ खाना खाँदैन, तर श्रीमतीको मृत्‍यु हुन्छ । उसका माईती पट्टीका आएर अन्तिम कृयाको तयारी गर्छन् । ऊ भन्छ – “मेरो छैठौँ इन्द्रियले मलाई भन्यो, खाना नखा त्यसमा बिष हुनसक्छ” पोश्ट्मार्टमको रिपोर्टले पनि बिषाक्त खाना मृत्‍युको कारण बताउँछ । सबै जना चकित पर्छन । श्रीमतीको मृत्‍यु पछि पहिलो दुई दिन ऊ घर बाहिर निस्क्यो । देख्नेहरुका अनुसार उसको अनुहार कुनै युद्धको विजेता जस्तो देखिन्थ्यो – हँसिलो आनी गर्वले फुलेको । तेस्रो र चौथो दिन ऊ घरमै बस्यो । तर पाँचौ दिनबाट लगातार पाँच दिनसम्म उसको घरबाट रोएको आवाज सुनियो । रुवाईमापश्चाताप थिएन, माया थियो, कोही गुमाउनुको दर्द थियो, एक्लिनुको पीडा थियो ।

उसले घर छोडिदियो । साँचो पनि नलगाइकन खुल्लै राखेर सदाको लागि बिदा लियो । अब जहिले पनि ऊ त्यही एकान्त टाकुरामा देखिन थालेको छ ।

“मैले अर्को बिहे गरे भने तिमी के गर्छौ ?” हँसिलो पुरुष आवाज ।

“म पनि अर्कैसँग बिहे गरेर जान्छु ।” त्यस्तै भावको महिला आवाज ।

“शार्मिला !…, मैले त …” एक्कासि भावुक पुरुष आवाज ।

“… त्यसै भनेको होइन ? मैले पनि त ठट्टा गरेको हुँँ नि बुद्धधु ।” मायालु महिला आवाज ।

“मलाई थाहा छ, तिमी मलाई कति माया गर्छौ भनेर ।” सन्तुष्ट पुरुष आवाज ।

“तिमी मलाई जति माया गर्छौ, त्योभन्दा अलिकति कम । हा हा हा ।” महिला हाँसो ।

उसको पछाडिबाट यस्ता संवादहरू आएपछि ऊ पुलुक्क पछाडि हेर्छ । समयले उसको मुहारमा दारी र जुँगा थपिदिएका छन् । उसले देख्छ एक जोडी नवविवाहिता प्रेम र ठट्टामा मग्न थिए । उसका आँखा रसाए । झलक्क श्रीमतीलाई सम्झन्छ ।

“थाहा छ, हिँजो के भयो ?” उसलाई आवाज परिचितजस्तो लाग्छ, त्यसैले पछाडि फर्केर हेर्छ । युवती हिँजैकी थिई, तर युवक भने अर्कै थियो ।

युवक : के भयो ?

युवती : सरोजले मलाई सोध्यो कि उसले अर्को विवाह गरे म के गर्छु भनेर । मैले त भनिदिएँ, म पनि अर्को बिहे गर्छु भनेर ।

युवक : अनि ?

युवती : बिचरा, कालोनिलो भयो पहिले त । पछि मैले जसोतसो फकाएँ, मख्ख परेर गयो ।

युवक : ओहो, फकाउन तिमीलाई कसले जित्छ र ?

त्यसपछि उनीहरू अंकमाल गर्छन् ।

उमेशलाई असह्य हुन्छ । उसलाई तत्काल इच्छा हुन्छ कि ऊ जोड्सँग दुई थप्पड त्यस युवतीलाई गरोस । तर ऊ बसेको ठाउँबाट सर्नै सक्दैन, हात काम्न थाल्छ, रिंगटा लाग्छ, टाउको बटारिएर आकाशतर्फ हेर्छ । एक जोडी ढुकुर उडिरहेका थिए । एउटा डोरिले दुवैको खुट्टा बाँधिएको थियो । एउटा एकापट्टी बल लगाउँथ्यो उड्नलाई, अर्को अर्कोपट्टि ।

1 thought on “आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *