Skip to content

भाषामा विभक्तिहरु छुट्याई लेख्ने मित्रहरुका लागि आग्रह


जोडमा तोडमा भिड्छन् व्यर्थैमा जोडतोडले
के हुन्छ जोड्नमा लाभ के हुन्छ हानि तोडले ।।

जोडेर लेखिए एक नजोड्दा भिन्न अर्थ छ
पुर्खाको योग्यता जाँच्ने अबको तर्क व्यर्थ छ ।।

पुर्खाले जे दिए त्यो नै हाम्रा लागि छ वैभव
भ्रमको खेती गर्नेका नलागौं मित्र हो अब ।।

किमार्थ गल्ती देखिन्न जोडेर लेखियो भने
यद्यपि अर्थमा भेद देखिन्छ तोडियो भने ।।

जोड्दा अर्थ हुने भिन्न तोडमा भिन्न अर्थ छ
तोडमा नगरौं जोड अब त्यो तर्क व्यर्थ छ ।।

देखिएलान् कतै गल्ती पल्टाए इतिहासमा
मुखले छैन भन्दैमा जाडो हुन्न र माघमा ।।

कता के कसले जोड्यो त्यो छाडौं जे भयो भयो
करोडौं जनको बानी अब जोड्नतिरै गयो ।।

बनेको जे छ त्यो भन्दा लागौं निर्माणमा अब
बिब्ल्याँटो मार्ग रोजेर कहाँ पाइन्छ वैभव ।।

नगरौं तोड्नमा धन्दा आजैबाट घरी घरी
पृथ्वीले देश जोडेको तोड्ने काम भए सरि ।।

पुर्खाको जे छ निर्माण भाँच्नमा किन चम्कनु
अगाडि बढ्न छाडेर पछाडि किन लम्कनु ।।

पहिराइदिए माला दुष्ट सज्जन बन्छ र
भएको जे छ निर्माण तोड्दैमा अब बन्छ र

मानें लौ ध्वंशमै युक्ति गरेछौ रे निरन्तर
फेरि निर्माण गर्दैमा धरारा उही बन्छ र

बनाए अघि पुर्खाले श्रमस्वेद छरी छरी
सम्मान तिनमा छैन तिम्रो सोच कठैबरी।

तोड्ने छुट्ट्याउने भाँच्ने कामले शैल छुन्छ र
करोडौं जनको आस्था भाँचेर अब हुन्छ र ।

भत्किएको कुरा हेर्दै भन्नु के हाय हे हरि
अहिले साँधमा हाम्रो बैरी भित्र पसे सरि ।।

जोडिएको कुरा भाँच्न यत्न गर्छौ मरी मरी
बाख्राको खोरमा मानौं होला बाघ पसे सरि ।।

एकता हो महाशक्ति आत्मविश्वासको बल
जहाँ त्यो एकता हुन्न त्यहाँ भो वैरीको छल ।।

हिजोका दिनको हाम्रो हिज्जे नै आजको भयो
हज्जारौं जनको आस्था यसैमा अब देखियो ।।

हज्जारौं जनको आस्था फोरेर एक हुन्छ र
आरा लाएर काटेको धुलोले रुख बन्छ र ।।

हिज्जे नै मान हो हाम्रो भाषालेखनको धन
सनम्र गर्छ यो मान्छे नित्य नम्र निवेदन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *