Skip to content

सदैव स्वागत छ यो हाम्रो नुवाकोटमा


गोर्खाको दरबारबाट नजिकै देखिन्छ हाम्रो घर
कल्लेरीतिरबाट आउनु परे टाढा कहाँ पर्छ र
आऊ यो घरमा छ स्वागत सधैं आकाशका किन्नर
के तिम्रो अलकापुरी सरह झैं यो गाउँ देखिन्न र ?

हाम्रा मौलिक छन् कला गहन छन् हाम्रै कलाकार छन्
हाम्रा पूर्वजका विभिन्न सपना सर्वत्र साकार छन्
लाग्छौ्र नित्य विकासका चरणमा छौं उच्च संंस्कार छ
हाम्रा आदरणीय हे अतिथि हो हाम्रो नमस्कार छ ।

हेर्छन् उत्तरतर्फका शिखरले केही उठाई शिर
हाम्रै छन् रसिला सुरम्य खहरे पाखा पखेरा भिर
भेटिन्छन् मनमुग्ध दृश्य सहजै मार्पाक जाने भए
मायाको छ चिनो तयार अहिल्यै बोकेर लाने भए ।।

चारैतर्फ विशेष मालसिरीको सङ्गीतको माधुरी
हाम्रै कौशलमा र बाहुबलमा देखिन्छ जादूगरी
फुल्छन् स्नेह र फल्दछन्् फल नयाँ आतिथ्यका बोटमा
भित्रैबाट अशेष स्वागत छ यो हाम्रो नुवाकोटमा ।।

झर्ना झर्दछ शैलबाट हिमको गङ्गा सरी शीतल
गङ्गा झैं यस फाँटको जमिनमा बग्छन् हुँदै निर्मल
बारै काल छ स्वर्ग झैं प्रकृति यो यो गाउँमा गोठमा
भित्रैबाट अशेष स्वागत छ यो हाम्रो नुवाकोटमा ।।

आस्थाका लहराहरु चहुरमा माया बनी फुल्दछन्
छाडी किन्नर स्वर्गबाट किन हो आई यतै भुल्दछन्
हाम्रा हार्दिक भावनाहरु सधैं हुन्छन् यतै ओठमा
आऊ मित्र सदैव स्वागत छ यो हाम्रो नुवाकोटमा ।।

धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *