Skip to content

म नि हजुर जस्तै हुनेछु बाबा आमा

MotiAnukul


बाबा मेरो दिमाग किन सानो बनाई दिनु भो
आमा हजुरले मेरो मुटु किन सानो रच्नु भो
अलिकति ठुलो बनाई दिएको भए
म हजुरको मायालाई अटाउन सक्ने थिए
म भित्रको दरिद्रपनलाई हटाउन सक्ने थिए
अनि हजुरको तस्विरलाई आँखाभरि सजाउने थिए
म हजुरको मायालाई मुटुभरि भराउने थिए
हात समाएर आगनीमा डोर्याउने थिए ।
भन्नुस आमा
मेरो मन किन खुम्चाई दिनु भो ?
मैले गर्ने माया किन तलतिर फर्काई दिनु भो ?
त्यसैले मेरो सम्पूर्ण माया मेरा सन्तानमाथि घोप्टाइदिएँ
मेरी प्यारी जीवन संगिनीलाई वर्षाई दिए
म हजुरसम्म पुग्नै लाग्दा फर्किएर आएँ
मलाई कहाँ छ फुर्सद कुप्रिएका शरीर डोराउन
मलाई कहाँ छ फुर्सद चाउरिएका अनुहार सुम्सुमाउन
हजुरको ती टल्पलिएको आँसु पुछिदिन
सन्तानको मायामा भक्कानिएको मन सम्हालिदिन ।।
मलाई माफ दिनुस
म हजुरको मायालाई सगाल्नै सकिन
चाउरिएको अनुहारलाई अगाल्नै सकिन
सन्ताप नगर्नुस मेरो जन्मदाता
मलाई यो बिधाताले यस्तै गरायो
हजुरको माया मन भित्रै सेलायो ।।
पख्नुस जन्मदाता
म नि हजुरका पथमा लम्कदै छु
अनि मलाई थाहा होला
कति दुख्छ घाऊ, कहाँ दुख्छ घाऊ
यो मन रुमलिन्छ कुन कुन ठाउँ
चेतना जब भरिन्छ म पनि चाउरिएको हुनेछु
मलाई पनि मेरा आधुनिक सन्तानले बृद्धाश्रममा छोडेको पाउनेछु ।।
पीर नगर्नुस बाबा
पीर नगर्नुस आमा
म पनि हजुर जस्तै हुनेछु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *