Skip to content

मध्यरातको लहड


ए आमा ! एउटा कुरो सुन न !
अस्ति नै
तिम्रो वक्षस्थलबाट टाढिनु पर्ने कल्पनाले
कामज्वरो नै फुट्यो
आज अर्को पहिरो थामिएकै छैन
निदगुमको अवस्थामा अश्रुनयन नजरले लेख्तै छु-
आज पनि तिम्रो खुब याद आयो
कतै थोरै स्वार्थले आयो
तर; धेरै निस्वार्थले तिम्रो याद आयो
छाडेर जानुपर्दाको पिरलो एकातिर
दु:खहरणकर्ता नपाइएला भन्ने अर्कातिर
तिम्रो सेवा गर्न यत्ति नै पो रहेछ कि क्या हो
अब परैबाट तिमीलाई सम्झने दिन आयो कि क्या हो ।
किनभने तिमीले दु:खमा पनि हँसाएकी थियौ;
अभावमा पनि पेटभर खुवाएकी थियौ ।

तिम्रो काखमा आउँदा लाटो थिएँ
लडिबुडी गर्दै बाठो भएँ
र; आज तिम्रो छहारी छाडी
अर्कैतिर टेक्न वाध्य भएँ ।
सबैभन्दा ठुलो कुरा
तिमी मेरै भई नरहलौ कि भन्ने
तातो शङ्काले जल्दो भएँ ।
धोका नदेऊ नि आमा !
लाटोलाई बाठो मात्र बनाएर सुख पाउन्नौ
बाठोलाई सोझो राजमार्गमा नडोर्याई
तिमीले धर पाउँदै पाउन्नौ ।
किनकि मजस्ता
धेरै मनोहर मुहारहरू
तिम्रै हुकुमका अभिलाषी छन्
श्याम भएर के भो
सुन्दर दिल भए पुग्छ
तब त हाम्रा ओठले मुस्कान च्याप्न पाउँछ ।

आज यस मध्ये रातमा निद्रा हरण भाको छ
ममाथि चोटमाथि थुप्रै चोट परेको छ;
जे होस्; भन्ने गरेको छयहत्तरौ भूमि !
जन्माएर धर्ती टेकाउने आमाभन्दा
तिमी कमकी भइनौ
किनभने म त
तिमीले नै टुकुटुकु हिँडाएको तिम्रै बच्चा न हुँ
अहिले म भन्ने हैसियत मलाई दिने
तिमीलाई छाडी
जीवन यात्रा थाल्नुपर्दाको प्रसव बेथाले
थलिँदै गएको दीर्घ रोगी भएको छु ।
अस्थिर गन्तव्यको शिकार भएको छु ।
कृपया हिजो-आज मात्र हैन भोलि पनि
आशीर्वचन दिई राख;
यस अबुझको माथमा न्यानो हत्केला राखिराख ।
यही अपेक्षाले जिउन पाऊँ
र; तिम्रै नजरभित्र निदाउन पाऊँ ।
बस्, माते ! यस पटक यत्तिमै
र; आजको यत्ति नै !

-नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *