Skip to content

नेता बनेका किन बाइफाले


दिमाग छन् शून्य छ शून्य सोच
आस्था न हुन्छन् न त हुन्छ ओज
प्रशस्त पैसा सँगमा हुनाले
नेतो बनेको छ टुनामुनाले ।।

लुछाचुँडीमा दिन रात फाले
आफू र आफ्नै जति मात्र पाले
र भ्रष्टको झुन्ड सबै उचाले
नेता भएका किन बाइफाले ।।

काले र काले सब मिल्न थाले
मिली हसुर्छन् सय ठाउँ भाले
आफ्नाहरु मात्र उँभो उचाले
नेता भएका किन बाइफाले ।।

न वारका हुन् न त पारका हुन्
यो देशका ती सब भारका हुन्
समग्र यो देश सबै उघाले
नेता भएका किन बाइफाले ।।

राजश्व खान्छन् अनि घूस खान्छन्
आफ्नै बपौती सरि देश ठान्छन्
त्यो राजको वृक्ष समेत ढाले
नेता भएका किन बाइफाले ।।

बेढङ्गका काम समेत गर्छन्
साँढे चरेझैं दिन रात चर्छन्
ढिस्को जता पाउ उतै उचाले
नेता भएका किन बाइफाले ।।

के बोल्नु पर्ने किन बोल्नु पर्ने
थाहै नपाऊन् तर बोल्नु पर्ने
बोलेर कानै किन खान थाले
नेता भएका किन बाइफाले ।।

यो देशको शाख सबै खसाले
र भ्रष्टताको स्थिति नै बसाले
हड्तालको संस्कृति पूर्ण पाले
झाले र माले सब बाइफाले ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *