Skip to content

नर्मधेस्वर र नर्मदा नदीको महत्त्वः एक विवेचना


नर्मधेस्वर शब्दलाई नेपाली बृहत् शब्दकोषले नर्मदा नदीमा पाइने शिवलिङ्गलाई नर्मधेस्वर भनी परिभाषित गरेको छ । यसरी नै कालीगण्डकीमहाकाव्यको शुभाशंस शीर्षक (पृष्ठ घ)मा डा. स्वामी रामानन्द गिरी लेख्नुहुन्छ –‘संसार भारमा दुईवटा मात्र त्यस्ता नदीहरू छन्, एउटी भगवान शिवलाई नर्मधेस्वर शिलाको रूपमा धारणा गर्ने नर्मदा र अर्की भगवान विष्णुलाई शालग्राम शिलाको रूपमा धारणा गर्ने गण्डकी । मुक्ति क्षेत्रमा भगवान विष्णुले शिवको तपस्या गर्दा त्यसको तेजका कारण गण्डस्थलबाट बगेको पसिनाको धारा नै गण्डकी नदी हो भनी पूराणहरूले वर्णन गरेका छन् ।’

स्कन्दपूराण लगायतका पूराणहरूमा पनि नर्मधेस्वर महादेवको वर्णनहरू पाइन्छन् । जसरी कृष्ण गण्डकीमा शालग्राम पाइने हुँदा कृष्ण गण्डकीलाई जुन महत्त्व दिइन्छ त्यसरी नै नर्मदा नदीमा पाइने शिवलिङ्गको कारणले नर्मदा नदीको महत्त्वलाई पनि गहनरूपमा लिइन्छ । डा. स्वामी रामानन्द गिरीको माथिको भनाइले पनि नर्मदा नदीको प्रत्येक ढुङ्गामा शिवजीको बास छ भन्ने धारणालाई पुष्टि गर्दछ । साथै पूराणका भनाइले पनि गहन महत्त्व राख्छ ।

यसरी पूराणहरूका युक्ति र जनश्रुतिका अनुसार नर्मधेस्वरमहादेवको बारेमा विभिन्न किंबदन्तीहरू सुन्न र पढन पाइन्छन् । एउटा भनाइ छ कि भगवान शिवले पार्वतीलाई ॐ नमो भगवते वासुदेवायको मन्त्रबाट भगवान विष्णुको तपस्या गर्न लगाउनु भयो । भगवान विष्णु शयनगारमा गएको वेलामा पार्वतीले पनि हिमालय पर्वतमा गएर तपस्या गर्न थाल्नुभयो । जब पार्वती तपस्यामा लाग्नुभयो शिवजी पनि पृथ्वीमा विचरण गर्न थाल्नुभयो । विचरणको क्रममा शिवजी नर्मदानदीको किनारमा पुग्नुभयो र स्नान गर्नुभयो । स्नान गर्दा नर्मदा नदीको जल श्याम रङ्गमा परिणत हुन पुग्यो । श्यामरङ्गकी नर्मदाले शिवजीको स्तुति गर्न थाल्नुभयो ।

नर्मदा नदीको स्तुतिबाट प्रशन्न भएर भगवान शिवले नर्मदा नदीलाई आफूले स्नान गरेका स्थानलाई हर तीर्थको नामले प्रशिद्धि पाउने छ र यस तीर्थमा जो कोहीले स्नान गर्ला त्यसको सबै पाप हरण होला भन्ने वरदान दिनु भयो । नर्मदा नदीको भ्रमणको कर्ममा शिवजीले हातमा डम्मरू लिएर निधारमा त्रिपुण्ड (भष्मका तीन रेखा) लगाएर, ऋषिहरूको घरदैलोमा गएर नाच्न थाल्नुभयो । शिवजीको यसरूप र नचाइले ऋषिपत्नीहरूलाई मोहित पारेर शिवजीसँग ऋषि पत्नीहरू नाच्न थाले । पत्नीहरू शिवजीसँग नाच्न थालेपछि ऋषिहरूलाई रिस उठ्यो र लिङ्गरूपमा परिण भइजाऊ भनी श्राप दिए । ऋषिको श्राप परेपछि शिवजी अदृश्य भएर अमरकण्टक पर्वतको रूपमा उनको लिङ्गरूप प्रकट भयो । यसप्रकारको घटनाक्रममा नर्मदा नदीमा जे जति ढुङ्गाहरू छन् ती सबै ढुङ्गाहरू शिवस्वरूप पुज्य छन् भनिन्छ । यस्ता किदन्तीहरू धेरै होलान् ।

मेरो जानकारीमा आएको अर्को किंवदन्ती यसप्रकार छ – अर्को किंवदन्तीमा हिन्दूधर्ममा धार्मिक महत्त्वले उच्च ठानिएका नदीमा गंगा, यमुना, नर्मदा र सरस्वती चार ठुला नदीहरू पर्दछन् । यसमा पनि गंगा नदीलाई ठुलो स्थान दिइएको छ । गंगालाई दिइएको ठुलो महत्वलाई देखेर नर्मदा नदीलाई पनि गंगा सरहको महत्त्वको प्राप्त गर्ने इच्छा जागेर आयो र नर्मदाले ब्रह्माजीको तपस्या गर्न थाल्नुभयो । नर्मदाको कठोर तपस्या देखेपछि ब्रह्माजी खुसी हुनु भयो नर्मदानदीलाई वरमाग्ने आदेश भयो ।

नर्मदानदीले पनि ब्रह्माजीलाई आदर सत्कारको साथमा पूजागरी आफ्नो अस्त्त्वि गंगा नदी समान होस भन्ने वर मागिन् । ब्रह्माजीले अरू कुनै वर माग, गंगा समान कोही हुन सक्दैन भन्ने जवाफ पाएपछि । नर्मदाले यो तपस्यालाई छाडेर काशीमा गएर पिलपिला तीर्थमा शिवलिङ्गको स्थापना गरेर तप गर्न थालिन् । नर्मदाको कठोर तपस्याबाट शिवजी खुसी हुनु भयो र नर्मदा नदीलाई वर माग्ने आदेश भयो ।

नर्मदाले पनि भगवान शिवको पूजा अर्चनाको साथमा –‘हजुरको चरण कमलमा मेरो भक्ति सदा रहिरहोस्’ भन्ने वर मागिन् । नर्मदाको यो भक्तिभावमा शिवजी खुसी भएर तिम्रो तटमा रहेका सबै ढुङ्गाहरू शिवलिङ्ग बनून् भन्ने वरदान दिनु भयो । नर्मदाले स्थापना गरेको शिवलिङ्गलाई नर्मधेस्वर शिवलिङ्ग कहलायो । यस शिवलिङ्गले सबैलाई पुण्य र मोक्ष प्रदान गर्ने छ भन्दै शिवजी यसैमा लिन हुन पुग्नुभयो ।

www.dilsedeshi.com मा हामीले अध्ययन गर्न चाहेमा ‘नर्मदाजयन्तीको महत्त्व और कथा’ शीर्षकमा डिसेम्बर २०१८मा शशाङ्क शर्माद्वारा लेखिएका लेख अनुसार नर्मदा नदीको अवतरण तथा नर्मदा सम्बन्धी केही जानकारी पाउन सकिन्छ । भारतमा नर्मदा नदीको उद्गमस्थल अमरकंटकलाई मानिन्छ । यही अमरकंटकमा माघ महिनाको शुक्लपक्षको सप्तमी तीथिमा भगवान शिवका पसीनाबाट एउटी १२ वर्षकी कन्याको जन्म भ्एको थियो । यिनै कन्याको नाम थियो नर्मदा । यी कन्याको जन्मजयन्तीको रूपमा मनाइने उत्सवलाई नर्मदा जयन्ती भनिने कुरा सहित शशांक शर्माजीले नर्मदा नदीसँग जोडिएका केही कथालाई यहाँ समावेश गर्नुभएको छ ।

उहाँले प्रस्तुत गर्नुभएको एउटा कथामा वामन पूराणको सन्दर्भलाइ जोड्दै अन्धकासुर भगवान शिव र पार्वतीका छोरा थिए । हिराण्याक्षले शिवजीको ठुलो तपस्या गर्यो । शिवजी खुसी हुनु भयो शिवजी जस्तै बलवान छोराको वर माग्यो । भगवान शिवले अन्धकासुरलाई हिराण्यक्षको पुत्रको रूपमा दिनु भयो । अन्धकासुरले पनि भगवान शिवको घोर तपस्या गर्यो । भगवान शिव उसको तपस्यादेखि निकै प्रशन्न हुनु भयो र वरमाग्न भन्नुभयो अन्धकासुरले पनि २००० हात २००० खुट्टा र १००० शीर माग्यो । भगवान शिवले तथास्तु भन्नुभयो । अन्धकासुरको यस्तो शक्तिशाली वर मागेपछि हिराण्याक्षको शक्ति बढ्दै गयो । यसरी हिराण्याक्षको शक्रि बढ्दै गएपछि विष्णु भगवानले हिराण्याक्षलाई मारिदिनु भयो । यो कुरा अन्धकासुरलाई थाहा लाग्यो र उसले वदलालिनको लागि देवतासँग युद्ध गर्न थाल्यो । देवलोक हात लगाएर कैलासलाई आफ्नो अधिन ल्याउन कैलासतिर लाग्यो । कैलासमा शिवजीको र अन्धकासुरको घोर युद्ध भयो । तर शिवजीले अन्धकासुरलाई मारिदिनु भयो ।

अन्धकासुरलाई शिवजीले मारिदिएपछि देवतालाई पनि आफूहरूले गरेको पापाको ज्ञान हुन्छ । यो समयमा भगवान शिव मेफल पर्वत (अमरकंटक)मा समाधिस्त हुनु हुन्थ्यो । विष्णु ब्रह्मा लगायतका सबै देवता अमरकंटकमा गएर शिवजीको स्तुति गर्न थाले । भगवान शिवले देवताहरूको स्तुति सुनेर आँखा खोल्नुभयो र देवता अमरकंटकमा आउनुको कारण सोध्नुभयो । देवताहरूले पनि अनेक किसिमका भोग विलास र असंख्य दानवहरूलाई मारेर आत्मा पापी भैसकेको हुनाले यस प्रकारको पाप पखालेर पापबाट मुक्ति लिन आएको धारणा राखे । देवताको यस्तो धारणा आए पछि शिवजीको शिरबाट एक थोपा पसीना खस्दछ र त्यस पसीनाले तेजोमय रूप धारण गरेर एउटी कन्या उत्पत्ति हुन्छिन् । ती कन्याको नाम नर्मदा राखिन्छ ।

नर्मदाको खास अर्थ नर्म भनेको सुख र दा भनेको दिनेवाली अर्थात सुख दिनेवाली कन्यालाई देवताहरूले धेरै वर दिन्छन् । यसपछि भगवान शिवले नर्मदालाई माघ महिनाको शुक्ल सप्तमीको दिन नदीको रूपमा बग्न र सबैको पाप पखाल्ने आदेश दिनुहुन्छ । नर्मदाले भगवानसँग प्रार्थना गर्दै भन्छिन्– ‘‘ भगवान मैले सबैको पाप कसरी पखाल्न सक्छु र’’ यो प्रश्नको उत्तरमा विष्णुले आशीर्वाद दिंदै भन्नुहुन्छ –

‘‘नर्मदा त्वें महाभागा सर्वपाप हरिभव,
त्वदत्सुयाः शिलाः सर्वा शिवकल्प भवन्तुता ’’

‘अर्थात तिमीभित्र संसारका सबै पाप हरण गर्ने क्षमता हुने छ । तिम्रो जलमा शिवलाई अभिषेक गरिने छ । भगवान शिव ओमकारेश्वरको रूपमा सदैव तिम्रो तटमा विराजमान भै रहने छन् र उनको कृपा तिमीमा बनिरहने छ । जसरी गंगा स्वर्गबाट अवतरित भएर प्रसिद्ध भइन् तिमी पनि त्यसरी नै चिनिने छौ ।’

शशाङ्क शर्माजीले अर्को राजा हिरण्यतेजाको कथालाई पनि यसरी जोड्नु् भएको छ । स्कंदपूराणको रेवा खण्ड अनुसार राजा हिरण्यतेजाले आफ्ना पितृलाई तार्न सबै तीर्थमा पुगे तर पितृलाई तार्न सकेनन् । आखिरमा राजाले पितृसँग सोधे ‘तपाईंलाई कसरी मोक्ष दिलाउन सकिन्छ ?’ पितृहरूले भने राजन ‘‘हामीलाई नर्मदा माताकाो पवित्र जलको तर्पणबाट मोक्ष प्राप्ति हुन्छ ।’’ यसरी पितृको आदेश अनुसार राजाले भगवान शिवको १४ वर्षसम्म तपस्या गरेर शिवजी खुसी भएर राजालाई वर माग भन्नुहुन्छ र राजाले पनि शिवजीसँग नर्मदालाई पृथ्वीमा अवतरण गराइदिनको लागि वर माग्दछन् । भगवान शिवले आफ्नी छोरी नर्मदालाई धर्तीमा अवतरण हुने आदेश दिनुहुन्छ । भगवान शिवले आफ्नी छोरी नर्मदालाई खुशी–खुशी मगरमच्छको आसनमा राखेर विन्ध्याचल पर्वतमा पठाउनुहुन्छ र राजाले नर्मदाको जलबाट पितृलाई् तर्पण दिएर मोक्ष दिलाउनुहुन्छ ।

शशाङ्कले तेस्रो कथालाई पनि आफ्नो लेखमा जोड्नुभएको छ । तेस्रो कथामा ब्रह्माले सृष्टि गर्दा ब्रह्माको आँखाबाट दुई बूँद यस धर्तीमा खस्दछन् र यी दुई बूँदबाट रेवा र सोनको जन्म हुन्छ । रेवा नर्मदाको नै नाम हो । स्कन्द पूराणमा पनि नर्मदालाई रेवा नै भनिएको छ भन्ने धारणा शशाङ्कले प्रस्तुत गर्नुभएको छ ।

यसरी अध्ययन गर्दा नर्मदा नदीको सम्बन्धमा धार्मिक ग्रन्थहरूमा आएका धारणाहरूमा एक मत देखिदैन तापनि यी माथिका विभिन्न धारणालाई अध्ययन गर्दा नर्मदा नदिको धार्मिक, समाजिक र आर्थिक महत्त्व निकै ठुलो छ भन्ने यथार्थता र ओमकारेश्वर शिवलिंगको वर्णन भने शिवपूराणले महत्त्वका साथमा उठाएको छ । शिव पूराणमा भनिएको छ कि सम्पूर्ण तीर्थ लिंगमय छन् तर भूमण्डलमा भएका सबै शिवलिंगको गणना गर्न सकिदैन तापनि भूमण्डलमा मुख्य मुख्य १२ ज्यतिर्लिंगको प्रत्येक दिन प्रातःकालमा उठेर स्मरण गर्दछ भने ऊ सबै पापबाट मुक्ति पाउँछ र सम्पूर्ण सिद्धिको फल प्राप्त गर्न सकिन्छ –

सौराष्ट्रे सोमनाथं च श्रीशैले मल्लिकार्जुन म
उज्जयिन्यां महाकालमोंकारे परमेश्वर म
केदारं हिमवत्पृष्ठे डाकिन्यां भीमशङ्कर म
वाराणस्यं च श्विशं त्र्यम्बकं गौतमीतटे
वैद्यनाथं चिताभूमौ नागेशं दारुकावने
सेतुबन्धे च रामेशं घुस्मेशं तु शिवालय
द्वादसौतानि नामानी प्रातरुत्थाय यः पठेत्
सर्वपापैर्विनिर्मुक्तः सर्वसिद्धिफलं लभेत्
(शिव पूराण कोटिरुद्रसंहिता १।२१–२४)

परमेश्वर शिव लिंगलाई ओंकारेश्वर पनि भनिन्छ । यहाँ ओमकारेश्वर र अमलेश्वर नामक अलग अलग लिंग छन् तर यी दुवैलाई एउटै ज्योतिर्लिंगको एउटै स्वरूप मानिएको छ भन्ने धारणा संक्षिप्त शिवपूराण (सचित्र, मोटा टाइप, केवल हिन्दी, गीताप्रेस, गोरखपुरको पृष्ठ ४९८)मा प्रष्ट पारिएको छ ।

सन्दर्भ सामाग्री –
१. संक्षिप्त शिवपूराण (सचित्र, मोटा टाइप, केवल हिन्दी, गीताप्रेस, गोरखपुर, सम्पादक हनुमानप्रसाद पोद्दार, सं. २०६६ तैतालीसवाँ पुनर्मुद्रण ।
२. www.dilsedeshi.com/Religion/Narmada jayanti Dil Se Deshi वेभसाइट
३. कालीगण्डकी महाकाव्य

सदानन्द अभागी

1 thought on “नर्मधेस्वर र नर्मदा नदीको महत्त्वः एक विवेचना”

  1. नर्मधेस्वर नै हो र ।
    नर्मधेस्वर नै हो र । नर्मदेश्वर पाे हो कि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *