Skip to content


तम बिदाइ गरेर उषा तिमी
विहग गान गराउन उद्यमी ।
समय ध्यान र ज्ञान सुशिद्धिको
प्रकृतिका कृतिका क्षण वुझ्छ को ?।।१।।

वसन श्वेत विचित्र मुकूटमा
धरणिवक्ष विशाल कुचाग्र मा।
सुनहरा रविचक्षु विछ्याइदो
चपलता पलता मन आउँदो।।२।।

नयन पर्दछ ठोस समुद्रमा
हिमनदी झरना गतितालमा।
सकल प्राण वनस्पति तृप्तिने
नहरिया हरिया वन देखिने।।३।।

तरल सागरमा हरि शिद्धि छन्
सकल शैल उमापति रम्दछन् ।
गहन रत्न दुवैतिर छन् अरे
त्रिगुणका गुणका हर मूल रे। ।४।।

सवल निर्झर अश्रु कि क्षीर वा
हिमनदी छहरा रुपमा सुधा
कुदिरहेछन् स्रोत समुद्रका
प्रकृतिका छविचित्र विचित्रका।।५।।

सुरसिली चपला अमरापरी
हरित साडि शृंगार सुनै सरी
धरणिपिण्ड सबै हितमा झरी
जघनका घन कानन शुन्दरी॥६॥

कि हुन गौरीशिवा हिमशैलकी
कि गलहार सबै हिम शृंखली
नमित तीर्थ भए हिम टाकुरा
नमनका मनका हुन यी कुरा ॥७॥

अमरता छ वनौषधि पानमा
जल महानद कानन कुन्जमा
अमरभूमिछ दृश्य विचित्रता
छवि हिमाल हिमालयका यता।।८।।

अति पवित्र गुफा वन वाटिका
जल सरोवर कुण्ड र तालका
नजिक ध्यान समाधि र प्रार्थना
असुरका सुरका तप साधना ।।९।।

(छन्द द्रुत विलम्वित नसयभानसभानसराजभा) र यमक अलंकारको प्रयोग प्रयास।

धर्मराज कोइराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *