Skip to content

गंगा लिगल–हृदयका स्पन्दनहरू र कर्णप्रियता


आमुख–‘मलाई लाग्छ मेरो देशको धर्ती मेरो अत्यान्त प्यारो स्थान हो । यसभित्र भएका प्रकृति, संस्कृति, संस्कार, सेवासम्बन्धी विविध कार्यहरू, धार्मिक झुकावसँग पनि लगाव भएकोले आफ्नो साहित्य भित्र लेखी रमाउन खोज्छु।’

यी माथिका शब्द साहित्यलाई जीवनको अभिन्न अङ्गको रूपमा लिने गंगा लिगलका आफ्नो भनाईमा आएका धारणा हुन् । हुन पनि आमा, मातृभूमि र धर्मप्रतिका धारणा उनका कृतिमा कुनै न कुनै रूपमा आएका हुन्छन् । यस कृतिमा पनि उहाँको आफ्नै धारणालाई केलाउँदा नेपालमात्र नभएर देश विदेशका स्थितिलाई तुलनात्मक प्रस्तुति आएको छ ।

कृतिको संरचना –कृतिको संरचनालाई केलाउँदा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टन च्याप्टरद्वारा २०७२ सालको भानुजयन्तीको उपलक्षमा प्रकाशित, यस कृतिको मूल्य ने.रु. १५० तथा विदेशको लागि युरो १० राखिएको छ । साहित्यिक मनहरूमा समर्पण गरिएको छ । यस कृतिमा अनेसास ह्युस्टन च्यापटरका उपाध्यक्षको प्रकाशकीय, डा.तारानाथ शर्माको ओजपूर्ण हार्दिक शुभ कामना र अनेशासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीजीको भूमिका रहेको छ । यस कृतिमा हृदयका स्पन्दनहरू शीर्षकमा (पृष्ठ १५देखि ८० सम्म) एउटै कवितालाई सरल, सुबोध र विवेच्यरूपमा लामो आकार दिएर गद्यलयमा लेखिएको छ ।

कृतिको थालनी–कृतिको थालनी, ‘नवजीवनको कोल्टेबाट बामे सर्दिै उभिएर हिड्न सक्ने ’ भन्दै बाल्यकालमा देखिने अवरोध र व्यवधानहरूलाई चिरफार गर्दै मानव जीवन अगाडि बढेको हुन्छ भन्ने धारणा राख्दै, भएको छ । कविताको थालनीमै बालक कालदेखिका व्यवहारिकतालाई केलाउँदै निरासालाई त्यागी आशारूपी बहुमूल्यपथको अवलम्बन गर्नु पर्ने, विना रुकावट मानवीय मूल्यका मान, आन र शानलाई विश्वसमक्ष परिभाषित गर्नु पर्ने धारणा छ कवयित्रीको । यहाँ धेरै कुराहरू आएका छन् । छोटो जीवनमा धेरै उपलब्धि हाँसिल गर्नु पर्ने, ‘उत्तर दायित्वको बोधलाई सारगर्भित तुल्याई, जीवन केवल उपलब्धीको होइन, दायित्वको परम कर्तव्यश्रोत हो’ यसलाई लिंदा जति आत्मग्लानिे हुन्छ दिंदा अपार आनन्द आउँछ जस्ता जीवन दर्शनका कुराहरू आएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले सुख कसरी र कहाँ मिल्छको धारणा राखे जस्तै गंगाजीले भन्नु हुनछ –

‘मान्छे भन्छन्
त्यो परम आनन्द
कहाँबाट पाउने
ल ! त्यहीं त छ नि !
आफू मिटाई अरुलाई
दिनु जहाँ छ ।’

गंगाजीले अपार आनन्दलाई ब्रह्मस्वरूप ठान्नुहुन्छ । अर्काको दुःखमा दुखको र अर्काको सुखमा सुखानुभूति गर्नु परम आनन्दको संगम हो । ईश्वर यही हाँसिरहेको हुन्छ भन्नुहून्छ । यस्ता गहन धारणाहरू आएका छन् यी कवितामा ।

उद्देश्य के लिने – माानिसले आफूलाई सफल जीवन व्यातित गर्न उद्देश्यको निर्धारण गर्नु पर्छ । त्यो उद्देश्यमा महाकवि लक्ष्मीप्रसादको धारणालाई गंगाजीले टपक्क टिपेर राखिदिनु भएको छ –‘‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’’ ।

प्राकृतिक वर्णन र लामो कविता – प्राकृतिक सौन्दर्यमा रमाउने र प्रकृतिको वर्णन गर्दा कहिल्यै नथाक्ने गंगाजीले यस कवितामा पनि नेपाल र अमेरिका बीचको प्रकृतिक सौन्दर्यको वर्णन प्रचुर मात्रामा गर्नुभएको छ । उनका नेपालप्रतिका भावनामा हिमालको सौन्दर्यता, कञ्चन झर्नाको ध्वनि माधुर्यता, गुराँसको परागको सौन्दर्यता, सुनगाभाले बोटमा लगाएको माला, वसन्त ऋतुको कोइलीको गीत र झकिझकाऊ प्रकृति जगमगाएको वेला स्वर्गका अप्सरा पनि यस रमणीय भूमिमा नृत्यमा मस्त भएका धारणा राख्दै, आज मात्र नभै हिजो पनि रमाउने गरेको प्रमाणको रूपमा भानुभक्त आचार्यले सिर्जना गरेको एक चतुस्पदी गंगाजीले प्रस्तुत गर्नुभएको छ –

‘‘चपला अवलाहरू एक सुरमा
गुनकेसरीको फूल ली शिरमा
हिड्न्या सखी लिकन ओरिपरि
अमरापुरी कान्तिपुरी नगरी’’

पिपल चौतारीका कुराहरू, असारे गीतको रमाइलो धुनमा धान रोपाई, आदि नेपालका प्राकृतिक सम्पदा, नेपालको पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म पैदल एव म गगन्मार्गको यात्राबाट अवलोकन गर्दै त्यहाँका प्राकृतिक सौन्दर्यलाई पान र सौन्दर्यताको प्रचुर मात्रामा वर्णन गर्दै गंगाजीका मन विदेशको अनुभव लिन ललायित हुन्छ । स्वदेशको अनुभव र अनुभूतिलाई अब विदेशतिर लाग्दा कवयित्रीलाई देश छाड्दाको पीडाले सताउँछ सानो आकाश छाडेर विशाल आकाशको छत्रछायामा पुग्नु, त्यहाँका सौन्दर्यको अवलोकनको क्रममा नजर समुद्रमा पर्नु, जहाज र डुङ्गाहरूमा सवारको रम्यता, sunbathमा रमायका जोडीहरूको आनन्दताले पनि गंगाजीको मन प्रफुल्ल हुन्छ । यो प्रसन्नताले कवयित्रीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्रि कविताकको स्मरण हुन्छ र यसैमा कवयित्री रमाउनुहुन्छ र लेख्न्नुहुन्छ –

‘ मानवलाई मानवले
ईश्वर शक्ति भएको
चिन्न सकृेमा
हृदयमा प्रसन्नता छाउँछ
र मानव जीवन
आल्हादमय बन्न जान्छ ’

जे होस कवयित्रीले मनलाई बुझाउँदै त्यहाँको प्रकृति वनको सौन्दर्यता, ह्वेलमाछाको साथै विभिन्न माछाहरूको नृत्यको मनोरम दृश्य, मानिसहरू विभिन्न पेशामा आवद्धता, धन आर्जन गर्नमा मस्त, विविध किसिमकका खेलहरूजस्तै रातभरि हिउँलाई जमाएर राखेर नबग्ने बनाएर स्केटीङ खेल्ने, ठाउँ ठाउँमा नुहाउने पोखरी जाडोमा तातो पानी, गर्मीमा चिसो पानीको व्यवस्था मिलाएको आदि प्राकृतिक एव म मानव निर्मित सौन्दर्यलाई वर्णन गरिएको छ । प्राकृतिक सौन्दर्यता, मानवीय प्रेम र ईश्वरलाई कवयित्रीले एकीकृत रूपमा प्रष्ट्याउने प्रयास गरेको मैले महसूस गरेको छु । कवयित्रीले भन्छिन्–

शरीरलाई यातना दिनको सट्टा
आफूलाई आनन्द आउने
क्रियाकलापले ईश्वर खुसी हुन्छन् ।

शिक्षा र हृदयका स्पन्दन –

मानवीय मूल र मानवीय प्रेममा सकरात्मकता दिंदै, बिक्रीति र विसङ्गतिलाई निर्मूल पार्नको लागि शिक्षाको ज्योति बाल्दै अग्रसर हुँदै, प्रत्येक मानव हृदयमा ‘नवजागरणको ज्योति दिएर सबैमा स्वच्छन्दताको लहरले लहराउँदै’ अगाडि बढ्नु पर्ने र शिक्षाले ‘विश्वमा मानवमा हुनु पर्ने मानवीय मूल्य र मान्यतालाई अँझ बहुमूल्यता प्रदान गर्ने योगदानमा देन दिन खोज्छ ।’ यसरी शिक्षामा यहाँ हरेक कुरामा देश सुहाउँदो शिक्षा विद्यार्थीले पाउँछन् । बालकलाई स्कुली शिक्षा बाहेक हरेक कुरामा तालिम दिइने, सम्पूर्ण योग्यतामा कदर योग्य बनाउन खोजिने तर कुनै कुनै कुलतमा पनि लागेको पाइने, नेपाल भारत तथा अन्यदेशबाट अमेरिका पुगेकालाई पनि तालिम दिएर आफूलाई चाहिने शीपको विकास गरेर काममा लगाउने कुरा यहाँ आएका छन् ।

बसाई सराइका धारणा– हरेक देशबाट हरेक देशमा आउने जाने क्रम बढेको र सानो देशका, रोजगार दिन नसेका देशका, आफ्नो देशले शान्ति सुरक्षा दिन नसकेका कारण मानिस बसाई सरेका हुन्छन् । यहाँ आएका मानिसहरूले परिवारलाई राम्रोसँग पालन पोषण गर्दछन् र गौरवान्वित ठान्दछन् । विदेशमा बसेर स्वदेशलाई सिंगार्नु भनेको ठुलो उपलब्धि भएको धारणा आएको छ । यस सम्बन्धमा कवयित्रीको धारणा छ –

मानवमा
‘‘सर्बे भवन्तु सुखिन ’’ भन्ने
उदात्त भावना रहेमा
देशमात्र होइन
संसारै स्वर्ग बन्न केही वेर लाग्दैन ।’

मानिसमा रहेको ईर्ष्या, द्वेषको कारणले गर्दा स्वर्गको नभै नारकीय जीवन भोग्न परेको छ, पवित्रता एक आर्काको आपसी सहयोगले पूर्ण सुखमय जीवन बन्न सक्छ । कवयित्रीको धारणामा मानिसमा मात्र नभै ठुला ठुला देशले पनि स्वच्छ पवित्र प्रतिस्पर्धा गरेर अगाडि बढ्नुभन्दा एकले अर्कालाई धराशायी बनाउने प्रवृतिले कतिपय देश धाराशायी बन्न पुगेको पनि देखिएको छ भन्ने धारणा आएको छ । यस कवितामा द्वन्द्वको नराम्रो असर, असल व्यक्तिसँगको सङ्गतले असल मार्गमा गइने, भारत र नेपालमा पढेका डाक्टर र इञ्जनिएर अमेरिकामा आएर राम्रो काम गरेका र आफ्नो देशलाई पनि माथि उठाएका धारणा, व्यपार।का कुराहरू, राम्राकामहरू, दुर्घटनाहरू, विकसित देशले गरेका प्रगतिहरू, विविध कुराहरू कवयित्रीले उठाउनु भएको छ । गंगाजीले उठाउनु भएका विविध सवालहरू आज पनि त्यत्तिकै सान्दर्भिक छन् जो कविता लेख्द्या थिए ।

नेपालको इतिहास पनि कवयित्रीले केलाउनु भएको छ र लिच्छवीकाल देखिका कुरामा विविध रामा नराम्रा घटना घटे पनि पुर्खाहरूले देशलाई डग्न दिएनन् र यो ठुलो कुरो हो भन्ने भनाई, , संविधान नवनेको धारणा आएको छ तर अहिले संविधान त आएको छ तर सर्वस्वीकार्य संविधान भने आएको छैन । अन्तर्राष्ट्रिय हस्तक्षेपलाई दर्शाउँदै कवयित्री भन्छिन् –

हुँदाहुँदा विदेशी समेतले
बुद्ध हाम्रो हो भन्न थाले
भारतले त किन बाँकी राख्थ्यो र
शुरू देखि ताकिरहेकै छ,

नयाँ नेपालप्रति पनि कवयित्री संवेदनशील छिन् र हालको जस्तो हानाहान, खुट्टातानातानले नयाँ नेपाको निर्माणको सिर्जना हुँदैन भन्ने ठहर छ । यातायातमा लापर्वाही– नियम कानूनको पालन नगरी, मदिरापान गरी, ट्राफिक नियमलाई उल्लङ्घन गरी जथाभावी गाडी चलाउँदा धेरै दरर्घटनाका कुराहरू यहाँ आएका छन् ।

बालबच्चा र सुत्केरीप्रतिको व्यवहार – विदेशमा भविष्यका कर्णाधार बालबच्चाहरूलाई पढाई लेखाई, रहन, सहन, मनोरञ्जन, भ्रमण आदिमा उच्च स्थान राखिएको हुन्छ । सुत्केरी महिलालाई पनि खानपान सहितको सुविधा, प्रदान गरेको हुन्छ भने, रोग नलागोस् भनेर प्रदुषणलाई न्यूनिकरण, गरेको हुन्छ । डाक्टरले पनि किस्ताबन्दीमा उपचार गर्ने नियम भएकोले सर्वसाधारणलाई सहज भएको धारणाहरू कवितामा आएका छन् ।

विदेशी लगानीमा दुरुपयोग– नेपालमा धेरै विदेशी लगानी आएको र यसको सदुपयोग भएको भए नेपालको ठुलो विकास हुने थियो तर सो हुन सके को छैन भन्दै लुम्बिनीको उदाहरण दिंदै आर्थिक सहयोगको रूपमा सहयोगदाता ‘विदेशी सरकारको सहयोगको मूठा त कत्ति गायव हुन्छन् कत्ति’विदेशमा बसेका नेपालीले सहयोग स्वरूप दिने रकम पनि त्यस्तै गोलमालमा पर्ने हो कि भनेर प्रवासमा बस्ने नेपाली पनि अन्योलको भूँवरीमा परको धारणा आएको छ ।

धर्म र मन्दिरको व्यवस्थापन– विविध धर्म मान्नेहरूले आफ्नो धर्म अनुसार धर्म स्थलमा जानु, हिन्दूहरू( नेपालीहरू)ब्रतहरू (शिवरात्री, रामनवमी, कृष्णाष्टमी तीज दशैं आदि) भव्यताको साथमा मनाउनु, जातीय भेदभाव कसैले कसैलाई नगर्नु, आदि कर्महरूमा कवयित्री पनि रमाएको धारणा आएका छन् । नेपाल मन्दिरै मन्दिरको देश हो तर राम्रो व्यवस्थासँग सञ्चालन गरिएको पाइँदैन । नेपालका राम्रा राम्रा मूर्तिहरू कलाहरू चोरी भएर विदेशिए तर विदेशमा चर्चहरूको राम्रो व्यवस्थाको साथै, त्जबलपक नष्खष्लन मबथ, ल्भध थभबच मबथ जस्ता धेरै दिवसहरू मनाइने धारणा कविताले समेटेको छ ।

प्राचिन हतियार र बहुमूल्य बस्तुको विदेश चलान– गंगाजीले नेपालका प्राचिन कालदेखिका अति उपयोगी हात हतियारहरू राम्रा भाँडा कुँडा, करुवा, अमूल्य गहनाहरू विदेश गएका र यिनको देशमै सही उपयोग गर्न सकेको भए देश धनी हुने धारणा आएका छन् ।

जडीबूटीको सदुपयोग – नेपालको अमूल्य जडीबूटी विविध माध्यमबाट सस्तो मूल्यमा कााँचो निर्यात भएर गएको छ ।यसलाई औषधीक बनाएर बेच्न सकेमा देश धनी हुने धारणा आएको छ ।

शोषणप्रतिको कवयित्रीको धारणा – नेपालमा हुने विविध खाले शोषणमा कवयित्री चिन्तित देखिनुहुन्छ र भन्नुहुन्छ –

‘आफूबाट आफ्नै,
शोषित भएपछि
कसरी उँभो लाग्ने हो
कहीं परिवारभित्रै शोषण
कतै समाज कतै देशको शोषणा
पृष्ठ ७४

नेपालको राजनीति र कवयित्रीको धारणा –नेपालमा धेरैपार्टीहरू भएका कसैसँग मिलोमतो नभएको, जातीयताको नारा (पहाडी र मदिशे), त्यसमाथि जाति संस्कार, खिचलो, नारा, जुलुस आदि विविध कर्मबाट आँफूले आफूलाई नै गिराउने प्रयास भैरहेकोमा कवयित्री चिन्तित देखिन्छिन् ।

विदेशी हस्तछेप–नेपाल एउटा सार्वभौम देश भएको तर नेपाली नेपाली बीचको खिचातानीले गर्दा नेपालीको कमजोरीमा नजिकका देशहरूले आँखा गाड्न थालेकाले सर्तक रहनु पर्ने धारणा आएको छ कवितामा ।

नागरिकताप्रतिको धारणा – नागरिकता वितरणमा विदेशीले नागरिक्ता नपाउन् भन्ने कवयित्रीको धारणा आएको छ ।

नारीवादी चिन्तन्–गंगाजीले नारीहरू प्राचिन कालदेखिहालसम्म हर क्षेत्रमा शोषणमा परेका कुराहरू उठान गर्नुभएको छ । पुरुषबाट शोषित, चेलीबेटी बेच खिन, शिक्षित बन्नबाट बञ्चित, बालविवाह, आदि धारणाहरू राख्दै गंगाजीले भन्नुहुन्छ –‘नारी एउटा यस्तो हस्ती हो जो पुरुषको सहयागीको रूपमा टेवा पुर्याउन सक्छ उसैलाई शिथिल रकमजोर बनाए पछि देशमा विकृति आउनु स्वभाविकै हो ।’यस्तै गहन अभिव्यक्ति छ अर्को–‘बढीमा अवला नारी शोषणले, गर्दा पनि उन्नतिमा, कमी आएको हो ’ ।

देशविकासको मर्गादर्शन– गंगाजी भन्नुहुन्छ –उन्नतिको अर्को नाम हो परिश्रम र सक्रियता’ । देश विकासको बारेमा गंगाजीले धेरै मार्गदर्शन प्रदान गर्नुभएको छ । परिश्रम र सक्रियताबाटै विश्वका ठुला देशले आफ्नो देशलाई उच्चाइको शिखरमा पुर्याएका छन् । नेपाललाई उन्नतिशील बनाउने हो भने परिश्रम गर्नमा सक्रिय रहनु पर्ने, स्वदेशी तथा विदेशी लगानीमा सही सदुपयोग हुनु पर्ने, प्रकृतिप्रदत्त उपहारको प्रयोगमा ल्याउन सक्नु पर्ने, एकता नै बल हो भन्ने जान्नु पर्ने, समयसापेक्ष कामगर्दै मानवीय तथा ‘वसुधैव कुटुम्बकम्’ को भावनालाई जागरण गराएर प्राप्त मौका र सुअवसरलाई उपयोगमा ल्याएर, देशका मूल कानूनलाई दह्रो बनाएर, जातीय विभेद हटाएर, राजनीतिक भ्रष्टतालाई हटाएर आदि धेरै धारणाहरूमा ध्यान दिएर व्यवहारमा जान सके देशको विकास हुन सक्ने धारणा तथा देश विकासको मार्गदर्शन गंगाजीले राख्नुभएको छ ।

ईश्वर, स्वर्ग र नर्कप्रतिको धारणा– मलाई लाग्छ स्वर्ग र नर्क भन्ने एउटा अनुभूति हो जो मानिसले यसै पृथ्वीमा उपभोग गरिरहेको हुन्छ । आनन्दमय जीवन बिताउनु स्वर्ग हो र कष्टकर जीवन बिताउनु नै नर्क हो । गंगाजीको ईश्वरप्रतिको आस्था अगाध छ । स्वर्ग र नर्क यसै संसारमा मानिसले आफै निर्माण र उपभोग गर्छ भन्ने धारणा कवितामा दर्शिएको छ ।

‘ऊ प्रफुल्लु रहन्छ
यो प्रफुल्लतालाई
ईश्वरीय स्पर्श भएको अनुभूतिले
मानिसले आफूलाई
परम आनन्दमा राख्दछ ।’

ईश्वर र स्वर्गप्रतिका धेरै उद्गार यस कविकतामा आएका छन् । मानिसले मानिसप्रतिको सेवाभावमा लाग्दा उसमा अनन्त आनन्द पैदा हुन्छ र आफै रमाउन थाल्छ जस्ता धारणा राख्दै गंगाजी भन्नुहुन्छ –

संसार अनन्तताको घर हो
मानिस अनेक हुन्छन्
सबैमा त्यस भावको
सृजना हुन सके संसार स्वर्ग बन्नमा
केही कमी हुँदैन ।’

सेवा भाव भनिएको मानवले मानवप्रति गर्न सेवा हो । गंगाजी मानवता वादमा, अध्यात्मवादमा दह्रो रूपमा उभिनु भएको छ । गंगाजीको यस कवितामा अस्तित्ववादको पनि झलक आएको छ । देश होस् या विदेश होस् मानिसको अस्तित्व कायम हुनु पर्छ भन्ने धारणा प्रवलरूपमा उठाउनु भएको छ गंगाजीले ।

भूमिका लेखनमा अनेसास संयुक्त राज्य अमेरिकाका संस्थापक अध्यक्ष होमनाथ सुवेदीजीले गंगाजी अमेरिकामा बसेर पनि ‘नेपालका र मानव मात्रको लागि भाषा र साहित्य सेवा गरिरहेकी छन्’ र ‘सेवामा उनी सफल छिन्’ भन्ने निष्कर्ष निकाल्दै यस कविताले समेटेका मूख्य कुराहरूलाई यसरी प्रकट गर्नुभएको छ – ‘उनले नारी मुक्ति, वसुधैवकुटुम्वकम्, संविधान, बेकारी, शिक्षा, आप्रवासन र पहिचानमा उचित प्रकाश पारेकी छन् । ’

एउटा लामो कवितामा गंगाजीले उठान गरेका विविध खाले धारणाहरू निश्चय नै विश्वका हरेक मानिसका हृदयका स्पन्दन हुन् । यी स्पन्दनले मानवमात्रको लागि राष्ट्र र राष्ट्रियतामा सवलता र विकास, हरेक मानवका जातीय पहिचान, नारी र पुरुष बीचको समनता, जातीय विभेदरहित समाजको निमार्ण, शोषण र पीडितबाट मुक्ति, ब्रह्मप्रतिको आस्था र विश्वास, पृथ्वीमै स्वर्गीय र नारकीय गर्न सकिने अनुभूति, मानवले मानवप्रति गरिने सेवा, वसुधैवकुटुम्वकम्, आदि आदि थुप्रै यथार्थतामा वकालत गरिरहेका छन् । एउटा कवितामा यति धेरै सवालहरूको उठान हुनु निश्चय नै अनुकरणीय र प्रशंसनीय कुरा हो । यस सम्बन्धमा ‘हार्दिक शुभ कामना’ शीर्षकमा डा. तारानाथ शर्मा लेख्नुहुन्छ –‘कविता लेखेर कहिल्यै नथाक्ने प्रतिभा सम्पन्न रचना कर्तृ गंगा लिगलको हृदयका स्पन्दनहरू शीर्षक औधि प्रभावोत्पादक महाकाव्य नै भन्न सुहाउने कविताको ग्रन्थ प्रकाशित हुन लागेको देख्दा हामी नेपाली साहित्यका पाठकहरूलाई अत्यान्त आनन्द लागेको छ ।’

यति लामो कविता विविधताले सजिएको, नेपाल र अमेरिकाको परिवेशमा लेखिएको, डा. तारानाथ शर्माले ‘प्रभावोत्पादक महाकाव्य नै भन्न सुहाउने’ अभिव्यक्ति दिइएकोलाई कविताको कुन विधामा गणना गर्ने भन्ने जिज्ञासा जाग्यो । यस सम्बन्धमा मेरो जिज्ञासालाई ‘लामो कवितामा छोटो छलफल शीर्षकमा होमनाथ सुवेदीजीले ‘लामो कविता पनि त्यस्तै कविताको यौटा विधा हो’ भन्नुभएको र होम नाथजीको भनाइमा सामान्य काव्य र खण्डकाव्यको रूपमा लिन सकिने र ‘जे भने पनि यो पश्चिमा विधा हो ’ भन्ने जानकारी पाइयो ।

यस कृतिमा पस्किएका भावनालाई केलाउने प्रयास गरें तापनि मैले सबै धारणालाई यो सानो लेखमा समेट्न सके जस्तो लाग्दैन । जेहोस् गंगाजीले यो नौलो पश्चिमा विधालाई लामो कविताको रूपमा हामीलाई प्रदान गर्नुभयो । यो नै एउटा नेपाली साहित्यमा गंगाजीले प्रदान गरेको नौलो उपहार हो र अब कविहरूका धेरै लामा कविताहरू सिर्जना हुने छन् भन्ने आशाा राख्दै, गंगाजीको सुस्वास्थ र उत्तरोत्तर प्रगतिको कामना गर्दे बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७५ साल माघ १३ गते,
कावासोती न.पा. वडा नं–७, नवलपुर, गण्डकी प्रदेश नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *