Skip to content

सम्झनामा पारिजातः कृतिको भूमिका


१. पूर्वसन्दर्भः
स्वर्गीय बुद्धिप्रसाद घिमिरेसँगको चिनाजानी मेरा लागि आधा शताब्दी जति पुरानो हो । मेरा दाजु प्रा. राजेन्द्रका सहपाठीका हैसियतले वनारसमा नवीन छात्रावासमा बस्ता हाम्रो कोठामा उहाँको आतेजाते चलिरहन्थ्यो । ठट्टा गर्ने स्वभाव भएको कारणले उहाँ मेरा पनि अनन्य र घनिष्ट अग्रज साथी हुन पुग्नुभो— ई.१९७० बनारसमा बढ्न बस्तादेखिकै कुरा हो ।
पछि म मदन पुस्तकालय काठामाडौंमा हुँदा पनि उहाँसँग भेट भइरहेकै थियो । म झापा आएपछि र अलिकपछि ता सहकर्मीका रुपमा समेत यहाँ उहाँको सान्निध्यता रहन गयो । इलाममा कार्यरत घिमिरे कार्यको क्रममा केही वर्ष मेचीमा पनि सरुवा भएर आउनुभयो र पुनः इलामतिरै सरुवा लिएर फिर्नुभयो । अलिक पछि मैले मेची बहुमुखी क्याम्पसको स्नातकोत्तर तहको रेखदेख गर्ने अभिभारा पाएपछि र उहाँले पनि इलाममा सोही अभिभारा पाएको बेला हाम्रो माझमा एकपदीय अनुभवका बिन्दुहरु आदानप्रदान हुन थाले । माथि तल अर्थात् इलाम झापामा हामी दुईका बिचमा आतेजाते हुन थाल्यो । कहिले अन्य विशेष कुराहरुमा र कहिले थेसिसका अन्तर्वार्तामा आउजाउ हुन थाल्यो । पुरानै साथी भाइ भएको नाताले घनिष्टताको कुरा हुने नै भो । अझ हामीबिच शैक्षिकमैत्री सम्बन्ध ता सदा नै रहन गयो । इलाम सरुवा भएपछि उहाँको र मेरो भेटघाट नियमित हुन सकेन तापनि कतिपय कार्यक्रमहरुमा भेटाघाटी भई नै रह्यो ।
यसरी मेरो स्मृतिमा उहाँसँगका बसउठका विम्बहरु वा तरेलीहरु छँदैछन् र ताजै पनि छन् । विधिको थप्पड उहाँमाथि अचानक परेकोले अहिले उहाँ हुनुहुन्न म भने संयोगवश छँदैछु । अर्थात् अहिले म छु, उहाँ हुनुहुन्न । यो सन्दर्भेतर कुरा यहीं सकेर अब मूल प्रस्तुत ‘सम्झनामा पारिजात’ शीर्षकका यसै कृतिका परिधिमातिर लाग्ने प्रयास गरिनेछ ।
२. प्रस्तुत कृतिसँगको सन्दर्भः
‘सम्झनामा पारिजात’ नामक प्रस्तुत कृति माथि चर्चा गरिएका स्व. बुद्धिप्रसाद घिमिरेको शेषपछि उनकी धर्मपत्नी टीका घिमिरेबाट अधूरै रहेका कार्यहरुमध्ये आफ्नातर्फबाट स्मृतिविम्बका रुपमा रचना गर्नु भएको हो । पारिजातकै जीवनलीलाका परिधिमा रचिएका रचनाहरुको सङ्कलन भएकोले यसलाई खण्डकाव्यका छेउछाउको कृतिका रुपमा लिन सकिने छिपछिपे स्थितिसम्म देखिन्छ । श्लोकको सङ्ख्यालाई मात्र गणना गरेर हेर्दा (१२३ श्लोक) यसलाई खण्डकाव्यको परिचयभित्र बाँधेर हेर्न पनि सकिएला तर खण्डकाव्यका अन्य तपसिलहरुबाट यसमा खण्डकाव्यसम्मत कुराहरु कम भएकोले त्यस रुपमा तोक्न सक्ने स्थिति रहेन । अर्थात् खण्डकाव्यका पारम्परिक परिचयमा यसलाई कस्न कठिनाइ हुने हुँदा गुच्छकाव्य भन्नु नै सान्दर्भिक हुन सक्छ । एक पूmलदानीमा हालिएका एकै जातका धेरै ओटा फूलहरुको गुच्छा जस्तो लाग्ने भएकोले गुच्छकाव्य भन्नु उचित लागेर यसो भनिएको हो ।
इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गरेर जीविका गर्नु हुने बुद्धिप्रसाद घिमिरेको असायिक निधनबाट परेका पीडाका केही लहरहरु यस कृतिमा छन् । कृतिको केन्द्रबिन्दुका रुपमा पारिजातको स्थिति छ । बुद्धिप्रसाद घिमिरेले साहित्यकार पारिजातका बारेमा अध्ययन गर्न र विशेष रुपमा निजमाथि अनुसन्धान गर्न चाहेको इच्छा इच्छामा मात्र रहेको कुरा खुलेको छ र तिनै इच्छा सकेसम्म कविताका माध्यमबाट निजको अवशानपछि टीकाज्यू कायममुकायमका रुपमा वा निमित्त कार्यबाहक भएर आफ्ना क्षमता र अध्ययनका अधीनमा रहेर यो कृति तयार गर्नुभएको हो । अर्का शब्दमा भन्नु पर्दा पतिको अधुरै रहेको भावनालाई साकार पार्ने हेतुले यो कृति रचिएको हो । अतः यो कृति पारिजातबारे दिवङ्गत पतिको सोचलाई केलाउँदै पारिजातको परिधिमा परिभ्रमित छ । यही हो यस कृतिका रचनाहरुको विषयवस्तु वा सन्दर्भ । स्वर्गीय व्यक्तित्वबाट राखिएको सोच अधुरो नरहोस् भनेर साहित्यकार पतिकी धर्मपत्नी कविले निजका पतिको शेषपछि तयार गर्नु भएको हो । यसको भूमिकाका रुपमा यो कुरा बुझिराख्नु पर्ने भएकोले यति यहाँ उठान गरिएको हो ।
३. कृतिको वस्तुगत परिचयः
प्रस्तुत लघुआकारको कृतिमा जम्मा २० ओटा छन्दोबद्ध रचनाहरु छन् । शास्त्रीय छन्दमा रचिएका यी रचनाहरुमा बढीमा दश श्लोक र घटीमा चार श्लोकसम्मका छन् । टीकाजीको रुचि शार्दूलविक्रीडित छन्दमा बढी रहेको किन बोध हुन्छ भने यसका बिस ओटा रचनाहरुमध्ये १४ ओटा रचना यसै छन्दमा मात्र रचिएका छन् । जुनसुकै रसका लागि उपयुक्त छन्द भएकोले यसको उपयोग समुचित छ र बाँकी छ ओटा रचनाहरुमध्ये इन्द्रबज्रामा दुई ओटा, मन्दाक्रान्तामा दुई ओटा र भुजङ्प्रयात एवम् श्रग्धरामा एक एक ओटाको छन् यस कृतिको छन्दतथ्याङ्क यो छ । यी रचनाहरुको केन्द्र र वण्र्य विषय पारिजात हो । एक त छन्दमा र अर्काे लघुआकारका यस कृतिमा छन्द रचनाहरुबाट विशाल व्यक्तित्वकी धनी पारिजातको समग्रतालाई केही मात्र छुन सकिएको होला तापनि उनका कतिपय विशेषताहरु यी रचनाहरुमा छिपछिपे भएर आएकै छन् । पारिजातको जन्म, बाल्यकालीन स्वभाव र निजको अध्ययन, लेखन, चिन्तन, स्वभाव, खान, पान, रहन, सहन, संस्कार, राजनीतिक आस्था आदिका सानातिना कुराहरु यहाँका कवितामा छन् । विचारमा स्थिरता आउँँदा नआउँदा निजको जीवनमा आएको भयाबह रोगका कारण अपाहिज भएर बाँच्न विवश पारिजातको विसंगत सोच र विचार मौलाएको छ । अस्तित्ववादी दर्शन झाङ्गिएको छ । दार्शनिक पक्षमा गम्भीर चिन्तन मौलाएका छन् । पारिजातका यी र यस्तै नाना कुराहरुमाथि साङ्केतिक र संक्षिप्त रुपमा यस कृतिका रचनाहरुले स्पर्श गरेका छन् ।
दार्जिलिङमा विष्णुकुमारी वाइवाका रुपमा पारिजातको जन्म र निजको बाल्यकालको सुमधुर तथा मार्मिक चित्रणबाट कविताक्रम स्ुरु हुन्छ । बाल्यकालमा नै निजकी माताको निधनका कारण मातृस्नेहबाट वञ्चित हुन पुगेकी बालिका पारिजातको दुःखमय बाल्यकालको बयानबाट कविताको क्रम सुरु भएर निजको बाल्यकाल, विद्यालयको जीवन, साहित्यतिरको प्रवेश, प्रवेशपछि गरिन थालेका रचना, जीवनदर्शन, निजसमेतद्वारा स्थापित राल्फाली अभियान आदिमा कविताका पङ्क्तिहरु परिभ्रमित छन् । र कवितामा बुद्धिप्रसाद घिमिरेका अधूरा इच्छाहरुलाई सङ्केत गर्दै समापन गरिएको छ ।
४. काव्यिक दृष्टिकोणबाट ः
यहाँका रचनाहरुलाई परम्परागत शास्त्रीय ढाँचाका आधारमा नै अवलोकन गर्नु पर्छ । सो आधारमा हेर्दा शास्त्रीयताको मर्यादालाई आवश्यक मात्रामा पालन गरिएको छ । सानातिना कुराहरुबाहेक कवितामा खासै त्रुटि रहेका देखिन्नन् । नेपाली पद्यकविताहरुमा देखिने सुललितपन र रसमयताको समुचित योजना बाँधिएको देखिन्छ । विशेष गरी करुण र शान्तरसप्रधान कविता भएको हुँदा सो अनुकूलका शब्दहरुको चयन गरिएकै छ । उदाहरणबाट यो भनाइलाई पुष्टि गर्न सकिन्छ ः
छैनौ ए अपराजिता भुवनमा ऐले कहाँ छौ तिमी
म्हेपीको घर बिर्सिएर सहजै बैनी सुकन्या पनि
जस्को प्रेम विवेक प्यार ममता हुन्थ्यो र सञ्जीवनी
उस्कै आँचल हातमा सहजले तिम्रो गयो जीवनी ।।
अन्तिम यात्रा
यसबाहेक कुनै कुनै कवितामा वीररसको पनि छनक पाइन्छ । पारिजातलाई निर्धा नेपालीको पक्षधरका रुपमा तथा निजहरुमाथिका दुःख दर्दको नजिकबाट अनुभव गर्ने र कलम बोकेर विद्रोह गर्ने सशक्त व्यक्तित्वका रुपमा पनि चित्रण गरिएको छ, थोरैमा भए पनि यहाँ निकै सशक्त विद्रोहात्मक स्वर गुञ्जिएको छ ।
तिम्रा ओठ र हात बारुद थिए मस्तिष्कका चिन्तन
त्यो मस्तिष्क बनेछ बन्दुक जसै विद्रोह आन्दोलन
सल्क्यो बारुद शब्द शब्द पहिले आवाज ठूलो गरी
जन्मायौ युग एउटा कलमले नेतृत्व ऐले घरी ।।
तिमीलाई पुष्पाञ्जली
प्रायः सबै कविताहरु भावमय र प्रवाहित शैलीमा निर्मित छन् र रसमय छन् भन्ने कुरा तलका हरफहरुले पनि सिद्ध गर्दछन्—
रित्तो काख र प्यार दिव्य ममता रित्तो छ बस्ने घर
साह्रै, शून्य मसानघाट सरिको आमा विनाको घर
आमा साथ भए त प्रेम उनको बात्सल्य छाती भरी
हुन्थ्यो, आज रहेन यो स्मृति कतै को हुन्छ आमा सरी ।।
आमा विनाको घर
आलङ्कारिकताका आधारमा हेर्दा यसमा शब्दालङ्कार अधिक छन् । अर्थालङ्कारहरुमा स्वभावोक्ति अलङ्कारको प्रयोग पाइन्छ । अनुप्रास र अझ अन्त्यानुप्रास अलङ्कार निकै सहज रुपमा आएका छन् । पठनमा सहजता र श्रुतिमधुर बनाउन मद्दत गर्ने अन्त्यानुप्रास अलङ्कारको राम्रो प्रयोग छ ।
छन्द विधानका दृष्टिले पनि ‘सम्झनामा पारिजात’ लाई नियाल्न सकिन्छ— यस कृतिका रचनाहरुमा छन्दको यथाशक्य समुचित योजना गरिएको छ । करुण र शान्त रसका छेउछाउमा कविताहरु परिभ्रमित छन् यस अनुकूलका पदहरुको उपयोग गरिएका छन् र सोही अनुकूलका छन्दको समेत प्रयोग गरिएको छ । शास्त्रीय छन्दको प्रयोगमा समुचित शब्दहरुको आवश्यकताले यदाकदा निकै कठिनाइ हुन पुग्छ । यसैले छन्द मिलाउन आवश्यक नै नभएका ठाउँमा पनि एकाक्षरी निपात र सर्वनाम लगायतका केही शब्दहरुलाई जोडजाड गरेर नघुसाई कविहरुले धर पाउँदैनन् । यो उहिलेदेखिकै चलन पनि हो । उक्त समस्या टीकाजीलाई नपर्ने कुरै भएन ।
लुटाएर त्यो बैंस मस्तिष्क सारा
सबै सम्पदा हुन् कि सन्तान मेरा
लठेब्री लुली वा छ लाटी भनाइ
दिएको छ सत्प्रेम सन्तानलाई ।।
निराश मन
५. र अन्त्यमा ः
सारांशमा प्रस्तुत कृतिभित्रका कविताहरु औसतमा छन् । कता हो कता हिरा नै छन् पनि भन्न सकिन्न र काँच नै छन् पनि भन्ने अवस्था ता हुँदै हैन । जे छन् औसतमा छन् । स्वादिला चखिला र प्रेय छन् । सम्भव भएसम्मको सुन्दर र परिष्कार गर्ने प्रयास सर्वत्र गरिएकै छ ।
अन्तमा प्रस्तुत कृति नेपाली कविताका लागि एक थप इटा हो । नेपाली कवितामा छन्दको पुनः जागरणको यस बेलामा यसको प्रकाशन हुनु एक गौरविलो विषय हो । नेपाली कविताको इतिहासमा छन्दमा कविता लेख्ने नारीहस्ताक्षर निकै कम छन् । मेची अञ्चलकै कुरा गर्ने हो भने इलाम नै त्यस्तो जिल्ला हो जहाँबाट नारी स्रष्टाहरु सशक्त रुपमा अघि आएका छन् । छन्दमा कविता कृति प्रकाशन गर्ने नारी हस्ताक्षर इलाममा प्रतिभा पौडेल नै पहिलो देखिएकी छिन् । उनको ‘गङ्गा’ खण्डकाव्य (२०६९) र ‘झुल्केघाम र तृष्णा’ (२०७३) पनि प्रकाशित छने । यसै कृतिकी रचनाकार टीका घिमिरे कविता कृति प्रकाशन गर्ने दोस्रो महत्वपूर्ण कविप्रतिभा हुन् । टीकाजीका ‘अन्तिमा भाइटीका’ (२०७३), ‘आमा’ (२०७४), ‘पूर्वको स्वर्ग इलाम’ (२०७५) प्रकाशित भइसकेका छन् र प्रस्तुत चौथो छन्दकविता कृति यहाँहरुका हातमा छ । यसरी उहाँहरुले थोरै अवधिमा महत्वपूर्ण स्थान लिइसक्नुभएको छ । अतः यस क्षेत्रमा कृतिहरु प्रकाशन गरेर आफ्नो परिचय दिइसक्नु भएको छ यो थप गौरविलो विषय हो ।
पतिका अधुरा इच्छालाई सकेसम्म साकार गर्ने जुन प्रयत्न टीकाजीले गर्नुभएको छ त्यो स्तुत्य छ । उहाँलाई यसका लागि बधाई छ र मेरा मित्र बुद्धिजीमा हार्दिक श्रद्धाञ्जली !
त्वदीयं वस्तु गोविन्दं तुुुुुुुुभ्यमेव समर्पये
भद्रपुर, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *