Skip to content

सपनामा पनि मेरो देश


मैले कहिल्यै परदेशका गगनचुम्बी
भवनहरू र चिल्ला सडकहरू सपनामा पनि देखिन ।
भुलेर पनि सपनामा पनि मेरो देशको
संस्कृति र संस्कारलाई कहिल्यै भुलिन।
मैले कहिल्यै स्वदेश छोडेर
परदेशको भूमिमा रमेको सपना पनि देखिन।
मैले सधैं मेरै देशका धार्मिक अनि
ऐतिहासिक धरोहरहरू देखिरहन्थे।
ती पवित्र मठमन्दिरहरुमै रमेको देख्थे।
उज्याला अनौठा प्रकाशहरू उदाएर
त्रिशूल र घण्टाका घनघोर आवाजहरू
मन मस्तिष्कसम्मै गहिरिने गरी
स्वर्गको कुनै टुक्रामै पुगेको जस्तो
अद्भुत आभासहरू देख्दथे।
कहिले ती गङ्गाको कञ्चन जलसँगै
खेल्दै डुबुल्की मारिरहेकी देख्थे।
कहिले ती निश्चल छहराहरुमा
हरियाली पखेरा अनि लहराहरुमा
पहाडका तरेलीसँगैसँगै
ढकमक्कै फैलिएका कुहिरो र बादलहरूसँगै
रम्दै लुकमारी खेलिरहेको देख्थे।
हिमालहरूसँगै हाँस्दै पहाडहरुमा
डाँफे र मयुरसँगै नाच्दै मयुँरका ती
सुन्दर प्वाँखहरू टिप्दै नाचेको देख्थे ।
कहिले अँध्यारो आध्यात्मिक गुफाहरुमा
ध्यानमग्न भएर कालिगण्डकीको तिरतिरै
शालिग्राम खोज्दै मुक्तिनाथको उकालो लागेको देख्थे।
भोलेनाथ राष्ट्रदेव पशुपतिनाथ र
गुह्यश्वरीमाँको चरणमा भगवानकै
जयजयकार गरिरहेको सपना देख्थे।
जयजयकाली जयजय गोरखको गुञ्जनहरू सुन्दथे।
हो, साच्चै मैले कहिल्यै यति सुन्दर मेरो देश
छोडेर परदेशमा रमेको सपना कहिल्यै देखिन।
मैले कहिल्यै यति प्यारो पवित्र देवभूमि
यो धर्तीको स्वर्गलाई भुलेर
कल्पनामा पनि परदेशमा रमेको देखिन।
मेरो देशको सुन्दरतामा गहिरिएकी म
परदेशका कृतिम कल्पनाहरुमा कहिल्यै बहिन।
किनकि
सपनामा पनि मेरो पवित्र देवभूमि
नेपाललाई माया गर्ने नेपालकी छोरी हुँ म।

#विश्वपर्यटनदिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *