Skip to content

उदासीनता

एका बिहानै
निद्रा भागेर, अकर्मण्यता नभागेर
ओछ्यानमा डर्लङ्ग लडेको बेला
छानाबाट कराइरहेछ काग
बासी समचार!

ओए मान्छेको जात
त्यही
एक मुठी गास, एक मुठी सास
र अलिकति जिउनुको आभासका लागि
नमर्दासम्म
म पखेटा फट्फटाउदै उड्छु
त चाहना भट्भटाउदै गुड्छस्
के फरक भो तेरो र मेरो बिचमा?

मृत्युलाई धकेली धकेली मृत्युकै संघारसम्म
मैले काट्ने समय
र तैले बिताउने जीवन
के यौटै होइन?
फोस्रा शब्दालङ्कार
र बोक्रो दर्शनलाई छोडाउने हो भने
तँ पनि नाङ्गो छस जसरी म नाङ्गो छु
जसरी नाङ्गो छ सत्यता
फेरी कुन भ्रमलाई ढाक्न पहिरिन्छस कपडा?
मिथ्यै मिथ्याको उदेकलाग्दो तेरो दुनियाँ!

तँ अस्तित्व कम, प्रक्रिया ज्यादा

सभ्यताको मायाजालमा
आधुनिकताको ब्रिफकेस झुण्ड्याउदै
एकाबिहानै
हस्याङ्ग र फस्याङ्ग गर्दै
ओए कता हुइकन्छस्?
विलासिताको नाममा कुन खुशी खोजीराछस्?
तेरो कस्तुरीको जस्तो बेअर्थको दौडमा
कुन सुख भेट्टाइस तैले जुन मैले भेटिन?
लौ भन मलाई!

हो क्यारे दुई पङ्खे
तेरो कालो चुच्चोले आज ठिकै कुरा गर्यो
भो लडिराख्छु आजको दिन यै बिस्तारामा!
त छानामाथि बाट कराउन छोड्
म जिन्दगीसंग डराउन छोड्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *