Skip to content


दामा र हडिया खोलाको बीचमा रहेको मझुवा झोडामा एउटा दाउरे परिवार बस्छ। बाँसको टाटीमा माटोले लिपेको भित्ता र भित्तोमा रातोमाटो र कमेरोले पोतेको अनि बाबियोले छाएको छानोको झुपडीमा परिवारका तीन सदस्य बस्छन। झुपडी नजिकै एउटा गाईगोठ र बाख्राको खोर पनि देखिन्छ।आँगनमा कुखुरा क्याऊँ क्याऊँ गर्दे चारो खादै गरेको, गोठमा गोरु ड्वाँ ड्वाँ गर्दै डुक्रेको आवाजले ग्वाम बहादुरको दिउसोको भाते निद्रा खल्बलिन्छ।

बाँसको मचानमाथि गुन्द्री ओछ्याएको खाटबाट धुस्नो भएर फाटेको कम्बल पन्छाउदै ग्वाम बहादुर गर्जियो, “गोरु, बाख्रा पगा लाउन छोडेर यो भुन्टीकी आमा कता मुन्टी हँ ? भातमारा आईमाई ! दिनभरि गाउँ चार्यो, अर्काको कुरा काट्यो नकचरी !”

भुत्भुताउदै ग्वाम बहादुर बारीमा गोरु र बाख्रा पगा लगाएर थाप्लोमा डोकोनाम्लो भिरेर हातमा बन्चरो बोक्दै दाउरा काट्न अँधेरी वनतिर लम्किन्छ। बाटोमा छिमेकी रुचाल कान्छोसँग उसको जम्काभेट हुन्छ। “अँधेरी र तीनतले वनतिर बनजाँचेहरू पसेका छन् है तिम्रा ढाड भाच्लान नि” भन्दै रुचाल कान्छोले ग्वाम बहादुरलाई सजग गरायो। दाउरा नबेचे भरे वेलुका चुलो बल्दैन, बरु भोकै मर्नुभन्दा त बनजाँचेको कुटाई खाएर नै मर्नु बेस सम्झी ऊ वनतिर जान्छ।

मैलो धुस्नो भएर फाटेको टोपीबाट आधी कपाल बहिर निस्केको, खपटे अनुहारमा झुस्स परेका तिलचामले दारीजुगा, आधी गिडेको सुरुवालबाट देखिने सुईखुट्टे पिंडुला, मरन्च्यासे आकृतिको ग्वाम बहादुर एउटा दरिद्रताको उदाहरण नै हो। सम्पतीको नाममा एक हल गोरु, दुइटा बाख्रा, चारपाँचवटा कुखुरा र कोठेबारीमा ठडएको एउटा झुप्रो घर बाहेक केही थिएन। रातको एघार बजेको सुनसान रात, दामा खोलो नराम्रो गरी सुसाइरहेको थियो । पर होक्से गाउँमा कुकुर भुकेको आवाज़ सुनिन्थियो। पुषको चिसो रातमा हडिया खोलातीरबाट सिरेटो आइरहेको थियो। चीसो रात, स्वास्नीबिहीन जिन्दगी, नाबालक छोरीको लालन पालन आदि कुरा सम्झेर ग्वाम बहादुर अति नै दुखी भयो। झुप्रो घर भित्र दुईवटा बासका मचानमाथि बनाइएका ओच्ह्यन, ओच्ह्यन नजिक अगेनोको छेउमा बसेका बाबुछोरी सिरेटो चलेको चिसो रातमा बाहिरबाट छिरेको जुनको प्रकाशमा नि्कै कारुणिक देखिन्थे। होचाकी जोइ सबैकी भाउजू भने झै ग्वाम बहादुरलाई ढाड पछाडि छिमेकीहरू उसलाई नाम काटेर ग्वामे पनि भन्छन।

जस्तोसुकै पीडा र गरिबी भए पनि ग्वाम बहादुर आफ्नी चार वर्षकी छोरी भुन्टीलाई साह्रै माया गर्थ्यो। परिवारको मुखमा माड हाल्नको लागि ऊ दाउरा कहिले होक्से गाउँमा र कहिले गिद्दे गाउँमा बेच्थ्यो र बेलुका चामल, नून, भुटुन लिएर घर जान्थ्यो। भुन्टी पनि बाबु कहिले आउछन् भनी बाटो कुरिरहन्थी। सदा झै आज पनि ऊ रासनपानी बोकेर घरको पिडीमा खुइय सुस्केरा हाल्दै डोको थ्याच्च बिसाउँछ। रुन्चे मुख लाएर भुन्टी दगुर्दै आएर बाबुको काखमा बस्छे। उसले छोरीको कपाल सुम्सुमाउदै “खोइ तेरी आमा?” भनेर सोध्छ। त्यो अबोध बालिका केही उत्तर नदिई बाबुको काखमा लुपुक्क परेर निदाउछे।

“असारी! ए असारी ! कता मुन्टीस हँ ?” भन्दै ग्वाम बहादुर आफ्नी स्वास्नीलाई कराउन थाल्यो। एक घण्टा, दुई घण्टा हुँदै रातको एघार बज्यो असारीको अत्तो पत्तो छैन। बिहान् भयो, असारी घरमा आइन। भोलि भयो पर्सी भयो असारीको कतै आउने गुन्जायस देखिएन।

गाउँमा छिमेकीहरुले गुन गुन गर्न थाले, “ग्वामेकी स्वास्नी त पोइला हिंडिछ त नाबालक छोरीलाई अलपत्र पारेर ।”

दुखी ग्वाम बहादुरको जीवनमा ठुलो बज्रपात पर्यो। चीसो रात, स्वास्नीबिहीन जिन्दगी, नाबालक छोरीको लालन पालन आदि कुरा सम्झेर ग्वाम बहादुर अति नै दुखी भयो।

दिन बित्दै गए। भुण्टी पनि नजिकैको नमुना स्कुलमा पढ्न थाली। ग्वाम बहादुरले पत्नीवियोगको पीडा भुल्दै गयो। दाउरा नै बेचेर भएपनी उसले छोरीलाई राम्ररी पढाएर ठुलो मान्छे बनाउने सपना देख्न थाल्यो। अँधेरी वनमा सखुवाको मुढो चिर्दा चिर्दै थकाई लागेर ऊ मुढै माथि भुसुक्कै निदाएछ। अर्ध निद्रामा सपनामा उसले असारीलाई देख्यो। असारी उसलाई भन्दै थिई, “ग्वामु ! मलाई यो दशैमा एउटा सुनको तिलहरी र भुन्टीलाई फुल्बुट्टे जामा किनी देऊ है। तिम्रो पनि सुरुवाल फाटेको छ, एक जोर दौरासुरुवाल सिलाऊ है।”

उ, जंगलमा कोइलीको कुहु कूहू आवाजले झल्यास ब्युझिएछ। बिपनामा उसले असारीको धोखे रुप सम्झियो र दाउराको भारी बोकेर ऊ छोरीलाई सम्झदै घरतिर लाग्यो।

समय बित्दै गयो। भुन्टीले पनि नमुना स्कुलबाट अब्बल दर्जामा एस. ई. ई. उतिर्ण गरी। त्यो मात्रीहीन बलिका पनि हेर्दा हेर्दे जवान देखिन थाली। उसलाई स्कुलमा साथीहरुले “दाउरेकी छोरी” भनेर जिस्क्याउदा हीनताभास हुन थाल्यो। तर भुन्टी बाबुलाई साह्रै माया र सम्मान गर्थी। स्कुलबाट आएर घरमा गाईबस्तु, बाख्रा पाठा, कुखुराको स्याहार गर्थी, भाततिहुन पकाउथी र बाबुसँग दु:ख सुखका कुरा गर्थी।बैसमा स्यालको स्वर पनि घोर्ले हुन्छ भने झै भुन्टीलाई पनि सोर बर्शे जवानीले नछोएको त होइन तर जवानीमा प्रवेश गरेका उसका साथी-सङी उत्ताउला र चञ्चल भए पनि भुन्टी सुन्दर, मिहीनेती र सौम्य़ स्वभावकी थिई।ग्वाम बहादुर पनि भुन्टीको अनुहारमा असारीको प्रतिमूर्ति देख्थ्यो। भुन्टीले बि.पी.के. आई.एच.एस.कलेजमा अर्ध छात्रब्रित्तीमा डाक्टरी पढ्ने मौका पाई। अति दुखी ग्वाम बहादुरको जिन्दगीमा खुसीको घाम लाग्न थाल्यो । ग्वामे, दाउरे भन्ने छिमेकीहरुले पनि ग्वाम बहादुरलाई ग्वामुदाइ, ग्वामे काका भनेर सम्बोधन गर्न थाले। गाँस काटेरर अहोरात्र दाउरा चिरेर भएपनी ग्वाम बहादुरले छोरीलाई डाक्टरी पढाउनको लागि पैसा पठाइरह्यो।

कुमालेको चक्र घुमे झै समय चक्र घुम्दै घुम्दै चार बर्समा भुन्टीमाया लिम्बूले एम.बि.बि. एस. उत्तीर्ण गरी। दिक्क्ष्यान्त समारोहको ला्गि अभिभावकहरुलाई निमन्त्रणा गरियो। ग्वाम बहादुर लिम्बूको नाममा पनि निमन्त्रणा पत्र कलेजबाट हुलाक मार्फत पठाइयो । उता भुन्टी पनि डाक्टरी डिग्री लिएर आफ्नो मझुवापठाई गाउँमा आफू जस्तै गरिब गाउँले हरुको स्वास्थ्य उपचार गर्नको लागि आतुर थिई। दीक्क्ष्यान्त समारोहको दिन आफ्नो देवसमान बाबुको मुहारमा खुशीको लहर कुदेको हेर्नको लागि भुन्टीको ब्यग्रताको बाँध फुट्न आटेको थियो।

दिक्क्ष्यान्त समारोहको दिन सबैका अभिभावक आए तर भुन्टीका बाबु आएनन। भुन्टीले रोदनमिश्रित भावमा डाक्टरी प्रमाणपत्र ग्रहण गरी। भोलिपल्ट भुन्टी आफ्नो गाउँ हिडी। खुशी र रोदन मिश्रित् भावमा घरको आग़नमा पाइला टेकी। कतिखेर बाबुलाई भेटेर प्रमाणपत्र देखाई अंकमाल गरौ भन्ने चाहनाले ब्यग्र भुन्टीले बाबु देखिन तर आँगनभरी छिमेकीहरुको भीड देखी। गाउँलेहरू डक्टर भएकोमा खुशी हुनुको साटो मलिन अनुहार लगाएर भुन्टीलाई छक्क पर्दै हेर्न थाले।

“रुचाल काका! मेरो बुवा खोइ त?” भुन्टीले डर मिश्रित स्वरमा सोधी। रुचाल कान्छा बोलेनन।

“घिमिरेनी हजुरआमा! भन्नु न मेरो बुवा खोइ त?” फेरि भुन्टी कराउन थाली।

घिमिरेनीले रुदै र भुन्टीलाई अंकमाल गर्दै भनिन्, “भुन्टी ! तेरा बाबु त आजै खसे।”

भुन्टी बेहोस भएर भुइमा लडी। छिमेकीहरुले भुन्टीलाई पानी छ्यापे तर पनि भुन्टी उठिन। अशिमित पीड़ाले गर्दा भुन्टीले पनि सदाको लागि यो संसार छोडी। छिमेकीहरुले भुन्टी र ग्वाम बहादुरको नस्वर शरीरलाई एकै ठाउँमा नजिकै नजिकै चिहानमा पुरेर अन्तिम संस्कार गरे।

म पनि एक दिन दामा खोलामा पैनीमा पानी फर्काउन जांदा चिहानघारीको बाटो हिंडेको थिएँ । चिहानघारीमा एक जोर फरक चिहान थिए। ती चिहानमाथि डोकोनाम्लो, बन्चरो र एउटा डाक्टरी प्रमाणपत्र राखिएको थियो। ग्वामे काका र भुन्टी बहिनीको सम्झनाले मेरा आँखाबाट दुई थोपा आसुँ तरक्क झरे।

ईति

राजेश अधिकारी
होक्से, बुद्धशान्ति-१, झापा, नेपाल
फोन नम्बर- ९८४१२३८६२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *