Skip to content

एउटा जङ्गे चाहियो


ढुङ्गा पग्लिञ्छ होला खै तर माञ्छे नपग्लिने।
अर्काको भरमा बाँच्छ उहीँ झन् अँझ गर्जिने।।१।।
बाँडेर सपना फुस्रा बनायो मख्ख झञ्झन।
यौटा जङ्गे बनोस् छिट्टै हाम्रो देश बनाउन।।२।।

सम्पदामा धनी देश ओठे विकास मात्र छन्।
ओठेकै राज सत्ता यो गीत गाउन व्यस्त छन्।।३।।
जे जे होला रमूँ आज भोलिको किन चिन्तन
यौटा जङ्गे बनोस् छिट्टै हाम्रो देश बनाउन।।४।।

काला गोमनका दाउ अनेक छन् यहाँ बुझौँ।
खोक्रो पारेर चुस्दैछन् शरीर जनका चिनौँ।।५।।
राष्ट्रको ममता शून्य रित्तो छ तिनको मन।
यौटा जङ्गे बनोस् छिट्टै हाम्रो देश बनाउन।।६।।

रातारात मिचे स्तम्भ रक्षा कबज देशका।
बोल्दैन प्रभुको भक्त लम्पसार छ प्रीतमा।।७।।
यौटा आँधी चलोस् झट्टै र ल्याओस् एक गर्जन।
यौटा जङ्गे बनोस् छिट्टै हाम्रो देश बनाउन।।८।।

यादव दुलाल गाउले
छन्द:-अनुष्टुप्

Leave a Reply

Your email address will not be published. Required fields are marked *