Skip to content


“आ हजुर यो खप्परमा सौता नै लेख्या जस्तो छ… !” मनमायाले एकाबिहानै लोग्नेसँग गुनासो पोखिन् ।

“धत्तेरी ! किन एकाबिहानै यस्तो अलच्छिना शब्द बोल्छ्यौ ए बुढिया…।” श्रीमती चाहिँले के भन्न खोज्दै थिइन्, बोल्नै नदिई बीचैमा बुझो लाइदियो हरिलालले ।

उनीहरुको विवाह भएको आजकै दिन त हो । मनमायाले भखरै चौध पार गरी पन्ध्र टेकेकी थिइन् । हरिलालले तिनलेभन्दा अझ दुई वर्ष बढी भोटो फटाइसकेको थियो । कलिलो मुनाबाट भखरै बसन्ततिर प्रवेश गरेका उनीहरुलाई घरगृहस्थी के हो र कसरी चलाउने केही थाहा थिएन । घरबारीको खेतीपाती, गाउँघरको मेलापात, गाईबस्तुको गोठालो र घाँस दाउरामै दैनिकी बितिरहेको थियो । उनीहरुलाई लाग्दथ्यो– जीवनको अनन्त लय नै यही हो । डाँडामाथीका जून भइसकेका आमा बाबुले मिल्ने कुटुम्बा खोजेर जोडी बाँधी दिए ।

दिन बितेको पत्तै भएन । पन्ध्र वर्ष बितिसके छ । पौरखी उनीहरुले मेलापात, गाईबस्तु पालन स्याहार गरेरै गाउँमा भनेजस्तो खेतबारी जोड्यो । जिमिदारको जतिकै देख्न लायक घर, गोठ ठड्यायो । उनीहरुको मेहनत देखेर गाउँलेहरु भन्थे, “छोरो बुहारी भनेको त हरिलालको बुढाबुढी जस्तो पो होस् ।” ती दुई जोडी मिहेनती मात्र होइनन्, साह्रै मिल्तीको नमूना जोडी पनि थियो ।

“हरिलाल दाइ तपाईलाई जिमिदार सा”बले बोलाउनु भएको छ ।” जिमिदारकहाँ हलिगोठालो बस्ने बिर्खे खबर लिएर आयो ।

“यस्तो साँझपख जिमिदार बाले किन बोलाउनु भएको नि भाइ ?” बस्तुभाउ थन्क्याएर भखरै घरभित्र पस्ने सुरसारमा थियो हरिलाल । श्रीमती चाहिँ भातभान्साको तयारीको लागि चुलोमा दाउरा जोडजाडको तयारी गर्दै थिइन् ।

“जानुस् न जानुस् । केही जरुरी पो पर्यो कि ?” हरिलाल अनकनाएको देखेर श्रीमती चाहिँले भित्रैबाट अनुमति दिइन् ।

हरिलाल भित्रै नछिरि त्यतैबाट बिर्खेलाई पछि लाएर जिमिदारको घरतिर हिंड्यो ।

पहाडको ठाउँ । भन्ज्याङदेखि अलिमाथि उठेको थुम्कोको समथरभागमा थियो जिमिदारको घर । वरीपरी बाँसको बेराले कम्पान्डले घेरिएको, चारैतिर बरन्डा हालेको र दुईनाले यो घर तीन तल्लाको थियो । दुईनाले जोडको बीचमा हावाघर बनाइएको थियो । जिमिदार यही हावाघर भएको दोस्रो तल्लामा बस्ने गर्दथ्यो र मानमनितो गर्नुपर्नेलाई यही हावाघरमा भेटघाट गर्ने गर्दथ्यो । अरुलाई उनी तलै आँगनको फलैचामै भेट्ने गर्दथ्यो ।

“ए आइपुग्यौ हरिलाल ?” हावाघरमा बसेर तमाखु तान्दै गरेको जिमिदार बुढाले उसलाई संघारमा देख्ने बित्तिकै सम्बोधन गर्यो, “आउ आउ चाईन्जो यही माथी नै ।”

हरिलाल भने जिमिदारको यो व्यवहारले असमन्जस्यतामा पर्यो । आजसम्म जिमिदारले उसलाई त्यो हावाघरमा उक्लन दिएको थाहा छैन । केही काम परेर आयो भने तलकै फलैचाबाट छिनोफानो गरेर फर्कान्थ्यो ।

“होइन हजुर ! म यी तल नै….।”

हरीलालले कुरा टुङ्याउन नपाउँदै जिमिदारले आदेश गर्यो– “मैले चाईन्जो भने नि त । माथी नै आउ ।” उ माथी उक्लेर जिमिदार बसेको खाटको भुइमा ओछ्याइरहेको राडीमा अप्ठ्यारो मानीमानी टुसुक्क बस्यो ।

“कुरो चाईन्जो के भनेनी हरीलाल ! हाम्रो धर्मगुरुहरुले बताउनुभए अनुसार मान्छेलाई पिन्डा दिने कोही भएन भने नरक जान्छ भन्छन्… ।” यति बोलेपछि जिमिदारले हरीलालको अनुहारमा गडेर हेर्यो र चुपलाग्यो ।

“हजुर मैले पनि यस्तै सुनेको हुँ ।” जिमिदारले कुरालाई बीचैमा छाडेर उसलाई घुरेर हेरेका कारण डराएको उसले स्वर कपाउँदै अपुरो वाक्याशंलाई सही थप्यो ।

“अनि चाईन्जो तिम्रो बिहे भएको कति वर्ष भयो रे ?” समय नै थाहा नभएको जस्तो गरेर जिमिदारले उसलाई सोध्यो ।

“हजुर मात्र पन्ध्र वर्ष !”

“हा हा हा” हरीको कुरा सुनेर अघिसम्म गम्भीर देखिएको जिमिदार खित्का छाडेर हाँस्या– “यति लामो वर्षलाई तिमी “मात्र…” भन्छौ चाईन्जो ए हरिलाला….?”

हरीलालको अनुहार कालोनिलो भयो । केही बोल्न सकेन ।

“मान्छेलाई चाईन्जो धर्म, गाउँ–समाज चाहिन्छ । हो कि होइन ?” मान्छे नै निल्ला जस्तो आँखा बनाएर जिमिदारले उसलाई हेर्दै भन्यो– “तिम्रो चाईन्जो त्यो बैलीले अब पिन्डा तार्लि जस्ती छैन चाइन्जो हेर हरिलाल…। ल चाईन्जो कुरो बुझ्यौ नै होला, मलाई चाईन्जो भोली उज्यालो हुँदा निधो चाहिन्छ ।”

उसलाई एक्कासी टाउको माथी बज्र बज्रिएझैं भयो । जिब्रो लाटो भयो । आँखाले धमिलो देख्न थाल्यो । कान बन्द भयो । कतिखेर जिमिदारको घरबाट आफ्नो घरभित्र घुस्रिन पुग्यो, उसलाई थाहै भएन ।

“जिमिदारले किन बोलाउनुभएको रहेछ बुढो ?” मनमायाले सोधिन् । अगेना छेऊमा मुर्ति जस्तै एकोहोरो टोलाइरहेको हरीलालले स्वास्नीको कुरा सुन्दै सुनेन ।

“एई तपाईंलाई के भो ?” लोग्नेले आफ्नो कुराप्रति ध्यान नदिएको जस्तो लागेर अगेनामा आगो ठोस्दै गरेकी उसले आगो ठोस्न छोडेर हरीलाललाई झकझक्यायो । हरीलाल तन्द्रा भंग भएझै गरी झस्कियो ।

जिमिदारको कान्छी सालीको घर हुन सकेन । दुई ठाउँमा बिहे भयो तर कतै घरजम गरेर खान सकेन । अहिले तिनी दिदी भिनाजुको शरणमा छिन् । झण्डै हप्तादिन हुन लाग्दा पनि माईती फर्केकी छैनन् । यतै हुनेखाने घरको मिल्दा कुटुम्बा भेट्टाए जिम्मा लगाउने घर सल्लाह भएका कारण जिमिदारको आँखामा हरीलाल पर्न गएको थियो ।

“यसको मुखाँ किरा पर्न नसकेको…।” एक्कासी हरीलाल स्वास्नीसँग झोंकियो र बच्चाजस्तो क्वाँक्वाँ रुन थाल्यो ।

“हैन तपाईंलाई के भइरहेको छ ?” बिहे भएदेखि लोग्नेको यस्तो रुप नदेखेकी मनमाया आफै अल्मल्लिइन्– “कि बहुलाउन आँट्नु भो ?”

“मनमाया आज बिहान किन तिमीले त्यस्तो अपशब्द बोलेकी…?” अघि आबेशमा आएको हरीलालको स्वर यतिखेर भने गलेको थियो, “अघि जिमिदारले….पिन्डाको कुरा….।”

“बिहान तपाईंले मेरो कुरा नै सुन्न चाहनु भएन…।” स्वास्नी चाहिँ पनि रुन लागिन् । लोग्ने स्वास्नी अँगालो कसेर अगेनामै धेरै बेर रोई रह्यो । भनिन्छ, पाकी सकेको भात, तरकारी एकगाँस भए पनि जुठो हाल्नु पर्छ । तर आज यी दुई दम्पतीले जुठो नै नहाली यतिकै थन्कियो भान्सा ।

हरीलालको बुबा दमको रोगी थिए । उनीहरुको बिबाहले दोस्रो संघार पार गर्न नपाउँदै बुढा बित्यो । लोग्ने बितेको पीरमा आमा चाहिँ पनि छ महिना टिकिनन् । सम्पूर्ण घरव्यवहार, रितभात सबै अल्लारे जोवन टेक्दै गरेका उनी दुईको काँधमा आइपर्यो । गर्नुपर्ने धर्मकर्म, मान्नुपर्ने रीतिरिवाज, बाँधिनुपर्ने सामाजिक नियमहरुमा बाँधिदै उमेर पाको बन्यो ।

“मेरी बुहारी ! अब त दुई दुई वर्ष पुग्न लाग्यो है ।” सासु आमा मनमायासँग कहिले काही हासिमजाक गर्थिन्– “मेरी नाती नातीनीलाई कता लुकाइ राखेकी छ्यौ हँ ?”

“छिः आमा पनि ?” रातो मुख लाएर मनमाया भन्ने गर्थिन् ।

“कि ! लौ लौ यो केटीले त कत्रो कोसेली पो ल्याइछ्यौ भनेको त माइतमा मादल पो बोकेर आइछ्यौ है” भनेर भाउजु–संगीले जिस्क्याउलान् भनेर हो ?” बुहारीले मुख रातो पारेकी देखेर अझ हौसिन्थिन् बुढिया । बुढाको निधनपछि सासु बुढीले पनि नाता नातिनीको रहर गरेर यसरी कहिल्यै जिस्किनन् ।

आज बिहानै पँधेरी जाँदा बाटामै जिमिदारनीसँग भेटेकी थिइन् । जिमिदार आफ्ना नोकर्नीहरुसँग जीउ धोइपखाली फर्केकी थिइन् । मनमायाको अभिवादन सकारेपछि जिमिदारनीले भनेकी थिइन्– “मनमाया ! यत्रका वर्ष भइसक्यो तिमीहरुको बिहे भएको पनि । बालबच्चा भएन क्यार । लोग्नेलाई धेरै आफूसँग मात्र कज्याएर राख्न नखोज है ।”

“खोइ हजुर !” मानमायाले बिनित भावमा दुखेसो पोखिन्– “भावीको लेखा नै यस्तो हुँदो रहेछ…।”

“आफू त बाँझी भई भई लोग्नेलाई पनि पिन्डा खान नदिएर नरक पठाउली ।” मनमायाको बिनित भाव सुनेर उल्टै जिमिदारनी कड्किइन्– “सौताको रेखा बोकेर आएपछि भावीको लेखा हजुर भनेर हुन्छ ? लोग्नेलाई सौता हाल्न दिनु पर्यो नि !” यसपछि मनमायाले केही बोल्न सकिनन् । प्रतिकार गर्नु पनि त मृत्यु खोज्नु नै हुन्थ्यो । बिहान उसले लोग्नेलाई यो कुरा सुनाउन खोजेकी थिइन् तर लोग्ने चाहिँले कुरै नबुझी मुखमा बुझो लगाइदिएको थियो ।

आजको रात यसै बित्यो । रुदा रुदा अगेनाको आगो कतिखेर चिसो भयो, पत्तै भएन । बत्तीको तेल सकेर कतिखेर निभ्यो, कुनै सुइको पाएन । तेस्रो प्रहारतिर भालेले फखेटा फटफटाएर उज्यालोको संकेत गर्दा पो दुबैजना झस्किए ।

“आफ्नो भाग्य नै खोटी रहेछ…।” मनमायाले फेरी रुदै भनिन्, “अब म सबै तयारी गरिदिन्छु । तपाई जिमिदारकोमा जानुहोला ।”

“म यस्तो कुकर्म गर्न सक्दिनँ ।” हरीलालले स्वास्नीको टाउको सुमसुम्याएर बोल्यो– “बरु जे पर्छ त्यही टर्छ ।”

“मर्नुभन्दा बौलाउनु बेस भन्छन् ।” मनमायाले लोग्नेलाई सम्झाउन खोजी– “तपाई अटेर नगर्नुस् । कालको आँखा लागेपछि कसले टार्न सक्छ र ?”

सधैं भालेको तेस्रो डाकसँगै आफ्नो मौलोमा आइपुग्ने घरमुली नदेखेर गाईको बाछा बाछीहरु ड्वाँड्वा र डुँडुँ गरी कराउन थाल्यो । भैंसीका पाडा पाडीहरुको आइआइ र उइ उइ सुनेर बाख्राका पाठापाठीहरु पनि म्याम्या र म्युम्यु गर्दै छोपी राखेको डोकोहरु घिसार्न थाल्यो । सबै बस्तुभाउले हल्ला खल्ला गर्न थालेकोले अघि प्रहार प्रहारमा मात्र बास्ने कुखुरा भालेहरु छिटोछिटो बास्न थाल्यो ।

“अब त उज्यालो नै भयो ।” मनमायाले रुदारुदा थाकेको स्वरमा बोलिन्– “म बस्तु भाउलाई हेर्छु । तपाई जिमिदारकहाँ पुग्नु ।”

“तिमीले नै त्यसो भन्छ्यौ भने जान्छु ।” मनमाया कसै गर्दा पनि मान्दिनन् भन्ने लागेपछि लामो सुस्केरामा हरीलालले भन्यो– “लौ प्रिया ! म गएँ ।”

आफूतिर तानेर स्वास्नीको निधारमा कहिल्यै चुम्बन नखाने हरीलालले आज लामो चुम्बन खायो । ता तातो आँसु खसायो र जिमिदारको घरको बाटो समायो ।

लोग्ने हिंडेपछि मनमाया जिमिदारको साली आफ्नो सौता बनेर आएपछिको कहालीलाग्दो दृष्य सम्झिदै बस्तुभाउलाई घाँसपानी गर्न थालिन् । त्यहीबेला आफ्नो नजिकै कोही लोग्नेमान्छे खोकेको आवाज सुनेर तिनि तर्सिइन् ।

“ए ठूले हजुर पो हुनुहुदो रहेछ ।” जिमिदारको ठूलो छोरो आफ्नै अगाडि देखेर आफ्नो भावभंगी ठिकपार्दै मनमाया बिनम्रपूर्वक बोलिन्, “बस्नुस् न हजुर ।”

“तैंले लोग्ने भगाइस् होइन ?” मनमायाको विनम्र बोलीलाई कुल्चदै जिमिदारको जेठो छोरोको अहंमताले भरिएको आवाज ध्वनिकृत भयो– “अब जिन्दगीभरि जोल्ठिएर बस्छेस् ।”

जिमिदारको छोरो फर्किएपछि मनमाया आफ्नै दैनिकीमा लागिन् । अघि कराइरहेका गाइबस्तुहरु घाँस पानी पाएर आफ्नै धुनमा उँघ्न थाल्यो ।

“लौ मनमाया सख्त घाइते छिन् रे !” गाउँभरि हल्ला फिंजियो । सबै मान्छेहरु भेला हुँदासम्म उनी एकोहोरो मात्र बोल्ने भएकी थिइन् । जिमिदार र उसको आसेपासे पनि आइपुग्यो ।

“बुढो… बुढो…।” तिनी एकतर्फी सासमा कराइरहेकी थिइन् ।

“तिम्रो घाँटीमा चाईन्जो कसले छुरी रोप्यो हँ मनमाया ?” जिमिदारले सोध्यो ।

“बुढो…बुढो…।” फेरि तिनि एकतर्फी सासमा कराइन् र प्राण त्यागिन् ।

जिमिदारको रोहबरमा गाउँको भद्रभलाद्मीको कचहरी बस्यो । हरीलालले नै मनमायाको हत्या गरेको ठहर्यो ।

आफ्नो प्राणभन्दा प्यारी श्रीमतीमाथि जिमिदारको दबाबमा सौता हाल्नु पर्ने परिस्थिति सिर्जना भएर दिनभरि अनकन्टारमा लुकेर राती घर फर्केका हरीलालले भने न श्रीमती भेट्यो, न आफ्नो बस्तुभाउ नै देख्यो । घरको मूल ढोकामा जिमिदारको भकारीमा झुण्डिने यामनको भोटेताल्चा पिङ खेलिरहेको थियो । भनिन्छ, नेपालको मध्य पहाडी जिल्लातिर आज पनि “होहो होहो” भनेर चराको रुप धारणा गरेर हरीलाल आफ्नो श्रीमती र बस्तुभाउ खोज्दै रातभर दिनभर घुमिरहेको छ ।

यकिना अगाध

Leave a Reply

Your email address will not be published. Required fields are marked *