Skip to content

सम्झनाको दशैं


जीवनभरिको आशीर्वाद लिएर
म टाढा आएको छु आमा
आफ्ना लालाबालालाई तिमीसामु
पठाइएको छु आमा ।

तिम्रा ती बुढेसकालका चाउरी परेका हातले
यो कानमा जमरा सिउरिन त कहाँ मन नभएको हो र
तर जिम्मेवारीले बालाईजस्तै मलाई लाहुर
पठाइएको छ आमा

तिमीले पकाएका खसीको मासुमा
कुहिनासम्म आउने गरी झोल खाएको अँझै याद छ
तिमीले पस्किने गरेका भातका हरेक चोइली
थपी थपी त्यही झोलसँग खाएको अँझै याद छ आमा
बाले शुक्रबारे हाटबाट ल्याइदिनुभएको
ती गञ्जी र कट्टुले त आज
घरको दैलो र दलान पोत्दै होलान्
तर मलाई अँझै शुक्रबारे हटियाको याद छ आमा

तिम्रा ती हातले मेरा निधार र कानमा स्पर्श नपाए पनि
तिम्रो आशीर्वाद मेरा निधार र कान
अँझै पनि त्यही बडादशैंको जस्तै उज्यालो छ आमा

विजया दशमीमा तिमीलाई धेरै सम्झिने छु आमा
यो दशैं त टाढा भए
अर्को दशैं आशीर्वाद थाप्न पक्कै आउनेछु आमा ।

#सङ्गीता सुवेदी
सिन्धुली, भिमान
कृपया प्रतिक्रियाको आशा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *