Skip to content

उठ्न थाले खऱ्यासानहरू


चन्द्रमामा बिउ टुसाउन थालेजस्तो छ
निसास्सिएका खऱ्यासानहरू पनि जुर्मुराउन थालेजस्तो छ

दिनरात आगोमा पिरोलिनेहरू
एकगास रोटीकोलागि परदेशिनेहरू
अब चुप लागेर नबस
अत्याचारको विरुद्ध उठ कम्मर कस

चन्द्रमामा बिउ टुसाउन थालेजस्तो छ
निसास्सिएका खऱ्यासानहरू पनि जुर्मुराउन थालेजस्तो छ

कति सहन्छौ छिः छिः र दूर दुर
कति बस्छौ सधैं भनेर हस् हजुर
अब चुलो र तन्दुरलाई बोल्नु सिकाउनुपर्छ
अन्यायको बिरुद्ध आगो जलाउनु पर्छ

चन्द्रमामा बिउ टुसाउन थालेजस्तो छ
निसास्सिएका खऱ्यासानहरू पनि जुट्न थालेजस्तो छ

ए खऱ्यासानलाई चुसेर खानेहरू हो
शोषणको भरमा जिउनेहरू हो
अब खऱ्यासानहरू जुर्मुराउन थाले
फटाहाको विरुद्धमा जाइलाग्न थाले

चन्द्रमामा बिउ टुसाउन थालेजस्तो छ
निसास्सिएका खऱ्यासानहरू पनि जुर्मुराउन थालेजस्तो छ ।

-देवेन्द्र बस्याल, टोक्यो जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *