Skip to content

छन्द:-मालिनी
शीर्षक:-जिन्दगानी

अनवरत नदी झै बग्छ याे जिन्दगानी।
दुखसुख अनि यात्रा हाे सधै जिन्दगानी।।
छ लतपत मसीले केरकार् जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।१।।

कलकल जलकाे खाेला भयाे जिन्दगानी।
तप तप चुहिने थाेपा भयाे जिन्दगानी।।
चर चर गरि चर्केकाेछ याे जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।२।।

रनवन भरि फूल्ने फूल हाे जिन्दगानी।
गहभरि भरिएका अाँसु हाे जिन्दगानी।।
धिप धिप गरि बल्ने दीप हाे जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।३।।

रसमय कविताकाे छन्द हाे जिन्दगानी।
सुरमय लयकाे सङ्गीत हाे जिन्दगानी।।
प्रियजन सबकाे सत्प्रेम हो जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।४।।

जन जन भनि जप्ने मन्त्र यो जिन्दगानी।
धन धन झन लुट्ने तन्त्र यो जिन्दगानी।।
वरपर सब मेरै भन्छ यो जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।५।।

तल तल जल भर्ने मात्र याे जिन्दगानी।
प्रभु प्रभु जपको माला भयो जिन्दगानी।।
छल गर लुट सक्दाे भन्छ याे जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।६।।
यादव दुलाल “गाउँले”
इटहरी सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *