Skip to content

नवप्रवेसी सामुदायिक विद्यार्थीको बकपत्र

GarimaAcharya-02


वि.सं. २०६४ को आशपासमा मैले धरती स्पर्श गर्दा देश संवैधानिक राजतन्त्र त्यागेर गणतन्त्रात्मक मुलुकमा परिणत भएको प्रशव व्यथा आलै रहेछ । दुई शताब्दीभन्दा बढी राजतन्त्रको कथाव्यथा खेप्ताखेप्ता आजित जनता पुनः आफ्नै नेतानेतृको वैयक्तिकस्वार्थको दुष्चक्रमा पस्न पुगेछन् । राजतन्त्रसँगको अधिकारवादी लडाइँले निकास पाइसकेको परिप्रेक्ष्यमा पनि राज्यसञ्चालनमा जनताले अपनत्वको भावना अनुभूत गर्न सकेका रहेनछन् ।

मैले राजविराज नगरपालिका–२, अवस्थित लिटिल फ्लावर माविबाट सिकाइको साउँ अक्षर र अङ्ग्रेजीका अक्षर चिनेँ । नाम मात्र स्कुलको हो, सिकाउन त आफ्नै महतारी लक्ष्मी रिजालले सिकाउनुभयो । उहाँ पनि सोही स्कुलकी शिक्षक हुनुहुन्थ्यो । नियममा रहेर कार्य गरे उहाँ मान्यवरलाईझैँ सम्मान गर्नुहुन्थ्यो । उहाँको अन्तस्करण चिमोट्ने गरी कसैले कार्य गरे सात्तो जाने गरी आँखा तर्नुहुन्थ्यो । साँच्चै भनौँ भने उहाँ गलतकर्म गर्नेका लागि शत्रु र असलमार्गमा रहनेका लागि असल मित्र हुनुहुन्थ्यो । मलाई उहाँजस्तै कर्मठ शिक्षक मन पर्थ्यो ।

त्यस ताका त्यस्ता आँखामै राखे पनि नबिझाउने शिक्षकहरूको सङ्ख्या थोरै थियो । जस्तै– अमृता घिमिरे, रमिता देव, श्यामप्रीत मण्डल, सुनिल चौधरी, आयुषी झा र पुरुषोत्तम यादव । हुन त त्यसबेला मेरा पिताश्री नन्दलाल आचार्य स्वय म विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । सहायक प्रअ पदमा क्रमशः अभितकुमार चौधरी, देवचरण चौधरी, जयप्रकाश चौधरी, प्रकाशचन्द्र यादवहरू हुनुभयो । उहाँहरू हाम्रो कक्षामा पढाउन हैन निर्देशन र सूचना सुनाउन मात्र आउनुहुन्थ्यो । घरमा पनि बाबा मलाई सिकाउनभन्दा अखबारी र साहित्यिक पत्रकारिताको कामकाजमै व्यस्त हुनुहुन्थ्यो । मेरो सिकाइ मैदानमा हर्दम साथमै भएर पनि बाबाको न्यानो काख र साथबाट म वञ्चित थिएँ । यद्यपि मामुको भरपर्दो साथ र निर्देशनले म दिनानुदिन मनको मैलो हटाएर उज्यालो मन बनाउन सफल हुँदै गएँ ।

अध्ययनका क्रममा म अङ्ग्रेजी माध्यम र पाश्चात्य शैलीको शैक्षिक प्रणालीबाट आजित हुँदै थिएँ । नेपाली मन र पन हराउँदै, मासिँदै र वेवास्थामा पर्दै गएकोमा मेरो मनलाई चिमोटिरहेको थियो । यस्तो सोच र समझ मैले बाबाबाटै सिकेकी थिएँ । मलाई सरकारी विद्यालयमा पढ्ने रहर लाग्थ्यो । बुबाआमा दुवै निजी विद्यालयकै शिक्षक भएको हुँदा म सरकारी विद्यालयकी विद्यार्थी हुने कुनै सम्भावना थिएन । संयोगवस बाबा २०७१ साल भदौ २ गते निमाशि तहको नेपाली शिक्षक भई सप्तरीको महावीर मावि, विषहरियामा पढाउन थाल्नुभयो । लिटिल फ्लावर माविमा प्रधानाध्यापकको पदबाट हटे पनि फुर्सदको समयमा मावि तहमा नेपाली पढाइरहनुभयो । मैले पनि सोही विद्यालयमा पढिरहनुपर्यो । कक्षा पाँचमा पढ्दापढ्दै २०७३ माघ ११ गते बुबा माशि तहको नेपाली शिक्षक भई सिरहाको जनसेवा मावि, कर्जन्हामा पढाउन थाल्नुभयो ।

२०७४ वैशाख ३ गते हामी सपरिवार कर्जन्हामा बस्न थाल्यौँ । मेरो सम्बन्धमा बाबालाई सरकारी विद्यालयमै पढोस् भन्ने चाहना रहेछ ।

रिक्सा–ठेलाबालाका छोराछोरी पनि बोर्डिङमै पढेर अङ्ग्रेजी भट्याएको सामाजिक परिवेशमा मामुलाई बाबाको विचार मनासिव लागेनछ । उहाँ स्वय म बोर्डिङमा पढाउन थाल्नुभयो । म पनि नजिकैको शिक्षान्तर मावि, बडहरामालमा कक्षा ६मा भर्ना भएँ । कोठामै ल्याउने–लाने बस सुविधा उपलब्ध थियो । बाबा पनि कक्षा ११ र १२मा पढाएर थप आम्दानी गरिरहनुभएको थियो । आनन्दै थियो ।

५/६ महिना नवित्दै उदयपुरको बेलका नगरपालिका–२, गल्फडियास्थित घरमा हजुरआमालाई उच्चरक्तचापले भेट्यो । आठ दशक उमेर कटेका हजुरबा र हजुरआमाको स्याहारसुसार गर्न मामु बहिनी गजललाई लिएर घरमा बस्न थाल्नुभयो । मलाई सप्तरीस्थित कञ्चनरूप नगरपालिका–१२, रूपनगरमा मामा घरमा राखिदिनुभयो । म बोर्डिङ स्कुलमै पुनः कक्षा ६मा भर्ना भएँ । बाबा पनि सरूवा भएर सिरहाकै जनता मावि, गोलबजारमा पढाउन थाल्नुभयो ।

हजुरआमालाई केही विसेक हुनासाथ सोही बिमारले बाबा गोलबजारमै ढल्नुभएछ । विराटनगरको विराट नर्सिङ होमको दुई हप्ते उपचारकै क्रममा उहाँको दाहिने पाटो नै पक्षाघातले नचल्ने भएछ । खरैया, धनगढी, दमक, नोवेल अस्पताल, वीर हस्पिटल, टिचिङ अस्पताल आदित्यादि धाउनुभयो । खतरामुक्त भए पनि पक्षाघात मुक्त हुनसक्नुभएको छैन । देब्रे हातले सकिनसकी सेतो पाटीमा लेख्नुहुँदो रहेछ । विद्यार्थीहरूलाई नै बढीभन्दा सक्रिय पारेर शिक्षणकार्यकलाप गर्नुहुँदो रहेछ ।

भारतको समस्तीपुर, नयाँ दिल्ली र हरिद्वार धाएर उपचार गराउनुभयो । स्वामी रामदेवद्वारा प्रचारप्रसार गरिने योग–प्राणायाम गरिरहनुभएको छ । पतञ्जली आयुर्वेदको ओखती सेवन गरिरहनुभएको छ । एकातिर कछुवा गतिमा सुधार भए पनि अर्कातिर अर्कै खाले बिमार देखिन्छ । हामी परिवारजन नै आशैआशमा छौँ । उहाँ स्वय म जिद्दी गरेर जुनसुकै काम पनि गर्न अघि सर्नुहुन्छ । फलतः सन्तुलन बिग्रेर स्वय म घाइते बन्नुहुन्छ । शरीरमा तागत नहुँदा लाठ्ठीको सहरा लिन र बिस्तारै पाइला चाल्न आग्रह गर्दा उहाँको कथन हुन्छ, “अर्कालाई अर्ती–उपदेश दिँदादिँदा तीन दशक बिताइयो । अब आधा शताब्दी उमेर खाएपछि बच्चाहरूको उपदेश सुन्नुपर्यो ।”

अगाडि थप्नुहुन्छ, “हिम्मत गरेकाले मान्छे मालिक भयो, भीमकाय हात्ती मान्छेको दास बनेको उदाहरण आँखै अगाडि छ त । म हिम्मतले पक्षघातसँग युद्ध गर्छु, बाटाघाटामा एकाध पटक पछारिन्छु । धेरथोर चोटपटकले सामान्य घाइते हुन्छु । केही दिनमा निको भइहाल्छ । बदलामा कुँजो बनेर त बस्नुपर्दैन । घरमै थुप्रेर र डरपोक बनेर बस्ने हो भने कुँजो बन्नुको विकल्प रहन्न । म चेतनारहेसम्म सक्रिय जीवन जिउन चाहन्छु । मलाई परालम्बी बनाउने प्रयास किमार्थ स्वीकार्य छैन ।”

आखिरमा जित उहाँकै हुन्थ्यो । उहाँ हरेक काममा आफैँ गर्नुहुन्थ्यो । यद्यपि कुनै काममा पनि सफलता पाउनुहुन्नथ्यो । हामीले सहयोग नगरे एउटा हात र एउटा खुट्टाको भरमा उहाँ के नै पो गर्नसक्नुहुन्छ र !

मनोगन्थनमा यस्तै कुरा आउँथे जान्थे । मैले रूपनगरको लिटिल फ्लावर बोर्डिङ स्कुलबाट कक्षा ७ उत्तीर्ण गरेँ । सरकारी ढिकुटीबाट तलबभत्ता खानेहरूका छोराछोरी सरकारीमा पढ्नैपर्ने कतिपय स्थानीय तहहरूको उर्दी चर्चाको विषय बनिरहेको परिप्रेक्ष्यमा मैले पनि कक्षा ८ देखि सरकारी विद्यालयको नियमित विद्यार्थीकारूपमा पढ्नुपर्ने भयो । बाधक भाषा भयो । म अङ्ग्रेजीवाट मात्र कुरा बुझ्ने, सरकारीमा नेपाली माध्यमका किताब मात्र लागू भएका रहेछन् । सप्तरीको सीतापुरमा पढाउने अभित कुमार चौधरी सरको सहयोगले अङ्ग्रेजी माध्यमका केही पुस्तक उपहारस्वरूप प्राप्त भयो । केही निजी प्रकाशन संस्थाकै पुस्तक भेला पारेर बाबाले थम्याउनुभयो । म भाषिक समस्याबाट मुक्त भएँ । मनमा सरकारी स्कुलमा पनि राम्रो गर्न सक्छु भन्ने आँट आयो । नेपाली र अङ्ग्रेजी दुवै माध्यमका पुस्तक एकसाथ राखेर पढ्दा कुरा प्रष्ट बुझिने रहेछ ।

मानसिक रूपले सामुदायिक विद्यालयको विद्यार्थी हुने मानसिकता बनाइरहेको बखतमा रूपनगरकै भोजराज रेग्मी ‘मुखाले’ को ‘चित्त दुखेको ओखती’ नामको कविताकृति पढ्ने मौका पाएँ । त्यसमा एउटा डरलाग्दो यस्तो कविता थियो–

नरोऊ नानी ! नरोऊ
नरोऊ बाबु ! नरोऊ
बन्दुकको नालमा निप्पल लगाइदिएर
मम्मीहरू एम्बुस रोप्न गएका छन् ।
भकुण्डो खेल्न
कोक्रामै बम राख्द्या होला
टायम पास गर्दै गर्नू ।
बाबाहरू सपना मार्न गएका छन्
काका, मामा र दादा–दिदीहरू
प्रजातन्त्रको कोठेबारीमा
हिटलर फलाउँदै छन्
त्यसैले, धैर्य गर !
केही काल पर्ख मात्र
प्रलयको चौतारामा भेला भएर
चिहानको चुल्हो बनाएर
देश उसिन्नुपर्छ/भुट्नुपर्छ ।
र, नानाथरी परिकार बनाउनुपर्छ ।
अनि…
मर्नेहरूका नाममाथि
बाँच्नेहरूले पलेँटी कसेर
अन्तिम भोज गलगिध्द खानुपर्छ
त्यसैले…
नरोऊ बा, नरोऊ !
केही पाउनलाई केही ता गुमाउनैपर्छ !!!

त्यस बारे जिज्ञासा राख्दा कवि मुखालेले भट्याएका थिए– “यो सन्दर्भ सरकारी विद्यालयसँग सम्बन्धित छ । यस कविताले नेपालका बालबच्चा र अभिभावकले भोग्नुपरेको इतिहासको एउटा दुर्भाग्यपूर्ण पाटोलाई समेटेको छ ।”

उहाँको कथनले मन डरायो । सरकारी विद्यालय त खतराले भरिएका हुँदारहेछन् भन्ने भय भयो । म वाल्यकालदेखि नै हिंसा विरोधी थिएँ । हिंसात्मक कुरा सुनेर मनमा वितृष्णा जन्मन पुग्यो । यद्यपि सरकारी विद्यालयकी विद्यार्थीमा परिणत हुनु चाहना र वाध्यता दुवै थियो ।

अन्ततः २०७६ जेठ २७ गते सोमबार म, मामु, गजल र भाइ युग रूपनगरबाट गोलबजार आयौँ । बाबाले मेरो नाम जनता माविको कक्षा ८मा लेखाइदिनुभएको रहेछ । सेक्सन ‘बी’ को रोल नं. ३३मा मेरो नाम रहेछ– गरिमा आचार्य । वर्ग शिक्षक रहिछन्– सुशीला श्रेष्ठ ।

मङ्गलबार मात्र जनक साहले अतिरिक्त गणित पढाउनुहुँदो रहेछ । अरू सबै दिन पहिलो घण्टीमा सुशीला श्रेष्ठले सामाजिक अध्ययन विषय अध्यापन गराउनु हुँदो रहेछ । दोश्रो घण्टीमा अनिवार्य गणित पढाउने जिम्मा जनक साहकै रहेछ । तेश्रो घण्टीमा तुलसा काफ्लेको भागमा नेपाली विषय रहेछ भने शशि साह र सरोज यादव चौथो घण्टीमा विज्ञान र कम्प्युटर विषय पढाउन आउनुहुँदो रहेछ । त्यसै गरी पाँचौँमा अङ्ग्रेजीका लागि राजकुमार साह छैटौँमा स्वास्थ्यका लागि चन्देश्वर यादव र सातौँ घण्टीमा पेशा तथा व्यवसाय र नैतिक शिक्षाका लागि नरेश पाल र जनक साहको नाम रहेछ ।

कक्षामा अटाइनअटाई विद्यार्थी थिए । विभिन्न भाषिक परिवेश, संस्कार र रीतिथितिका विद्यार्थीहरूको आनीबानी पनि फरकफरक थियो । प्रायः तिनीहरूको सिकाइस्तर कमजोर रहेछन् । शिक्षकहरूको शिक्षण कार्यकलाप पनि तिनै विद्यार्थी लक्षित हुँदो रहेछ । नेपाली माध्यममा कुराहरू सुन्नुपर्दा मलाई बुझ्न असजिलो अनुभव भयो । यद्यपि एकाध अङ्ग्रेजी शब्दहरूकै आधारमा अङ्ग्रेजी माध्यममा लेख्न सक्षम हुनुपरेको छ ।

बोडिङ स्कुलको सङ्कुचित वातावरण, साँघुरा कक्षा, सानो खेलमैदान, बोटवृक्षविहीन विद्यालय परिसर, रटन्ते शिक्षण कार्यकलाप आदिबाट अघाइसकेको मेरो मन सरकारी स्कुल परिसर टेक्नासाथ ढक्क फुल्यो । कक्षाकोठामा घना विद्यार्थी सङ्ख्या देख्नासाथ भने मन आत्तियो । एउटा टिनको हलमा राखेर १००भन्दा वढता सङ्ख्याका विद्यार्थीहरूलाई राखेर पढाउनु/सिकाउनु शिक्षकका लागि गाह्रो काम हो । त्यसभन्दा बढ्ता पछि बस्ने विद्यार्थीले शिक्षकका कुरा सुन्नु अँझ कठिन काम हो । कक्षामा सानो माइक वा साउन्डबक्सको प्रयोग गर्न सके सिकाइमा सुधार ल्याउन सकिन्थ्यो कि भन्ने लाग्यो ।

यद्यपि बुझेका कुरा अङ्ग्रेजीमा व्यक्त गरेको ठिक हो या बेठिक भनेर जाँच्न लगाउन शिक्षकलाई मिल्दै मिलेन किनभने ममात्र कागहरूको बथानमा एउटा बकुल्लो हुने निश्चित भयो । सबैले नेपाली माध्यमको प्रयोग गर्छन् । म पनि कक्षामा नेपाली माध्यम र घरमा अङ्ग्रेजी माध्यममा सिक्न थालेकी छु । परीक्षामा भने अङ्ग्रेजी माध्यममै लेख्ने अठोट गरेकी छु । किनभने बुझेका कुरा अङ्ग्रेजीमै अभिव्यक्त गर्न सजिलो लाग्छ । बाबा र मामु दुवै नेपाली भाषाशिक्षक भए पनि मैले नेपाली विषयमा कहिल्यै राम्रो गर्न सकिनँ किनभने त्यस विषयलाई कहिल्यै समय दिन सकिनँ । अब भने सबै विषयलाई उत्तिक्कै महत्त्व दिएर अघि बढ्ने अठोट गरेकी छु ।

(श्री जनता मावि, गोलबजार–४, सिरहामा कक्षा ८मा अध्ययनरत् बोर्डिङ स्कुलबाट आएकी नवाआगन्तुक छात्रा गरिमा आचार्यसँग गरिएको वार्तामा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *