Skip to content

“माटो खोज्दै” कृतिकाे फन्काे मार्दा

  • by
NandaLalAcharya-09

१. शुरुआत

धेरै समय भयो साहित्यकार मित्र राजेश विद्रोहीमार्फत् एउटा सानो आकारको पुस्तक हात परेको ।

पुस्तकको शीर्षक पढ्दैमा उत्तिखेरै केही लेखूँ भन्ने लागेको थियो । माटोलाई प्रेम गर्न मन पराउने व्यक्ति भएकाले मलाई पुस्तकले पिरती लगाएको थियो । यद्यपि पटकपटक पढ्ने र मनमा लागेका कुरा लेख्नेे साइत कहिले जुरेन ।

२०२० को प्रारम्भतिर नै कोभीड १९ले संसारभरि मानव सभ्यतामाथि नै धावा बोल्यो । अँझै बोलिरहेको छ । यस बीचमा धेरै अग्रज, समकालीन र अनुजहरूले जीवन सुम्पे र पनि कोरोना शान्त भएको छैन । अँझ पहिलो सकिँदा नसकिँदै दोस्रोले प्रलयको बाढी नै ल्यायो । अन्त त तेस्रो दर्जाको कोरोनाले समेत उल्का मच्चाइसकेको खबर सुनिन्छ । हर्दम मन त्यतै जान्छ । लेखपढमा मन नै जाँदैन । यद्यपि यस पटक भने कोभीड आउनुपूर्व नै खेस्रा तयार गरेको पुस्तक चर्चालाई साफी गर्ने जमर्को गर्दै छु ।

उत्तिखेरै मेरो हातमा परेको उक्त पुस्तकको नाम हो- “माटो खोज्दै” (लघुकथा सङ्ग्रह) । यसका कथाकार हुन्- नवराज रिजाल ।

२. “माटो खोज्दै” कृतिको भौतिक पक्ष-

२०६७ सालमा पहिलो र २०७१मा दोश्रो संस्करण निस्केको नवराज रिजालको लघुकथा सङ्ग्रह जयकाली प्रकाशन प्रालि, काठमाडौँले प्रकाशन गरेको हो । यस कृतिमा जम्मा पृष्ठ २०८ छ । पुस्तकका सम्बन्धमा यसमा प्राडा कपिलदेव लामिछाने, सुकुम शर्मा, किशोर पहाडी, कथाकार स्वयंका कुरा र प्रकाशन संस्थाका तर्फबाट एकप्रसाद सापकोटाले विविध शीर्षकमा लामाछोटा लेख लेखेका छन् । यत्ति काम पूरा गर्न ३५ पृष्ठ ओगटिएको छ । यसमा समाविष्ट जम्मा ९७ थान लघुकथाका लागि पृष्ठ ४६ देखि २०८सम्मको आयाम छुट्याइएको छ ।

पुस्तकको पश्चपृष्ठमा सर्जक नवराज रिजालको परिचय र पहिलो संस्करणका बारेमा विभिन्न विद्वान्ले विविध पत्रिकामा गरेको समालोचनाको गुदी कुरो पत्रिकाको नामसहित टिपेर राखिएको छ । यस कार्यले लघुकथाका अध्येतालाई अनुसन्धानमा सघाउ पुग्ने देखिन्छ ।

३. “माटो खोज्दै” कृतिको बौद्धिक पक्ष-

देशको माटो तथा आफूलाई चिन्ने र पुस्तक पढ्नेहरूलाई समर्पण गरेर प्रारम्भ गरिएको “माटो खोज्दै” कृतिको १८ पृष्ठको आफ्नो भूमिकामा प्राडा कपिलदेव लामिछानेले कथाकार नवराज रिजालले आफ्ना लघुकथामा अन्तर्वस्तु र शिल्पसंरचनाको सुन्दर सन्तुलन गरेको बताएका छन् । लघुकथामा विषय या घटनाको अचानक उठान हुने, घटना सन्दर्भको छोटो विस्तार, घटनाको तीव्र प्रभाव र सारपूर्ण अन्त्य हुने जनाउँदै सुकुम शर्माले भूमिकामा रिजालकै “आँसु” कथाको विशेष विश्लेषण प्रस्तुत गरेका छन् ।

आजकल लघुकथाको महत्त्व बढेको उल्लेख गर्दै किशोर पहाडीले रिजाललाई प्रचुर मात्रामा व्यङ्ग्यको प्रयोग गर्ने सर्जकका रूपमा चिनाउन खोजेका छन् । कथाकार नवराज रिजाल स्वयंले आफ्नो लघुकथा लेखनीका कुरा रिठ्ठो नबिराई उल्लेख गरेका छन् । उनले मन खोलेर लेखकीय जीवनलाई शब्दमा उतारेका छन् ।

प्रकाशन संस्थाका तर्फबाट एकप्रसाद सापकोटाले प्रकाशकीयमा भनेका छन्- “नेपाली समाजभित्रका समस्या, विकृति, विसंगति, चिन्तन, सोच र मूल्यमान्यतालाई विषयवस्तु बनाइएका यी कथाहरू साँच्चिकै स्वादिला, चोटिला र मर्मस्पर्शी छन् ।”

पहिलो कथा “मूल्यांकन”मा उपकारी बानीलाई कमजोरी नठान्न भनिएको छ । अर्को “स्मृति” कथामा भने बाँच्दा सुख नदिने मरेपछि गोहीका आँसु बगाउँदै आडम्बरी चाला देखाउने प्रवृत्तिलाई लोप्पा खुवाउने काम भएको छ ।

२०५० देखि १५ वर्ष अर्थात् २०६५ सम्मका कथा भएकोले समयको कालखण्डलाई बेस्कन अठ्याएका छन् कतिपय कथाले । यसको नमुना कथा हो- “नाजवाफ” कथा । यसमा छोरो आतंकवादी र पति सुराकीको आरोपमा मारिएको कारुणिक चित्रात्मक संकेत गरिएको छ ।

“विवेक” शीर्षकको सन्ताउन्नौँ अर्थात् अन्तिम कथामा रिसको झोकमा होस गुमाएर काम गरे आफ्नै गोडामा बञ्चरो हाने सरह हुन्छ भन्ने नैतिक चेतना दिइएको छ ।

समग्रमा लघुकथाका माध्यमबाट समाजमा मौलाउँदै गएको पाखण्डपनको झाँको झार्न र समुन्नत समाजको परिकल्पनामा रिजालको मसी खर्च भएको छ । कतिपय कथा हरेक सैद्धान्तिक दृष्टिकोणले सबल छन् । कतिपय भने बनोट र बुनोटका हिसाबले औसत श्रेणीका छन् । यथार्थवाद, अतियथार्थवाद, प्रगतिवाद, स्वच्छतावाद सबैको प्रयोग उनले यस सङ्ग्रहका कथामा गरेका छन् । उनका कथा सरल, सहज र स्वभाविक छन् । संवाद प्रयोगमाभन्दा सरल चर्चामा ध्यान दिँदा कतिपय कथामा कम मिठासको अनुभूति हुन जान्छ ।

जे होस् करिब डेढ दर्जन कृतिका सर्जक र नवप्रज्ञापन पत्रपत्रिका लगायत आधा दर्जन अन्य कृति सम्पादन गर्नुका साथै आधा दर्जन साहित्यिक पुरस्कार प्राप्त गरिसकेका साहित्यकार नवराज रिजालको कलम अँझ परिष्कार भएर आउने कुरामा दुई मत छैन । उनी स्वयंले साहित्यकार जन्माउँदै र हुर्काउँदै आएका छन् । विशेषगरी प्रदेश नं. २ को भाषा साहित्यको उत्थानमा उनको सक्रियता अनुकरणीय छ । नेपालीका अतिरिक्त नेपालयीय तराईका मैथिली, थारू, भोजपुरी आदि भाषा, साहित्य, कला, संस्कृतिको जगेर्नामा नवप्रज्ञापन पत्रिकामार्फत् उनले देखाएको लगाव र झुकावलाई सलाम ठोक्तै यस सानो लेखबाट विश्राम लिन चाहन्छु ।

धन्यवाद !

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *