Skip to content


म पञ्चचामरा बनूँ कि स्रग्धरा बनूँ यहाँ
कि मालिनी र स्रग्विणी कि चञ्चला बनूँ यहाँ
सकिन्न बन्न मेनका सकिन्न बन्न वाणिनी
सकिन्न बग्न छन्दमा भई कुनै पयश्विनी ।।

प्रभावती र मञ्जुला प्रभात नील मालिनी
शशीकला र मेनका कि मञ्जिरा प्रहर्षिणी
यता नरेन्द्र हारिणी छ स्रग्धरा उतातिर
म छन्दका तरङ्गमा डुलूँ कता कतातिर ।।

म धाक लाउँदै थिएँ स्वयं भएँ अचम्भित
छिटो कतै छ छन्द यो कतै छ यो विलम्बित
यहाँ छ स्वर्गको मजा भयो भने परिष्कृत
कतै छ स्वाद स्याउको कतै छ स्वाद अमृत ।।

यता म लेख्न के बसेें उता परें म द्वन्द्वमा
चलीरहन्छ छन्दकै सुवास छन्दछन्दमा
सबै वरिष्ठ पोख्त छन् सबै दुरुस्त लेख्तछन्
म मात्र पर्छु यो घडी तितो मिठो प्रबन्धमा ।।

म छन्दको अखण्डता र उच्चता कता बुझूँ
नचाहँदा नचाहँदै कता म देवता पुजूँ
तथापि छन्दशास्त्रको भएँ म अर्द्ध पण्डित
गरौं न शीघ्र मित्र हो मलाई आज दण्डित ।।

म बिग्रिएँ कि सप्रिएँ भएर छन्दलम्पट
छचल्कियो छचल्कियो भएर अर्द्ध यो घट
धुलै उडाउने भए अनेक छन्दवाजले
बचाउलान् क्षमा दिंदै कि मित्र कोषराजले ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *