Skip to content

सप्तरीमा महाकविको सम्झनामा साहित्यक गोष्ठी

20191030_NandaLalAcharya-News-01


११ कार्तिक २०७६
राजविराज ।

प्रदेश सभा सदस्य एवम नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन् ।

प्रगतिशील लेखक सङ्घ सप्तरीले महाकवि देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा सप्तरीको कञ्चनरुपमा आयोजना गरेको कार्यक्रममा मण्डलले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हुँदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वर्धन हुँदै गएको धारणा व्यक्त गरे । देवकोटाका सिर्जनाहरू साहित्यका अनुरागीहरुको लागि मार्गदर्शक भएकाले उनका रचनाबाट वर्तमान सात्यिकारहरुले धेरै सिक्न सक्ने मण्डलले चर्चा गरे ।

प्रतिनिधि सभा सदस्य सरीता गिरीले सङ्ख्यात्मक र गुणात्मक दुवै रूपमा नेपाली साहित्यको भण्डार भर्नुभएका देवकोटाका सशक्त र सामाजिक चेतनायुक्त रचनाले नेपाली साहित्यको गरिमा बढाएको बताइन् ।

महाकवि देवकोटाको साहित्यका विभिन्न विधामा रहेको योगदानमाथि प्रकाश पार्दै सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहरकुमारले महाकवि देवकोटा नेपाली साहित्यको काव्यसागरमा जलदेवता रहेको बताए । साहित्यकार नन्दलाल आचार्यले बहुआयमिक व्यक्ति देवकोटा एक्लैले ठुलो संस्थाले लामो समय लगाएर गर्नुपर्ने काम गरेर गएको बताए ।
कार्यक्रममा महाकविको सम्झनामा साहित्यकार आचार्यले लघुकथा, रोमा लम्सालले गजल, मेघराज पौड्याल, मनोहरकुमार, गिरीराज पौडेल, ईश्वरीप्रसाद नेपाल, सुजता बुढाथोकी, प्रज्ञा कोइरालाले कविता वाचन गरे ।

प्रलेसका उपाध्यक्ष मेघराज पौड्यालको अध्यक्षमा सम्पन्न कार्यक्रममा कञ्चनरुप नगर प्रमुख वसन्तकुमार र सप्तकोशी नगर प्रमुख उत्तम शर्माले देवकोटाको साहित्यिक योगदान र लोकप्रियताको चर्चा गर्दै हरेक विधामा उनको उत्तिकै उत्कृष्ट योगदान रहेको बताए । प्राध्यापक विश्वराज खतिवडा, खिलानाथ पोखरेल, सरोजकुमार भण्डारीले महाकवि देवकोटाको साहित्यले सत्मार्ग र सत्कर्ममा लाग्न प्रेरित गरिरहेको बताए ।

महाकवि देवकोटाको जन्म विक्रम सम्वत १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौं डिल्लीबजारमा भएको थियो । दस वर्षको उमेरमा कविता लेख्न सुरू गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने, नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त त्रिपाठी निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भने नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत देवकोटाले महत्त्वपूर्ण योगदान दिए । शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नू/गराउनू र वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने क्षमता थियो । उनको मृत्यु ५० वर्षको उमेरमा क्यान्सर रोगले वि.स.२०१६ साल भाद्र २९ गते भयो ।

तस्विरहरू : मनोहर पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *