Skip to content

संस्कृति–विकृति


पात्रहरू

१. सूत्रधार २. श्यामपृत ३. हरिप्रसाद ४. हर्कराज

(सामान्य घरको बैठककोठा । बस्ने प्रयोजनका लागि टेवल, कुर्सी, डेक्स–बेञ्चहरू राखिएका छन् । विश्व प्रसिद्ध राजनीतिज्ञ, कलाकार, साहित्यकार, दार्शनिक, धार्मिक व्यक्तित्वहरूका तस्विरहरू झुण्ड्याइएका छन् । त्यहाँ महामानव गौतम बुद्ध, महाकवि लक्ष्मीप्रसाद देवकोटा, ओशो, माओत्सेतुंग, शेक्सपियरजस्ता व्यक्तित्वहरूका महावाणी पनि लेखिएको छ । पिर्लिकपिर्लिक पल्टाउन मिल्ने पाटी पनि त्यहाँ राखिएको छ । त्यस पाटीका दुवै पाटामा भिन्न थरिका तस्विर छन् । अहिले देखिरहेको पाटोमा भने देख्न सकिन्छ– २५ वर्ष अघिको माने गाउँ । गाउँको बीचमा ठुलो चौडाइ भएको तर खाल्टाखुल्टी परेको बाटो । त्यस बाटो उत्तरतिर ठुलो क्षेत्रमा फैलिएको धान खेत । त्यस पछि फाट्टफुट्ट झुप्राझुप्री घरहरू अनि फराकिलो उखडबाखड बाटो त्यसपछि भने घना जङ्गल । दक्षिणतिर भने विशाल खेतको फाँट । खेतभित्र पनि फाट्टफुट्ट तर भीमकाय सखुवाका रुखहरू । डोकामा दाउराको भारी बोकेर हिँडिरहेका मानिसहरू । कतै डोकोमा बिरामी बोकेर स्वास्थ्य चौकी लगिरहेका मान्छे । समग्रमाभन्दा शान्तसाथ आफ्नै धुनमा बाँचेको सरल गाउँले जीवन ।)

सूत्रधार– (तस्विरलाई सानो छडीले देखाउँदै) महानुभावहरू ! नहुँदा पनि दुःख, हुँदा पनि दुःख । सन्तोष लिने ठाउँ नै कहाँ छ र ? सन्तोष लिने ठाउँ कुन हो ? मान्छेको जिउने कला के हो ? हाम्रा वरपर मनग्यै प्रश्नहरू घुमिरहेका छन् । तिनको उत्तर पाउन सकिरहेका छैनौँ हामी ।

श्यामपृत– प्रश्नै प्रश्नले बेरिएर बाँच्नु नै मानवीय जीवनको परिचय हो । परिचय विनाका छैनौँ हामी । जस्तो आउँछ परिस्थिति, त्यस्तै भोग गर्नुपर्छ । अनुकूल परिस्थिति भित्र्याउने या प्रतिकूल । त्यो भने हाम्रै हातमा छ । परिस्थितिलाई स्वीकार्दिन भनेर उम्कन पनि कहाँ पाइन्छ र ?

सूत्रधार– प्रश्न माथिको यो अर्को प्रश्नको सिधै जवाफ नखोतलीकन एक क्षण यस दृश्यतर्फ ध्यान केन्द्रित गरौँ । (सानो छडीले तस्विरलाई देखाउँदै) यो २५ वर्ष अघिको माने गाउँको तस्विर हो । गाउँको बीचमा ठुलो चौडाइ भएको तर खाल्टाखुल्टी परेको बाटो थियो । साइकल गुडाउन पनि हम्मे पर्थ्यो । मानिसहरू सोझा थिए । शिक्षाका नाममा मान्छेहरू अशिक्षित थिए तर हातमा सीप थियो । सीप भएमा त्यसले गरेर खान्छ भन्थे । एकोहोरो चित्त लगाएर काम गर्थे । आफ्नोतर्फबाट कसैको चित्त नकुडियोस् भन्ने कुरामा बडो हेक्का राख्थे । बीच गाउँको बाटोदेखि उत्तरतिर ठुलो क्षेत्रमा फैलिएको धान खेत थियो । त्यस पछि फाट्टफुट्ट झुप्राझुप्री घरहरू देखिन्थे । मानिसहरूको जनसङ्ख्या कमै थियो । घरहरूपछि फराकिलो उखडबाखड बाटो थियो । अनि चारकोसे घना वनजङ्गल शुरु हुन्थ्यो । गाउँ बीचको बाटोदेखि दक्षिणतिर भने विशाल फाट्टफुट्ट भीमकाय सखुवाका रुखहरू भएको खेतको फाँट थियो । मान्छेहरू डोकामा दाउराको भारी बोक्थे । डोकोमा या झोलुङ्गोमा बिरामी बोकेर स्वास्थ्य चौकी लग्थे । छक्कापञ्जा कुन चरीको नाम हो भन्ने कमैलाई थाहा थियो । विरामी पर्दा घरेलु जडिबुटी र धामीझाँक्रीको भर पर्थे । कुनै उपाय नचलेपछि मात्र अस्पताल लैजान्थे । अस्पताल पनि नजिक थिएन ।

हरिप्रसाद– त्यो ता हो । गाउँमा कुनै समस्या आइपरेमा चौतारीमा भद्रभलाद्मी बसेर कुनै पनि समस्याको निदान खोज्थे । मर्दापर्दा सहयोग गर्न गाउँ नै उल्टन्थ्यो । कसैको घर बनाउनुपर्यो भने गाउँका युवा, प्रौढ जम्मै भेला हुन्थे । क्षणभरमै काम तमाम गर्थे ।

हर्कराज– त्यत्ति मात्र कहाँ हो र ? सबैसँग आ–आफ्नै खाले सीप हुन्थ्यो । ऐँचोपैँचोबाटै सबैको काम बन्थ्यो । पैसाको कारोवार कमै हुन्थ्यो ।

सूत्रधार– मैले भन्न पर्ने धेरै कुराहरू आइसके । गाउँमा प्रा.वि. तहको विद्यालय मात्र थियो । बाँकी शिक्षा पूरा गर्न टाढा जानुपर्थ्यो । शिक्षामा लगानी गर्न कोही चाहँदैनथे । यसलाई अनुत्पादक क्षेत्र मानिन्थ्यो । कसैकसैले पढे भने पनि एस.एल.सी. परीक्षा उत्तीर्ण गरी प्रा.वि. तहको शिक्षक भइहाल्थे । घर पायक पर्ने ठाउँमा जागिर मिलाउँथे । विहानवेलुका घरको काम गर्न भ्याउँथे । छोरीचेलीलाई शिक्षा दिनुपर्छ भन्ने चेतना सबैतिर छरिएको थिएन । छोराले पनि दुईचार अक्षर चिन्यो, घरायसी हिसावकिताब मिलाउन जान्यो भने भइगयो नि भन्ने भावना थियो । कक्षाकोठा पनि छात्रहरूले नै भरिएका हुन्थे । एकाध छात्राहरू मात्र पढ्न आउँथे । वर्णन गर्दै जाँदा ठुलो ठेली तयार हुन्छ ।

(पाटी पर्लक्क पल्टिन्छ । अहिले देखिरहेको पाटोमा भने देख्न सकिन्छ– २५ वर्ष पछिको माने गाउँ । परिवर्तित तस्विर छ । विकास छ तर अशान्तमय अवस्था रहेको छ । आधुनिकताको नाममा मानवता विर्सदै गएको आफ्नै स्वार्थमा बाँचेको कपटपूर्ण, आधुनिकताको दुरुपयोग गरिएको गाउँले जीवन ।)

सूत्रधार– (सानो छडीले तस्विरलाई देखाउँदै) ल हेर्नुस्– २५ वर्ष पछिको माने गाउँ । सडक त बन्यो तर साँगुरिएर बन्यो । यो उत्तरतिरको वनको नामोनिसान मेटिन लागिसक्यो । त्यहाँ बाटो छैन । बाटो बन्न लाग्यो कि रातारात मिचेर जग्गा बनाइन्छ । थोरैथोरै गरेर ढाट उत्तरतिर सार्दा सार्दै सयौँ विघा वन खेतमा परिणत भइसक्यो । ठुला रुख देखि नै छाडे बुट्टाबुट्टी मात्र छन् । यस पुस्तालाई त जे गरे पनि पुग्ला तर आउँदा पुस्ताका लागि भने यहाँ वन क्षेत्र थियो भन्नुपर्दा एकादेशको कथा हुने भयो ।

श्यामपृत– उत्तरतिर मलिलो माटो छ । यहाँ मान्छेलाई वर्ष दिनसम्म खान पुग्दैन । वनजङ्गलले नै मलिलो माटो ओगटेको छ । वनजङ्गल त भविष्यका लागि हो । जीवन बचे पो भविष्य आउला । वर्तमान नै नरहे भविष्य कसरी आउला ? मानिसहरू यही सोच्तछन् ।

सूत्रधार– प्रश्न माथिको अर्को प्रश्न । हामी प्रश्न होइन उत्तर खोज्दै छौँ ।

श्यामपृत– राम्रो कामको पनि विरोध गर्ने हो भने प्रशंसा गर्ने कामकुरो रत्तिभर रहँदैन । बाहुनक्षेत्रीले सुँगुर पाल्नु असल नै हो । आम्दानी बढ्ने कामलाई नराम्रो भन्न मिल्दैन । हामी २५ वर्ष अगाडिको क्षणमा छैनौँ । पेट फुटुञ्जेल जाँडरक्सी खानु चाहिँ नराम्रो काइदा हो । यसले हित गर्दैन ।

हरिप्रसाद– संस्कार भनेको संस्कार हो । बाहुनक्षेत्रीले आ–आफ्नो थान्कामा बस्नुपर्छ, नखाइनहुनेले लुकेर खाए त भई गयो नि । दमाई, कामीजस्तो गर्न मिल्दैन । समाजमा अनुशासन हुनु जरुरी छ । सबैले सराबरी काम गर्ने हो भने त मर्यादा हिन अवस्था नआउला भन्न सकिन्न ।

हर्कराज– अनुशासन ! यो अनुशासन भन्ने चीज नै खराब रहेछ । कडा अनुशासनभित्र राखिएका आजका नानीहरू बुवाआमा र शिक्षकका अगाडि नून खाएको कुखुरो बन्छन् । पछाडि भने चुरोट उडाउँदै र अशिष्ट व्यवहार प्रदर्शन गर्दै हिँड्छन् । के यही हो अनुशासन ?

हरिप्रसाद– हो, संस्कार भुलेको यसैलाई भनिन्छ ।

श्यामपृत– आजका युवायुवतीहरूको उछितो काड्नुपूर्व आफैँतिर फर्केर हेरौँ त ?

हरिप्रसाद– आफूतिर के हेर्नू ? आफैँले कमाउनु पर्या छ । परिवारको लालनपालन गर्नु पर्या छ । भएभरको टेन्सन बोकेर जिउनु पर्या छ । एक सर्को चुरोट तान्दा र दुई गिलास घरेलु रक्सी पिउँदा दिनभरको टेन्सन हट्छ । त्यो पनि लुकीछिपी । हामीले हद्द गर्यौँ भने त्यत्ति मात्र गरेका छौँ । यी टेन्सन मुक्त आजका नानीहरूले केका लागि बदमासी गरेका ?

हर्कराज– ठुलाबडाले जे गर्दा पनि टेन्सनमुक्तका लागि भन्ने र आजका नानीहरूले थोरै बाटो बिराउँदा चाहिँ प्रश्न चिन्ह लगाउँने ? यो काइदा नै गलत छ ।

श्यामपृत– हो, बाटो विराउने ठुलाबडा तर दोष भने आजका नानीहरू ?

हरिप्रसाद– कसरी ?

हर्कराज– कसरी भन्ने र ? तपाईं बाहुनको छोरो, हैन ? टेन्सनका नाममा रक्सी पिउनुहुन्छ, थोरै हुँदा त सतर्क हुनुहुन्छ, अलिक चढिसकेपछि के गर्दै छु भन्ने कुरामा हेक्का नै राख्न सक्नुहुन्न । र, अशिष्ट कुरा फलाक्दै समाजको अनुशासन र अमनचयन मिच्नुहुन्छ । कि ठुलाबडाले चाहिँ मर्यादा बाहिर निस्कँदा पनि हुन्छ ?

सूत्रधार– हो, हामीले नै समाजको अमनचयन खोसेका छौँ । हामी कसरी ठुला र वुद्धिमान भएछौँ भन्ने कुराहरूप्रति नानीहरूले विचार गरिरहेका हुन्छन् । जाँडरक्सी, चुरोटबिँडीकै कारण ठुलो हुँइदो रहेछ भन्ने धारणा आजका नानीहरूलाई हुन्छ र त्यसकै सिको गर्छन् उनीहरू ।

श्यामपृत– पछि हामी कज्याउन खोज्छौँ । सक्दैनौँ । आजका नानीहरू अमर्यादित भए भन्छौँ । अमर्यादाका गुरु आफूहरू भएको भुसुक्कै भुलिदिन्छौँ ।

हरिप्रसाद– (केही लज्जित हुँदै) उसो भए निकास के त ?

हर्कराज– पहिलो त हामी ठिक हुनुपर्यो । टेन्सनमुक्तिको अन्य उपाय अबलम्बन गर्नुपर्यो । दोस्रो कुरा, आजका नानीहरूलाई अनुशासनको साटो विवेक सिकाउनुपर्यो । तेस्रो, बदलिँदो परिस्थितिले उब्जाएका कुराहरू पारदर्शी हिसावले बुझ्नु र बुझाउनुपर्यो ।

श्यामपृत– अँझ मलाई त लाग्छ, प्रचलित नियमकानूनको दायराभित्र रही मान्छेले स्वतन्त्रताका साथ पाइला चाल्न पाउँनुपर्छ । संसारमा आफ्नो गुरु आफै बन्न पाउँनुपर्छ । आफ्नो तर्फबाट कसैलाई कुप्रभाव पर्न दिनुहुन्न । अर्कालाई चाहिँ आदर्शको भारी बोकाउने र आफू चाहिँ मादक पदार्थको पछि लाग्दा आफूसँग भएको पनि नासिन्छ । अर्थोक केही पाइन्न ।

हरिप्रसाद– आफूले आफैँलाई सर्वशक्तिमान ठान्ने प्रवृत्ति हावी भइदियो भने अहम्ताको साम्राज्य स्थापित हुन्न र ?

हर्कराज– हुन्छ, विवेकलाई बिक्री गरी गरिएको व्यवहार पाखण्डी हुन्छ । विवेकले कामकुरो गर्न पो भनिएको हो त । फेरि विवेकले अरूका कुरा नसुन, आफ्नो मात्र हित चिताएर काम गर भन्दैन, क्यारे । भनी नै हालेछ भने त्यो विवेकपूर्ण काम नभएर पाखण्डपूर्ण काम हुन्छ ।

सूत्रधार– उसो भए, आजका नानीहरूलाई कडा अनुशासनमा राख्नुको साटो विवेकी बनायौँ र हामी अग्रजहरूले पनि सही रास्ता पक्रियौँ भने समाजमा देखिएका विकृति नाश हुने रहेछन् । हामी यही निष्कर्षमा पुग्यौँ, हैन ?

बाँकी तीनै जना– (एकै स्वरमा) हो, हो हाम्रो निष्कर्ष यही हो ।

सूत्रधार– लोभानीपापानी किन बढेको त ? आजका मान्छेहरूले किन अरूलाई विश्वास गर्न नसकेका त ? वनजङ्गल मासिएको किन त ? जान्नेबुझ्ने मान्छे नै किन विनास र विध्वंसका अनुयायी भएका त ? के भन्नूँ ? निरंकुशताको कैद पनि स्वीकार्य छैन हामीलाई र लोकतन्त्रको स्वतन्त्रता पनि मान्य छैन हामीलाई । उन्नतिको बाटो थुनिएको र पतनको बाटो बनेको हेक्का राख्ने समय छैन हामीसँग ।

हरिप्रसाद– समस्या माथि समस्या थुपार्नु निष्कर्ष होइन । समाधान निकाल्नु पो हाम्रो बसाइको अभीष्ट हो त ।

हर्कराज– समस्या नबुझीकन निकालिएको निष्कर्ष सही नहुन सक्छ । समस्याका हाँगाबिँगा छिमलेर काम छैन । जरो नै पत्ता लगाएमा मात्र पूर्ण निदान गर्न सकिन्छ । निदानका लागि नियमसंगत ढङ्गले चल्नुपर्छ । धाकधम्कीले विचार परिवर्तन हुन सक्दैन । प्रेमपूर्ण बाटोबाट दुई दिनमै मान्छेको मन फर्काउन सकिन्छ । त्यही काम गर्न अन्य बाटो समात्दा दुई वर्ष लाग्न सक्छ र पनि त्यो क्षणिक हुन्छ ।

हरिप्रसाद– ए बा बा, खुलस्तभन्दा भइगयो नि ।

श्यामपृत– कुरा खुलस्त छ । राजनैतिक पार्टीहरू उदाए । अभीष्ट एउटै छ– मुलुक र जनताको भलो चाहने । बाटाहरू भिन्न भिन्न छन् । जनताको विचारधारामा विभाजित ल्याउने प्रयत्न गरिएको छ । पार्टीगत विचारधाराका रूपमा केही कसैका नजिक छन्, कोही मनग्यै टाढा छन् । भ्रष्टचार गरेर अकूत सम्पत्ति जम्मा गर्दा पनि राजनैतिक पार्टीहरूले संरक्षण गर्दिनाले मति बिगार्नेहरूले खति बेहोरेका छैनन् । (हर्कराजलाई बोल्न सङ्केत गर्छन् ।)

हर्कराज– तराई र भित्री मधेशको जीवन सरल हुन्छ भनी पहाड÷हिमालबाट बसाइँ सर्नेहरूको होडबाजी नै चलेको थियो । घरेडी जोडे पनि सबैले भात खाने जग्गा जोड्न सकेनन् । फलस्वरूप वनजङ्गल फडानी शुरु भयो ।

हरिप्रसाद– अहिले असन्तोषजनक कुरा मात्र छैनन् । सडक बन्यो, विजुली, टेलिफोन आयो । कृषिमा आधुनिकता भित्रियो । शिक्षितहरूको सङ्ख्या बढ्यो । सूचनाप्रविधि भित्रियो । धामीझाँक्रीको स्थान स्वास्थ्य चौकी र अस्पतालहरूले लिए । यी सन्दर्भ पनि भुल्न मिलेन ।

हर्कराज– जति विज्ञान र प्रविधिको विकास भए पनि मान्छेमा सही जागरण भित्र्न सकेको छैन । थोरै भए सुखैसुख धेरै भए दुःखैदुःख भन्ने कुरा नबुझी घरभरि छोराछोरी पारेपछि उचित लालनपोषण गर्न सकिन्न । छोराछोरीका चाहना र आवश्यकता पूरा गर्न असमर्थ भएपछि अनियन्त्रित हुनु अस्वभाविक हैन । अर्को कुरा, मेहनत नगरीकन सुख खोज्ने प्रयत्न गर्दा पनि असन्तुलित अवस्थाको सिर्जना भएको हो ।

सूत्रधार– अब हामी समस्याको निदान खोजौँ । व्यक्तिव्यक्तिको मनमा क्रान्ति आउन र ल्याउन सके सम्पूर्ण समस्याको निदान हुन्छ । प्रत्येक व्यक्तिले गल्ती ठम्याएर त्यसलाई सच्याएर बाँच्नेतिर लाग्नु जरुरी छ । स्वतन्त्र जीवन बाँच्ने दृष्टिकोण बनाउनु अर्को महत्वपूर्ण कुरो हो । आफ्नो जीवनको उद्देश्य ठम्याउनु र आशा, आस्था र प्रेम उमार्नु साथै हाँसखेल र उत्सव मनाउनु विकृति नासकको उत्तम उपाय हो । सही भोजन र नियमित व्यायाम गर्न सके जीवनको सार्थकता भेट्न ठुलो कहर काट्नु पर्दैन ।

श्यामपृत– यी त भए व्यक्तिका कुरा । राजनीति नसुधृए हुने वाला केही छैन ।

सूत्रधार– अवश्य, राजनैतिक दलहरू देश र जनताप्रति पूर्ण समर्पित हुनुपर्यो । नेतृत्व वर्गले कार्यकर्ताहरूलाई परिस्थिति अनरूप प्रशिक्षण दिनुपर्यो । जसलाई पायो त्यसलाई पार्टीभित्र प्रवेश दिनुभएन । एउटा पार्टीमा रहेर खराब काम गरी अर्को पार्टीमा प्रवेश गर्नेहरूको लामो लाइन छ हामीकहाँ । पार्टीको नाममा आफ्नो स्वार्थको घैला भर्नेहरूलाई छानबिन गरी उचित दायरामा ल्याउनुपर्यो । सरकारले कुशल र प्रभावकारी प्रशासन चलाउनुपर्यो । कसैको धाक र धम्कीबाट हैन विवेकसम्मत तवरले मुलुकको स्वार्थ बमोजिम चल्नुपर्यो । कर्मचारीहरूले पनि जनताको तलवभत्ता खाएर जनतालाई नै तड्पाउने कृतघ्न देखाउनु चाहिँ बन्दै भएन । नियम मिची काम गर्नेहरू कानूनी दायरामा आउनुपर्यो । जनतामा पनि परिश्रममा विश्वास राख्ने, स्वावलम्बी हुने र विवेकी बन्ने जागरण फैलाउनुपर्यो । व्यक्तिको विवेक र स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्ने कुराहरू सर्वसाधरणको पहुँचभन्दा बाहिर हुनुपर्यो । सकिन्छ त्यस्ता कुराको उत्पादनमा पूर्ण प्रतिबन्ध हुनुपर्यो, सकिन्न भारी कर लादेर अर्थतन्त्र बलियो बनाउने काम गर्नुपर्यो । यसको अर्थ– त्यस्ता बस्तुप्रति निरुत्साहित गर्ने कदमहरू चाल्नुपर्यो ।

सूत्रधार– (सबैतिर हेर्दै) सबैको यी कुरामा सहमति छ त ?

बाँकी तीनै जना– (एकै स्वरमा) हो, त्यसै हुनुपर्छ । अब बाटाहरू साँगुरिनु हुन्न । बाटाहरू फराकिला हुनुपर्छ । सजिलै जँघारसम्म पुग्ने हुनुपर्छ । जँघार तर्न पुल बन्नुपर्छ । अब भने विकृतिलाई विवेक हराएर संस्कृति बन्न दिनुहुन्न । विवेक सम्मत कुरो संस्कृति बन्नुपर्छ ।

(ताली बजेको आवाज सुनिन्छ । बिस्तारै पर्दा खस्छ ।)

–नन्दलाल आचार्य
श्री जनता मावि, गोलबजार–४, सिरहा
सम्पर्क नं. ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *