Skip to content

नि:शब्द शब्दहरू


सम्झाएर मुटुमा बसाउन खोज्छु
फकाएर हृदयमा सजाउन खोज्छु
जसोतसो डोर्‍याएर मनदेखि
छातीसम्म ल्याइपुर्‍याउँछु
तैपनि,
शब्दहरू ओझिला−ओझिला लाग्छन्
शब्दहरू बोझिला−बोझिला लाग्छन्
शब्दहरू नि:शब्द−नि:शब्द लाग्छन्
शब्दहरू स्तब्ध−स्तब्ध लाग्छन्
र लाग्छन्−
युगीन चित्कारले सातो उडाएका
कुपोषित बालकझैँ !

हृदयहीन ढुङ्गाको मूर्तिसँग ठोक्किएर
दृष्टिहीन निर्दयी छुरासँग रेटिएर
शब्दहरू छियाछिया भएछन्
नजरै रक्ताम्मे हुनेगरी
शब्दहरू घाइते भएछन्
शब्दहरू छटपटाएर ढल्दै बेहोस भएछन्
कसले गरे होला कोमल शब्दहरूमाथि
यति निर्दयी प्रहार ?

वैँशालुको छातीबाट चोरिएको मनझैँ
बेइमानको बगलीमा परेको धनझैँ
शब्दहरू गरिबको घरको रित्तो भकारी भएछन्
शब्दहरू केटाकेटी-हातको खेलौना भएछन्
पात्र र परिवेश मौनतामा अल्मलिँदा
भाव र अर्थसँगै लुटिएर
शब्दहरू आवाजविहीन र दृश्यविहीन भएछन्
अनि,
हुनु र नहुनुको दोसाँधमा चेपिएर
खिइएछन्, खुइलिएछन्, बिलाएछन् आत्मीय शब्दहरू
र शब्द वियोगले थला परेछन् अनुच्छेद र वाक्यहरू पनि !

छातीको साँध भत्काउँदै
मनको बाँध एक्कासी फुट्दा
केही शब्दहरू बगेछन् अश्रुभेलसँगै
केही शब्दहरू तेर्सो परेर अड्किएछन् घाँटीमै
र घोचिरहेछन् चस्स चस्स
निल्नु न ओकल्नु भएर।

पुग्यो भो अब चाहन्न−
हराएको पदचाप उधिनेर तिम्रो फूलबारी डुल्न
दुखित मुटु चिरेर मुर्छित शब्दहरू निकाल्न
विक्षिप्त मन निचोरेर स्तब्ध शब्दहरू व्युँझाउन
काटेको घाउमा नुनचुकै सही
मलाई यी घाइते शब्दहरू−
झरी पर्दा सँगै रूझ्ने बलेनीझैँ लाग्छन्
दु:खमा सँगै रूने आफन्तझैँ लाग्छन्।

2019-08-23 11:08:43 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *