Skip to content

निर्मित दुर्घटना

  • by
LaxmiRijal

“म केही जान्दिनँ । साली भेनाको आधा घरवाली हो भन्दै फकाउनु भो । शुरुमा नशालु चकलेट खुवाउनु भो । अहिले यो हालतमा ल्याउनु भो । जे निर्णय गर्दा मेरो हित हुन्छ त्यही गर्नुहोला ।”

हाम्रै दलानमा बसेको पञ्चायतीसामु मैले स्पष्टीकरणको फेहरिस्त प्रस्तुत मतिरै कसैले प्रश्नको घोचो तेर्स्याएको सुनिरहेको थिएँ, “आफैँले निर्णय गर्ने हो भने पञ्चायतमा किन निवेदन हालेको त ?”

लाजले मेरो शिर निहुरिरहेको बखत पुनः अर्को शब्दबाण आएर मेरो मुटुमै लागेको थियो; “उत्तिखेर जोसमा होस गुमाएर पेट बोक्ने ! अहिले पञ्चायतले चोख्याइदिनुपर्ने । रीतिथिति पनि गज्जबै छ बा ।”

अन्तत: पञ्चायतको निर्णयअनुसार क्षतिपूर्तिस्वरूप बाबुआमाले तत्काल तीन र छ महिनापछि दुई लाख पाउने हुनुभो । भिनाजुका तर्फबाट तत्कालै कसैले दुई लाख थन्याइदियो ।

पञ्चायत उठेर लाखापाखा लागिसकेको थियो ।म पनि कोठाभित्र पसेर ओछ्यानमा पल्टेकी थिएँ । बाहिर बाआमाको बातचित पनि झ्यालको चेपबाट चियाएर हेरिरहेकी थिएँ ।

“शशिकलालाई लोकसेवाको कोचिङ पढ्ने खर्च भो । त्यो जागिर खान्छे । आफ्नो बाटो आफैँ बनाउँछे । अब एउटा झमेला टाउकोबाट उत्रने भो ।”

बा एक्लै फत्फताएको आमाले सुन्नुभएछ र प्रश्न सोध्नुभयो, “टाइफाइट जाँच्दा शशिकलाको गर्भ भको रिपोर्ट बनाउन लगाउनु भो कि क्या हो ? जेठीले पतिप्रेम पाउने सजिलो बाटो यसैलाई ठान्नु भो कि कसो ? हामीले ज्वाइँलाई तिर्न बाँकी डेढ लाख दाइजोबाट उक्सने उत्तम उपाय यसैलाई मान्नुभी कि क्या हो ?”

बाको मुहारको मन्दमुस्कान पढेर उहाँले लख काटिहाल्नुभएको थियो । बाले टाउको हल्लाएर स्वीकार्नासाथ उहाँको अनुहारमा क्रोधको मुस्लो देखापरेको थियो ।

आमा कुर्लनुभएको थियो; “गलत गर्नुभयो । झुटो बाटो पक्रनुभयो । बिनसित्ती ज्वाइँको हुर्मत लिनुभयो । निर्दोषलाई फसाउनु भो । पापमाथि घोर पाप कमाउनुभयो ।”

“उता जेठीको आँखा नओभाउनु; यता शशिकलाको अमत्याइँ अइच्याउनै नसकिनु । चर्दै र चाख्दै हिँड्ने ज्वाइँ बेलगाम हुनु ।” बाको अगाडिको कथन थियो; “यी सबै कुराले कुनै न कुनै दिन दुर्घटना निम्त्याउँथ्यो नै ।”

यी कुरा सुनेर आमा लाटाले पापा हेरेझैँ एकोहोरिनु भएको थियो । आफ्नै सुरमा बुबाको स्वर सुनिएको थियो; “आर्टिफिसियल नै सही अहिले नै घट्यो । बेसै भयो ।”

लक्ष्मी रिजाल
कञ्चनरूप-१२, प्रगतिटोल, रूपगर, सप्तरी, नेपाल ।
लेखन- कथा, कविता, समीक्षा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *