सधैं सधैं खस्छ
आकाशको ल्याम्प-पोष्टबाट
कालो कालो ढिक्का उज्यालो
किन पोखिदैन घामको शीतल जून
मेरो आँखामा पनि
पोखिए उज्यालो अँजुलीभर
पिउने थिए
आँखाले धित् मरुञ्जेल
खै, किन सधैं अँध्यारो ओढ्छ आँखा !
सधैं सधैं आँखाका परेली कुची बनेर
जीवनमा सधैं एउटै रंग पोतिरहन्छ,
चोबिइने रङ्ग धेरै निक्खर कालो हुन्छ
केही फुस्रो कालो
केही धमिलो जस्तै कालो
तिमी क्यानभासमा इन्द्रेणी पोतिरहँदा
हो, म त्यस्तै काला रङ्गहरूले ब्रम्हाण्ड पोतिरहेको हुन्छु
हेर्ने भनेको कालो रंग मात्र हो
देख्ने भनेकै अँध्यारो परिवेश न हो
पौडिरहन्छु आकाशमा
बोकेर आँखा
आँखैले अँध्यारोमा आँखाको नानी जत्रै प्वाल पार्न
ता कि खन्याउन सकुँ
आँखामा घामको शीतल जून
ता कि डुबुल्की मार्न सकुँ
जूनको जुनेली दहमा
ता कि मिसिन सकुँ
ताराहरूको जुलुसमा
तर सक्दिनँ च्यात्न अँध्यारो सर्वाङ्ग
कैले उघ्रने होला सातै रङ्गले रङ्गिएको घाम !
सधैं सधैं डोर्याइरहने
फगत एक सेतो छडी
बाटो अबाटो सबै सबै चिनाउदै हिँडाइरहन्छ ।
चुपचाप पछ्याइरहने मेरा यी मौन आँखाहरू
मात्र सपना देख्न रैछ
खै कैले पूरा होलान्
सपनामा देखेका कुराहरू
आँखैले छोएर हेर्ने धोको !
अनुज श्रेष्ठ पृथक्
पेप्सीकोला, काठमाण्डु