Skip to content

इमानदारिता नै कर्ण हार्नुका कारण


महाभारतकालका युगपुरुष थिए कर्ण । उनी सबैभन्दा श्रेष्ठ भएर पनि सबैभन्दा चेपुवामा पर्ने व्यक्ति पनि थिए । उनी हरेक कुरामा निपुण थिए । कर्तव्यपरायणता, इमानदारिताका त उनी खानी नै थिए । पौराणिक इतिहास माहाभारतमा उल्लेख गरिएका कथनहरुका आधारमा यहाँ कर्णको हारका कारण केलाउने प्रयास गरिएको छ ।

दम्वोद्भवले सूर्यदेवको अत्यन्तै ठुलो तप गर्यो । सूर्यदेव प्रसन्न भएर प्रकट भई वरदान मागभन्दा उसले ‘अमरत्व’को वरदान माग्यो । सूर्यदेवले यो सम्भव छैन भने । तब उसले माग्यो कि “उसलाई एक हजार दिव्य कवचको सुरक्षा प्राप्त होस् । यीमध्ये एउटा पनि कवच मात्र उसले तोड्न सकोस् जसले एक हजार वर्ष तपस्या गरेको होस् । जसै कोही यसरी कवच तोड्न सक्छ उसको पनि तत्कालै मृत्यु होस् ।” देवताहरुको आसन डगमगाउन नदिन नरनारायण प्रकट भए । हजार वर्षको युद्ध र तपस्यापछि फेरि एउटा कवच टुट्यो र नारायणको मृत्यु भयो । फेरि नरले आएर नारायणलाई पुनर्जीवन दिए । यसरी यो चक्र फेरिफेरि चलिरह्यो । यसप्रकार ९९९ पटक युद्ध भयो । एउटा भाइले युद्ध गर्दा अर्को भाइले तपस्या गरिरहे । हरेक पटकको मृत्युमा अर्को भाइले उनलाई पुनर्जीवन दिन्थे । अन्तिममा हजारौं कवचको समयमा यसभन्दा अगाडिका नरनारायणजस्तै अर्जुन र कृष्ण नरनारायण रुपमा जन्म भए । यदि अर्जुनले कवच तोडेका भए तुरुन्तै उनको मृत्यु हुने थियो । त्यसैले इन्द्रदेवले त्योभन्दा पहिले कर्णसँग कवच मागेका थिए ।

आमरूपमा धेरैलाई यो ज्ञात छैन कि वास्तवमा यी कर्ण मात्र सूर्यपुत्र होइनन् कि उनका भित्र सूर्य र दम्वोद्भव दुइटै समाहित थिए । जसै नर र नारायण दुई शरीरमा एउटा आत्मा छ त्यस्तै कर्णका शरीरमा दुइटा आत्मा ‘सूर्य तथा सहस्र कवच’को वास छ । अर्कोतर्फ नर र नारायणको रूप धरेर अर्जुन र कृष्णका रूपमा आए । एकातर्फ कर्णको भित्र जुन सूर्यको अंश छ त्यसले उनलाई तेजश्वी र वीर बनाए भने अर्कोतर्फ जुन उनका भित्र दम्वोद्भव छ त्यसको कर्मफलबाट उनले अनेकौं अन्याय प्राप्त गरे र द्रौपदीको अपमान तथा यस्तै अनेकौं अपमान गर्न प्रेरित बनायो ।

श्रीकृष्णले अर्जुनलाई साथ दिए्र कर्णलाई धोखाले किन मारे भन,े “भनिन्थे कि राम अवतारमा श्रीरामले सूर्यपुत्र सुग्रीवसँग मिलेर इन्द्रपुत्र वालीको वध गरेका थिए । (वध गरेका थिए धोखा होइन । जब कुनै अपराधीलाई जब मृत्युदण्डको सजाय दिइन्छ त उसलाई उसका अगाडि मारिन्न । तसर्थ यो कुनै धोखाले मारेको प्रमाणित हुँदैन ।)” तर यो पटक उल्टो भयो ।

कर्ण र अर्जुन दुवै जना आफ्नो समयका सर्वश्रेष्ठ धनुर्धर थिए । दुवैले द्रौपदी प्राप्त गर्न प्रतियोगितामा भाग लिएका थिए । दुवैले आफ्ना दाजुभाइ विरुद्ध युद्धमा लड्नु पर्यो । एउटा अर्को गहिरो संयोग यो पनि हो कि दुवै जना कौवहरूसँग निकट थिए । कर्ण मित्रवत र अर्जुन रक्तरत । कर्णले आफ्नो कर्तव्य पालना भनेको के हो ? कसरी मित्रताको सम्मान गर्ने भन्ने पाठ सारा विश्वजगतलाई सिकाए । जस्तो कि भागवत् गीतामा भगवान् श्रीकृष्णका भनाइ अनुसार “कर्ण एक यस्तो व्यक्तित्वका उदाहरण हुन् जो गुणी, दानवीर, न्यायप्रिय र साहसी थिए । तैपनि उनको पतन भयो । किनकि उनी अधर्मी दुर्योधनप्रति निष्ठावान् थिए । कर्णमा ती पाँचवटा सबै गुण थिए जुन द्रौपदीले आफ्नो वरका लागि पूर्वजन्ममा श्रीभगवान् महादेवसँग मागेकी थिइन् । केवल एउटालाई छाडेर र त्यो थियो दुर्योधनसँगको घनिष्ठ मित्रता ।”

कर्णको मृत्युको कारण स्वय म दुर्वासा ऋषि नै हुन् । कुन्तीलाई वरदान दिने समयमा उनले कुनै पनि देवतालाई आह्वान गरेर उक्त देवताबाट सन्तान प्राप्त गर्न सक्थिन् तर दुर्वासा ऋषिले उक्त वरदानको परिणामका बारेमा राम्ररी बताएनन् । त्यसैले कुन्तीले उत्सुकतावश सूर्यदेवको आह्वान गरेकी थिइन् । उनलाई ध्यानै भएन कि विवाहपूर्व यसको परिणाम के हुन्छ भनेर र वरदान अनुुसार सूर्यदेवले उनलाई एउटा पुत्र दिए । तर लोकलाजका भयले कुन्तीले उक्त शिशुलाई नदीमा बहाइदिइन् । तब शिशु अवस्थाका कर्णलार्ई महाराज धृतराष्ट्रको सारथी अधीरथ र उनकी पत्नी राधाले प्राप्त गरे । उनलाई लालनपालन पनि गरे । यसका कारण कर्णको क्षत्रीय पहिचान बन्द भयो । न युधिष्ठिर न दुर्योधन वास्तबमा यी दुवैजनाभन्दा ज्येष्ठ तथा श्रेष्ठ भएका कारण कर्ण हस्तिनापुर सिंहासनका वास्तविक अधिकारी थिए । तर यो पनि हुन सकेन किनकि उनको जन्मको पहिचान गुप्त राखियो । कर्णले चाहेका भए गोप्यता खोल्न सक्थे तर उनले इमानदारिता निभाए ।

देवराज इन्द्र जसले बीच्छीका रूपमा कर्णको क्षत्रीय पहिचान उनका गुरु परशुरामका अगाडि राखिदिए र पहिचानका सम्बन्धमा आफ्ना गुरुसँग झूट बोलेका कारण (यसका लागि कर्ण स्वय म दोषी थिएनन्) उनका गुरुले सही समयमा उनले शस्त्रास्त्रको ज्ञान भुल्ने श्राप दिएका थिए ।

जब क्षत्री भएका कारण परशुरामले सर्वश्रेष्ठ शिष्य भएता पनि कर्णलाई शस्त्रास्त्रका अरु ज्ञान सिकाउन छोडे तब कर्णले एक्लै शब्दभेदी वाण चलाउने अभ्यास गर्न थाले । यसै प्रसङ्गमा गाईवाला ब्राह्मणको श्रापको कारण पनि कर्णको हार भयो । जुन समय उनले एउटा असहाय निर्दोष वाच्छोलाई जङ्गली जनावर सम्झी शब्दभेदी वाण चलाउन सिकेका समय मारेका थिए । त्यसै प्रकार उनले पनि निरीह भएर असहायका रूपमा मर्नुपर्नेछ र उसको ध्यान आफ्ना शत्रुपक्षमा नलागिकन अन्यत्रै हुनेछ । यही श्रापका कारण अर्जुनले उनलाई त्यो बेला मारे जब उनको रथको पाङ्ग्रा जमिनमा धस्सियो र उनको ध्यान शत्रुपक्षमा केन्द्रित नभई आफ्नो रथको पाङ्ग्रामा केन्द्रित भयो । यद्यपि उनलाई यस्तो हुन्छ भत्रे पहिल्यै ज्ञान थियो त्यसैले उनले युद्धका समयमा थुप्रै रथहरू प्रयोग गरेका थिए । तर पनि उनी श्रापबाट बच्न सकेनन् । कर्णले चाहेका भए यो युद्ध पनि जित्न सक्थे तर उसले रथ बाहिर हुँदा युद्धको नियम विपरित सस्त्र चलाएनन् ।

एउटी बच्चीलाई उनकी सौतेनी आमाको कोपबाट बचाउन माटाको भाँडा निचोरेर घिऊ निकाल्ने प्रयास गर्दा धरती माताको श्राप पाएका थिए कि उनलाई आपत् परेको समयमा रथको पाङ्ग्राले खानेछ र ऊ आफ्नो शत्रुका अगाडि सबैभन्दा बढी निरीह हुनेछन् । श्रीकृष्णद्वारा अर्जुनलाई यो आदेश दिनु कि उनले कर्णलाई वध गरुन् जब उनी आफ्ना धस्सिएको रथको पाङ्ग्रा निकाल्न सम्पूर्ण ध्यान केन्द्रित गरिरहेका थिए । कुनै पनि त्यस्तो प्रसँग त्यस्तो थिएन कि रथबाट ओर्लिएको अवस्थामा उनले युद्धधर्मको पालना नगरेर अस्त्र चलाएको होस् ।

भिक्षुकका भेषमा देवराज इन्द्रले छल गरेको थाहा पाई–पाई पनि कर्णद्वारा आफ्नै लोक प्रसिद्ध दानप्रियताका कारण आफ्नो शरीरमा समाहित भएको कवच र कुण्डल हाँसीहाँसी दानमा दिएका थिए ।

‘शक्ति अस्त्र’ घटोत्कचलाई चलाउनु, जसका कारण उनले वचनअनुसार अर्को पटक उनले उक्त अस्त्र नचलाउने वचन दिनु । माता कुन्तीलाई दिएको वचनअनुसार ‘नागाश्त्र’ दोस्रो पटक नचलाउनु । महाराज र कर्णका सारथी पाण्डवका मामा शल्य जसले सत्रौं दिनका युद्धमा अर्जुनको युद्धकलाको प्रशंसा गरेर कर्णको मनोवल गिराउन खोज्नु । यी सब जानकार भएर पनि आफ्नो बचन इमानदारिताले उनले निभाए ।

युद्धको केही दिन अगाडि जब कर्णलाई यो ज्ञान भयो कि पाण्डवहरू उनका भाइहरू हुन् । त उनीहरूका प्रति भएका सबै दुर्भावनाहरू समाप्त हुनु । तर दुर्योधनप्रति निष्ठावान हुनाका कारण उनी आफ्ना भाइहरू विरुद्ध लडे । जबकी कर्णले वीरगति प्राप्त गर्दासम्म पाण्डवहरूलाई यो थाहा थिएन कि उनीहरूका ज्येष्ठ दाजु कर्ण थिए भनेर । वास्तवमा कर्णले भन्न सक्थे तर दुर्योधनसँगको अगाढ मित्रतालाई तोड्न चाहेनन् । अभिमन्यु वधमा कर्णको नकारात्मक भूमिका र द्रौपदीलाई अपमान गर्नु कर्णको दुर्योधन प्रतिको निष्ठा थियो ।

गान्धारी किनकि दुर्योधनका पक्षमा हुँदाहुँदै पनि दुर्योधनका माता गान्धारीले कर्णलाई युद्धमा विजयश्रीको आशीर्वाद कहिल्यै दिइनन् ।

भीष्मपितामह, किनकि उनले आफ्नो सेनापतित्वमा कर्णलाई युद्ध गर्ने आज्ञा दिएनन् ।
गुरु द्रोणाचार्य, किनकि उनले कर्णलाई कहिल्यै आफ्ना शिष्य स्वीकारेनन् । तर कर्णले युद्धमा फुट ल्याउन नदिन भीष्मले द्रोणाचार्यलाई सेनापति बनाउँदा विरोध नगरी सबै सेनाहरू आफ्नो हातमा हुँदाहुँदै पनि द्रोणाचार्यलाई सहयोग गर्न निर्देशन दिए ।

सूर्यदेव, जो सत्रौं दिनको युद्धमा तब अस्ताए जब कर्णले अर्जुनलाई मार्ने पूरै अवसर पाएका थिए । यदि कर्णले सूर्यदेवलाई आग्रह गरेर नअस्ताउन लगाउन सक्थे । सृष्टिको नियमको ख्याल गरे अन्यथा युद्धको नियमअनसार नै अर्जुनलाई वध गर्न सक्थे किनकि उनी सूर्यपुत्र थिए ।

देवेन्द्र, जसले अर्जुनलाई थुप्रै दिव्यास्त्रहरू दिएका थिए । कुलगुरु कृपाचार्य, जसले कर्ण अर्जुनभन्दा युद्धभूमिमा कमजोर भएको अनुभूति दिलाउने प्रयास गरे । विश्वकर्मा जसद्वारा अर्जुनलाई ‘गाण्डिव’ दिएका थिए । भगवान् शिवद्वारा अर्जुनलाई दिएको ‘पशुपति अस्त्र’ । कर्णले चाहेका भए यी सब अस्त्रहरुसँग जित्न सक्थे तर दैवी शक्तिका अस्त्रहरूले युक्त अर्जुनसँग दोहोरो व्रह्मास्त्र चलाएनन् ।

अर्जुन र कर्णमा समानता र विषमता दुवै थियो । अर्जुनलाई सुरुदेखि नै सुख, सम्पत्ति र मातृप्रेम प्राप्त भयो । अर्जुनसँग हरेक कुरा थियो जसले उनलाई विजयी बनाउन सक्थ्यो । यत्ति यी सब हतोत्साह पार्ने अस्त्रले पनि कर्णलाई कुनै क्लेश मात्र पनि विचलित पारेको थिएन । कर्णले हरेक कुरा आफ्नै पौरखबाट प्राप्त गरिरहे । यसरी कर्ण एक्लैले आफैँले यी सबै अस्त्रज्ञानलगायत सम्पूर्ण ज्ञानका कुराहरू प्राप्त गरेका थिए । आफ्नो कर्तव्यपरायणताका कारण उनलाई थुप्रै अभिशाप भयो तर उनले खुसीसाथ हाँसीहाँसी, दान दिएको सम्झी सबै स्वीकारे । कर्ण यी सब जान्दथे । कर्णलाई दानभन्दा प्यारो अरु कुनै कुरा थिएन र कहिल्यै पनि उनलाई दान गर्न कुनै पनि कुराले विचलित पारेन । त्यसैले त यी सब कुरालाई दानप्रियताका माध्यमले कर्णले हाँसी–हाँसी स्वीकारे । यसरी उनी इमानदारिता र कर्तव्यनिष्ठताका कारण संसारका सर्वश्रेष्ठ दानवीर कहलिए ।
कर्ण नाम अनुसार कर्ण बने र सबै दान याचकका कुरा सुने । उनी यस धर्तीका अरु ठुलाठुला प्रख्यात विख्यातहरुलेभन्दा सुन्ने व्यक्तिहरुमा परे त्यसैले त कर्ण बने ।

२०७४ मङ्सिर १२
बिजु सुवेदी “विजय”
भकतजनमार्ग, काठमाण्डौं
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *