Skip to content

गंगा लिगलका सागर–पारि कविता सङ्ग्रहमा डुबुल्की मार्दा


आमुख–
‘खास गरी मलाई साहित्य विधामा कविता असाध्यै मन पर्छ। तसर्थ म भन्ने गर्छु ‘‘ साहित्य मेरो प्राण हो। कविता मेरा हृदय स्पन्दन हुन् ’’। मेरा रोम रोममा कविता स्फुरण भइरहन्छ। कवितालाई म आफ्नो जीवनसंगी पनि भन्ने गर्दछु। यो विनाको मेरो जीवन निरस ठान्दछु। ’ यी उद्गार/ प्रतिबद्धता हुन् गंगा लिगलका। यी प्रतिबद्धताको प्रमाण हुन् उनका प्रकाशित कृतिहरू र फेसबुकमा निरन्तर प्रसारण गरिएका उनका विविध कविताहरू। उहाँले मलाई उहाँका विविध विधाका ११ कृतिहरू समीक्षाको लागि पठाउनु भएको र यी कृतिहरू क्रमस पढ्दैजाने क्रममा ‘सागर–पारि’ कविता सङ्ग्रहमा पुगेको छु। उहाँका यी कृतिहरू पढदा मलाई उहाँका श्रीमान जनकप्रसाद लिगलको याद आउने गर्छ किनकि जनकजी र म पाल्पामासँगै कृषि विकास कार्यालयमा कार्यरत थियौं।

उहाँको घरयासी सम्बन्धभन्दा पनि यहाँ उहाँको साहित्यप्रतिको लगावमा म निकै आकर्षक छु। उहाँको कविता लेखनमा निरन्तरता मात्रै नभएर तीब्रता, सरलता, आकर्षकता, भावपूर्णता र दार्शनिकता पनि पाइन्छ। सरल जीवन जिउन रुचाउने लिगलजी नेपाली साहित्यकी एक प्रखर प्रस्तोता पनि हुन् र नेपाली साहित्यमा गंगा लिगल एउटा सुपरिचित नाम पनि हो।

कृतिको संरचना –अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डी.सी.मेट्रो च्याप्टर संयुक्त राज्य अमेरिकाबाट प्रकाशित यस कृतिमा ४१ ओटा कविताहरू समावेश गरिएका छन्। आवरण अग्रपृष्ठमा रमेश दाहालको आकर्षणयुक्त सुसज्जित चित्रले कृतिको सारभाव प्रकट गरेको पाइन्छ भनेपछिल्लो आवरणमा कृतिकारको परिचय दर्शाइएको छ। मूल्य सार्क देशहरूमा १०० रुपियाँ राखिएको छ भने दक्षिणपूर्व एसिया बाहिर विदेशको लागि यु.यस. डलर ५/– राखिएको छ। यस कृतिलाई ‘आदरणीय ससुराज्यू(बुबा) स्व. दान बहादुर लिगल (श्रेष्ठ) ज्यू’मा सादर समर्पण गरिएको छ ।

विभिन्न साहित्यकारको यस कृति र कृतिकारप्रतिका धारणाहरू– यस कृतिको प्रकाशको तर्फबाट प्रकाश नेपाल लेख्नुहुन्छ –‘गंगाको प्रवाह जस्तै उहाँको लेखन बहेको छ ।’ ‘सागर–पारी पुगेर हेर्दा ’शीर्षकमा मोहन सिटौलाजीले यस कृतिको समीक्षात्मक भूमिका लेखनु भएको छ र उहाँको यस कृतिप्रतिको धारणा यसप्रकार छ – ‘गंगा लिगलको कविता सङ्ग्रहका कविताहरू सललल्ल सरिता वहेजस्तो जीवन जगतलाई छूँदै, कहीं अंकमाल र कहीं हल्का विरोध गर्दै शान्ति र सिर्जनामा दत्तच्त्ति भएर प्रवाहित भएका छन् ।’ वरिष्ठ साहित्यकार होमनाथ सुवेदीजीले लेख्नुहुन्छ –‘गंगाका कवितामा प्रकृतिक चित्रण र अमेरिका र नेपालका कथा व्यथा छन्। तिनको कलापक्षको अध्ययन पृथक रूपमा हुनुपर्छ। गंगा लिगलको चाहना यसप्रकार देखिन्छ– ‘वास्तवमा मानिस मानिसमा समनताको भावना जागरण गर्नु मानवमात्रको ठूलो गुण हो भन्ने म ठान्दछु। मेरा मनका विभिन्न भावनाहरू पाठक समक्ष मैले पस्कने जमर्को गरेकी छु ।’ गंगाका हरेक शब्दहरू साहित्य्, कविता, आमा र मातृभूमिप्रति समर्पित छन् र गंगाले साहित्य क्षेत्रमा जे बोल्नुहुन्छ त्यसलाई व्यवहारमा उतारेर छाड्नुहुन्छ। यो उहाँको साहित्यप्रतिको लगाव हो र एउटा सुन्दर पक्ष हो।

कृतिभित्र प्रवेश गर्दा– गंगाका हरेक अभिव्यक्तिमा राष्ट्र बोल्छ आमा बोल्छिन् मातृभूमि र मातृभूमिले सिंगारेका हरेक प्रकृतिसम्पदा शब्द शब्दमा प्रवाहित भएर सलिलका लहरसरि वगेका पाइन्छन्। उनको प्रथम कविता ‘आकाश ओढेको धरती’ हो यस कवितामा धर्ती र धर्तीका सम्पदा सबै्र ओइलाएका देख्दा कवयित्री चिन्तित हुन्छिन्। यसको कारण खोज्छिन् र यो धर्ती रुग्ण हुन पुगेको कारण युवाको पलायन, यो पलायनको कारणा राष्ट्रिय उन्नतिमा तगारो आदि विविधता हो भन्ने यथार्थता पत्ता लगाउँछिन् र प्रण गर्छिन् –विदेशमा बसेर पनि नेपाली संस्कृतिको जगेर्ना गर्नु, नेपाली आमाको ममतालाई संगालेर, देशको कहालीलाग्दो समय र अवरोधरूपी कचिङ्गललाई पन्छायर, राष्ट्रिय एकतामा संलग्न भएर देशविकासमा टेवा पुर्याउन कुनै असर छाडने छैन। यस्ता गहन अभिव्यक्ति आएका छन् कवितामा। कवयित्री आशावादी छन् विदेशमा बसेर पनि नेपाली आमाको मुस्कान चाहन्छिन् र भन्छिन् –

‘यसरी सुन्दर शान्त विशालको
आकाश ओढेको धरती
अवश्य एकतामा बद्ध भै
एउटै खास्टो ओढेर,
मातृत्वमा मुस्कान थपेर
अवश्य अकण्टक हुने छ ।
(आकाश ओढेको धरती, पृष्ठ २६)

यस्तै नेपालको सगरमाथा, सजाऊ देशलाई, टाढा भएर के भो ? सागर पारि र संदेश राट्रियताले भरिएका कविताको रुपमा अध्ययन गर्न मनासिप लाग्यो। गंगाजीका एकै कवितामा हामीले विविधता पाउँछौं। गंगा लिगलका कवितामा काारणको खोजी, त्यसको उपलब्धि र त्यसमा आफ्नो प्रतिबद्धता जस्ता अनुसन्धानमूलक धारणाहरू पाइन्छन्। यी धारणाले कवितालाई विज्ञानसँगको समीपता जनाउँछ ।आकाश ओढेको धरतीमा पनि यी संकेत प्रदर्शित छन्।
‘नेपालको सगरमाथा’ यस देशको गौरव, गरिमा, नेपालीको अस्तित्व हो। पूराण आदि ग्रन्थमा पुज्यनीय स्थलको रूपमा उल्लेखित देवताको निवासस्थल हो। यसको गौरवमय इतिहास पुरानो छ। विश्वमा नेपालको परिचय पनि यही सगरमाथाले गराएको छ। कवयित्रीले यस कवितामा पनि सगरमाथाले व्यहोर्न परेका यावत घटनाक्रमलाई प्रष्ट्याउँदै आशावादी हुँदै भन्नुहुन्छ –

‘यो मेरो नेपालको सगरमाथा
सधैं नेपालीको भै
अटल रहने छ
अनि यसमा नबपिढीले अँझै
सिंगारेर यसलाई अकण्टक बनाउनेछ ।
(पृष्ठ३०)

सजाऊ देशलाई – नेपाल एउटा प्रकृतिले सजाएको देश हो। यहाँ सदाबहार आज हराएको छ। उजाड देखिन्छ, युवा पलायन छन्,बृद्धबृद्धा छोराछोरीको आगमनको प्रतिक्षामा छन्, वम पडकाइको खाडल पुरिन सकेको छै्रन, पुराना ऐतिहासिक,सांस्कृतिक महत्वका बस्तुहरू धराशायी भएका छन्, प्राचिन कालका मठमन्दिर ढुङ्गेधारा, जलप्राणीजस्ता अमूल्य निधिहरू जीर्ण भएका छन्, जस्ता धाारणा पस्कदै कवयित्री भन्छिन् –
‘सुन्दर शान्त र विशालताले
गरिमा युक्त, गौरवशाली देश
अमानवीय खडेरीले
तहस नहस छ ।’

कवयित्रीमा देशप्रति यस्तो गहन चिन्तन छ। यस देशलाई विगतमा भएका, घटेका सबै विडम्बना, ह्रासलाई पूर्णतामा लानुपर्छ, सम्पूर्ण किसिमले उन्नतशील बनाएर आमाको मुहारमा मुस्कान थप्नु पर्छ। यही नेपालीको कर्तव्य हो, देशलाई गौरवशाली बनाउनु नै नेपाली गौरवशाली बन्नु र गौरावानन्वित हुनु हो भन्ने कवयित्रीको ठहर छ। यस कविताले आजको नेपालको यथार्थतालाई बोलेको छ। कवयित्रीको मातृत्व र देशप्रेमको हृदयका पल्लवित भावनालाई खोलेको छ। टाढा भएर के भो ? – यो कविता पनि कवयित्रीका मातृप्रेम र देशप्रेमका भावनाले ओतप्रोत छ। मानिसको तन टाढा हुन सक्छ तर उसको मन भावना जन्मभूमिमा नै समर्पित हुनसक्छ। गंगाजी आज अमेरिकामा हुनुहुन्छ तर उहाँको नेपालको माटोको कणकणमा प्रीत जोडिएको छ,, सजीव आत्मा गाँसिएको छ, प्रकृतिकका हरेक सौन्दर्यहरू उनको आँखामा नाचेका छन्। हरेक मन्दिरमा घन्टी बजेको र आस्थाको पूजारी भएको अनुभूति भएकै छ। त्यसो हुँदा उनी भन्छिन् –

यस प्रतिको अगाध
विश्वास, श्रद्धा भक्तिले मलाई
मेरो जन्मस्थान
दिनहुँ पुर्याएको हुन्छ
…. ‘‘म’’ सदा त्यहीं छु
(पृष्ठ ११५)

सागर–पारि –यस कवितासङ्ग्रहको नामाकरण पनि यसै कविताबाट जुराइएको छ। यस कवितामा कवयित्रीले अमेरिकाको विकासले गर्दा, विजुली बत्तीको प्रकाशले गर्दा रातको आभास पाइँदैन ‘झलमल्ल ताराहरूको उपस्थितिमा सौन्दर्यर्पूण नीलगगनझै लाग्छ’, प्रभातको आगमनमा गाडीका रफ्तारहरू सरित्प्रवाह झै बग्छन्, यहाँ ‘अनगिन्ती सुख शैलका सामाग्रीहरू अत्यान्त सुविधायुक्त, साधनहरूले अनेकौं कार्य क्षमता पाउनु, अनेकौ कार्यक्षमता दक्षता दिन सक्ने यथार्थता’ को वर्णन पाइन्छ। कवयित्रीको यस कवितामा धर्म संस्कृतिक र संस्कारमा अत्यान्त फरक भए पनि आफ्नो् धर्म कला संस्कृतिलाई जगेर्ना गर्ने वातावरणीय सुविधाको सहज उपभोग गर्न मिल्ने,जस्ता धारणा आएका छन्। अर्को महत्वपूर्ण कुरा विश्व बन्धुत्वको कुरालाई पनि कवयित्रीले उठाएकी छन्। मानवले् मानवसँग गाँसिने नौलो नाता नौलो परिवेशलाई आफैमा समावेश गर्न सक्नु विश्व बन्धुत्व कायम गर्नु मानवीय गुण हो भन्ने कवयित्रकिो ठहर छ। समुद्र–पारि कवितामा पुन कवयित्री आफ्नै मातृभूमिसँग गाँसिन पुग्छिन् र भन्छिन् –

‘यसरी भन्न खोज्छु
समुद्र पारि भएर के भो
मेरो देश
मेरो देशको नैसर्गिक भावना
सदा अटल
मेरो मन मस्तिष्कमा
अनि मेरो प्रत्येक अङ्गमा छन्।
(पृष्ठ ९२)

यस कवितामा टिप्पणी गर्दै विओटी,अनेसास वुडब्रिज, भर्जिनियाका अध्यक्ष होमनाथ सुवेदी भन्नुहुन्छ –‘नयाँ थलोको यो मूल थलोप्रतिको भावना नेपालीको डायस्पोरिक अभिव्यक्तिको झझल्को हो। यो राम्रो पक्ष हो। यो कविताकै नामबाट यसको नामाकरण भएको पनि अर्थपूर्ण छ ।’ (पृष्ठ १७)

सन्देश – बुद्धप्रति आदरभाव पस्केर लेखिएको कवितामा पनि देश र देशवासी अर्थात नेपाल र नेपालीप्रति लक्षित गरेर लेखिएको छ। ‘‘अहिंसा परमो धर्म’’ को सिधान्त, शान्तिको सन्देश,यस देशको माटो एव म सम्पूर्ण बस्तुहरू पवित्र छन्, बुद्धको सन्देशको अर्थात ‘जहाँ सत्यमार्गले धारा प्रभाहित गरेको छ त्यही नै अवलम्वन गरेमा हितकर हुन्छ भन्ने संदेश प्रवाह भएको छ कवितामा ।

थकित बटुवा– जीवन यात्रा बालक, युवा, प्रौढता पारगर्दै बृद्ध अवस्थामा पुग्छ। अनेको राम्रा नराम्रा कर्महरू तथा घटित घटनाहरू यस अवस्थामा मानिसले गर्दै अर्थात भोग्दै आएको हुन्छ। जीवन यात्राको साथै उसले देश विदेशको यात्रा पनि गर्छ। अमेरिकामा पुगेको एउटा थकित बृद्धबटुवाले लाठीको भरमा बाटो पार गर्दै विश्राम लिन पुग्दा ऊ बहकिदै जन्मस्थानमा पुग्छ। आफ्नै देशको प्राकृतिक सौन्दर्यता आफ्नो जीवनका घटितघटना, आदिलाई स्मरण गर्न थाल्दछ। जन्मभूमिमा फर्केने गीत गाउँदै देशकै स्मरणले प्रफुल्लितमनको साथमा मुस्कानको साथमा हिड्न तरखरिन्छ थकित बटुवा। यिनै प्रसङ्गको एउटा सुन्दर चित्रण हो थकित बटुवा। पूर्वस्मृतिका भावनात्मक धारणालाई सरल रूपमा पस्किन सफल देखिन्छिन् कवयित्री। यस कविताप्रति भूमिकाकार मोहन सिटौलाले भन्नुहुन्छ – ‘थकित बटुवा उनको एक मायामयी सुन्दर कविता हो। यसमा विदेशबाट बृद्धावस्थामा आफ्नो गाउँघर र वैंसालु जीवनको पुरानो सम्झना लगायत कवितामा चेतना यात्रा (Stream of consciousness technique) सफल प्रयोग हुन पुगेको छ ।’

प्राकृतिक सौन्दर्य र कवितासङ्ग्रह – प्रकृतिको योगदान प्राणी वनस्पतिको लागि एक अनुपम वरदान हो। यो वरदान आफ्नै किसिमले बहकिन्छ, दर्शिन्छ, विविध किसिमका अनुभूति प्रदान गर्छ र प्राणी वनस्पति जगतले यसलाई उपभोग गर्दै जान्छन् यसैमा रमाउँछन्, रुन्छन्, हाँस्छन् विविध कृयाकलापलाई आत्मसात गर्दै जीवनयात्रा पुरा गर्दछन्। कवि र साधारण मानिसमा अलिक फरक देखिन्छ। कवि यसमा विचरण गर्छ, प्रकृतिका प्रतेक कृयाकलापलाई आत्मसात गर्छ विम्ब,प्रतीकको रूपमा उपयोगमा ल्याउँछ भावनामा बगाउँछ यसलाई सर्वसाधारणसम्म वितरण पनि गर्छ। कविको कला प्रस्तुतिमा गहन हुन्छ र अकल्पनीय हुन्छ। गंगा लिगल पनि प्रकृतिसँग विचरणमामात्र नरमाई यथार्थतामा उभिइ ती यथार्थतालाई टपक्कै टिपेर कविता मार्फत वितरणमा पुग्न सफल देखिन्छिन्। गंगाका यी कवितामा प्रकृतिका विविधपक्ष समेटिएका पाइन्छन्।

ंवर पीपलको चौतारी’ जहाँ मुक्तिको लागि वर पीपलाई पुजागरिन्छ,। सबै सबैले चौतारीमा बिश्रामस्थल र शीतलता पाउँछन्। ‘ऋतुराज वसन्त’ – शिशिरको कष्टदायी अवस्थालाई पारगर्दै समयले वसन्तलाई टेक्छ र मुस्कुराहटले ठाउँ लिन्छ पृथ्वी तल हर्षले गद्गद हुन्छ, गुराँसमा लालिमा थपिन्छ,बाटिकाहरू सुगन्धमय हुन्छन् मयुरको लचकदार नृत्य, बेली चमेलीको फूल वर्षण, कोयलीको मधुर सङ्गीत,पुतलीको नाच, वसन्तको दिव्यज्योतिको दिव्यप्रभाको स्मरण मानवजीवनमा यसको प्रभाव जस्ता धारणलाई पस्कदै कवयित्रीले भन्छिन्–‘ ऋतुराजले सम्पूर्णमा सैन्य गाम्भिर्य र सौन्दर्य र माधुरताले अभिषेक गरिदिन्छ जस्ले् पृथ्वी स्वर्गसरी बन्दछ ।’ जीवका जीवनचक्रलाई ऋतुहरूसँग तुलना गर्न सकिन्छ। जीवन एकै खाले हुँदैन। जाडो, घामपानी उजाड, सदाबहार प्रकृतिको देनमा सबैको प्रयास वसन्तमय तथा सदाबहार जीवनमा जिउने र स्वर्गीय आनन्दको अनुभूति गर्नु पर्छ भन्ने कवयित्रीको धारणा छ। जीवको प्रकृतिसँग गाँसेर गरिएको यो सुन्दर वर्णन अनुकरणीय छ। ‘पूर्णिमाको जूनसँग’—यस कवितामा कवयित्रीले पृथ्वीको धरातलमा असंख्य प्राणीहरू गर्वका साथ आनन्दित भएको, रमाएको, गर्वसाथ एक अर्कामा अपनत्व राखी,समयलाई रमणियतामा परिवर्तन गर्नुको साथै सम्पूर्ण उज्ज्वल ग्रहहरूसँग नाता जोड्न अह म भूमिका खेलेका कुराहरू आएका छन्,। दोस्रो सन्देशमा सूर्यले दिवासँग नाता जोडी आफ्नो प्रकाशकीय किरणले पृथ्वीमा अभिषेक गरेर जीवनको सफलताको निर्वाह गरेका कुरा आएका छन्। तेस्रो सन्देशमा चन्द्रमाले रातसँगको मित्रता कायम गरी पृथ्व्ीका प्राणीलाई उज्ज्वलता र शीतलता प्रदान गरेकोले सम्पूर्ण प्राणीले जूनसँग मितेरी लगाएको धारणा आएको छ कवितामा। ‘पहाडमा झुल्केको घाम’ मानजब जीवनसँग तुलना गर्दै उदयमान सूर्यको गतिसँग घाँसकाट्ने घाँसेहरूको अर्थात कर्ममालिन व्यक्तिहरूले काम सकेर विश्रान्तिमा पुगी शान्तिको सास फेर्ने कुरा, पहाडमा झुल्केको प्रथम किरणको साथमा जीवहरूमा जागरण आउने,यो जागरणमा नौलो सपना हुन सक्ने,अनेकौ चुनौतीलाई पार गर्दै उज्ज्वल भविष्य निर्माण गर्न सकिने, यस्ता चुनौती वंश, वंश र पुर्खापुर्खाले व्यहोर्दै आएकोलाई निर्मूल पार्दै स्वर्णिम किरणको सिन्दूर शुभको प्रतीकले ‘नेपाली जनमानसमा पूर्णताप्राप्त गरी प्रत्येक नेपालीका जीवनमा शान्तिरूपी मुस्कानका किरणले ओत प्रोत हुने छ’ जस्ता अभिव्यक्तिलाई यहाँ पस्किएको पाइन्छ। बालरविको कोमलता, प्रौढरविको प्रचण्डता र अस्ताञ्चलका रविको मलिनतासँग जीव–जीवनलाई तुलना गर्न सकिन्छ। विश्व–जीव– दर्शन पनि यही हो। प्रकृतिले दिएको वरदान/अभिशापलाई कवयित्रीले प्रष्ट्याउने प्रयास गरेकी छन् त्यसलाई नेपाली भूमिमा ल्याएर जोडेकी छन्। ‘झुल्केको घामसँगै’––यस कवितामा पनि सूर्यको उदयसँगै नवशिशुको आगमन,आमा बाबुको प्रेम, सहपाठीहरूसँगको आनन्ददायी क्रीडा,अबोधताबाट बोधतातिर लम्कनु र उज्ज्वल आशामा लाग्नु दरिलो कदम चालेको आभाससँगै नवसंसारको विशालताको एक सदस्य रूपमा जीवनलाई रङ्गााउन सफल भएको धारणा सहित कवयित्री आशामुखी हुन्छिन् र भन्छिन् –

‘यो नवकिरण भविष्यमा दिवा सूर्यको रूपमा फस्टाई अवश्य नेपाली आकाशको तारा बन्ने् छ ।’ विदेशमा जन्मे पनि विदेशमा बसे पनि अन्तिम नेपालप्रति समर्पित भएर नेपालकै तारा भएर नेपाली आकाशमा चम्कनु पर्छ भन्ने यो धारणाले गंगाजीमा भएको नेपालप्रतिको अगाध मायाममता, र राष्ट्रभक्तिको एउटा ज्वलन्त प्रमाण हो भन्न सकिन्छ। ‘शीतको थोपा’– मानव जीवनसँग तुलना गरिएको यो शीतको थोपा कवितामा कवयित्रीले मानव जीवन कर्कलाको पातमा रहेको शीतको थोपासरी हो भन्दै यो क्षणिक जीवनलाई महत्वपूर्ण उपलब्धिको रूपमा प्रयोगमा ल्याउनु पर्छ भन्ने एउटा संदेश दिएकी छन्। अर्को महत्त्वपूर्ण संदेशमा शीतको थोपालाई मोतीको संज्ञा दिइन्छ। मोती सुन्दर हुन्छ त्यसैले मानव जीवन पनि सुन्दर हुनुपर्छ भन्ने दर्शिन्छ। तेस्रो सन्देशमा दिल र ज्ञानले नियाली हेर्दा – शित अत्यान्तै पारदर्शी र चोखो छ। शित छानिएर मोतीको रूपमा, गर्वित, स्वाभीमानी, सत्य र पारदर्शी रूपमा देखिएको हुँदा यसलाई जीवनसँग दाँजिएको हो भन्ने कवयित्रीको ठहर छ। जीवदर्शनमा आधारित यस कविताले एउटा महत्वपूर्ण सन्देश बोकेको छ। जीवनलाई कर्कलाको पानीको रूपमा नभई मोतीसमान सुन्दर बनाउनु पर्ने धाारणा पोखेको छ। ‘शिशिर ओढेका पातहरू’– यो कविता पनि प्रकृतिसँग मानव जीवनलाई गाँसिएर आएको छ। शिशिरको शीतको थोपाले दिने कष्टमय जीवन पातमामात्र पर्दैन सम्पूण जीव जगतमा पर्दछ। आमाको ममता जति भए पनि आमासँगबाट समयले अलग्याई दिन्छ। परिश्रम, साहस, एकतामा रही प्रतिक्षा गर्न सक्नु पर्छ जस्ता धारणालाई पोख्दै कवयित्रीले भन्छिन् –‘सत्य अनि परिश्रमको सङ्गममा ईश्वर पनि प्रसन्न हुन्छन् ।’ पातहरूले शिशिर सधैं ओढिरहनु पर्दैन वसन्त पनि आउँछ। वसन्तको नवजागरण सहित वातावरण उल्लासमय हुन्छ। वसन्तको रम्यताले छाउँछ र मानव जीवनमा यसको असर पर्छ भन्ने धारणामा कवयित्री यसरी प्रस्तुत भएकी छन् –

‘… अनि गुराँसले यौवन प्रदर्शन गर्न थाल्यो
मानवजगत्मा जोश जाँगर अनि
खुशीयालीको रौनकता देखापर्न थाल्यो ।’
पानीको फोका –
‘हो मानवजीवनलाई
पानीको फोकासँग तुलना
अवश्य गरिएको छ
यो सान्दर्भिक पनि हो
तर यो मात्र तथ्यलाई स्वीकार्ने
हो भने, जीवन
निराशाले जर्जर बन्न पुग्छ ।’

गंगा लिगलका कविताहरूलाई अध्ययन गर्दा हामीले उनका कवितामा आशाक किरण प्रज्ज्वलित हुँदै गएको पाउँछौं। पानीको फोक पनि संसारिक जीवसँग नै सम्बन्धित छ। अमूल्य जीवन हो भन्दै जीवन सुन्दर हुनुपर्छ अनेकौ खुशीयालीले मानव जगत हर्ष,उल्लास र उमङ्ग को साथमा मनोरम जीवनलाई परिवार समाज अनि राष्ट्रलाई समेट्दै नैसर्गिक उन्नतिको शिखरमा लान सक्नुपर्र्छ भन्ने सन्देश आएको छ र जीवनका अनेक स्वरूलाई यस कसवितामा प्रष्ट्रयाउन प्रयास भएको छ। वास्तविक जीवनमा अज्ञानतालाई निर्मूल पार्ने प्रकाशको पूञ्ज बोकेर चौतर्फ आनन्दको क्षितिजमा पुगेर सफलीभूत पार्नुपर्छ र अज्ञातको पुजारी भएर हिंसाको मदमा चूर भए र भातृत्व र मातृत्वमा प्रहार गरेर कहाली लाग्दो जविन जिउन बाध्य पारिन हुँदैन। कवयित्रीले नारकीय जीवन जीवउन हुँदैन,भौतिक अनि आध्यात्मिक दुवै सुख नैसर्गिक आनन्दले ओतप्रोत भएर क्षणिक जीवनलाई उपभोग गर्न सक्नु पर्छ, जीवन पानीको फोका हैन र ओजस्वी बनी अजर अमरको गाथा पृथ्वीतलमा अकण्टक रहन सक्षम बन्नु नै मानवजीवन हुनुपर्छ भन्ने सन्देश गहन छ अनुकरणीय छ। सत्य अनि सौन्दर्य – सौन्दर्य र सत्यता बारेमा कवयित्री खुलेकी छिन् –

सौन्दर्यको वास्तविकता
वास्तवमा क्षणिक हुन्छ
तर त्यसमा निहित सत्यता
अमर हुन्छ
त्यसकै कारण यो
कीर्तिवान हुन्छ पनि
अनि यसको गाथा
चिरस्थायी हुन्छ ’

कवयित्रीको धारणा छ कि सौन्दर्य सत्यको साथ रहँदा सुनमा सुगन्ध थपिएको भान हुन्छ र जुन दीपशिखा सरह एकसाथ रही अत्यान्त प्रकाशमय बन्न पुग्छ। सत्य र सौन्दर्य प्रकाशकै प्रतिरूप हुन्, प्रकृतिका कमलको उदात्त कथा, गुराँसको गाथा, गुलाफ फूलको कथा व्यथा सत्यकै परिभाषित हुन्, भन्ने कवयित्रकिो ठहर छ। जीवन र सत्यलाई तुलना गर्दै कवयित्री भन्छिन् –

जीवनको पराकाष्ठा नैराश्यतामा अडेको छ
यो विनाको जीवन निस्सार कारुण्य हुन्छ
सत्यको सार नै जीवनको लक्ष्यप्राप्ति हो
यहाँ असीम हर्षको लहर हुन्छ ।

आजको संसारमा सत्यतामा ह्रास आएको छ र सौन्दर्यतामा कृत्रिमता छाएको छ। यस प्रकारको सामाजिक विकृति र विसङ्गतिलाई सहीमार्गमा ल्याउन एउटा मार्गदर्शनको सन्देश दिन सफल देखिन्छ कविता। यस कविलाई उच्च मूल्याण्क गर्दै भूमिकाकार मोहन सिटौलाले कीट्स र लक्ष्मीप्रसाद देवकोटाको कवितालाई सम्झाउँछ भन्दै यस प्रकारको उदाहरण दिएका छन् –

Truth is beauty, beauty is truth –Johan Keates
सत् छ सुन्दरै, सुन्दरै छ सत्– महाकवि देवकोटा

स्वप्निल नेत्र–– साधारण अर्थमा सपनाजस्तो आँखा भए भन्ने अर्थ्याउँछ। यस कविताले जनयुद्धलाई संकेत गरेको छ। त्यो वेलाको वातावरणमा घटेका घटनाको अवलोकन स्वप्निल नै भन्न सकिने थियो। एउटा बटुवा बाटोमा आनन्दसँग हिड्दा हिड्दै वम पड्किन्छ, भाग्न खोज्दा नदीको भेलमा पुग्नु, उसको बचाऊ भन्ने आवाज सुन्ने कोही हुँदैन र उसका साथीहरू हिँड्दा हिँड्दै मेशिनगनको शिकार बन्न पुग्दछन्। यस प्रकारका घटनामा चारैतिर कोलाहाल रुवावासी अनि सन्नाटा छाउँछ। जहाँ दर्द, चोट, पीडा जलन र आपत कालको क्षोभ मडारिन्छ त्यहँ शान्ति हुँदैन भन्ने धारणा छ भने अर्कोतिर मानिस अकालमा मरिहेछन्। यस्तो मराइपट्टी संकेत गर्दै यदि शहीद भएर मरिदैन भने यस्तो मृत्युको सार्थकता छैन अर्थात जीवनको कुनै अर्थ हुँदैन भन्ने धारणा आएको छ ।हाम्रो समर्पण अर्थात हामी राष्ट्रप्रति समर्पित भएर मर्नु पर्छ भन्ने सोचले कवयित्रकिा कविता ओतप्रोत छन्। मेरो अभिन्न मित्र ऐना –वास्तवमा ऐनाको आफ्नो स्वरूप हुँदैन जस्ले प्रयोग गर्यो प्रतिविम्बत बनेर उसकै स्वरूप प्रदर्शन गर्दछ। गंगाजीले यहाँ ऐनालाई अर्थपूर्णरूपमा लिनुुभएको छ। मानव जीवनका सकरात्मक स्वरूप तथा नकरात्मक स्वरूप, सुखको स्वरूप दुःखको स्वरूप जो जस्तो स्वरूपमा ऐनामा हेर्न खोजिन्छ ऐनाले त्यस्लाई स्वही रूपमा प्रदर्शन गर्छ। यहाँ कवयित्रीको भन्न खोजेको खास कुरा के भने मानिस तथा समाज सत्यमेव जयतेको सिधान्तलाई मान्यता दिंदै, एकनासको जीवनमा जिउँदै, मानवताको धारणालाई अङ्गाल्दै ऐना जस्तै भएर प्रदर्शन हुनुपर्छ भन्ने हो जस्तो लाग्दछ मेरो बुझाइमा। ऐनाले दूधलाई दूधको रूपमा र पानीलाई पानीकै रूपमा दर्शाउँछ। हामी पनि जे जस्तो रूपमा छौं त्यही रूपमा साक्षात्कर हुनुपर्दछ। सृष्टि अनि दृष्टि –यस कवितामा कवयित्रीले सृष्टि र दृटिमा केन्द्रित रहेर यसमा सृष्टि र दृष्टिलाई परिभाषित गर्दै भन्नुहुन्छ –सृष्टिप्रतिको धारणा–

सृष्टिको कालदेखि
यो निरन्तर प्रवाहित छ
सृष्टिकर्तामा कुनै क्लेश छैन
उसले दिएकको समानतामा
कुनै विभेद छैन
निष्पक्ष, निर्जन, निर्मल,
अनि पारदर्शिताको हद छ

दृष्टि प्रतिको धारण्णा –सृष्टिकर्ता दिएको दृष्टि वास्तवमा फरक नभए पनि यसमा संसारिक विसङ्गतिले गर्दा अन्यौल छाएको छ र ‘‘आनन्दो ब्रह्म,ब्रह्मेति’’लाई विर्सेको छ, असल दृष्टिलाई त्यागेर नाङ्गोपनमा रमाउन थतालेको छ,आघातीय हतियारले हानाहान गर्न तत्पर छ। यस्तो अवस्थालाई त्यागेर समता र ममताको दृष्टिले अवलोकन गर्दा पृथ्वीको आवरण अत्यान्त रमणिय, रोमाञ्चकारी बन्ने र पृथ्वीतल फूलै फूल सेजले सौन्दर्य मय बन्न जान्छ। क्षोभको दृष्टिपातले मानवीय जीवन नारकीय बन्न जान्छ भन्दै मानव जीवनप्रतिको उच्चतालाई कायम गर्ने आफ्नो धारणालाई यसरी प्रस्तुत हुन्छिन् कवयित्री–

तसर्थ दृष्टि चोखो भएमा
सृष्टिको पवित्रतामा
सुगन्धित गुलाब महकिन्छ।

सृष्टिको सुन्दरतामा सुदृष्टि भएमामात्र समता मुलक, सुन्दर र आनन्ददायी संसारको परिकल्पना गर्न सकिने धारणा एक अनुकरणीय र मननीय भावना हो भन्न सकिन्छ। परेला भित्रको आँसु– यस कविताले आँसुको महत्वलाई बुझाएको छ। कहिले आँसु अलमलिन्छ, कहिले परेली भित्रको भाषामा बिदायी माग्छ,,आमाको बिदायीमा बरबर आँसु झार्ने चाहना पुरा हुन पाउँदैन, कहिले टलपलिन्छ, कहिले विदेशतिर पुर्याउँछ, त्यहाँ पुगेपछि देश र आफन्तको संझनामा आँसुको वर्षा वर्षिन थाल्छ अर्थात हर्ष बिस्माद आदिमा आँसु झर्छ। यस कवितामा कवयित्रीले प्राचिन समयमा जुनवेला बोलीको प्रस्फुरण नहुँदा केवल आँसुकै भाषाको प्रयोग सर्वोपरि भएको यसैबाट कार्य पुरा हुने गरेका र सदभाव, प्रेम र मित्रताको मूल्यमा वृद्धि भएको धारणाहरू कवितामा आएका छन्। मौनता– यस कवितामा कवयित्रीले ‘‘जीवनको आनन्दित क्षणको अर्को नाम हो मौनता’’ भन्दै मौनताको परिभााष प्रष्ट्याएकी छन्। मौनताले सुख दुःख दुवैमा अनमोल भूमिका निभाउने, मानव मन मस्तिष्क अह म भूमिका खेल्ने,कवयित्री यसैबाट आनन्दित हुने, भागवत पूराण गर्दाको मौनता, ज्ञानका कुराहरू, पूर्णिमाको जूनलाई आँखामा राख्दै सिङ्गै आकाशमा, परिकै देशमा परिकै रूपमा आनन्द लिनु अर्थात मौनता हरेक क्षण आवश्यक छ,यसले नैसर्गिक आनन्द दिने काम गर्छ मौनतासँग एकाकार हुनुपर्छ भन्ने धारणा कवितामा आएको छ। मलाई आफ्नो लाग्न थालेको छ –यस कवितामा नेपाली जुन देशमा जान्छन्,त्यस देशलाई पनि आफ्नो मातृभूमि सरह नै ठान्दछन् भन्ने धारण आएको छ। यस कवितामा कवयित्रीले मानिस मानिसमा फरक ठान्नु मान्छेकै अबोधता हो किनकि सबैको रगत रातै हुन्छ भन्नुहुन्छ। नेपाल र अमेरिका बीचको तुलनामा गर्दै,देशको परिधि विशाल, परिवेश फरक, धर्म,संस्कृत र संस्कारमा फरक छ, नेपालमा जस्तो फुर्सत पाइँदैन, सबै काममा व्यस्त हुन्छन्। कसैको कुरा काट्ने, कसैलाई ईष्र्या र रीस गर्ने समय छैन, प्रकृति सुन्दरता, खानपान आदिमा फरक छ तापनि यहाँको हावापानी नून खाए पछि, मानवमा प्रवाहित हुने प्रेम स्नेह ममता उही भए पछि र सहयोगको भावना मित्रता पाइएको आर्थत ‘‘यहाँको वास्तविकताको बोधले मलाई यो देश अब आफ्नै झै लाग्न थालेको छ ’’। आज विश्वमा छरिएका नेपालीले आफू बसेको स्थानलाई आफ्नै मातृभूमिप्रति गर्ने माया त्यस देशलाई पनि गर्छन् भन्ने धारणालाई यो कविताले प्रतिनिधित्व गरेको छ।

निःस्वार्थ प्रेम –
निश्चल पवित्र प्रेमको पराकाष्ठामा
ईश्वरीय आभास छल्केको हुन्छ
यो सत्यता
अनि वास्तविकता

गंगाजीका यी भावनालाई अध्ययन गर्दा वि.सं. २०२१/२२तिर विद्यार्थी जीवनमा एक जना कविको धारणालाई स्मरण गर्न मन लाग्यो। कविको नाम त भुलें तर त्यो हिन्दीमा लेखिएको कविताको सार भने यस्तो थियो। ‘प्रेम प्रेम सबैले भन्छन् तर प्रेमलाई कसैले जान्दैन। यदि प्रेमलाई जो जस्ले जानेको छ त्यो रोएर मर्न पर्दैन ’। गंगाजीका लेखनहरूलाई अध्ययन गर्दा आमा, मातृभूमि र ईश्वरप्रतिको भक्तिभाव छताछुल्ल भएर बगेको पाइन्छ। उनी भन्छिन् –

निश्वार्थ अनि पारदर्र्शी प्रेमको
अनुभूतिले ‘ईश्व्र नै प्रेम हो’ को
सोपानलाई जीवनप्राप्त गरी
‘प्रेम नै ईश्वर हो’ को
अनन्त आनन्दको क्षितिजमा
आफूलाई प्राप्त गर्न सफल हुन्छ।

पहिलो सन्देश ईश्वरीय प्रेमलाई बोकेको यो कवितामा कवयित्रीले संसारलाई नित्य र अनित्यको रूपमा हेदै अनित्यतामा क्रोध, लोभ, मोह र अत्याचारले व्यप्तता र्छाको छ भने संसारलाई नित्यतामा हेर्दा स्वच्छन्द, पारदर्शी त्याग र बलिदानको सागरको रूपमा दर्शिन्छ। यही आनन्दरूपी सागरमा डुबुल्की मार्दा, जीवनले असीम आनन्दको सैरगरी स्वर्गीय आनन्दको अनुभूति हुनुको साथै संसारलाई नै आह्लादित पार्न सकिन्छ भन्ने धारणा आएको छ। कवयित्री भन्छिन् –

वास्तवमा
मानव जीवनमा
निःस्वार्थताले बास गर्नु नै जीवनले नौलो सुन्दर र
आनन्दमय संसारलाई
प्राप्त गर्नु हो

कवयित्रीको केवल निस्वार्थ प्रेमबाटै आनन्द विभोर जीवनमा शीतल र शान्तिको अमृतमय जलमा डुबुल्की मार्न सकिन्छ भन्ने गहन धारणा अनुकरणीय छ। प्रतीक्षा विहानीको –यस कवितामा प्रकाशको खोजी गरिएको छ। औंसीको रातमा एउटा बुढोले घर जानको लागि मद्दतमाग्दा जुनकिरीले सुनेर उसको घरसम्म पुर्याउन सफल भएको र यसमा त्यो बृद्ध मानिसले जुनकिरीको यो त्यागमा ज्ञानको दियोलाई गाउँभरी फैलाउने धारणा आएको छ। कुव्यसनले ग्रस्त भएका युवा युवतीलाई यो राम्रो लाग्दैन तर हरेक रातले सुखमय प्रतिक्षालाई पर्खे झैं दुखी दरिद्र अज्ञानीले प्रयत्नशीलताले प्रकाशमय जीवनको खोजीमा लागेको धारणा आएको छ र प्रकाशमय भएर जिउन पर्छ भन्ने संन्देश दिएको छ कविताले। विदेशमा दशैं पर्व –यस कवितामा कवयित्रीले नेपालीहरू विविधतावश नेपाली जीवन विदेशी जीवनमा व्यतित गर्नु वाध्यता अनि अनुकुलता पनि हो भन्दै नेपालीहरू विदेशमा भए पनि ‘देशप्रतिको अगाध माया, देशप्रेम, निजी भाषा, संस्कृति, नेपाली संस्कृतिले दिएका महान चाडपर्वहरूलाई नेपाली धुन,बाजा र नेपाली पोशाकको साथमा मनाउने गर्दछन् भन्ने धारणाको साथमा कवयित्रीले भन्छिन् –

यसरी नेपाली परम्परा
संस्कृतिको संरक्षण र संवकर्धनले
विदेशी जीवनमा
केही अन्तरता नपाएको महसुसले
सपनामा मात्र नभएर
विपना पनि नेपाल र नेपालीकै अनभूतिले
हृदय गडगड र उत्साहित भै
प्रत्येक नेपाली
आफूलाई अत्यान्त
गौरवान्वित ठान्दछ ।

यस कवितामा पनि कवयित्रीको धारणा नेपालप्रति नै ओतप्रोत छ।

बुद्ध अनि शिरमा – यस कवितामा पनि कवयित्रीले नेपाललाई सुन्दर शान्त अनि विशालताले प्रसिद्धि पाएको देशको रूपमा नेपालको गुनगान गरैकी छन्। बुद्ध सगरमाथाको शिर भएर अह्लादित भएको ठानेकी छन्। नेपाल र नेपालीको प्रत्येक ढुकढुकीमा अनि मायारूपी छाया भएर सदा आशीर्वाद र अभिषेक गरेको महसुस गरेकी छन्। सगरमाथाको शिरमा मात्र बुद्ध सीमित छैनन् बुद्ध यत्रतत्र सर्वत्र अर्थात पृथ्वीतलको सम्पूर्ण क्षेत्रमा सत्यकै परकाष्ठा बोकेर हिडेका छन् भन्छिन्। बुद्ध संसारमा नभए पनि उनका अनमोल सिद्धान्तहरू ज्ञानको रूपमा लिन सकिने र ‘उनले दिएका अत्यान्त ज्ञानबद्र्र्धक सिद्धान्तहरूले प्रत्येक नेपालीको हृदयमा स्वच्छन्दताले ओतप्रोत गरेको छ तसर्थ बुद्ध सगरमाथाको शिर भएर नेपाली भूमिमा ओज प्रदान गरेको छ ।’ कवयित्रीले सगरमाथा र बुद्ध नेपालको सान मान र पहिचान हो भन्ने सन्देश दिएकी छन्। आशाको कुटुरो – यस कविताले पहिलो सन्देशमा महगाई, बेलाबेलाको खडेरी वर्षाको भेलले मलिलो माटो बगाएर अन्न उत्पादन हुन नसक्नुले गर्दा युवा पलायन हुन परेको बाध्यता, बाँच्नसम्म पालिन पर्ने भएकोले कमाउनु पर्ने अनिवार्यताको सन्देश दिएको छ। दोस्रो सन्देशमा बृद्धबाबु बृद्धाआमा गाउँ कुरेर कमाउन गएका छोराप्रति आशा राखेर बसेको छन् भन्ने धारणा आएको छ। विदेश पलायन भए पनि आमाबाबु र देशप्रतिको माया रहिरहने उद्देश्य प्राप्ति गरेपछि अर्थात आस्था र विश्वासले पूर्णताप्राप्त गर्दा युवा छोरा दैला टेक्छ भन्ने धारणा आएको छ कवितामा। यस कविताले आजको नेपालको अवस्थालाई समाएको छ र यथार्थलाई प्रष्ट्याएको छ ।संयोग–यस कविताले पनि धेरै सन्देश दिन सफल देखिन्छ। मानव समाजमा प्रत्येक्ष र अप्रत्यक्ष घटना घट्न सक्ने, मानव अरु मानवसँग भेटघाट गर्नु मात्र नभै सामाजिक व्यवसायिक तथा विविध काममा देखिएका समस्याको समाधानको लागि यात्रा अपरिहार्य मानिने,बाटो विराएर मानव जीवन सन्त्रस्त भएको अवस्थामा कसैले मार्गदर्शन या सहयोग दिंदा ढुङ्गा खोज्दा देउता मिलेको अनुभूति हुँदै अत्यधिक आनन्ददायी ज्विन नै सफल भएको स्वीकार्न सकिने। युवा अवस्थालाई मनोरञ्जन र रोमान्सको रूपमा लिइने, युवा अवस्थामा विविध बस्तुमा आकर्षण बढी हुनु पनि ईश्वरीय देन हो भन्ने ठान्नु, युवा युवती बीच पवित्र प्रेमले गठबन्धन भएर आनन्दले ओतप्रोत बन्न पुग्नु स्वर्गीय आनन्दको अनुभूति गर्न सकिनुको साथै कतै ‘भावावेशमाा जीवनले नकरात्मक दिशा पनि ओगट्ने सम्भावना बढी हुन्छ’ भन्ने सन्देशको साथै ‘संयोगलाई मानवले आफूमा समावेश गर्नुपर्दा पनि अत्यान्त विचारणीय अवस्थालाई बोध गर्दा ध्यान दिन सके संयोगको प्रतिफल अरू संतोषजनक र रमणिय रङ्गमञ्च बन्न सक्छ भन्ने धारणा आएको छ कवितामा। विविध खाले संयोगमा आफ्नो अनुकुलता अनुसार सकरात्मक संयोगलाई ग्रहण गर्नु पर्छ भन्ने सन्देश प्रवाह गरेको छ कविताले ।आज आकाश एक्लो छ – आकाशलाई विम्बमानेर लेखिएको यस कवितामा मानव जीवनको एक्लो पनमा खल्लो लाग्ने, मौनता छाउने निरसिलो बन्ने, मौनतामा छटपटीने आदिलाई कवयित्रीले यसरी प्रस्तुत गरेकी छन् –

उदासिनता, खल्लो एक्लोपन
पीडाको जलनले एकाोहोरिएको
एकान्त पनको दुःखद अनुभूति
जस्ले दर्शक हृदयमा
अन्योलपन र
कहाली लाग्दो हृदयस्पर्सी
व्यग्रताले तडपिन्छ

यस्तो एक्लो पन नभएर कवयित्रीले दिनमा नीलगगनमा सूर्यको किरणले लालीमा थपेर पार्ने र रातमा आकाशले चन्द्रमा जूनताराको साथ रोमाञ्चकारी जीवन हुनु पर्ने आकाशको एक्लो पन हट्नु पर्ने सन्देश बोकेको छ कविताले। अनन्त आनन्द– कवयित्रीले यस कवितामा मानव जीवनमा अनन्त आनन्दतालाई खोजेकी छन्। उनको धारणामा विश्व इतिहास नियाल्दा शान्ति त्यसै आउँदैन शान्तिको मूल नै क्रान्ति हो। यो पनि फरक छ। कहीं शान्ति संयमताका साथ र कहीं शान्ति क्रान्तिका साथ आउँछ। क्रान्तिका साथमा आएको शान्तिमा दर्दनाक र भयावह र मानव जीवनलाई त्रसित पार्दै आउँछ र यसमा पश्चताप, द्वेष, ईष्र्या र वदलाको भावले ठाउँ लिएको हुनाले एक दिन पुन भयावह र कहालीलाग्दो हुन सक्छ तर संयमको शाान्तिले शीतलता प्रदान गर्छ। त्येसो हुँदा अनन्त आनन्द लिनको लागि संयम र शान्तिरूपी ज्यावलको प्रयोग गर्नु पर्छ भन्ने कवयित्रकिो ठहर छ। निश्चय नै संयमतारूपी मार्गको अवलम्वन नै अनन्त आनन्दको सफल मार्ग हो जस्लाई क्रान्तिको मार्गबाट प्राप्त गर्न सकिदैन। कल्पवृक्ष– यस कवितामा आमाको मायलाई कल्पवृक्षसँग तुलना गरिएको छ। वास्तवमा आमाको माया आफ्ना सन्तानप्रति गरिने त्याग कहीं कतै तुलना गरेर सकिदैन र मेटाएर मेटिन्न पनि। यस सम्बन्धमा कवयित्रीको धारणा यसरी आएको छ –

सदाबहार वृक्ष झै
एकनासले शीतलता र न्यानो माया
फैलाउन तत्पर
कल्पवृक्ष झै
जति बेला, जेगर्न पनि तत्पर
आफ्नो थकावटको परवाह नगरी
सदा कहिले नमासिने नभासिने भएर
सन्तानकै खुशीमा जीवनदान दिन सक्ने
कल्पवृक्षरूपी आमाको आदर्श
विश्वकै इतिहासमा नगण्य छ
अवर्णनीय र प्रशंसनीय छ।

यस कवितामा कवयित्रीले आमामा निहित सन्तान प्रतिको माया ममता, त्याग तपस्या,सबैलाई प्रष्ट्याउने प्रयास गरेकी छन्। उनको कथन छ कि वेद, पूराण आदिले आमाको वात्सल्यप्रतिको त्यागलाई कल्पवृक्षको रूपमा वर्णन गरेको छ। आमा उदारताकी खानी,र पवित्रताकी प्रतिमूर्ति हुन्,र त्यसो हुँदा ‘आमालाई कल्पवृक्षको नामाकरण गर्नमा केही अत्युक्ति नहोला ’ भन्ने कवयित्रकिो ठहर छ। यो कविता गंगाजीको पवित्र मातृहृदयको बात्सल्यप्रेमको प्रतिमूर्ति हो जो हरेक मातृहृदयमा छचल्किरहेको हुन्छ। यस कवितामा गंगाजीले विविध प्रमाणलाई केलाउँदै आमा भनेकी कल्पवृक्ष नै हुन भन्ने तथ्यलाई प्रमाणित गर्न चाहेकी छन्। यसमा मलाई लाग्छ आमा सन्तानको लागि कल्पवृक्ष नै हुन् ।
सायद–

राग, द्वेष, ईष्र्या र हिंसा बढेको छ
आज आतंकित छ मानव जीवन

यी शब्दद्वारा गंगाजीले आजको विश्वको यथार्थता पस्केकी छन् ।एक समय यस देशमा बुद्ध जन्मेर यस भूमिलाई तपोथल बनाएर शान्तिदीप प्रज्वलित गरेर आफू मरेर पनि अरुलाई बचाउनु पर्छ भन्ने सिद्धान्तलाई रोपेर गएको कुरालाई सम्झेकी छन् कवयित्रीले। सायद बुद्धको जन्म पुन भएर विश्वमा शान्ति आउन सक्ने सम्भावनालाई बोकेकी छन्। हत्या हिंसा,वलत्कारले त्रसित यस देशमा पुन बुद्धको आगमनको खाँचो छ। यस खाँचोको स्मरण गराएको छ यस कविताले। मनभन्दा नजिकको नाता –यस कवितामा गंगाजीले भन्ने गरेको शब्द, ‘‘ साहित्य मेरो प्राण हो कविता मेरा हृदय स्पन्दन हुन’’ यहाँ स्मरण योग्य छन्। यो शीर्षकले यही धारणा पस्केको छ। संसारमा अनेक नातापाता हुन्छन् तर गंगाजीको नजिकको नाता को त ? उहाकै शब्दबाट जानकारी लिऊँ–

मेरो मनभन्दा नजिक बस्न खोज्छ
मेरो कविता
यो मेरो अभिन्न अङ्ग
अनि अनन्तसम्मको अति प्रिय वस्तु
मेरो कविता ।
आस्थाको सागर–
आस्थाको सागर अनन्त छ
संसार नै आस्थाको सागर हो
यो अनन्त सागरभित्र
मानवको अनन्त आस्थाहरूले
जरो गाडेको छ।

यी माथिका शब्दबाट आस्था कहाँसम्म छ,, र्ससार के हो ? मानव आस्थाले के गरेको छ भन्ने धारणा प्रष्ट हुन्छ। आस्थाभन्दा आत्माभित्रैबाट जागेको सम्मान, श्रद्धा, अखण्ड विश्वास हो। ईश्वरप्रतिको आस्थाले मठमन्दिर।को निर्माण, मानव मानव बीच सहयोग र प्रेम अनि पवित्र सम्बन्धको गठबन्धन, मातृत्वको माला गाँसिन पुगेका धारणाको सन्देश दिएको छ कविताले। कवयित्रकिो धारणा छ–

हुन त यो संसारले
भौतिकताको रोमाञ्चकारी
खास्टो ओढेको छ
तर यो भित्र
आस्थाको कारण
आध्यात्मिकताको ओज पनि छ
जस्ले गर्दा मानव बीच
पवित्र आस्था र विश्वासरूपी
सागर प्रवाहित भएको छ।

नदी नाला, जलचर थलचर सबैमा निवास कर्ताहरू आस्थाकै भरमा चलेका छन्। मानिस देशभक्तिको आगाध आस्थाको कारणले बलि चढने,आदि धारणा राख्दै कवयित्री भन्छिन्–

आस्थाको अनन्त सारगरमा
डुबुल्की मार्दा जीवनै
अनन्त सुखमय सागर बन्दछ ।

आस्थाको गहनता र महानताप्रति कवयित्रकिो धारणा प्रष्ट छ ।

बगरसँग–बगर,सागर र मानव जीवनसँग सम्बन्धित बनाएर सिर्जना गरिएको यस कवितामा कवयित्रीको धारणा यसप्रकार प्रष्टिएको छ –

यसरी समुद्र लहरले
बगरसँग गरेको भेट
अत्यान्त दामी, अमूल्य र
माधुर्यपूर्ण हुन्छ ।
यसरी लहरको आनन्दमय क्षण
प्रणय कथाको रूपमा बदल्न
जान्छ
जहाँ मानवले जीवनलाई उल्लासमय
क्षणको रूपमा सैर गरी
अह्लादित हुन्छन् ।

जन्म दिन –यस कवितामा मानव जीवनजगतका विविध पक्षलाई समेट्न प्रयाँस गरिएको छ। जन्मनु र मर्नु प्रकृतिको देन निरन्तर प्रकृया भए पनि जन्म दिनले हर्ष र उल्लास र सुखको माहौल खडा गर्छ,। मानव जीवनमा सुख मात्र नभएर रोदन क्रन्दन, कष्टमय कहाली लाग्दा क्षण र त्रास पनि आउँछन्। लोभ मोह ईष्र्या र हिंसा जस्ता कलुषित भाावनाले मानव जीवनलाई संतस्त्र बनाएको हुन्छ। मानवमा भएको अज्ञानताले मानव जीवन अन्धकारमय हुन्छ। जहाँ ज्ञानको ज्योति बलेको हुन्छ त्यहाँ जीवन पनि प्रकाशमय हुन्छ सौहार्दतालाई कायम गर्दै जीवन उन्नतशील बन्दछ ।अन्तिम मोक्षप्राप्ति पनि ज्ञानबाटै हुन्छ भन्दै्र कवयित्री भन्छिन् कि जन्म दिनको महत्त्वपूर्ण बन्नको लागि कीर्तिवान बन्न सक्नु पर्छ भन्ने धारणा आएको छ। आज सूर्य हाँसेको छ –शिशिरको जाडोको प्रभावले मानव, पशुपंक्षीको जीवनमा पारेको कष्टलाई सूर्यको उदयले दूर गर्दै सबैलाई हँसाएको छ भन्ने धारणा आएको छ। अन्धकारबाट मुक्त भै प्रकाशिलो जीवनमा लाग्ने सन्देश छ कवितामा। आफ्नै सृजना – यो कविता पनि जीवनजगतसँग नै सम्बन्धित छ। आफ्नै सृजनासँग संत्रस्त हुनु, नैराश्यताले छाउनु, आफूले खनेको खाडलमा आफै भासिनु, आदि यी सबै नकरात्मक सोचबाट सकरात्मक सोचमा लाग्नु पर्छ। कवयित्री भन्छिन् ‘जीवन भूल होइन फूल हो। ’गरिमामय जीवनलाई नैसर्गिक बोध मानस पटलमा बनाएर उच्चाईमा पुर्याउनु पर्छ,। उचतम सृजनशीलताको सफलता प्राप्त गर्नु पर्छ। कवयित्रीले यसलाई मानव मूल्यको क्षितिज पनि हो भनेकी छन् ।वास्तवमा कवयित्रीले आफूले गरेका सिर्जनाले अधिकतम आनन्दानुभूतिको सुखद क्षण जीवनमा प्राप्त गर्न सक्नु पर्छ भन्ने सन्देश सकरात्मक र अनुकरणीय छ।

सम्झना भरि–
सम्झनाको खेती
जति जोत्दै गयो
उति बढ्दै जान्छ तर घट्दैन

यी सारगर्भित शब्द हुन् गंगा लिगलका। सम्झना भनेको अतितमा आफूले गरेका कामको स्मरण गर्नु हो। यो स्मरण गुमसुम गर्दा लहरिएर जान्छ। कवयित्री अमेरिकामा बस्न थालेपछि उनले आफ्नो मातृभूमिप्रति यस्तो धारणा राख्छिन् –

हुन पनि अब त
मेरो देश मेरो गाउँ ठाउँ
मेरो सम्झनाभरि मात्र
रहन गएको छ
त्यही सम्झनमाले त केही आनन्द आउँछ ।

कवयित्रीले बाल्यकालदेखि उनले गरेका भोगेका खेलेका चाडपर्व आदिका घटित या गरिएका कामको स्मरण गरेकी छन्। स्मरणले गर्दा जिउन सहज भएको र जीवनमा आनान्दाभूति प्राप्त गरेको धारणा आएको छ। निश्चल– साधारण अर्थमा निश्चल भनेको हलचल नहुने, स्थिर, परिवर्तन नहुने भन्ने बुझाउँछ। तर यहाँ कवयित्रीले निश्चल शब्दलाई व्यापकताको दृष्टिले उदाहरण सहित परिभाषित गरेकी छन्। आकाशका आँखा कति गम्भीर्य,सौन्दर्य, पारदर्शी, निश्चल, सौम्य र शीतल देखिन्छन्, त्यहाँ द्वेष, ईष्र्या, राग, हिंसा केही देखिदैनन्। ती उदात्त र समर्पित आँखा संसारलाई निस्वार्थताको आलोक छरेर शान्ति र शीतलता प्रदान गर्न तत्पर देखिन्छन्। यस कवितामा पनि कवयित्री मानव जीवनजगतसँग टाँसिन पुग्छिन्। मानवले आकाशकै जस्तै दृष्टिगोचर गर्नु पर्ने हो तर गर्दैन र नकरात्मक दिशातिर दौडाउँछ, र फलस्वरूप समाजमा विकृति र क्षोभको कालो बादल सृजना हुन्छ। यस कालो बादल समाजमा मडारिन पुगेपछि मानवले यी पवित्र आँखा कुभावना,कुविचार र कुकर्मतिर दोडिन बाध्य हुन्छन् र आकाशलाई नै अन्धकारमय ठान्न पुग्छन् र जीवन नारकीय बन्न पुग्छ जस्ता गहन भावनालाई पस्किदै कवयित्री भन्छिन् –

तसर्थ आँखामा भएको शुद्धतालाई
अँझै पारदर्शिताको रूप दिन सकेमा
जीवन अलौकिक बन्ने छ ।

कवयित्रीका धारणा सवल छन् र सफल छन् उनका शुद्ध आँखाले शुन्दर शान्त, उज्ज्वल संसारलाई अवलोकन गर्न चाहन्छ र आनन्दमय जीवनको परिकल्पनामा उनका भावना बहिरहन्छन् ।
साहित्य सुधा– यस कृतिको यो अन्तिम कविता हो। साहित्यको प्रवाह अमृत सरी वहाव निरन्तर यसमा लगाव हुनु पर्ने, यो अनन्दको स्रोत हो यसले हृदयको कुना कुनामा स्पर्श गर्छ र हृदयको हरेक कुना कुनामा रसाउँछ र नवरङ्गमा यो फुल्न थाल्छ यसले साहित्यिक सुधाको रूपमा प्रसिद्धि छर्छ। यो वनचरझै घुम्छ,हरियालीको बहारमा झुम्छ,जस्ता भावनालई बगाउँदैकवयित्रीले भन्छिन् –

आनन्दातिरेक झैं
पंक्षीहरूको कलरव गानमा
अनि
हुन्छ मस्त
सङ्गीतको तानमा

साहित्यप्रति सुधाको उपमा दिंदै पस्किएको यस कवितालाई भूमिकाकार मोहन सिटौलाले उच्च मूल्याङ्कन गर्दै धरणीधर कोइरालाका कवितालाई सम्झाउँछ भनेका छन् –

बुझ काव्यसुधारस औषधी हो –धरणीधर कोइराला

यस कृतिका कविताहरूको भावसारलाई मैले यहाँ पस्कने कोशिस गरेको छु। कविको भावना कुन परिवेश, समय, कहिले र कुन घटनाक्रमा के सन्देश दिन भावनालाई पोखिएको हो त्यो यथार्थता पाठक र समालोचकले नअर्थ्याउन सक्छन् तर माथिका भावसारलाई अर्थात उनका कविताका शीर्षकलाई अध्ययन गर्दा जो कोहीले पनि भन्न सकिन्छ कि गंगाका कवितामा धेरै विषयहरूले स्थान पाएका छन्। ‘जहाँ नपुगे रवि त्यहाँ पुगे कवि’ भन्ने कथनलाई चरितार्थ गर्न सफल देखिन्छिन् कवयित्री। उनले दिन चाहेको विषयबस्तुमा पनि विविधता छ। यी कविताले के सन्देश दिन चाहेको छ तभन्दा यसको उत्तर सहजै भन्न सकिन्छ कि यसले दिनपर्ने कुन सन्देश छोडेको छ त ? त्यसो हुँदा गंगाजीका कवितामा बहुआयमिक व्यापकता पाइन्छ। यी कविताले राष्ट्रियता, मातृभूमि र आमाप्रति प्रगाढ माया बोकेका छन्। मानवजीवनजगतका यथार्थतालाई खोलेका छन् ।, विश्वशान्तिको भावनामा प्रगाढ कामना गरेका छन्। भााइ भाइमा सौहार्दता स्वाभिमानको जगेर्णा, स्वर्गीय आनन्दता, प्रकृति वर्णनमा प्रचुरता,आज नेपालका युवा विदेश पलायनमा वाध्यता, विदेशमा गएका नेपालीले नेपालप्रति देखाएको राष्ट्रप्रेम, जस्ता विषयलाई धेरै कवितामा स्वर बुलन्द भएर आएका छन्। मैले गंगाजीका यी कवितामा टिप्पणी गर्दागर्दै भूमिकाकार मोहन सिटौलाका यी शब्दलाई पनि यहाँ समावेश गर्न मन लाग्यो – ‘उनका ऋतुराज वसन्त, पूर्णिमाको जून, पहाडमा झुल्केको घाम, झुल्केको घामसँगै, शीतको थोपा,, शिशिर ओढेका पातहरू, पानीको फोकाजस्ता यस सङ्ग्रहका कविताहरू नेपाल लगायत विश्व रोमान्टिक मूलधारमा आफ्नै विशेषता लिएर समाहित हुन्छन्। यो पनि प्रस्तुत कवयित्रीको छुट्टै प्राप्ति हो ।’ (पृष्ठ ११)। पुनः सिटौलाजी भन्नुहुन्छ –गंगा लिगलको कविको क्षेत्र र यात्रा असीमित छ, सुरक्षित छ र प्रतिबद्ध ।’ मलाई पनि लाग्यो उनको कविता लेखनको निरन्तरता, जीवन शैली र लेखनमा देखिएको सरलता, प्रस्तुतिमा देखिएको स्वच्छ पवित्र मानवीय हार्दिकता, राष्ट्र र राट्रियताप्रतिको प्रगाढता र वैचारिक उच्चताले गर्दा उनी नेपाली साहित्यजगतकी उदयमान तारा नै हुन्।

भाषशैली – गंगाको लेखन सरल छ। सरलताकै कारण सुबोध छ। सबै किसिमका पाठकको लागि ग्राह्य पनि छ। कविता विवरणात्मकरूपमा प्रस्तुत भएका छन्। एउटै कविताबाट पनि धेरै सन्देशहरू प्रवाह भएका छन्। ठाउँ ठाउँमा उखान टुक्काले स्थान लिएका छन्। शब्दअलंकारको प्रयोगको कारणले गर्दा कलात्मक पनि छन्।

अन्त्यमा वहुआयमिक प्रतिभाकी धनी कवयित्री गंगा लिगलको साहित्यिक यात्रा अँझै तीब्र गतिमा अघि बढोस् भन्दै सुस्वास्थ,दीर्घायुको साथै भविष्य उज्वलताको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७५ साल मार्गशीर्ष ३ गते,
कावासोती न.पा. वार्ड नं–७, शान्तिचोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *