Skip to content

अन्तिम यो भेट हो ?


गायो कोयलले मधूर स्वरले तानी दियो यो मन
हाँस्यो त्यो वन कुञ्जका अधरमा सौन्दर्य फैलाउन
फैलेथ्यो रविको सफा किरण त्यो छायो नयाँ जीवन
देख्दैछौँ भन ! आज लाल नयनै आँसू लिएको किन ?

नौलो त्यो पथमा नयाँ प्रहरमा हिँड्यौँ र पो भेटियौँ
साथै भै छिचल्यौँ अनेक पिरलो हामी चुलीमा पुग्यौँ
केही खोज गर्यौँ सहर्ष सबले नौलो कुरा थालियो
लोक्‌तन्त्रै विधि कानुनै हुन गई सम्मान ठूलो भयो

वर्षौँ साथ बिते तथापि मनमा यादै थिएनन् रति
छुट्टिने पल भेटियो निकटमा नि:शब्द पारी गति
गाएको मनले त हैन किन यो आवाज फैल्यो वहाँ
भारी लाग्दछ पोल्छ पीर मनमा मैलो भो आँखा यहाँ

जान्छौ आज बिदा भई पर भनी चिन्ता खुबै लाग्दछ
सम्झौँला प्रियले कहाँ कति गर्यौ साक्षी त त्यो काम छ
बिर्से- याद भए कतै विगतका तीता रुखा दुःखद
सम्झे- याद भए कतै अतितका मीठा तथा प्रेमिल

हाँस्ने यो मन छैन आज प्रियले छोडेर जाने भयौ
रूँने यो मन छैन आज प्रियले हाँसेर छोडी गयौ
केही छैन दिने कुरा त मनको यै याद मात्रै थियो
हाम्रो मेल हुनेछ फेरि कहिले अन्तिम यो भेट हो ?

२०७२ भदौ १०
काठमाडौं।

3 thoughts on “अन्तिम यो भेट हो ?”

  1. एउटा अनुरोध ।
    कविता प्रकाशनका लागि सम्पादकज्यूप्रति हार्दिक आभार । केही श्लोक र फोटो दोहरिएको छ । संशोधन गरिदिनुहुन अनुरोध छ।

    1. लेखमाथिको Show summary in
      लेखमाथिको Show summary in full view को चेक हटाउनुहोला भेषराजजी !

      1. धन्यवाद हजुर। आभारी छु।
        धन्यवाद हजुर। आभारी छु।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *