Skip to content


तीन वर्ष बनारसी पण्डाबाट काशीमा कर्मकाण्ड सिकेर आएका खनाल बाजे गाउँमा एकाधिकारी नम्बरी पण्डित नै हुन् । आफूलाई धर्मशास्त्रका ज्ञाता मान्ने उनी आफूलाई शास्त्री नै ठान्छन् । पूराण होस कि बिहेबटुलो, न्वारन होस कि श्राद्द सबै जजमानकहाँ उनकै माग छ गाउँमा ।

उनको पुरा नामथर धनुषनाथ खनाल भए पनि उनी आफूलाई गाउँमा सबैलाई धनुष शास्त्री भनाउन चाहन्छन् । तर ढाड पछाडि गाउँलेहरू उनलाई धनुषे खँदाल भनेर पनि चिन्छन् । हुन पनि उनका ख्याउटे अनुहारमा झुस्स फुलेका दारी, टुप्पीसम्म खुइलिएको तालु, पेट भासिएर कुप्रो परेको सिकुटे र अग्लो गेरुबस्त्रधारी शरीर र त्रिशूले टीकाधारी निधार मास्तिर मौलाएको धनुषको ताँदो झैँ लामो टुप्पी देख्दा उनी कताकता रामचन्द्र भगवानका धनुष जस्तै देखिन्छन् । धार्मिक कर्मकाण्ड गरिदिए बापत जजमानबाट झर्ने दक्षिणाका लोभी बाहुन प्याज लसुन त के उपाध्ये बाहुनको घरमा चियासम्म त पिउँछन् र ती बाहेक अरु जातको घरमा पानी पिउनु त परै जाओस उनीहरुले छोएको फूल पनि देउतालाई चढाउँदा अपवित्र हुन्छ भन्ने ठान्छन् । देवीदेवताहरू बाहुनक्षेत्रीका मात्रै पेवा हुन् भनी ठान्ने खँदाल पुरेत तल्ला जाती भनाउँदाका घरमा धार्मिक कर्मकाण्ड गर्न बोलाउँदा कहिले जाँदैनन् । बाजेको कोठेबारीको सीमानैमा एउटा आरन चलाउने टुहुरो बिर्खे कामीको घर छ । बडो हँसिलो, मिजासीलो र परिआउँदा ज्यानै दिन पछि नपर्ने सहयोगी स्वभावको बिर्खेले गाउँभरिका मानिसको लागि खुकुरी, फरुवा, बञ्चरो, हँसिया जस्ता हतियार बनाइदिने र उद्द्याउने काम गर्छ । पूरेत बाजेले एकाबिहानै उसको अनुहार हेर्दा पनि जात जान्छ भनेर आफू त के आफ्नी बाहुनीलाई पनि हेर्न मनाही गर्छन् । निसन्तान आफू र बाहुनीलाई जजमानहरुले चढाएका दाने सारी, धोती, टोपी र गम्छा बाहेक अरु कहिले केही नकिन्ने कञ्जुस बाहुन जातिपाती र छुवाछुतका जिउँदा कट्टर पक्षपाती नै हुन् ।

मिश्रित जातजातिको बसोबास भएको गाउँको माझमा कोठेबारीमा बनेको एउटा सानो घरमा उमेरले साठी नाघेका यी खनाल दम्पति बस्दछन् । पण्डित बाजे दैनिक बिहानै नुहाइ धुवाइ गरेर पूजाकोठामा सङ्खधुनी सहितको वेदपाठ गर्दै करीब दुई घण्टा जति पूजाआजामै व्यस्त रहन्छन् । त्यसपछि नजिकैको शिवमन्दिरको मुख्य पुजारी भएको नाताले उनी त्यतातर्फ लाग्छन् अनि उतैबाट विभिन्न जजमानहरुकहाँ धार्मिक कर्मकाण्डको लागि गएर साँझमा घर फर्कन्छन् । बाहुन बाजे सधैँ साँझमा घर फर्कदा एउटा ठुलो धोक्रेझोलामा जजमानहरुले धार्मिक कार्य गर्दा चढाएका चामल, दाल, धोती, गम्छा, फलफूल आदि लिएर आउँछन् । घर आएपछि नुहाईधुवाई गरेर सन्ध्यापूजा गर्छन् अनि खाना खाएर सुत्छन् र पुनः भोलि त्यही चक्र घुम्छ । यस्तै छ बाहुनबाजेको दैनिकी ।

यता बाहुनी बज्यै पनि दैनिक कम ब्यस्त हुन्नन् । जजमानले पुच्छर छोएर बैतरणी गर्दा दान दिएको रातो बाछी ठुलो भएर भर्खर ब्याएको छ खनाल दम्पतीको घरमा । बज्यैलाई सुत्केरी गाईको स्याहार गर्न भ्याइनभ्याइ छ । बुढाले घरमा सिङ्को भाँच्ने होइनन् । बिचरी बज्यै हस्याङ्ग फस्याङ्ग गर्दै एकाबिहानै गाईलाई कुँडो पकाउने, कोठेबारीको कान्लोबाट घाँस काटेर ल्याउने, गाईको भकारा सोहोर्ने आदि कामले बिहानै थकाइले चुर हुन्छिन् । त्यसपछि सिकुवा लिपपोत, नुहाईधुवाई, पूजापाठ, भाततिहुन गर्दा गर्दै दिनको प्रथम पहर सकिन्छ । यी दैनिक कामका अतिरिक्त बाहुनीबज्यैले अरु थुप्रै खत्र्याङ खुत्रुङ काम गर्नुपर्छ । बुढाले दानमा ल्याएका अक्षता, फूल र तिल मिसिएको चामल छान्नु, दाने कपडाहरू पट्ट्याएर सन्दुकमा राख्नु, दिउँसो कोठेबारीभित्रको करेसाबारीमा तुलफुल लगाउनु, गोडमेल गर्नु आदि इत्यादि । दिनभरिको कामधन्दाले लखतरान बाहुनी बज्यै बेलुका बुढासँगै सिधेनून हालेको तरकारी र भात खाएर घप्लक्कै सुत्छिन् । भोलि पनि यही दैनिकीको चक्र घुम्छ ।

न यी खनाल दम्पतीलाई पुरेत्याइँ र घरधन्दाको ब्यस्तताले यसो छिमेकीहरुसँग दुःखसुखको भलाकुसारी गर्ने फुर्सत छ न रहर नै छ । त्यही झुप्रो नै तिनीहरुको संसार र आफ्नो आस्थानै तिनीहरुको शास्वत सत्य हो । न तिनीहरू कसैलाई केही दिन्छन् न केही अरुबाट लिन्छन् सिवाय धार्मिक कर्मकाण्ड गरिदिए बापतको दान र भेटी । अपुतालीलाई धन प्यारो भनेझैँ खाई नखाई पुरेत्याइँबाट आर्जेको भेटी रकम पोल्टो भरिएर पोखिन लाग्यो तर बुढाबुढीले न कहिले राम्रो लगाए न मिठोमसिनो खाए न मोजमस्ति नै गरे । नजानेर हो वा आवश्यक नपरेर हो यसो दुःखसुख र सार्होगार्हो पर्दा आफू बुढाबुढी बाहेक अरुको पनि आवश्यकता पर्छ होला भन्ने सोच ती ब्राह्मण जोईपोईलाई कहिल्यै आएन । गाउँलेहरुले एकलकाँटे भनेर पुरेत परिवारको कुरा काटे पनि एक्काइसौँ शताब्दीमा जातीपाती र छुवाछुत मान्नु कानूनी अपराध हो भनी उनीहरुलाई सम्झाए पनि खनाल दम्पति आफ्नो आस्थाबाट टसमस हुँदैनन् । उनीहरुको धर्मभीरुता र अन्धविश्वासको चस्माले आफूभन्दा तलका जात भनाउँदाहरुलाई पानी नचल्ने कुजात नै देख्छ ।

धर्मान्ध पण्डित्याइँको पगरी गुथेका पुरेतबाजे एकदिन ज्वरोले सिकिस्त भएर थला परे । बाहुनी बज्यैले पोईको सक्नेसम्मको स्याहार सुसार र घरायसी ओखतीमुलो गरिन् तर चारदिनसम्म पुरेतको ज्वरो उत्रिएन् । नखाई नखाईकनको दैनिकको दौडधुप, बृद्द र कमजोर शरीर र त्यसमाथि निस्लट ज्वरोको मारले थलिएका पुरेतबाजे ओछ्यानामै इन्तु न चिन्तु भएर थलिए । बिचरी बाहुनी बज्यै पनि एकातिर गाईको स्याहार र घरधन्दा अर्कोतिर बिरामी बुढाको स्याहारसुसारको चापले आफैं नै बिरामी पर्न आँटिन् । हप्तादिन भइसक्यो पुरेतबाजे ज्वरोले थलिएर ओछ्यान परेका र पनि ज्वरो बिसको उन्नाइस भएको छैन । सदा झैँ बज्यैले बाजेलाई ज्वरो झार्ने जडीबुटी खुवाएर गम्छा भिजाई निधारमा पानीपट्टी गरिदिइन् र बुढाको लागि जाउलो पकाउन भान्सातिर लागिन् ।
एकछिनपछि जाउलो खुवाउनको लागि लिएर आउँदा त बुढाले फुस्रो आँखा पल्टाइरहेका रहेछन् । “लौन हे हरि ! के भयो मेरो बुढालाई?” बज्यै छाती पिटी पिटी कहालीएर चिच्याउन थालिन् ।

मुसलधारे वर्षा भएको त्यो रातमा निसन्तान र बेसहारा बृद्ध दम्पतीको घरमा देखिएको त्यो दृश्य निकै कारुणिक देखिन्छ । वर्षा र आकाशको गड्याङगुडुङको हल्लाले बज्यैको चिच्याहट घरभित्र नै कैद छ । बाहिर छिमेकीहरुको कानमा बाहुनीको कारुणिक रोदनलाई पापी झरी र बादलको गर्जनले बीचैमा रोकिदिन्छ । किङ्कर्तव्यमुढ बाहुनी अत्यास र अधैर्यताले गर्दा ढोका खोलेर बाहिर झरीमा रुझ्दै चिच्याहटका साथ लक्ष्यहीन भएर घरी बारीमा घरी गाइगोठतिर भौँतारिन्छिन् ।

पल्लाघरे छिमेकी बिर्खे कामी पनि दिनभरिको आरन चलाइले गर्दा लखतरान भएर बिँडी तान्दै बेलुकाको खाना खाएर सुत्ने तरखरमा हुन्छ । त्यत्रो भिषण वर्षा र मेघगर्जनको छाती चिर्दै एउटा चिच्याहटसहितको नारी आवाज बिर्खेको घरको झ्यालबाट छिरेर उसको कानमा पुग्छ । ऊ अचम्मित हुँदै आवाजको मुहान पत्ता लगाउने कोसिस गर्छ । त्यो नारीको चिच्याहट पल्लाघरे छिमेकी बाहुनीको भएको अन्तमा उसले चाल पाउँछ । बाहुनबाजेको घरमा केही बिपत्ती आइलाग्यो होला भन्ने ठानेर बिर्खेले राति नै आफ्नी स्वास्नी फुलमायालाई पनि आफूसँगै लिएर बाहुनबाजेको घरतिर लाग्छ । झरीमा रुझ्दै कामी दम्पति बाहुनबाजेको घरको सिकुवामा पुग्छन् र त्यहाँको दृश्य देखेर स्तब्ध हुन्छन् । बाहुनबाजे घरभित्र दैलो छेउकै ओछ्यानमा आँखा पल्टाएर सुतिरहेका हुन्छन् र बाहुनी बज्यै बुढाकै छेउमा बसेर डाँको छोडेर रोइरहेकी हुन्छिन् ।

“के भो हँ बाजेलाई ? बज्यै किन यसरी रुनुभाको ?” दैलोबाट कराएर भित्रतिर हेर्दै बिर्खेले बाहुनीलाई सोध्छ ।

“बाजे हप्तादिन देखि ज्वरोले थलिएर सुतिराछन् । आज त आँखा पल्टाएर बेहोस भैराकाछन् । बिर्खे यिनीलाई बचा । म एक्लै कसरी बाँच्नु?” डाँको छोडेर रुँदै बाहुनीले कामी-कमिनीतिर फर्केर सहराको याचना गरिन् । बिर्खे अलमलमा पर्यो र मनमनै कुरा खेलायो । “म पानी नचल्ने जात । बाहुनको घरभित्र पसूँ त अपराध लाग्छ, नपसूँ त आँखै अगाडि कसरी मान्छेलाई मर्न दिनु ? झन महाअपराध हुन्छ । हे दैव ! कस्तो बिलखबन्दमा पार्यौ मलाई? जे होस म बाहुनको घरभित्र पस्छु र बाजेलाई बचाउने कोसिस गर्छु ।”

यति कुरा गम्दै बिर्खे फुलमायाको हात तानेर स्वास्नीसहित पुरेतको घरभित्र पस्छ । बाहुनको मुखमा पानी छर्कदै उनको नाडी र मुटुको धड्कन जाँच्छ ।

“धड्कन त चल्दै छ त ! यिनीलाई अस्पताल लैजानुपर्छ ।” यति भन्दै बिर्खेले नजिकैको अर्को छिमेकी सार्की कान्छोलाई बोलाउँछ । फुलमाया र अर्धबेहोशी बाहुनीलाई त्यहीं छोडेर कामी र सार्की मिलेर तन्नाको स्ट्रेचर बनाई बाहुनलाई अस्पतालतिर लैजान्छन् । फुलमायाले अर्धबेहोशी बाहुनीको हेरचाह र सेवा गर्छिन् । अस्पताल पुर्याएपछि सार्की कान्छो घर फर्कन्छ र बिर्खेले बाहुनलाई अस्पतालमा भर्ना गर्छ ।

“बाजे ! अहिले कस्तो छ त तपाईंलाई ?” थर्मोमीटरले बाजेको ज्वरो नाप्दै अस्पतालका बरिष्ठ डाक्टरले बाजेलाई सोधे । “ठिकै छु,” बाजेले गहभरी आँशु बोकेर जाउलो खाँदै अस्पतालको सैयाबाटै उत्तर दिए ।

बिर्खेलाई देखाउँदै डाक्टरले बाजेलाई भने “तपाईंको छोरो त सार्है कर्तव्यनिष्ठ र पितृभक्त रहेछ । उसले तपाईंलाई पानी पिलाउने, जाउलो खुवाउने र रातभर आफू नसुती नसुती तपाईंको हेरचाह गरेको देखेर हामी खुसी भयौं । ब्लड बैङ्कमा रगतको अभाव भएको बेला तपाईंको छोराले तपाईंलाई रगत नदिएको भए हामी तपाईंलाई बचाउन सक्ने थिएनौ ।”

डाक्टरको यो कुरा सुनेपछि पुरेत बाजेले भक्कानिदै बिर्खेलाई ग्वामलाङ्गै अँगालो हाल्दै भन्छन् “हे बिर्खे ! तँ भगवान नै रहिछस । तेरो रगतले मलाई मृत्युको मुखबाट बचायो । म निसन्तान धर्मभीरु बाहुनलाई तैंले बाबु समान हेरचाह गरिस । मलाई बचाउने तेरो रगत मेरो जीवन र मृत्युको साँघु भयो र म त्यही साँघुबाट यमराजको हातबाट फर्केर पुन मर्त्यलोकमा आउन सकें । हे छोरा बिर्खे धन्य छ तँलाई ।”

यसपछि बाहुनबाजेको अस्पतालबाट डिस्चार्ज हुन्छ र तिनीहरू घरतीर लाग्छन् ।

स्वस्थ भएपछि एकाबिहानै बाहुनबाहुनी बिर्खे कामीको घर जान्छन् र आँगनबाट बोलाउँछन् “हे बिर्खे ! हे फुलमाया ! के गर्दै छौ हँ ?”

कहिले आफ्नो घरमा पाइला नटेक्ने बाहुनबाहुनीलाई आफ्नै आँगनमा देखेर बिर्खे र फुलमाया छक्क पर्छन् र सिकुवामा गुन्द्री ओच्छ्याइदिन्दै बस्न आग्रह गर्छन् । गुन्द्रीमाथि चारैजनासँगै बस्छन् ।

“तिमीहरूले हाम्रो धर्म र कुरीतिले ग्रसित अन्धो आँखा खोलीदियौ । हामी निसन्तान धर्मअन्ध बुढाबुढीलाई माफ गर । सबैको रगत रातो हुन्छ र कुन जात ठुलो र कुन जात सानो भन्ने नहुने रहेछ । तिमीहरूले हामीलाई आफ्नै सन्तानले गर्ने माया र सेवा दियौ जसको लागि हामी ईश्वरलाई धन्यवाद दिन्छौं । आजदेखि तिमीहरू हाम्रा छोराबुहारी भयौ । हामी लोभीलाई मर्ने बेलामा अब सम्पत्तीको के काम ? हामी हाम्रो जायजेथा र सम्पति तिमीहरुकै नाममा पास गरिदिन्छौं र बाँकी जीवन तिमीहरुसँगै बसेर काट्न चाहन्छौं । तिमीहरू हाम्रा रगत नभए पनि हाम्रा रगतका साँघु हौ जहाँबाट हामी पार तर्छौं ।”

बाहुनका कुरा सुनेर टुहुरा कामी जोडीको आँखाबाट स्वीकृतिको आँसु बहन्छ ।

इति

3 thoughts on “रगतको साँघु”

  1. रगतको साँघु
    राम्रो लाग्यो तर अन्तिम चाहिं अली नाटकिय लाग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *