Skip to content


झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन्
जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।

कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्
तातेताते भनी मीठो तोते बोली सिकाउँछिन्
राखेर काखमा नानी कहिले गीत गाउँछिन्
बालो सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।

नानी उठ्छ भनी राती अल्प-अल्प निदाउने
नानी रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने
को खा को खा भनी खाना नानीलाई खुवाउँछिन्
बगाई दूधको धारा शिशुलाई नुहाउँछिन् ।

मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि
बचेरा गुड छोडेर टाढा-टाढा गए पनि
आमाको रूप बिग्रन्छ सन्तान जन्मिएपछि
सन्तान पर भैजान्छन् डोलीमा अन्मिएपछि ।

जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्
आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान्
धर्तीमै छ सबै चीज खोजे मिल्छ घरी घरी
तर जन्म दिने आमा पाइँदैन कसैगरी ।

कृष्ण प्रसाद भट्टराई (ओखलढुङ्गा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *