Skip to content


सबैभन्दा पहिला कुनै रचनाले म भित्र कहिले अनि कसरी जन्म लियो ? जतिबेला म यो विषयमा सोच्छु त्यसबेला आफ्नै शिशु रूप आमासँग न्यानो ओछ्यानमा आरामसँग सुतिरहेको पाउँछु अनि आमाले बाल्यकालमा सुनाउनुभएका कथाहरू दिमागमा घुम्न थाल्छन् । सात भाइहरूकी एकमात्र बहिनी जात्रा हेर्न जानका लागि आफ्ना सातैवटी भाउजूहरूसँग छुट्टाछुट्टै पछ्यौरा माग्छे । कसैले पनि उसलाई पछ्यौरा दिंदैनन् । धेरै रोईकराई गरेपछि बल्ल एउटी भाउजूले उसलाई पछ्यौरा दिन्छे । जात्रामा पिङ खेल्ने क्रममा एउटा कागले उसको पछ्यौरामा बिष्ट्याइदिन्छ । बहिनीले जति प्रयास गरे पनि त्यो पछ्यौराबाट बिष्टाको दाग सफा हुँदैन । पछ्यौरामा बिष्टाको दाग देखेर भाउजूलाई औधी रिस उठ्छ । ऊ आफ्नो पतिलाई दवाव दिन्छे कि बहिनीलाई मारेर उसको रगतले त्यो पछ्यौरा रङ्ग्याएपछि मात्र उसलाई आनन्द आउँछ । दाजुले आफ्नै बहिनीलाई मारेर उसको रगतबाट त्यो पछ्यौरा रङ्ग्याइदिन्छ । बहिनीको लास जुन ठाउँमा गाडिएको हुन्छ, त्यही ठाउँमा एउटा आँपको रुख उम्रन्छ जुन बढेर फल पनि लाग्न थाल्छ । एक पटक त्यही बाटो हुँदै हिंडिरहेको एउटा धोबी जब त्यो रूखबाट आँप टिप्न थाल्छ त्यतिबेला उसलाई आवाज आउँछ — “धोबिया वै धोबिया, अम्म न तोड, सक्के वीरे मारा भाभी शालू गिदा बोड” (धोबी दाइ, आँप नटिप्नु, साख्खै दाजुले मारे मलाई भाउजूको के दोष) जतिबेला कोही मानिस त्यो रुखको नजिक पुग्थ्यो त्यसबेला त्यो रूख भन्ने गथ्र्यो — “सक्के वीरे मारा भाभी…” ।” त्यति बेलामा रुखले बोलेको सुन्दामा पनि अचम्म लाग्ने र लयात्मक रूपमा गाउने भएकाले मलाई त्यो कथा खुब मन पथ्र्यो, अनि म जिद्दी गरेरै आमासँग त्यही कथा बारम्बार सुन्ने गर्थें । अरू कुराहरू बुझ्ने मेरो उमेर भएको थिएन ।

उपर्युक्त कथाको बारेमा सोच्ने काम धेरै पछि भएको थियो । आमासँग भेट्न आएकी एक महिला कोठामा बसिरहेकी छिन् । म पनि त्यहीं छु । उनी मलाई सोध्छिन् कि हामी दाजुभाइ, दिदीबहिनी गरेर कति जना छौं । मलाई उत्तर दिन समय लाग्छ । औंलामा गन्छु अनि उत्तर दिन्छु – “छ दाजुभाइ, तीन दिदीबहिनी ।”

“यसले त काकाकाकी, ठूलाबा, ठूलीआमाका छोराछोरी पनि गनेको रहेछ ।”

मलाई राम्रोसँग थाहा छ कि आमाका यी शब्दहरूले मलाई अचम्म पारेको थियो । यस्तो लाग्यो कि केही अमूल्य वस्तु मसँगबाट खोसिएको होस् । पूरै दिन उदासीले घेरिएर बसें । शील मेरो साख्खे दाजु हुनुहुन्न ? शम्मी मेरी बहिनी होइन ? मन यो मान्न तयार थिएन । यही सोचकै क्रममा एकाएक झट्काका साथ आमाले गाएर सुनाउनु भएको पंक्तिहरू दिमागमा चम्किन्छ — “सगे वीरे मारा भाभी शालू गिदा बोड ।” त्यस दिन पहिलोपल्ट मेरो मुटु भारी भएको महसुस गरें । काका, ठूलाबाका छोराछोरी दाजुभाइ दिदीबहिनी हुँदैनन् ? सहोदर ! परको ! परको ! सहोदर ! यो के चक्कर हो ? मेरो मुटुको भारीपन र मेरो भावनात्मक सोचका साथ पहिलो रचनाले म भित्र जन्म लिएको थियो ।

लघुकथाको सन्दर्भमा पनि जीवनयात्राका विभिन्न पलहरू सानासाना अनुभूतिका रूपमा मनोमष्तिष्कमा छाउने गर्छन् । अनूकूल परिस्थितिहरू बन्ने बित्तिकै जब ती अनुभूतिहरूमा साहित्यिक रूपका साथ जीवनको तातो रगत दौडन थाल्छ, जब त्यसका साथ त्योसँग सम्बन्धित केही विचारहरू व्यवस्थित भएर घुलमिल हुन्छन्, त्यसपछि बल्ल लघुकथा कागजमा उतार्न पाउँछु । मेरो एउटा लघुकथा छ — ‘यम के वंशज ।’ आफ्नो कुरा सायद म यो रचनाको माध्यमबाट अझ प्रष्ट पार्न सक्छु । थुप्रै कष्ट सहेर मेरी पत्नीले अस्पतालमा एउटा छोरो जन्माएकी थिई, जसको चौबिस घण्टा पछि मृत्यु भएको थियो । स्टाफ नर्सले बच्चाको लास दिनुभन्दा पहिला एउटा प्रमाणपत्रमा हस्ताक्षर गराएकी थिई जुन यसप्रकार थियो — “म आफ्नो मृत बच्चाको लास लैजाँदै छु । म अस्पतालबाट प्राप्त चिकित्साबाट सन्तुष्ट छु । मलाई यहाँका कोही कर्माचारीहरूसँग कुनै गुनासो छैन । बच्चाको लास अस्पतालबाट प्राप्त गर्दै गर्दाको मेरो मनस्थिति कस्तो थियो होला, सहजै अनुमान लगाउन सकिन्छ । प्रमाणपत्रमा हस्ताक्षर गर्ने बेलामा लघुकथा लेखन या यो विषयमाथि ध्यान दिने कुनै प्रश्नै थिएन । एक अनुभूति जरूर भएको थियो जुन दिमागमा कहीं अङ्कित भएको थियो ।

केही दिन पछि अस्पतालको इमरजेन्सी वार्डमा एक नातेदारलाई भेटन आउनु थियो । त्यहाँ नर्स र वार्ड ब्वायले एक ग्रामीण महिलासँग गरेको दुव्र्यवहार देखेर मन खिन्न भयो । अचानक प्रमाणपत्रमा गरेको हस्ताक्षर गरेको घटना जीवन्त भयो र यसै घटनासँग घुलमिल भयो अनि यसप्रकार ‘यम के वंशज’ को रूपमा एक लघुकथाले जन्म लियो ।

_____________________________यमको वंशज

“बोइनी !” – उसले पीडाको चित्कारका साथ पुकारी – “ए नर्स बोइनी !”

इमरजेन्सी वार्डको नर्सिङ स्टेसनमा बसिरहेकी नर्स उँघिरहेकी थिई । उसले त्यो महिलाको पुकारतर्फ कुनै ध्यान दिइन । आज ऊ अलि फुर्सतमा थिई । यही गाँउकी महिला बाहेक आज कुनै पनि केस थिएन ।

“बोइनी, यसो हेर्दिनुस् न । आबो त दुखेर खप्नै भोएन भन्या !”

“के भो ?” –”नर्स रिसले खुट्टा बजार्दै महिला भए छेउ आई र भनी – “किन चिच्याइरा’को हँ ?”

“एकदम दुख्यो ।” – पीडाले उसका दाँत कट्कटाए ।

“नदुखेर के मज्जा आउँछ त ! पेटमा बच्चा हाल्ने बेलामा किन नसोचेको ? चुपचाप पल्टिराख्ने । भोलि बिहान नभई केही हुन्न ।” नर्सले ठूल्ठूला आँखा बनाउँदै बरबराउन थाली – “महारानीलाई दुख्यो रे, पूरै अस्पताल उचालेर राख्नुभा’छ !”अनि ऊ फेरी नर्सिङ स्टेसनतर्फ फर्किई ।

उता केहीबेरको शान्ति पछि त्यो महिलाले फेरी रुवाबासी सुरु गर्न थाली – “ए नर्स बोइनी ! ऊफ् ! दया गरेर डाग्डरनी बोइनीलाई बोलाइदिनु न । ऐया, ऐया ऊफ् ! आबो त आउनू ! मोरिसकें । आबो त बाँच्दिन म ।” रुवाबासीको आवाज चर्को हुँदै जाँदै थियो अनि नर्स भने आरामका साथ उँघिरहेकी थिई । केहीबेर पछि त्यो महिलाको चिच्याउने क्रम रोकियो ।

“नर्स बोइनी!” आबो त आउनुस् र यो बच्चा हृयाँबाट उठाउनुस् ! महिलाको थकित आवाज सुनेर नर्स झस्किई र अनि उसले लापरबाहीका साथ आङ मर्काई ।

“ए माया !” नर्सले सरसफाइ गर्ने परिचारिकालाई बोलाई – “जाऊ त बाह्र नम्बर बेडको बच्चा छुटाइदेऊ । यी गाउँका पाखेहरू यति फोहरी हुन्छन् कि यिनीहरूको नजिक जानासाथ उल्टी आउँछ मलाई त ।”

वार्ड ब्वाय मूलढोकामा आएर चिच्यायो – “बाह्र नंबरको मान्छे आउनुस्, नर्सले बोलाउनु भा’छ ।”

अस्पताल भन्दा बाहिरको भिडबाट एउटा गाउँले मान्छे दौडँदै आयो र वार्ड ब्वायसँगै भित्र नर्सिङ स्टेसनसम्म पुग्यो । ऊ सङ्कोचका साथ एक कुनामा उभिइरहृयो । के भएको थियो त्यसको मेलो मेसो केही पाएन ।

“यहाँ सही गर्नुस् ।” – स्टाफ नर्सले एउटा कागज ऊतिर बढाउँदै भनिन् । उसले इशाराले औंठाछाप लगाउने जानकारी दियो । केही नसोचिकन उसले कागजमा औंठाछाप लगायो र एकातिर उभियो । कागजमा लेखिएको थियो – “म आफ्नी पत्नी र बच्चाको लाश लिएर जाँदैछु । म अस्पतालमा गरिएको चिकित्साप्रति पूर्ण रूपमा सन्तुष्ट छु । मलाई यहाँका कुनै पनि कर्मचारीसँग कुनै गुनासो छैन ।”

यो कुरा स्पष्ट छ कि कथाको विषयवस्तु, लेखकीय दृष्टि एवं सम्बन्धित विचार मिलेपछि त्यसले एक रचनाको रूप लिन्छ । मैले यहाँ रचना अथवा कथा शब्दको प्रयोग जानिजानिकन गरेको हूँ किनभने उपर्युक्त कथन साहित्यको जुनसुकै विधाका लागि पनि प्रयोग गर्न सकिन्छ । धेरैजसो रचनाहरूको विषयवस्तु हामी जीवनका उहापोहहरूमा पाउन सक्छौं । यो देखिएको छ कि आजभोलि लेखिने गरेका धेरैजसो लघुकथाहरूमा मात्र विषयवस्तु, घटना या अनुभूतिहरूको वर्णन मात्र हुन्छ । लघुकथाको भाग बन्नका लागि यो जरूरी छ कि त्यो घटना, अनुभूति या विचारलाई सही दिशा र दृष्टि मिलोस्, लेखकले त्यसमाथि मनन गरोस्, अनि त्योसँग सम्बन्धित विचारले पनि उसमाथि जन्म लेओस् ।

कुनै स्थिति, घटना, अनुभूति या विचारले नै हामीलाई लेख्नका लागि प्रेरित गर्दछ । यसलाई हामी कुनै रचनाको कच्चापदार्थ पनि भन्न सक्छौं । वस्तुतः कच्चापदार्थ प्रशोधन हुने प्रक्रिया नै विषयवस्तु या घटनालाई दृष्टि मिल्नु हो । लेखकभित्र कुनै रचनाको कच्चापदार्थ प्रशोधन हुने प्रक्रिया नै लेखकको रचनाप्रक्रिया हो । मेरो विचारमा लघुकथाकै रचनाप्रक्रियामा पनि उपन्यास तथा कथाहरूको जस्तै बर्सौंवर्ष पनि लाग्न सक्छ ।

लघुकथामा लेखकलाई आकारगत लघुताको अनिवार्यताका साथै आफ्नो विचारको सम्प्रेषण गर्नु पनि हुन्छ । यसमा कथामा जस्तै घटनाहरू, वातावरण निर्माण एवं चरित्र चित्रणद्वारा पाठकहरूलाई बाँध्ने या रिझाउने अवसर हुँदैन । लघुकथाको समापन बिन्दु कथा तथा उपन्यासको तुलनामा अतिरिक्त श्रम एवं रचना कौशलको अपेक्षा राख्दछ । लघुकथाको समापन विन्दुलाई त्यो विन्दुको रूपमा बुझ्न सकिन्छ जसमा रचनाले आफ्नो ढाँचाको मूल आवाजलाई दोहो¥याउँदै पूर्णता प्राप्त गर्दछ । मलाई लाग्छ कि लघुकथाको रचना प्रक्रियाको सिलसिलामा लेखकले आकारगत लघुता एवं समापन विन्दुलाई ध्यानमा राखेर नै घटनाको तानाबाना बुन्नुपर्छ र यही नै लघुकथाको रचना प्रक्रियाको सिलसिलामै पात्रहरूको चयन एवं लघुकथाका लागि उपर्युक्त स्थलमाथि गम्भीरताका साथ विचार गर्नुपर्छ । कहिलेकाहीं कुनै संवाद कुनै पनि पात्र विशेषबाटै भनाइ दिएरै पनि लघुकथाको उद्देश्य पूर्ण हुन सक्छ । त्यहाँ यही विन्दुमाथि गरिएको अतिरिक्त मनन हामीलाई त्यो संवाद कुनै बच्चाको मुखबाट संप्रेषित गरेर निष्कर्षमा पुग्न सकिन्छ जसबाट लघुकथाको प्रभाव अझै अरू व्यापक हुन्छ ।

आफ्नो कुरालाई अझै प्रष्ट पार्नका लागि एक घटनाको उल्लेख गर्न चाहन्छु । म र मेरो दाजु रामेश्वर काम्बोज ‘हिमांशुजी दिल्लीबाट बरेली फर्कंदै थियौं । रेलको ट्रयाकमा भएको कुनै खराबीको कारण हाम्रो ट्रेन चंदौसी स्टेसन पुगेको थियो । हामीलाई चंदौसी स्टेसनमा पाँच घण्टा व्यतीत गर्नु परेको थियो । त्यहाँ प्रतीक्षालयमा थुप्रै कलेजका केटाकेटीहरू जम्मा भएका थिए । उनीहरू जुवा खेलिरहेका थिए, अश्लील चुटकिलाहरू सुनाइरहेका थिए, त्यहीं वरिपरिको वातावरणसँग बेपरबाह एउट स्कुले केटो आफ्नो होमवर्क गर्न जुटेको थियो । मैले ऊसँग कुराकानी गरें । उसले भन्यो कि ऊ नजिकैको गाउँबाट सधैं पढ्न आउने गर्छ । अरू दैनिक यात्रुहरू जस्तै ऊ पनि ट्रेनको प्रतीक्षा गरिरहेको थियो । उसले यो पनि बताएको थियो कि उसको घरमा उसकी आमा मात्र छिन् । उसको बाबु बम्बईमा कतै जागिरे छन् अनि वर्षको एक पटक घर आउँछन् । जुवा खेल्दै गरेका कलेजका केटाहरूको बिचमा सानै उमेरको यो केटोको सन्तुलित व्यवहारले मलाई सोच्न विवश गरिदिएको थियो । मलाई त्यतिबेलै लागेको थियो कि मलाई कुनै लघुकथाका लागि कच्चापदार्थ प्राप्त भयो । केही महिना पछि मैले यही स्थितिमाथि मध्यनजर गर्दै ‘‘स्कुल’ लघुकथा लेखें जुन यसप्रकार छ —

_____________________________स्कुल

“मैले भनिसकें नि, गाडी ढिलो हुन्छ भनेर,” स्टेसन मास्टरले झर्को मान्दै भन्यो — “छ घण्टा भन्दा अगाडि त आउँदैन, अब गइहाल यहाँबाट । हिजोदेखि किन यति सताइरहेको !”

“हजुर नरिसाउनुस् न,” ग्रामीण महिलाले हात जोडेर भन्न थाली — “मलाई एकदम चिन्ता भइरहेको छ, छोरोले घर छाडेको तीन दिन भइसक्यो । ऊ हिजै आउनु पर्ने । पहिलोपल्ट घरबाट एक्लै बाहिर निक्लेको हो ।”

“अनि छोरोलाई एक्लै किन पठाएको त ?” महिलाको अनुनयका कारण नरम हुँदै उसले सोध्यो ।

“मति भ्रष्ट भएको रहेछ मेरो” — उसले रुन्चे स्वरमा भनी — “छोराको बाऊ छैनन्, म गुन्द्री, दरी बुनेर घरखर्च चलाउँछु । केही दिनदेखि काम गरेर दुई पैसा कमाउँछु भनेर जिद्दी गरिरहेथ्यो । टोकरी भरी चना लिएर निक्लेको थियो ।”

“चिन्ता नगर्नु, आइहाल्छ नि ।” —” उसले सान्त्वना दियो ।

“हजुर, एकदमै सिधा छ मेरो छोरो, उसलाई राति एक्लै निद्रा पनि लाग्दैन । मसँगै सुत्छ । हे भगवान् ! यो दुई रात उसले कसरी काट्यो होला ? यस्तो जाडोमा ऊसँग ऊनी कपडा पनि त छैन ।” ऊ सुँक्कसुँक्क गर्न थाली । स्टेसन मास्टर आफ्नो काममा लाग्यो । ऊ बेचैन भएर प्लेटफार्ममा यताउता टहल्न थाली । त्यो गाउँको सानो स्टेसनमा चारैतिर अन्धकार व्याप्त थियो । उसले मनैमन निश्चय गरी कि भविष्यमा आफ्नो छोरोलाई कहिल्यै पनि आफूबाट टाढा हुन दिने छैन । ट्रेन चर्को आवाज निकाल्दै त्यो सुनसान स्टेसनमा आइपुग्यो । ऊ श्वास रोकेर, आँखा च्यातेर ट्रेनका डिब्बाहरूतर्फ हेरिरहेकी थिई । एउटा आकृति दौडँदै आयो । नजिकबाट उसले देखी — तनक्क तन्किएको गर्धन, ठूलाठूला आत्मविश्वासपूर्ण आँखाहरू, ओठमा हल्का मुस्कान ।

“आमा, तपाईं यति राति यहाँ आउनु नहुने थियो ।” – आफ्नो छोरोको गम्भीर, चिन्तायुक्त आवाज उसको कानमा प¥यो । ऊ छक्क परी । उसलाई विश्वास भएन यो तीन दिनमै उसको छोरो यति ठूलो कसरी भयो ?

यदि यो लघुकथाको मूल घटनासँग तुलना गर्ने हो भने थाहा हुन्छ कि रचना प्रक्रियाको सिलसिलामा यसमा घटनास्थल, क्रम, पात्र आदि बिल्कुल फेरिएका छन् । यसो गर्दा लघुकथाका लागि अनिवार्य आकारगत लघुता एवं समापन विन्दुलाई ध्यानमा राखेर अधिक प्रभावी प्रस्तुतिका लागि परिवर्तन गरिएको छ ।

(साभार ः योगराज प्रभाकरको फेसबुक वालबाट)
अनुवादः एकदेव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *