जिन्दगी यात्रा हो,
कहिले रहरमा हिँडिन्छ
कहिले कहरमा दौडिन्छ
सबैसबैलाई अरुको यात्रा
रोमाञ्चक लागिदिन्छ ।
यात्रा गर्नेलाई रोमाञ्चक
नलाग्न पनि सक्छ ।
साल-नालदेखि यात्रा सुरु भयो
ब्रह्मनालसम्म कसले साथ दिन्छ र !!
कोही चौतारीमा भेटिन्छन
कोही झुप्रे पाटी र पौवामा सँगै देखिन्छन
तिमी बोल वा नबोल केही पलमा
तिमीलाई बाईबाई गर्दै
आफ्नै गन्तव्यमा हानिन्छन्।
भन्नेले भन्न सक्छन्
ढकाल डाँडाबाट
ख्याउटे निस्केको एकल यात्री
थाइल्याडमा ल्याण्ड गरेर
युरोप स्पर्श गर्दै हामीलाई बिर्स्यो ।
तिमी भन्दै छौ
म बाटो बिराएर हराएँ ।
विश्वास र अविश्वासको दोधारमा
आफ्नै संसारको धरातल
खोज्नु नै महानता हो ।
प्रश्न गर्नेले
उत्तर दिनसक्नुपर्छ भन्छन्
बीच बाटोमा नै भौतारिएपछि
केको प्रश्न र कस्तो उत्तर
केबल अनुत्तरित दोसाँधमा
उभिएको स्तम्भ
कहिले कसैले उता सार्छ
अनि,
कहिले अर्कोले यता सार्छ ।
सार्दासार्दै अस्थिर भएको
यो मन कसैलाई थाहा नदिइ
चिर निद्राको सपनामा हराउन पनि सक्छ ।
त्यसैले दोष कसै कसैलाई दिन चाहन्न
आफ्नै भाग्य र कर्मको गोरेटोमा
हराउन मन लाग्छ ।
मनमा हरि नाममा हरि
अरु कुरामा नभए पनि
मानसबिम्वमा संसारभरि
हराउन मन लाग्छ ।
…………………………….
यात्री (कविता)
=====
हो,
ऊ स्वप्निल याद सँगाल्दै
यात्रामा निस्केको रसिक
तारकाङ् वस्तीका धुमिल
यादहरूमा हराउन खोज्छ ।
सेतीका किनारमा बसेर सुसेल्दै
मादीको झोलुङ्गो तर्न खोज्छ ।
हो,
ऊ कहिले पिएन क्याम्पसको छहारीमा
सान्नानीलाई प्रेमपत्र कोर्दै गर्दा भेटिन्छ।
हो ,
ऊ कहिले काठमाडौंका
साँघुरा होस्टलका बिस्तारामा देखिन्छ ।
हो,
ऊ कहिल्यै बाटो नबिर्सिने बटुवा
कहिलेकाहीँ भावना साट्ने
मनुवाको रूपमा झुल्किन्छ ।
ऊ कुनै पल परदेशी हुने रहरमा
खाडीका मरुभूमिमा बालुवा चाल्ने
सपना देख्छ ।
ऊ कहिले देशभित्रकै पर्यटक बनेर
सगरमाथा चढ्ने गोरेटोमा रुमलिन्छ ।
उसलाई तीर्थाटनको कुनै रहर छैन
लोमाङ्थानका बगरसँग
समय साट्न पाए खुसी हुन्छ ।
हो,
ऊ सेताम्य हिमाललाई झुक्याउँदै
एक अँजुली हिउँ चोर्दा
संसार जितैझैँ आनन्द मान्छ ।
आफ्नै परिधि र परिवेशमा रम्न पाए पुग्छ
प्रेमिका र मायामोह छाडेर
कुनै फकिर बन्ने उसको रहर छैन् ।।
ऊ त समयले डोर्याएको एउटा
गन्तव्यमा हिँडेको यात्री हो ।।
@त्रिपाठी भुवन
पोखरा -२८, कालिकास्थान