Skip to content


लावालस्करका साथ पहाडी बाटो माथितिर उक्लँदै थियो । ठाडो भीर साँघुरो बाटो माथिबाट फर्कने हरूसँग बच्दै हिँड्नु परेकाले यात्रा दुष्कर र कष्टसाध्य थियो । आफ्नो लावालस्कर केही पछि भएकाले ऊ ढुक्कका साथ अगाडि बढ्दै थियो ।

अचानक छेवैको एउटा ढुङ्गोमा उसको खुट्टो ठोकियो । ऊ पीडाले रन्थनायो र थुचुक्क बस्यो । जुत्ता-मोजा फुकाल्यो । ठोक्किएको औँलो फुटेको थियो । रगत बग्न थाल्यो । आफ्नो खुट्टा त्यही ढुङ्गामा अड्याएर उसले घाउमा पट्टी बाँध्यो । फेरि सकी-नसकी जुत्ता लगाएर ऊ खोच्याउँदै अगाडि बढ्यो । उसले खुट्टा अड्याएको ठाउँमा रगतको टाटो लागेको थियो ।

उसको लावा लस्कर अब त्यहाँ जम्मा हुन थाले । उनीहरूका नेता खोच्याउँदै अलि पर पुगिसकेको थियो ।

“यो ढुङ्गोको यहाँ कामै छैन ।” भीडमा एउटा कुर्लियो ।

“यसले अँझ कति यात्रुहरूलाई पिर्छ ।” अर्को जङ्गियो ।

“यसलाई भीरबाट गुल्ट्याइदिनु पर्छ ।” अर्कोले थप्यो ।

“हो, हो यसलाई गुल्ट्याइदिनु पर्छ ।” सबले होमा हो मिलाए । केही बेरमै त्यो ढुङ्गो त्यहाँबाट गुल्ट्याइयो ।

गुल्टिँदै गएको त्यो ढुङ्गो तल पट्टिको एउटा बाटोमा टक्क अडियो । माथिबाट फर्कँदै गरेका समूह त्यो ढुङ्गो रोकिएको ठाउँभन्दा केही तल विश्राम गर्दै थिए । आवाज सुनेर उनीहरूले माथि उक्लेर हेरे । केही बेर अघि खुल्ला भएको बाटो अहिले त्यो ढुङ्गोले पूरै रोकेको थियो । उनीहरूलाई अचम्म लाग्यो । ढुङ्गालाई दायाँ-बायाँबाट घुमेर हेरे । रातो तिलक लगाइएको ढुङ्गामा उनीहरूले देवता देखे ।

“कस्तो अचम्म ! अघिसम्म त यहाँ केही थिएन ।” एउटाले भन्यो ।

“देवताको उत्पति भएको हो ।” अर्कोले थप्यो ।

केही बेरमै तलबाट आउने मानिसहरूले पनि त्यो ढुङ्गोलाई देखे । उनीहरूलाई पनि साक्षात देवताको दर्शन भएझैँ लाग्यो । जय-जयकार पूजा-आजा शुरु भयो । रगतको टाटो लागेको ठाउँ अवीर र चन्दनले छोपियो । तलबाट आउने भीड बढिरहेको थियो । बाटो रोकिएकोले उनीहरूको देवतालाई उचित ठाउँमा व्यवस्थापन गर्नै पर्थ्यो । सबैले त्यो ढुङ्गोलाई त्यहाँबाट उठाए र माथितिर लिएर गए । देवताको स्थापनाको लागि उचित ठाउँ खोज्दै जाँदा त्यही ठाउँमात्र भेटियो जहाँबाट त्यो गुल्टाइएको थियो ।

माथि जाँदा खुट्टो ठोक्किएका नेता साँझमा फर्केर जब त्यही ठाउँमा आइपुगे, त्यहाँको माहोल अलग्गै बनिसकेको थियो । ढुङ्गामा फूल र अविर चढिसकेको थियो । ऊ अचम्मित भयो अघि उसलाई ठेस लागेको ढुङ्गो अहिले देवता बनिसकेको थियो ।

२०७६ भाद्र २० (६ सेप्टेम्बर – 2019)

First posted in Majheri on 2019-10-06 18:41:28 +0900

1 thought on “देवता (लघुकथा)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *