पाखामा सजाउँ कि आँखामा सजाउँ
धनले सजाउँ कि मनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?
मुहार तिम्रो पूर्णेको जून जस्तो
यौवन तिम्रो अकबरे सून जस्तो
तूलमा सजाउँ कि फूलमा सजाउँ
सूनले सजाउँ कि जूनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?
मृग नयनी तिमि रेशमी केश छन्
तिम्रा सामु कुन अप्सरा शेष छन्
पारामा सजाउँ कि तारामा सजाउँ
चुराले सजाउँ कि कुराले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?
मयुरी चालमा बजेका मृदंग छन्
सुनकेस्रा ओठ तिम्रा सुकोमल अंग छन्
गहनामा सजाउँ कि चाहनामा सजाउँ
हातले सजाउँ कि मातले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?
पाखामा सजाउँ कि आँखामा सजाउँ
धनले सजाउँ कि मनले सजाउँ
भन सुवा ! तिमिलाई के के ले सजाउँ ?
(सुवा – मनको मीत, मायालु, सुनकेस्रा – सुन्तलाको चाना
बुझाउने गरी प्रयोग भएको, लोककथामा वर्णन गरिने जुम्ली
राजाकी अति सुन्दर रानी)