Skip to content


डाँडामाथि हिमाल छ डाँडामुनि गाउँ
मलाई पनि त्यै गाउँमा लाग्यो जाऊँ–जाऊँ

गल्लीवारि मुखियाको खरले छा’को घर छ
गल्लीपारि चौतारी छ पीपल र वर छ
यता जिम्माल बाको टौवा त्यता घैया बारी
हरियाली जङ्गल छन् खोलाभन्दा पारि

मुखिनीका खेतालाले घैया गोडेका छन्
थकाइ मेट्न घैया गोड्दै गीत जोरेका छन्
तिर्खा लाग्दा साइँली दिज्यै पधेँरामा जान्छिन्
मूलको पानी उबाएर अञ्जुलीले खान्छिन्

रातो माटो कमेराले घर लिपेको छ
त्यसैमाथि घामको किरण आँखा टिपेको छ
जम्दार बाको घर हाम्रोभन्दा झनै ठुलो
दुखियालाई माया गर्छन् उनको मनै ठुलो

पूजा गर्ने पुजारी छन् आतेपाते गर्छन्
रुद्री सरात गर्नुपर्दा बोलाएसी झर्छन्
लाहुर गा’का क्षेत्री बाका वीरताका कथा
सुनिरहूँ जस्तो लाग्छ उनका पीर व्यथा

ल्होसारमा गाउँदै नाच्ने गुरुङ बाका कुरा
बेलायती फौजका कथा सुन्छौँ हामी भुरा
यही गाउँमा मगर बाजे रमाएर बस्छन्
संस्कृतिलाई जोगाउन यिनी कम्मर कस्छन्

बसेका छन् नेवार बुबा यहीँ पसल थापी
हामी किन्छौँ चाहिने कुरा कलम अनि कापी
कपडा र किरानाका सामान किन्न आइन्छ
नेवार बाको पसलमा जे खोज्यो त्यै पाइन्छ

आरन थाप्छन् कामी बाले आँसी बनाउँछन्
दुःखजिलो गरी–गरी चाड मनाउँछन्
सार्की बुबा यतै बस्छन् छाता–जुत्ता सिलाई
काम गरेको पैसा लिन्छन् कुरा मिलाई–मिलाई

लुगा सिउने दमाई बुबा व्यस्त हुन्छन् कामले
यिनले गर्दा नयाँ लुगा लाउन पाइन्छ हाम्ले
बिहे हुँदा पञ्चे बाजा बजाउने गर्छन्
रमाइलो गर्नुपर्दा यिनै अघि सर्छन्

सबै जाति चाहिन्छन् यहाँ मर्दा अनि पर्दा
गाउँ अँझै सुन्दर भा’छ एकताले गर्दा
सबै जाति मिलेर पो रमाइलो भा’छ
त्यै भएर मलाई यही गाउँ प्यारो ला’छ ।

– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *