Skip to content

“साने” वैदेशिक रोजगारको आजको सान्दर्भिक ऐतिहासिक काव्य


परिचय–
‘साने’ नारायणप्रसाद मरासिनीले २०५६ सालमा प्रकाशन गरेको खण्डकाव्य हो । वास्तवमा २० वर्ष पहिला लेखिएको यो खण्डकाव्यले दिएको सन्देश यो देशको वर्तमान परिस्थितिमा पनि त्यत्तिकै सान्दर्भिक छ जति त्यस समयमा थियो । यस खण्डकाव्यले राष्ट्रले दिन नसकेको रोजगार र समाजमा हुने गरेका सामिाजिक शोषण, गरिबीले थिचिएका जनताका छोराछोरीहरू विदेशिन बाध्य हुन परेको यथार्थतालाई बोकेको खण्डकाव्य हो । समाजका गतिविधि समाजले भोगेका यथार्थ भोगाइ, काव्यकारले गरेको स्थान विशेषको अनुभूति नै साहित्यमा समाहित भएर आउने हुन् । नारायणजीको यो खण्ड काव्य नारायणजीकै भनाइ अनुसार उहाँले यो खण्डकाव्यलाई ‘त्रि.वि. नेपाली शिक्षण समिति पोखरा, नेपाली विभाग अन्तर्गत स्नातकोत्तर तह, नेपाली द्वितीय वर्षको आठौं पत्रको आँशिक आवश्यक्तापूर्तिको लागि प्रस्तुत गरिएको थियो’ । यो खण्डकाव्य सानो छ तर हिजोदेखि आजसम्म नेपाली जनजीवनले भोग्न परेको यथार्थतामा सिर्जना गरिएको एउटा प्रतिनिधि खण्ड काव्य हो । यस्ता गहन खण्डकाव्यका कहृतिकार हुन् ’नारायण मरासिनी’ । जो नेपाली साहित्यिक जगतमा परिचित नाम हो ।

कृतिको संरचना – यो कृति आवरण पृष्ठ बाहेक ४८ पृष्ठमा सजिएको छ । नारायणजीको भनाइमै जाँदा यो उहाँको छन्दमा लेखिएको पहिलो कृति हो । यस कृतिले पृथ्वी नारायण क्याम्पसका तत्कालीन समयका उपप्रध्यापक श्रीहुमकान्त पाण्डेजीको सानो तर सारगर्भित मन्तव्य पाएको छ । यस खण्डकाव्यमा चतुस्पदीका २०० श्लोक छन् । । यस खण्डकाव्यलाई विदेशी भूीममा पसिना र रगत बगाउने नेपालीहरूप्रति समर्पण गरिएको छ ।

मन्तव्यकारको धारणा – यस कृतिको मर्मलाई कोट्याउँदै मन्तव्यमा हुमाकान्त पाण्डे लेख्नुहुन्छ – ‘केही उत्कण्ठा, केही मात्रामा तन्नेरी भाावुकता, केही युगीन सामाजिक असन्तुष्टिहरूलाई कवितामय शब्दमा बाँध्दै उहाँले, आफ्नो सम्भावनालाई खोज्ने प्रयत्न गर्दै हुनुहुन्छ ।’

खण्डकाव्यको कथासार – गुणाखर एक गरिब, समाजको हित चाहने, दयालु र हितैषी व्यक्ति थिए । उनको मृत्यु हुन्छ तर उनका स्वर्णभा मन्दाकिनी नामकी पत्नी र कोर्काको अवस्थाको पुत्र शंकटमय अवस्थामा पुग्दछन् । उनकी पत्नीले संघर्षमय जीवन बिताउँदै छोराको लालान पालन गर्छिन् । छोरालाई लालान पालन गर्दा ऋण लाग्छ र नयाँ घरे रकमीबाट ऋण लिंदा जन्जालमा पर्दछिन् । ५ मुरी धान आउने गैरीखेत साहुले तम्सुक बनाएर हडप्छ । छोरो ठुलो हुँदै जान्छ । छोरा गाई बाख्रा हेर्न सक्ने अवस्थामा पुग्छ । गोठालो जाँदाँ उसले एउटी टुहुरी केटीसँग वैवाहिक सम्बन्ध गाँस्दछ । सासू र बुहारीलाई छाडेर एक विहानी पख साने भारत जाने अठोट गर्दछ र भारततिर लाग्दछ । बाटोमा र गोरखपुर पुग्दा निकै कष्ट सहन्छ र भारतीय सेनामा भर्ना हुन्छ । भर्ना भएपछि, ऊ घर आउन त चाहन्छ । घरको यादले निकै चिन्तित हुन्छ तर बिदा पाउँदैन बरु श्रीलंकाको गृह्ययुद्ध साम्यपार्न उसलाई श्रीलंका खटाइन्छ । ऊ त्यही लड्दा घाइते हुन्छ । घाइते अवस्थामा एसले एउटा आमाको चिठी पाउँछ । यही चिठी मार्फत उसकी पत्नी पनि पोइल गएको सन्देश पाउँछ र उसको सबै सपना चकनाचुर भएर जान्छन् । अन्त्यमा ऊ त्यहीबाट यो संसार छाड्छ । आमाले छोरो आउँछ भनेर कुरेर बस्दा चिठीको खाममा जोर शंख लेखिएको र रातो घागोले बाधेको पत्र प्राप्त हुन्छ । कसैले पढेर सुनाएपछि आमाको शरीर पनि ढल्छ र कथा समाप्त हुन्छ ।

खण्डकाव्यले राखेका महत्वपूर्ण सन्देशहरू –केही कुराहरू त मैले परिचयमा नै राखेको छु तापनि कृतिभित्र प्रवेश गरेर काव्यको थालनीदेखिका काव्यकारले राखेका सन्देशलाई यहाँ प्रष्ट पार्न चाहन्छु –

मङ्गलाचरण –काव्यको थालनी गर्दा मङ्गलाचरणबाट गरिने परम्परा रही आएकोमा यहाँ काव्यकारले ‘‘द्यौताहुन् जनता दयालु मनका पूजा गरूँ सर्वदा’’जस्ता अमृतवाणीले काव्यलाई अग्रसरता दिनु भएको छ । काव्यकारले मानवलाई उच्च महत्व दिएर नविनतम्रूपमा मङ्गलाचरणको थालनी गर्नुभएको छ ।

प्राकृतिक वर्णन–ग्रामिण परिवेशका प्राकृतिक सुन्दरतालाई काव्यकारले समाएका छन्, खेतबारी, बोटबिरुवा, नदीनाला, पशुपंक्षीको रम्य प्राकृतिक सौन्दर्यमा रमाएका छन्, यो रम्य प्राकृतिक सौन्दर्यमा काव्यकार यसरी आफ्ना धारणाले हामीलाई घुमाएका छन् –

लाल्पाती नभमा नुहेर फुलिंदा सौन्दर्य ह्यैं वैरिने
रोदिका लहरी लयालु स्वरमा भाका मिठो गुञ्जिने
सुस्केरा मनको सुसाउनु छ यो भन्ज्याङ्को काखमा
रन्को मादलको छ ताङ–घिनिनी फैलन्छ है रातमा
(पृष्ठ २)

छातीमा छहरा अपार जलको भण्डार यो देशले
आफ्नै नाभी हुने सुगन्ध छरिने थाहै नपाई दिने
गावैमा छ अरे फलाम, सुनको खानी यहाँ भन्दछन्
खै कुन्नि पर या कतातिर छ ए ! यो राज्य के गर्दछन् ?
(पृष्ठ २)

नेपाल चाहे त्यो जल सम्पदामा होस्, चाहे त्यो विविध खाले प्राकृतिक सम्पदामा होस् या हिमाल पहाड तराई आदि जातीय संस्कृतिमा होस् धनी छ तर यसमा राज्यले जे जति रुपमा बढवा दिनु पर्ने हो दिन सकेको छैन ।

वर्गीय विभेद – नेपालमात्र नभएर संसारलाई हेर्दा आर्थिक दृष्टिकोणमा संसारमा धनी र गरिब गरी दुई वर्गका मानिसको बसोबास छ । यो खण्डकाव्यले गुणाखर जस्तो नित्यान्त गरिब तर चेतनशित व्यक्ति र नयाँघरे रकमी जस्ता धनी र शोषण प्रवृत्तिका मानिसलाई प्रतीकको रूपमा लिएर गरिबको कष्टदायी जीवन र धनीको विलासिता को जीवन तथा शोषण प्रवृत्तिका मानिसले गरिब माथि गरेको शोषणको गहन प्रस्तुति गरेको छ । संसारमा आज एक थरी मानिस भोक भोकै मरिरहेका छन् भने एकथरी मानिस अत्यान्त धनी भएर विलासिताको जीवन बिताइरहेका छन् जस्तै गुणखरकी पत्नीले भोग्न परेको कष्टदाइ जीवनको एक श्लोक यहाँ पढौं –

यौटा रातदिनै सधैं खटिखटी जोतिन्छ गोरू सरी
अर्को एक विवेक स्वाट्ट पिउँदै ठालू हुने बेसरी
‘‘के लाग्दो र’छ खै’’भनेर उनले देवै पुकारा गरिन्
काढ्दा ऋण नयाँघरे रकमिको जञ्जालमा ती परिन्
(पृष्ठ ४)

तत्कालीन अवस्थामा कानूनको पालना –यो कृतिको सिर्जना समयमा कानूनको कार्यन्वयन र हालको अवस्थालाई केलाएर हेर्ने हो भने खास केही परिवर्तन देखिदैन । भन्ने गरिन्छ सानोलाई ऐन ठुलोलाई चैन भने जस्तै तत्कालीन समयमा पनि ‘सानोको हितमा न कानून छ त्यो झर्दो छ तल्लोतिर’ भन्ने काव्यकारको धारणा प्रष्ट रूपमा आएको छ ।

मातृ स्नेह र काव्य– आमाको माया आफ्नो सन्ततिप्रति कति गाढा हुन्छ र भावी आशा कति बलियो हुन्छ भन्ने कुरा यस काव्यमा प्रचुर मात्रामा पाइन्छ –

त्यो सानो पिउसो बचाउन भनी सास्ती असाध्यै खपिन्
भोलिको सपना जपेर मनमा पीडा तिनी भुल्दथिन्
बेंसी–गाम जताततै दिनदिनै मेलो सकेरै तिनी
पुग्थिन् साँझ झमक्क पर्नु अघि नै रोयो कि छोरो भनी

जातीय विभेदको अन्त्यको चाहना –यस काव्यका नायक सानेले आफ्नो विवाह गर्दा जातीय विभेदलाई अन्त्य गर्न र कालो सोच लिनेहरूलाई सुधानर्ज चाहेका धारणा यसरी काव्यमा आएको छ –

जातैमा छ अलिकति गडबडी घर्ती र क्षेत्री थिए
बाटो छेकिन सक्छ के गरी त्यहाँ ? साफी मनैमा भए ।
यात्रा जीवनको निरन्तर हुने गाँस्नु छ माला अब
कालो सोच लिने समाज पनि यो मैले सुधारूँ सब ।।
(पृष्ठ १२)

प्रेम प्रसंग र काव्य –मानिसमा प्रेमले स्थान जब लिन थाल्छ, त्यो प्रेमलाई प्रकट गर्न कठिन पर्दछ, लाज लाग्दछ, मानिस विचलित हुन्छ, प्रेमिका अर्कैले लगिदिन्छ कि भनी आशंका जाग्छ, मिलनको लागि आतुर हुन्छ, बोलौं बोल्न सक्दैन, पानी विनाको बगरको माछो सरी प्रेमी र प्रेमिका तड्पन्छन् र यी सबै प्रेममा देखिने घटनाक्रमलाई काव्याकारले पस्केका छन् र नायिकाको सुन्दरतालाई यसरी प्रकट गरेका छन् –

लेख्दा सुन्दर लोभिली बदनकी आश्चर्य त्यो षोडसी
छातीमा कलिला थिए मखमली ज्यानै आह जोशिली ।
रातैमा पनि त्यो सदैव सपना माया बढी आउने
उर्लेको लहरे सरी छ ममता चिन्ता दुवैमा हुने ।।
(पृष्ठ १३)

नेपाली विदेशीनु पर्ने कारण– यो काव्य सिर्जना समयमा नेपालीहरू खास भारत जानु पर्ने मुख्य कारण देशमा भएको गरिबी र आर्थिक अभावको कारण नै थियो र लाहुरे भएर रोजगारीको लागि नेपाली विदेश लाग्दथे । गन्तव्य स्थान भारत थियो । तर आज यो अवस्थाले व्यापकता लियो नेपालीहरू संसारको कुना कुनासम्म फैलिएका छन् । यसरी नेपाली विदेशीनुको कारण यहाँ साने यसरी बोल्छ–

थोत्रो यो झोपडी भए छ चुहुने डाँडा र भाटा कुहे
जस्तै यो टहरो थिएन गतिलो खामा सबै माक्किए ।
सद्दे एक बनाउने रहरमा वर्षै बितेको थियो
जीर्णै भो घर यो सुधार म गरूँ इच्छा यही कल्पियो ।।
(पृष्ठ १५)

यिनै अभावलाई पूर्ति गर्न आजका युवा युवतीहरू विदेशिएका छन् । यो कर्म आज अँझै तीब्र गतिमा अगाडि बढेको छ ।

धनप्रति काव्यकारको धारणा –आजको जमानामा पैसा प्रतिष्ठा भएको छ र मानिस पैसामुखी भएकोमा काव्यकार चिन्तित हुँदै भन्छन् –

बाँच्ने साधन मात्र हो, अरु बढी पैसा विषालु हुने,
यै हो यो गजतै बिगार्न कसिने उन्माद मच्चाउने
(पृष्ठ १७)

अनिष्टको संकेत र सानेको दृढता– हाम्रो जनविश्वासमा यात्रा गर्दा तथा कुनै कामको लागि अगाडि बढ्दा विरालोले बाटो काट्नु, रित्तो गाग्री भेटिनु, सर्पले बाटो काट्नु या छेक्नु जस्ता घटना यात्रीको अगाडि देखियो भने आँटेको काम सिद्ध हुँदैन भन्ने धारणा छ । यहाँ साने घर छाडेर भारत जान लाग्दा बाटोमा कालो सर्प अगाडि देखिन्छ र तर्सिन्छ तापनि ऊ दृढ भएर मनमा सोच्दै अगाडि बढ्छ ।

कालो सर्प अगाडि देखि बटुवा तस्र्यो झसङ्गै भई
सोचो साइतका कुरा मन भरी फैल्यो तरङ्गै बनी ।
ठुलो हिम्मत–आँट लिन्छ जसले बिघ्नै परोस् जे जति
रोकिन्नन् पदचाप साहस हुने यात्रीहरूका गति ।।
(पृष्ठ १९)

मानवीय प्रवृत्ति र खण्डकाव्य – मानिस एउटा चेतनशील प्राणी हो । चेतनशीलताको प्रदर्शनी मानवले शालिनता, मानवीयता उच्च भावनामा सबै प्राणी माथि देखाउन पर्ने हो तर आजको संसारमा मानव स्वार्थी बनेको छ मानिसमा अहम्ता छ, ठूल्यार्इँ छ, मान्छे मार्न पनि हिचकिच्याउँदै, वास्तवमा मानिसको कसैसँग डर छ भने केवल मानिसबाट मात्रै छ भन्ने यथार्थता काव्यमा आएको छ –

गैडा, बाघ र अन्य भालुहरूको मान्दैन कोही डर
मान्छ्यै हो अरुको बिगार्न कसिने सर्पै सरी दुच्छर
मान्छेमा समता हुँदैन किन हो ?आफ्नो बिरानो हुने
खौलो हुन्छ धनी गरिब बीचको आकास त्यस्ले छुने

वास्तवमा मानव चोला कति दिनसम्म हो त ? काव्यकारको धारणा छ –

चोला हो यो दुई दिने रमझमी ढुङ्गो सिरानी लिई
मिल्नैपर्छ अवश्य दूर पथको मट्टी हावामा गई ।
बाँच्नैपर्छ अभाव टार्न पनि त्यो चाहिन्छ केही तर
त्यस्कै निम्ति मरी मरी घसि घुंडा बन्दैन राम्रो घर ।।

प्रदेशीले घर सम्झेर गर्ने विलाप – विदेशीनु बाध्यता थियो/हो । यस खण्ड काव्यमा साने पनि विदेशियो । उसले आफ्नो घरको यादमा, आमको समझनामा र पत्नीको यादमा गरेका विलौनाले पाठकको मन छुन्छ र उसका मनमा खेलेका अनौको कल्पना र सोचहरू सबै विदेशिएका नेपालीका हुन् । सानेको एउटा कारुणिक क्रन्दन यस प्रकार छ –

आएँ व्यर्थ विदेश दुःख सहदै सम्पत्तिको लोभमा
अर्पे जीवनफूल दुष्टहरूको साम्राज्यका लोकमा ।
झर्छन् आँसु उदेक पीर मनमा सम्झाउने के गरी
मर्छन आस हजार जीवनभरी बाँच्ने झिजो बेसरी।।
पृष्ठ २७

भारतीय सेनाको श्रीलङ्कामा खटाई – सानेको सेनामा जागिर दुई वर्ष बित्छ र ऊ छुट्टीमा घर आउने सोच बनाउँछ तर दुर्भाग्य उसले छुट्टी पाउँदैन श्रीलङ्काको गृह्य युद्ध साम्य पार्न खटिन्छ । भारतको छिमेकी प्रति गरिने हस्तक्षेपकारी प्रवृत्तिप्रति पनि काव्यकारले टिप्पणी गरेका छन् युद्धको अवस्थामा सेनाले भोग्न परेका कष्टदाइ अवस्थालाई पनि काव्यमा प्रष्ट्याइएको छ । युद्धस्थलको एउटा कारुणि घटनालाई यहाँ अध्ययन गरौं–

लाशैलाश जताततै छिरलिए सङग्रामको युद्धमा
आयो चाड भनी आकास भरका छायो खुसी गीद्धमा
ज्यूँदै छन् कतिता र तापनि त्यहाँ आई घुमे चिलले
मौका हो अब यो भनेर कति ता ज्यूँदै लुछे स्यालले ।।
पृष्ठ ३३

सानेले पत्नी पोइल गएको खबर पाउँछ – जब साने युद्धमा धाइते भएर मरणासन्न अवस्थामा पुग्छ । त्येतिवेला उसले एउटा घरको पत्र पाउँछ । पत्र उस्ले पढ्दै जान्छ र यस्तो सन्देश पाउँछ –

पढ्दै जान्छ र अन्त्यको हरफमा आँखा पुगेथ्यो जब
आमालाई चटक्क छोडी कसरी स्वास्नी गई पोइल ?
विश्वासै कसरी गरूँ म अहिले साह्रै मिलेका थियौ
लोग्ने छैन भनेर बस्न सकिनौ आमा रुवाई गयौ।।
(पृष्ठ ३७)

यो सानेमा घटेका घटना आज विदेशमा जानेहरूका घरमा धेरै ठाउँमा घटेका छन् । जस्ले गर्दा नेपाली जनजीवनमा ठुलो असर पारेको छ ।

साने घाइते भएर मर्छ र उसको घरमा पत्र आउँछ । आजको सन्दर्भमा खाडीमा जानेवालाको मृत्यलाश बाकसमा आएको हुन्छ ।

साँझैको पखमा डुबेर रबिले थोरै उजेलो दियो
खामै बाहिर जोर शङ्ख सितको रातो त धागो थियो ।
सुन्दा होस गुमेछ मातृ–अदना पढ्ने त अर्कै थियो
बङलङगै ढलि गो शरीर बीचरो सारा अधेरो भयो ।।

यसरी सानेको आमाको पनि अन्त्य हुन्छ । यो खण्डकाव्य वियोगान्त रूपमा प्रस्तुत भएको छ ।

पात्र चयन– खण्डकाव्यमा गुणाखर, गुणाखरकी पत्नी, साने, सानेकी पत्नी र नयाँघरे रकमी गरी ५ जना पात्रहरू चयन गरिएका छन् । सबै पात्र सकृय रूपमा देखा पर्दछन् । गुणाखर गरिब छ तर समाजसेवी छ । गुणाखरकी पत्नी पनि एउटी लगनशील, मेहनती र हिम्मती कर्मठ नारी पात्र हुन् । जस्ले पतिको वियोगमा पनि आफ्नो छोरालाई निमेक खाएर भए पनि सक्षमरूपमा हुर्काउँछिन् र समाजमा एउटी उदाहरणीय नारीको रूपमा प्रस्तुत भएकी छन् । नयाँघरे रकमी एउटा धनी र अर्कालाई व्यजमा ऋण दिएर उसको उत्पादनशील जग्गा हडप्ने प्रतिनिधि पात्र हो । यस्ता पात्रहरू सबै समाजमा पाइन्छन् र यिनले शोषणको काम गर्दछन् । यस काव्यको मूल पात्र साने हो जो घरलाई सञ्चालन गर्न भनेर भारत भूमिमा जागिर खान जान्छ । पल्टनमा भर्ती हुन्छ । आफ्नो दायित्वलाई निभाउँछ । अन्त्यमा घर फर्कन नपाई श्रीलंकाको युद्धमा घाइते हुन्छ र अन्तत उसको त्यही मृत्यु हुन्छ । वास्तवमा साने त्यस्तो पात्र हो जो जातीय विभेदलाई मेटाउन चाहन्छ । जातीय समनताको चाहना राख्छ । भारतको राष्ट्रिय स्वाधिनतादेखि लिएर भारतको सुरक्षाको लागि नेपालका धेरै सानेहरूले आफ्नो शरीर अर्पण गरेका छन् ।

परिवेश–यो खण्डकाव्य नेपालको स्याङ्जाको एउटा गाउँदेखि लिएर भारका विभिन्न स्थान र श्रीलंकाको परिवेशमा लेखिएको छ ।

भाषाशैली–भाषा सरल छ ।सबै प्रकारका पाठकलाई सहजरूपमा अध्ययन गर्न र प्रकट गर्न चाहेकोले भावनालाई बुझ्न सकिन्छ । करुणुरसले अग्रता लिए पनि अन्य रस, छन्द र अलंकारको साथै उखान टुक्काको प्रयोग भएको छ ।

साने एउटा नेपाली जनजीवनमा घटेको तथा घट्दै आएको यथार्थ परक खण्डकाव्य हो । आजका थुप्रै सानेहरू भारतमा मात्र नभएर विश्वका कुना कुनामा आफ्नो घरपरिवारलाई एक छाक पेटभरी खुवाउन र साहुको ऋणबाट मुक्त हुनको लागि विदेशिएका छन् । कतिपय सानेहरूले आफ्नो चाहनालाई पुरा गरेका छन् भने कतिपयको रातो धागोको चिठी आउँछ या बाकसमा लास आउने गरेको छ ।

अतः अन्त्यमा काव्यकारको कलम तीखारिओस् र अँझै गहन काव्यहरू सिर्जना हुन् भन्ने धारणा राख्दै देशका युवायुवतीले आफ्नै देशमा गास बास कपासको बन्दोबस्त गर्ने वातावरण सरकारले मिलाओस् भन्ने माग राख्दै बिदा चाहन्छु ।

धन्यवाद
मिति २०७६ साल असार २४ गते
कावासोती नगरपालिका, वडा नं ७, शान्तिचोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *