Skip to content

मैले बुझेको जीवन कति सरल कति कठिनमा अनुशील

  • by
SadanandaAbhagi-03

हो जिन्दगी अद्भुत एक सृष्टि
चल्ने कुनै आकृति तुल्य दृष्टि
आरोह हुन् या अवरोह धेर
बन्यो यही जीवन गाँसिएर

यो उपरोक्त श्लोक, काठमाडौ ॐ वाहल टोल बस्ने मुकुन्द भक्त माथेमा र श्याम कुमारी माथेमाका माहिला छोरा डा. सुदर्शन भक्त माथेमा को हो । डा. सुदर्शन भक्त माथेमाले फिलिपिन्स लसवानस्स्थित युनिभरसिटीबाट वि.सं. २०४३ सालमा कृषि अर्थशास्त्रमा विद्यावारिधि हाँसिल गर्नु भयो । पेशागत रूपमा उहाँ २०२५ सालमा नेपाल सरकारको कृषिमन्त्रालय, कृषि विभाग अन्तरगत जिल्ला कृषि विकास कार्यालयमा सहायक कृषि विकास अधिकृतमा सरकारी सेवाको थालनी गरी विभिन्न जिल्लामा विभिन्न पदमा सेवा पुर्याउँदै कृषि अनुसन्धान परिषदमा अन्तर गत सामाजिक, आर्थिक, अनुसन्धान तथा प्रसार शाखाको प्रमुखमा छ वर्ष पदभार सम्हाली करिब २२ वर्ष सरकारी सेवा गरी निवृत्त हुनु भयो । यसपछि उहाँ पाँच वर्षसम्म हार्पको प्रमुख व्यवस्थापक भई काम गर्नु भयो । यसको अलवा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परामर्सदाताको रूपमा सेवा पुर्याउँदै आउनु भएको छ । उहाँ एक विद्वान एव म समाजिक व्यक्तित्वको रूपमा हाम्रो अघि परिचित हुनुहुन्छ ।

लेख रचना – सुदर्शन भक्त माथेमाको साहित्यिक यात्रा विद्यार्थी काल देखिनै थालनी भए पनि कृति प्रकाशनको हिसावले भने उहाँ एक नयाँ कविकोरूमा हाम्रो अघि देखा पर्नुभएको छ । उहाँ पेशाले कृषि अर्थशास्त्री भएको र कृषकलाई प्राविधि ज्ञान दिलाउनु उहाँको दायित्व भएको हुँदा कृषि क्षेत्रमा उहाँका लेख रचना व्यापक रूपमा आएका छन् । कक्षा ८ र ९ को लागि अन्न खेती र पशुपालन तथा दुग्घ व्यवसाय पुस्तकको सह लेखक गर्नुको साथै गोरखापत्र, नेपाल समाचारपत्र र्दैनिक र कृषि पाक्षिकमा उहाँका लेख रचना प्रकाशन भएका छन् । उहाँका कृषि सम्बन्धी एकल र संयुक्त गरी लेख, पुस्तक, प्रतिवेदन, थेसिस, जर्नलमा प्रकाशित लेख दुवै नेपाली र अंग्रेजीमा गरी कुल संख्या १०९ प्रकाशन भएका छन् र विवरणहरू यसप्रकार छन्– १. कृषि सम्बन्धी पुस्तक (३ सह लेखक भएर २ नेपालीमा र १ अंगेजीमा), २. कृषि सम्बन्धी नेपालीमा आफ्ना लेखहरू (९), ३. कृषि सम्बन्धी अंग्रेजीमा आफ्ना लेखहरू (३१), ४. कृषि सम्बन्धी नेपालीमा सह लेखक भर्ई लेखेका लेखहरू (६) । ५. कृषि सम्बन्धी अंग्रेजीमा सह लेखक भर्ई लेखेको लेख (३०), ६. कृषि सम्बन्धी अंग्रेजीमा आफ्ना एकल प्रतिवेदनहरू (२६), ७. कृषि सम्बन्धी अंग्रेजीमा सह लेखक भई जर्नलमा प्रकाशित लेख (२) र ८. आफ्ना एकल थेसिस (२)। यी सबै प्रकाशित कृति हुन् । उहाँका कृषि सम्बन्धी अनुसन्धान लेखहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा पनि प्रकाशन भएका छन् ।

कृतिको संरचना –यस कृतिलाई घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको छ । कृतिको मूल्य १५०।– रुपियाँ राखिएको छ । यस कृतिमा विविधताले भरिएका छोटा छोटा ४५ कविताले समावेश पाएका छन् । डा. सुदर्शन भक्त माथेमाका भविष्यका कर्णधार नातिनी मिशिका, नातिहरू जेहान र हृयानलाई समर्पित गरिएको छ । आवरण पृष्ठको अलवा यस कृतिमा ५७ पृष्ठ छन् । अग्र आवरण पृष्ठ प्राकृतिक सुन्दरताले सजिएको छ भनेपछिल्लो आवरण पृष्ठमा लेखकको र कृतिको बारेमा लेखिएको विवरण छ ।

कवितासङ्ग्रह भित्र प्रवेश गर्दा – यस कवितासङ्ग्रहको पहिलो कविता बुद्धको उपदेशबाट थालनी गरिएको छ । गौतम बुद्धले राज्यको उपभोगलाई त्यागेर संसारिक जीवको कल्याणको लागि हिडेका र पञ्चशीलको सिद्धान्त संसारलाई प्रदान गरेकालाई हामीले बुद्धवाणी सुनौ र शान्तिलाई चुनौ भन्ने कविको आग्रह छ –

आपद पर्दछ बुद्धले कति सहे त्यै धैर्यता साथमा
मायाले रिसराग ती सब भुली हाँसौं सधैं प्रातमा
नेपाली अब हे सचेत मनले त्यो बुद्धवाणी सुनौं
अफ्नो स्वस्थ विचार स्वच्छ पनमा त्यो शान्तिलाई चुनौ
(पृष्ठ १३)

शिवरात्रिको महिमा –यस कवितामा कविले शिवरात्रिको राती ब्रत बस्दै शिवजीको पूजा गरिन्छ र शिव धाममा जानु पर्छ, शिवको अपार शक्ति छ । मुक्ति प्राप्त हुन्छ । पश्चिमीयाले हाम्रो संसकृति खोस्न लागेका छन् । हामीले सतर्क भएर सधैं ॐ जप्नु पर्छ । यी दुवै कवितामा कविले बौद्ध दर्शन र हिन्दू दर्शन्लाई मङ्गला चरणको रूपमा अगाडि सारेका छन् । ईश्वर प्रतिको आस्था शीर्षकमा अर्को ईश्वरसँग सम्बन्धित कविता पनि कविले प्रस्तुत गरेका छन् । यस कवितामा कविले ईश्वरीय शक्ति अद्भुत छ र यसले ब्रह्माण्ड नै थाम्दछ, भक्तिमा पनि अद्भूत शक्ति हुन्छ । त्यसो हुँदा ईश्वरप्रति आस्था हुनु पर्दछ भन्दै कविले यसरी भाव प्रकट गरेका छन् –

ईश्वरप्रति आस्थाले विश्वास कति बढ्दछ
भक्ति ज्ञान र ध्यानैले जिन्दगी सार पढ्दछ
आपद विपद परेदेखि सम्झिने मात्र ईश्वर
केनै उपाय अर्को छ जिन्दगीमात्र नश्वर।।
(पृष्ठ४५)

यो नाशवान शरीर सकृय छँदै ईश्वरप्रति श्रद्धाभाव हुनु पर्छ भन्ने कविको धारणा अनुकरणीय छ ।

यो कृतिको शीर्षकै “मैले बुझेको जीवन” राखिएको छ । जीवनसँग गाँसिएका कविताहरू, “एकाकी जीवन, ” “बूढो हुनुको यथार्थता, ” “मैले बुझेको जीवन”, “जीवनको केही पानाहरू” “जेष्ठ नागरिकको विवशता, ” “रोगी मानिस, ” “आशा र निराशाले दोहोर्याएको जीवन” “अवकाशपछिको जीवन, ” र “मनुष्यको जीवन चक्र, ” र “अनगिन्ती अश्रुको थोपा”, पर्दछन् । हुनत यस कृतिका सबै कविताहरू मानवले भोगेका, देखेका, सुनेका, चिन्तनमनन् र अनुभूति गरेका आदि पक्षका सत्यतथ्यलाई आधार बनाएर लेखिएका छन् तापनि जीवन शब्दसँग जोडिएका कवितालाई एकीकृत गर्दै शूक्ष्म विश्लेषण हुनु राम्रो होला जस्तो लाग्यो । वास्तवमा जीवन के हो कविले बुझेको जीवन त मैले थालनीमै पस्केको छु तर पनि कविले धेरै चिजहरू भोगेका र संघर्षरत जीवनबाट माथि उठेका सन्देशहरू उनका कविताले दिएका छन् । खास जीवन के हो त भन्ने प्रश्नको उत्तर त्यति सहज छैन । रज र वीज जब संयोजनमा आउँछन् तब शरीरले स्थान लिन थाल्छ । कोही गर्भबाटै अन्त्य हुन्छ त कोहीले जन्म लिन्छ र मृत्युतक आफ्नो जीवनकार्य गर्छ । जीवन सबैको एकै खाले हुँदैन । हरेक मानिसमा रोग भोक, शोक वेदना हुन्छ । वेदनासँग लड्न सक्नु पर्छ । सहासीहरू यस्ता घटनाबाट माथि उठ्छन् । कसैले गुणस्तरीय जीवन बिताउँछन् भने कसैले नारकीय तुल्य जीवन बिताउने गर्छन् । मानिसले आशा गर्छ आशाबाटै मानिस बाँच्छ र यो उसको लागि उपहार हो । आशा गर्दैमा सबै उपलब्धी हाँसिल हुँदैन किनकि त्यहाँ निराशा पनि हुन्छ । आशा र निराशा बीचको जीवन हो । आशाको दीप जल्दा आनन्द लिने र निराशाले ढाक्दा दुःखी नभै संयमी हुनु पर्छ, । माथेमाले कविता मार्फत संसार छाडेर जानु पर्छ जाँदा लानु केही छैन, दिन बितेर जान्छ त्यसलाई फर्काउन सम्भव छैन, मानिस बालक, युवा, बृद्ध, हुन्छ र आखिर मर्छ । यो जीवन चक्रहो यो जीवन चक्रलाई कसरी भोग गर्ने भन्ने कुरामा कविले भन्दछन् –

रमाइलो गरी जिउनु पर्छ यो एक जुनीमा
विचार गरी पुगेन भने चिप्लिन्छ खुनीमा
पाइला पाइला होसियारीको महत्व बुझ्नु छ
जिन्द गी नै हो ईश्वर भनी सदैव पुज्नु छ
(पृष्ठ १९ )

माथेमाले बुझेको जीवनमा थुप्रै यथार्थताहरू समेटिएका छन् । यी सबै यथार्थता मानिसमा मात्र नभएर सबै जीवमा लागु हुन्छन् र भइरहेका छन् ।संसारमा मानी आएका दर्शनले जीवन केहो भनेर अर्थ्याएका छन् । हाम्रो सनातन दर्शनले मानिस भएर जन्मेपछि सार्थक जीवन बाँच्नुपर्छ र मरेपििछ मुक्तिप्राप्त गर्नुपर्छ भन्ने छ । यी कुरा माथेमाका भावनामा प्रस्फुटन भएको पाइन्छ । जीवन यति जटिल छ कि यसको सही परिभाषा कसैले दिन सकेको छैन । म स्वयम्को कुरा गर्ने हो भने “जीवन संघर्ष हो जस्ले संघर्ष जित्छ त्यसैले आनन्दित जीवन बिताउँछ भन्नेगर्छु, । प्रशिद्ध साहित्यकार झमककुमारीले “जीवना काँडा कि फूल” भन्दै हामीमा प्रश्न तेस्र्याएकी छन् र डा. सुदर्शन भक्त माथेमाले जीवन चक्रलाई केलाउँदै जीवन सम्बन्धी आफ्नो निचोडको एक श्लोक यसरी पस्केका छन् –

डाँडा काटी हिडेको छ उमेर सुस्तरी अनि
उत्तराार्ध तिरै आई कता कुद्दछ जीवनी
जिन्दगी हो बुझेदेखि वरदान र उत्सव
अलमल परी बाँच्छन् तथापि किन मानव
(पृष्ठ ५२)

“जिन्दगी हो बुझेदेखि वरदान र उत्सव” वास्तवमा जीवनलाई जस्ले बुझ्छ उसले यस भनाइलाई व्यवहारमा उतार्न सक्छ । बाँचञ्जेल आनन्दमय जीवन बिताउँछ । “सम्बन्ध” कवितामा कविले जीवन पुरा गर्न चाहिने भनेको माधुर्य हो भनेका छन् । आशै आशा डोर्याइएको जीवनमा निरासा पनि आइलाग्दा मानिस तड्पिन थाल्छ । कविले आशालाई फूल र निराशालाई काँडासँग दाँजेका छन् । तिर्सना आशा र निराशाको दोसाँझमा अल्झिरहेको ठान्दछन् । हाम्रा जन्म संस्कार मृत्यु संस्कार छन् ।जीवनको अन्तिम पक्ष भनेको मृत्यु हो । मृत लासलाई घाटमा लगेर विसर्जन गरिन्छ, मानिसले पाप गर्न हुँदैन । अमूल्य जीवनलाई बुझ्नु पर्छ । द्यौता भनी जीवनलाई पुज्नु पर्छ भन्ने कविको धारणा अमृत वाणी हो । यो अमृत वाँणी बुझ्नेले अमरत्व कायम गरी संसार त्याग्दछन् ।

मातृभूमि तथा राष्ट्रियताले भरिएका कविताहरू– मेरो देश र मातृभूमिको प्रेममा राष्ट्रियता झल्कने भाव पाइन्छ । प्राकृतिक सौन्दर्यले भरिएको देश नेपाल सबैको आँखाको नानी हो र कविलाई पनि नेपाल सुन्दर लाग्छ । मातृभूमिप्रति कविको अथाह माया छ । सीमा मिचिएकामा कविको मन बिचलित हुन्छ, राष्ट्रियतामा आँच आउन थाले प्रतिवाद गर्न तयार हुन्छन् कवि । चन्द्र र सूर्य अङ्कित ध्वजा संसारमै अद्वैत छ, सीता र बुद्ध यै देशमा जन्मे, , हाम्रो देश स्वाधीन छ यसमा कसैको गिद्धे नजर नलागोस् जस्ता गहन भावना कविले पस्केका छन् ।

शहीदको त्यागको सम्झनामा एउटा कविता लेखिएको छ ।एक दिनको श्रद्धाञ्जलीबाट शहीदको सम्मान पुग्दैन भन्दै कविले लेख्छन् –

माटोमा बलिदानका कति कथा छन् लेख्न बाँकी सरी
लेखेनन् किन हो सफा कलमले रातो मसी नै छरी
मात्रै एकदिने गरिन्छ किन हो यो मात्र माल्यार्पण
गर्दैनन् किन हो हरेक दिनमा त्यो त्यागको सम्झना ।।
(पृष्ठ ३५)

कविले आजको बजार भाउ, बढ्नु जनताका गुनासामा कुठराघात हुनु, सरकारमा दुई तिहाइको दम्ँभ सर्वत्र पोखिनु, आदि देशको राजनीतिक विकृतिमा(गाईजात्रे चालामा) चिन्तित हुँदै कविले लेख्छन् –

नेतृत्व फेरिएका छन् फेरिदैनन् परिस्थिति
मुहार फेरिएको छ फेरिएन परिस्थिति
जथाभावी उठाएको कर यो किन हो किन
गाईजात्रा कुनै तन्त्र आएन अब लौ भन
(पृष्ठ ४६)

आज देशमा राम्रो मान्छे हैन कि हाम्रो मान्छे भनेर यत्रतत्र सर्वत्र क्षमता योग्यतालाई नहेरी भर्ना गरिएकोले सुन्दर देश बन्न नसकेको, सक्षम जनता पछाडि छाडिएको, भ्रष्टचार बढेको, मानिसमा अल्छीपना आएको आदि धारणालाई कविले समेटेका छन् ।

कोरोनालाई लक्षगरी लेखिएका कविता– लकडाउनको कहर, भईभित मनस्थिति र कोरोना भाइरसको सकस, यी तीन कविताले हाल विश्वभर ल्याएको त्रसादिपूर्ण अवस्थालाई दर्शाएका छन् ।विषाणु धरा धरामा फैलिदो छ र कुनै मानिस बाहिर निस्कदैन । कोराना भाइरसको मुहान चिनको वुहान भएको र यसले ज्यानै लिने भएकोले यसबाट सतर्क हुनु पर्ने धारणा, मानिसहरू घरमा रोएर बसेका छन् भन्दै यस समयमा जनताले भोग्न परेको मार्मिक अवस्था, मानवीय क्षती, यो घट्दै जानेछ भन्ने आशा आदिलाई यी कविताले समेट्न सफल देखिन्छन् ।

विविधताले सजिएका कविताहरू– पूस्ताबीचको दूरी, (कविले पुराना पुस्ता र नयाँ पुस्तामा दूरी बढेका पाउँछन् र बृद्धबृद्धाहरू आज असहाय भएको यथार्थ प्रष्ट पार्दछन् )। नविर्सिने सपना (सपनाको विविधरूप, सपना आएर हराउने, समेटेमा कथा बन्न सक्ने, , विपनामा नै अदृश्य चित्र सपनामा देखिने यसको प्राप्ति विहान उठ्दा हुने भन्दै कवि सपनामा रमाउँदै भन्छन् –

सपना देख्न छोडेको दिन केही म गुमाउँछु
आविस्कारपूर्ण विज्ञान पनि स्वप्नमा भेटाउँछु
धार्मिक ग्रन्थ पढ्दाका कुरा स्वप्नमा देख्छन् रे
स्वप्नको लोकमा भगवान पनि आएर टेक्छन् रे ।।
(पृष्ठ२०)

यस कवितामा कविले सपनालाई सपनामा नछाडी साकार रूप दिनु पर्छ भन्ने सन्ँदेश दिलएका छन् । प्रकृतिको वरदानमा कविले मानिसलाई प्रकृतिको पूर्ण आधार मानेकाछन । तारागण, माछापुच्छ्रे आदिको सौन्दर्यस्ँग जोडेका छन् । मानिसका मनमा असंख्य चाहना हुन्छन् । ती चाहना कविमा पनि छन् उनले आफ्नो चाहनामा कविता रच्न चाहन्छन् । युवाशक्तिको पलायन कवितामा कविले देशले रोजगारी दिन नसकी युवा पलायन भएका छन् । देशका घरखेत बाँझिएका छन् । विदेशमा कष्टकर जीवन बिताइरहेका युवालाई कारखाना बनाएर रोक्नको लागि आग्रह गरेका छन् । नयाँ वर्षको शुभकामना कवितामा कविले सारा बह विर्सेर सारा संकटकाल हटेर जाओस सबै उमङ्गको साथमा भावना पस्कदै नयाँ वर्षको शुभकामना प्रदान गरेका छन् । म हाँसु कसरी कवितामा कवि मार्मिक रूपमा प्रस्तुत भएका छन् । कविले फूर्ति हुँदा आनन्दको अनुभूति हुँदा मानिस नाच्छ तर शक्तिक्षिण हुँदा उसलाई सहयोगको गर्नुको अलवा उसको गतिहीनतामा अरू हाँसि दिन्छन् । यस्तो अवस्थामा उसलाई दिक्दार लाग्छ । यस्तो अवस्थामा ऊ कसरी हाँसन सक्छर भनी प्रश्न गरिएको छ । मानिस सराबीको माया कवितामा कविले “मेरो त्यही एक छ प्रेम घाउ, ” भन्दै सराबमा के अमृतै भरेझैं हुन्छ । यसको सेवनले दुःखको खोला तरेझै हुन्छ भन्दै मानिस सराबकै वरिपरि घुम्नेअवस्थाको सिर्जना हुँदा के सरावमा माया छिन् कि भन्ने प्रश्न तेस्र्याएका छन् ।सराव यस्तो चीज हो जस्लाई पिएर मानित्र तृप्त हुँदैन । कविको धारणा सराबरूपी मायासँग टाढा रहनु पर्छ भन्ने सन्देश आएको छ । म को हुँ कवितामा कविले आफ्नो अस्त्त्विको खोजी गरेका छन् । मानिसले आफूलाई म हुँ भन्छ तर यसको उत्तर सहज छैन । शास्त्रहरूले पनि म को हुँ भनेर चिनाउन गाह्रो छ भन्ने धारणा आएको छ । वसन्त ऋृतुलाई ऋृतुहरूमा उत्तम मानिन्छ । यस समयमा फूलहरू फुल्छन्, पालुवा लाग्छन्, संसारमा वसन्तले सौन्दर्य छर्छ । सबै रमाउँछन् तर कविले यो वसन्तको अनुभूति गर्न सकिने धारणा यसरी पस्केका छन् –

“राम्रो सोचे पलपल सदा आउने छन् वसन्त
नौलो आभा झकमक भर्ई सर्दछन् ती अनन्त”।।
(पृष्ठ ४१)

कति सुन्दर अभिव्यक्ति छ कविको सत्यम्, शिव म सुन्दर म । स्वर्गीय अनुभूति कवितामा कविले संसारमा उज्यालो काम गर्दा विचार पनि उज्यालो हुन्छ । प्रकृतिसँग रमाउन सके सबै काम राम्रो हुन्छ । कठिन यात्रा सहजै पारगर्न सकिन्छ । स्वर्ग भनेको एक अनुभूति हो । यो आनन्दको अनुभूति हो । यो आनन्दको फल मरेपछि हैन जिउँदै वर्तमानलाई सजाएर, वातावरणलाई सफाबनाएर भोग्ने आग्रह छ कविको । यथार्थ अभिव्यक्ति कवितामा कविले सत्यतथ्यलाई पस्कने कोसिस गरेका छन् । कमल हिलोमा फुल्नु र गुलाफलाई हेर्दा काँडाको बीचमा फुलेको पाइन्छ। मानिसको व्यवहार फूलजस्तो भए राम्रो हुने हो तर मानिसले यस्तो गर्नै सक्दैन । वास्तवमा मानिस भएर जन्मनु अहो भाग्य हो । यो अहो भाग्यलाई नदी सरी निरन्तरता दिन सही बाटोबाट हिड्नु पर्छ भन्ने कविको सकरात्मक सन्देश छ । नाति नातिनीहरूसँग म कवितामा कवि नाति नातिनीको आदरभाव, साथ, माया पाएर रमाउँछन् र एक्लो नभएको महसुस गर्दछन् । नाति नातिनी काखमा बस्छन् कथा भन्न लगाउँछन् र यी क्रियाकलापले गर्दा कविमा उर्जा थप्छ र बूढौलीको जीवन पनि जवान भएको अनुभूति गर्छन् भन्छन् –

शेष नागले पनि वर्णन गर्न नसक्ने कमाल,
नाति नातिनीसँगको मेरो अनौठो छ चाल
बच्चाले बोले जतिको मीठो अरू के छ र
भावनाभन्दा पवित्र नाता, के छ र सुन्दर ।।
(पृष्ठ ४७)

, म र मेरो फूलबारी कवितामा कवि फूलबारीमा रमाएका छन्, सुगन्धको बास लिएका छन् पुतली आदिका क्रियाकलाप अवलोकन गरेर आफै बहलाएर कवि रमाएका छन् । कविता सिर्जनामा कविले कवितालाई भावनाको नव दिव्य कान्तिको रुपमा लिएका छन् र यसलाई सोचे जस्तो रूपमा लेख्न सकिदैन भन्दै, सिर्जना गरेको कविताले उज्यालो बाड्न सक्नु पर्छ र अनावश्यक शब्द प्रयोग गर्दैमा साहित्यको फूलबारी बन्न सक्दैन भन्ने धारणा आएको छ ।

पूर्णिमाको रात–कवितामा कवि प्रकाशमा रमाउँछन्, उनका मनमा भएका पीडा हराउँछन् र कविले पूर्णजूनको चाहना गर्दछन् । अर्थात संसारलाई कविले पूर्णप्रकाशमय भएको देख्न चाहन्छन् । शून्यतामा आनन्दको आभास, कवितामा कविले आकाश, आवाज, मौनता, आनन्दमा स्वरुप खोई जस्ता धारणा राख्दै बहु आयामिक शब्दलाई समेटेर कविता लेखेका छन् । शून्यलाई साधारण अर्थमा लिन्दा केही नभएको तथा खाली भन्ने अर्थ बुझाउँछ । यसमा गहिरिँदा शून्यभन्दा निराकार भन्ने अर्थ लाग्छ । शून्यको हिन्दूदर्शनमा ब्रह्मलाई लिइन्छ भने बौद्ध दर्शनमा शून्यवादीभन्दा बुद्धलाई सम्झिन्छ । बुद्ध र ब्रह्मलाई हामी ईश्वर ठान्छौं । कविले पनि आफ्नो धारणा यसरी पस्केका छन् –

म शून्यताबाट कतै नभागूँ
म ध्यानमा लीन कतै नलागूँ
यता उता होइन खै कहाँ छु
म चित्तले खै गहिराईमा छु ।।
(पृष्ठ ५५)

कविको चित्तले .ब्रह्म र बुद्धको दर्शनको गहिराईमा आनन्द भोग गरेको जनाऊ दिन्छ । परिवर्तित फूलहरूमा फूलका रूप अनेक सुवास अनेक हुन्छन् । कविलाई गुलाफ धेरै मन पर्छ र पूर्व योनीमा गुलाफ थिएँ कि भन्ने सोचमा पुग्दछन् । फूलमा नै चिन्तन् मनन् गर्दै कविले मानव जीवनलाई फूलसँग तुलना गर्दछन् र मानव जीवन फूलजस्तो सुन्दर र सोचे अनुसार नहुन सक्छ तर बनाउन सकिन्छ भन्दै कविले परिवर्तित अवस्थालाई आत्मसात गरेर अगाडि बढ्नु पर्छ भन्ने सन्देश दिएका छन् । विमान दुर्घटनाको सम्झना यस कृतिको अन्तिम कविता हो । यस कवितामा कविले विमान दुर्घटनाको डरलाग्दो रूपलाई प्रस्तुत गरेका छन् । दुर्घटनामा परेर मर्दाको रुप कहाली लाग्दो हुन्छ । मानिसका भविष्यका सपना सबै जलेर सकिन्छन् । उनले डाक्टर बन्ने सपना बोकेको बालकको जहाज दुर्घटना परेकोलाई स्मरण गर्दै उसको सपना पुरा नहुँदै समाप्त भएको धारणा सहित र यस्तामा ज्यान गुमाउनेलाई जति श्रद्धाञ्जली दिए पनि अपुग हुनेभावना पस्केका छन् कविले ।

कविले यस कृतिमा विविधतालाई समाउँदै, स्वच्छन्दरूपमा अलग अलग अस्तित्त्व बोकेका कविताहरूलाई हामी समक्ष पस्केका छन् । कवितालाई मैले बुझेको आधारमा भावसार पस्कने कोसिस गरेको छु । सकेसम्म कविताका निसारणलाई प्रष्ट पार्ने कोसिस गरेको छु ।

भाषा शैली प्रस्तुति – सबै कविताहरू छन्दमा लेखिएका छन् । सबै लयबद्ध छन् । कवितामा सृङ्गार, शब्दालंकार, उखान टुक्का, धर्म, दर्शन, प्राकृतिक सुन्ँदरता, परमपरा, सामाजिक अस्तित्व, आदि इत्यादिलाई समाउँदै सुन्दर रूपमा प्रस्तुत गरिएको छ । भाषा सरल, छ सुबोध छ र सबै प्रकारका पाठकलाई ग्राह्य छ ।

शीर्षकीकरण– कविले जीवनदर्शनलाई बुझेका छन् । सारा कवितामा मानव जीवनसँग तुलना गर्ने प्रयास गरेका छन् । जीवनमा घटेका सत्यतथ्य घटनालाई कवितामा प्रष्ट पारिएका छन् । यी सबै नतिजाको आधारमा शीर्षक सार्थक छ भन्न सकिन्छ ।

निष्कर्ष– खास कवितामा के छ भन्ने भावसारमा प्रष्ट पारिएको हुँदा यिनै कुरा दोहोर्याइरहन उपयुक्त नठान्दै कविको लेखन शैली उच्च छ, भावनालाई कविले नदीको वहावसरी बगाएका छन् । मानवीय जीवन पद्धतीलाई आत्मा सात गर्दै कविले आफ्नो लेखन क्षमतालाई राम्ररी प्रष्ट पारेका छन् । यति भनिरहँदा कृति हरप्रकारले पूर्ण छ त भन्ने प्रश्न उठ्नु स्वभाविक हो । संसारमा कोही कुनै चीज पूर्ण छ भन्न सकिदैन तर पूर्णतातिर लम्कने प्रयास कविको प्रशंसनीय छ । कविता छोटा मिठा हुँदा हुँदै पनि कुनै कुनै कविताले पुष्ट्याइँको लागि केही थप श्लोकको आवश्यकता दर्शाएको महसुस हुन्छ । कृषि विज्ञानका थुप्रै कृतिहरू नेपाली र अंग्रेजीमा लेख्न सफल माथेमाजीको साहित्य यात्रमा निरन्तरता आवस् र थप कृति पढ्न पाइवस् भन्दै सुस्वास्थ दीर्घायुको कामनासहित बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
माघ २४ गते २०७७ साल
कावासोती नवलपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *