Skip to content

बलात्कारजन्य घटना र सामाजिक दायित्व


हरेक दिन जसो रेडियो, टि.भि. पत्रपत्रिकाहरुमा बलात्कार, हत्याजस्ता दुःखद् समाचारहरू बाम्बार आइरहन्छन् । त्यसमा पनि ५, ६ वर्ष देखिका कलिला बालिकाहरू बलात्कृत हुनुका साथै बलात्कार पछि हत्या समेत भएको समाचार सुन्दा आङ नै सिरिङ्ग हुन्छ । यस्तो अमानवीय, हृदयबिदारक,विभत्स घटनाहरूले समाजलाई नराम्रो बाटोतिर डोराइरहेको भान हुन्छ । समाजमा यस किसिमका बाल यौन हिंसा, हत्या जस्ता जघन्य अपराधहरू बढ्नाले समाज नै त्रसित र आतंकित भइरहेको छ । यस्तो प्रजातान्त्रिक मुलुकमा पनि यस किसिमका घटनाहरू घट्नु सारै दुःखदायी रुपमा लिइन्छ । यसरी समाजमा घटनाहरू दोहोरीरहनु, बलात्कारी तथा हत्यारा फेला नपर्नु, समाज, सम्बन्धित निकाय, सरकारको लाचारिपनको रुपमा सर्वसाधारण जनता लिन बाध्य भएको देखिन्छ । मुलुकमा सर्वसाधारण नागरिकले आफ्नो अस्मिता जोगाउन, जिउज्यानको समेत सुरक्षा राख्न नसक्ने भएपनि सरकारप्रति नै सर्वसाधारण जनताको विश्वास गुम्न गइरहेको आभास हुन्छ ।

पछिल्लो समय सुन्न आएका घटनाहरू जसले अहिले पनि मुलुकलाई नै अन्यौल र त्रसित बनाइरहेको छ । यी उदाहरणहरू हुनः यही २०७५ असारमा बझाङ तल्कोटमा सुस्त मनस्थिति भएकी एक दलित बालिका स्थानीय ४० वर्षीय फिट्टु कुँवरबाट बलात्कृत, कञ्चनपुर सरस्वती माध्यामिक विद्यालयमा कक्षा ९मा अध्ययनरत छात्रा निर्मला पन्तलाई बलात्कृत पछि हत्या गरी उखुबारीमा फ्याकिएको, धनुषामा १३ वर्षीया एक बालिका सामूहिक बलात्कृत, तानसेन कि ८ वर्षीय बालिकाको बलात्कार पछि भिभत्स हत्या, त्यसैगरी रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार, गत वैशाख २४ गतेदेखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिनासम्म बन्धक बनाएर पटक पटक सामुहिक बलात्कार, स्वयम्भूकी १३ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले विश्वराम रनपैलीलाई सर्वस्वसहित जन्मकैदको फैसला, मोरङ, सुन्दरहरैचा नगरपालिका ७का ६० वर्षीय भिमबहादुर मगरलाई आठ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र पीडितलाई ३० हजार रुपैयाँ जरिवानाको फैसला, मोरङ, बाहुनीका रनपैलीले २०७४ जेठ ५ गते स्वयम्भू बस्ने अमृता नेपालीको बलात्कार गरी हत्या भएका छन् ।

पुरुष वा महिलाले बलपूर्वक विपरित लिङ्गी प्रति यौन सम्बन्ध स्थापित गर्नुलाई ‘बलात्कार’ भनिन्छ । कुनै पनि व्यक्तिले आवेगमा वा योजनाबद्ध रूपले वा प्रलोभनमा पारी, ललाईफकाई, लागूपदार्थ खुवाएर बलपूर्वक यौनक्रिया स्थापित गर्दछ भने त्यसलाई बलात्कार भनिने गरिन्छ । यस्ता विषयलाई मानवीय चेतना र विवेकको दृष्टिकोणले अत्यन्त लज्जास्पद, घृणित कार्यको रुपमा लिइन्छ भने यसले समाज र राष्ट्रलाई समेत कलङ्कित बनाइरहेको हुन्छ । यस्ता कार्य रोक्न सरकारी तथा गैरसरकारी संस्थाहरूले चेतनामूलक गोष्ठी, सेमीनार, संवाद सञ्चालन गरिरहे पनि यस्ता घटनाहरू कम हुनुको सट्टा समाजमा झन बढिरहेको छ । यसमा सरकारी तवरबाट शान्ति सुरक्षाको व्यवस्था, कानूनी कारवाहीमा कमी कमजोरी, जनतामा नैतिक शिक्षाको अभाव, पारीवारिक सचेतनामा कमजोर, व्यक्ति आफैंमा आत्मा सुरक्षाको विधि नअपनाउनु, समाजमा महिलामाथि हुन दुव्र्यवहार, डर धाक देखाउने, अनादर संस्कार, घटना लुकाउने प्रवृत्ति, मेलमिलापबाट समाधान गर्ने जस्ता कारण बलात्कारीको मनोबल बढ्दै गएको देखिन्छ ।

अहिलेसम्मको घटनालाई हेर्दा प्रतिकार गर्न नसक्ने, ललाई फकाईमा पर्ने, आफ्नो निर्णय लिन नसक्ने बालिका, बृद्धा, सुस्त मनस्थितिका महिलानै बढी बलात्कारको शिकार बन्न पुगेको देखिन्छ । यसको अलावा आफूलाई आकर्षित पर्न भड्किलो, छोटा तथा पारदर्शी पहिरन लगाउने, यौनको हाउभाउ प्रदर्शन गर्दै हिड्ने युवती, आफ्नो प्रेमीसँग एकान्तमा गएर बस्ने, नशाको सेवा गर्ने किशोरीहरू पनि बलात्कारमा परेको देखिन्छ । अधिकांश बलात्कारको घटनामा संलग्न १६ देखि २५ वर्ष उमेरका युवा नै देखिए पनि कतिपय अवस्थामा ४० देखि ७० वर्षका व्यक्ति पनि यस्तो घटनामा मुछिएको पाइन्छ । त्यसै गरिबलात्कारी व्यक्तिको अवस्था अध्ययन गर्दा निम्न आर्थिक, सामाजिकस्तर भएका हुन्छन् । जसको आय, शिक्षा र बुद्धि सामान्यभन्दा कम, समाज विरोधी, अपराधी मनोविकृतिद्वारा पीडित, मद्यपान, नशालु पदार्थको सेवन गर्ने व्यक्तिहरुकै बढी संलग्नता पाइएको छ । त्यसको अलावा साना बालिका तथा किशोरीहरू बलात्कार हुन पुगेको घटनालाई मध्ये नजर गर्दा बढीमात्रामा आफनै नजिकका नातेदार, आफूलाई पढाउने शिक्षक तथा चिकित्सकहरुबाट नै भइरहेको पाइन्छ । हाल बढिरहेको बलत्कारलाई हेर्दा प्रसिद्ध समाजशास्त्री प्रा.डा.डाइना ईएच रसेलको भनाई मध्यनजर गर्दा पोर्नोग्राफीका कारणले पनि समाजमा यौन दुव्र्यवहार बढिरहेको अनुमान लगाउन सकिन्छ । नेपालमा बढ्दो मोवाइल फोनको प्रयोग र खुला रुपमा राखिएका पोर्नोग्राफी पढ्ने तथा हेर्ने व्यक्तिमा यौन उत्तेजनामा आउँछ र उत्तेजना मेट्ने सहज माध्यम पाएन भने समाजिक मर्यादा तथा कानूनलाई समेत बेवास्ता गर्दै बलात्कार गर्न अग्रसर हुन पुगेको देखिन्छ ।

यौन दुव्र्यवहारको न्यूनीकरण गर्न सबैभन्दा पहिला पुरुषमा महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन हुन जरुरी छ । मुख्य रुपमा किशोर किशोरी अवस्थामै परिवार तथा विद्यालयस्तरबाट नै यौन शिक्षा, कानूनी उपचार, दण्डसजाय जस्ता विषयको ज्ञान दिनु पर्दछ । साथै किशोरीहरुलाई कसैबाट यौन दुव्र्यवहार हुने आशंका लागेमा सहयोग माग्ने फोन, संकेत पठाउने तथा सुरक्षित रहने जस्ता सेल्फ डिफेन्सका कला पनि सिकाइनु पर्छ । सरकारी पक्षबाट पनि कानूनी उपचार छिटोभन्दा छिटो सेवा सुविधा उपलव्ध न्याय पाउने वातावरण सिर्जना गर्नु पर्दछ । प्रत्येक अभिभावकले आफ्ना छोराहरुलाई नैतिक र अध्यात्मिक, मनोवैज्ञानिक शिक्षा दिनुका साथै छोरीहरुलाई आफ्नो सुरक्षा गर्ने तरीका र उनीहरुमा पनि पुरुष सरह क्षमता र हिम्मत हुन्छ भन्ने कुराको मनोबल बढाउने र घटना रोक्ने खालका परिणाममुखि कार्य गर्न उत्प्रेरित गर्नु पर्दछ ।
नेपालमा यही भाद्र १ गतेदेखि लागू भएको फौजदारी कसुर सम्बन्धी नयाँ कानूनमा हाडनाता भित्र करणी अर्थात बलात्कारको घटनामा संलग्न व्यक्तिलाई जन्मकैद देखि १८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी ठहरिने, जबर्जस्ती करणी गर्नेलाई महिलाको उमेर, शारीरिक अवस्था, प्रकृति एवंतथा नाता सम्बन्धलाई समेत दृष्टिगत गरी सजाय र जरिवाना निर्धारण गरेको छ । सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ । बाह्य मुलुकमा बलात्कारमा संलग्न व्यक्तिहरुले पाउने सजाय सम्बन्धमा अरबियन मुलुकहरू मृत्यु दण्डसम्मको सजायको व्यवस्था भएको देखिन्छ । त्यस्तो व्यस्था नेपालमा पनि होस् भनी पीडितका आफन्त तथा महिलावादीको माग रहँदै आएको छ ।

हाम्रो मुलुकमा यस्ता घटनामा संलग्न अपराधीहरुलाई नेताबाट पाइरहेको आश्रय अन्त्य हुने हो भने पनि हत्या, हिंसा, बलात्कार जस्ता अपराध ह्वात्तै घट्न सक्ने अवस्था सामाजिक व्यक्तित्वहरू बताउँछन् । बलात्कारीलाई बलात्कारी हो भनी थाहा हुँदाहुँदै पनि बचाउन खोज्नेलाई पनि दण्डित गरिनुपर्छ भनी मान्यता समाजका सर्वसाधारण व्यक्तिहरुको रहँदै आएको छ । हरेक समाज, हरेक परिवार आफ्ना सन्तानलाई एक अपराधी बन्नतथा बलात्कृत हुनबाट रोक्न सक्छन् । अपराधीलाई कडा सजाय दिन सके बलात्कार जस्तो अपराधीक क्रियाकलाप गर्नु त के सोच्न समेत डराउँछ । बलात्कार तथा हत्याका घटना नियन्त्रणका लागि कडा कानून सजाय, कानूनी उपचार र समाजको भूमिका पनि मुख्य आधार रहन्छ । बलात्कार जस्तो गम्भीर र मानवता विरोधी अभियानमा महिला र पुरुष सबै लाग्नुपर्छ । गाउँ र समाज एक भई जुट्नुपर्छ । समाज, राष्ट्र र सरकार सबै लागि पर्दा नै बलात्कारमुक्त समाज निर्माणको अभियानलाई प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ । दृढतापूर्वक निरन्तर अभियान संचालन गरे समाजबाट बलात्कारको संस्कृति नै अन्त्य गर्न सकिने विश्वास गरिन्छ । यो हामी सबैको दायित्व र कर्तव्य हो ।

सकु थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *