Skip to content

कछुवा को हौ तिमी


कछुवा को हौ तिमी
किन अनि कहिले आयौ पृथ्वी
कहाँ हो खास तिम्रो घर
होलान तिम्रा पनि के के रहरहरू
किन आयौ हिडेर
कि दौडिएर आयौ ?

पत्थरहरुमा
कहाँबाट आयौ हतास हतास बगरबाट कि
खोलानालाबाट
भन पतालबाट हो
या हो आकाशबाट
कहाँसम्म हो सफर ?
कहाँबाट आयौ तिमी ?
किन आयौ दुरबाट फर्किएर
यमराजहरुको डरले पो हो कि
बनमारासँग पो तर्सिएर हो कि
बिचरा
सानो शरीरको ढाड पिठ्युँमा पनि हिमाल पहाड बोक्ने
भरिया मजदुर झै एकसुरले लुखुर लुखुर
कहाँसम्म जाने हो तिमी कहाँ छ तिम्रो परिवार
जञ्जिर र जञ्जालमा बेरिएर
किन हिंडिरहेछौ सिरमा सिङ्गै आफ्नु दरबार बोकेर
हरपल शान्त गम्भीर अनि थकित थकित
मेरो वर पिपल र जङ्गल नजिकै बुद्ध बन्न आएको
स्वयम सिदार्थ गौतम पो हौ कि ?
किन हेरिरहेछौ यसरी चकित चकित झै
लजावटी बिरुवा जस्तै गरेर
मेरा स्पर्शहरुमा
लज्जित लज्जित झै
कछुवा को हौ तिमी
किन र कहिले आयौ यो पृथ्वी ?

ईतिहास भन्छ:
धर्म भन्छ;
उहिले पृथ्वीमा पहिले पहिले तिमी आउदा
अनि तिमी आउनु अगावै
हामी आउनुभन्दा अगावै
समुद्रजलको बिसाल महासागर थियो रे
तिमीलाई पर्मेस्वरले पृथ्वीमा पानी पिउन पठाएको रे
कसरी मन्थन गर्यौ तिमीले त्यत्रो बिशाल पानी
कसरी अहिले बस्ती बनाइदियौ तिमीले धर्तीको त्यो तालमा
कस्तो अजीव तिम्रो कहानी
सूर्यले सप्तकोशी खानी सुकाए झै गरेर
भन कछुवा कसरी पियौ त्यत्रो पानी
बोतलमा राखेर
कि, या भन कि बोटुकामा राखेर
कि एकै पटक कुनै मतुवा
या जड्या जस्तै गरेर ?
कचुवा ! को ! हौ ! तिमी
किन अनि कहिले आयौ यो पृथ्वी ?

तिमीले उहिले उहिले मन्थन गर्न नसकेका
ती नदी सागरहरुमा अहिले डल्फिन अनि ह्वेलहरू बस्छन
तिमी उसको सन्त्रासले कापेर पो हो कि
नत्र किन कछुवा तिमी अँझै आफ्नै आहाराहरुको भोकमा
जिन्दगीभर जेल बोकेर हिडिरहेछौ
के तिम्रो त्यो सानू तन पनि अटाउने ठाउँ थिए र
ती भयङ्गकर महासागरहरुमा ?
ए ! कछुवा कस्ले बनाइदिएको हो बञ्जारा तिमीलाई
नत्र किन छुकुम्बासी जस्तै हिडिरहन्छौ कुनै सन्यासी झै गरेर
कछुवा ?

यो सिङ्गो धर्तीमा
बस्ती बसाउने ए कछुवा प्राणी
मान्छेहरुको महल मात्र देख्छु त म आज
सहरभर केवल सिङ्ग दरबार र बाघ दरबार मात्र देख्छु त
खोइ कहाँ छ अहिले खै
यो विशाल संसारमा
तिम्रो आफ्नु सुन्दर घर चाहिँ ?

गिद्द्द गिज्याइरहेछ, बाज जिस्काइरहेछ
तिमीलाई पनि त पखेटाहरू फिजाएर
मुक्ताकास उड्ने।कतिरहरहरू हुदो है
तिमीलाई पनि त बिमानमा बसेर
सबैभन्दा पहिले आफूले देखेको त्यो पहिलो पृथ्वी
अनि अहिलेको यो अन्तिम पृथ्वीबीचको अन्तरहरू हेर्न मन
लाग्दो हो है ?
परिचय, सायद
अन्धाहरुले जान्ने विषय हो:
परिवर्तन, सायद
समयले खोज्छ
कछुवा, आफैमा यस्तो एक अजीव जीव हो
निश्चय जस्ले बोकेको छ
अटाएको छ पृथ्वी आफ्नै छातीहरुमा
सडकको कुत्ता सँग पनि कापेको, माटोको मुसो सँग पनि कापेको
जमिनको मनुवासँग पनि कापिरहेको
कायर ! कातर ! ए कछुवा !
कुनै पुरानो साहुको बिगृएको मालबहाक बूढो ट्याक्टर झै
छुकछुक ! रुक रुक ! थुर ! थुर माया लाग्दो चालमा घिसृरहेछ ! /तर्सिरहेछ
कछुवा ! तिमी त ढुङ्गा हौ हैन र, ढुङ्गा जस्लाई दुनियाको के को डर
कछुवा ! तिमी त चट्टान हौ हैन र,
चट्टान त यो विश्वमा बलवान पो हुनुपर्ने हैन र ?

खै कहाँ छन् खै ती खरायाहरू
जस्ले तिम्रोसामु आएर हिजो हजार पटक
बारम्बार अहङ्गकार गरेका थिए
सधैं सधैं तिम्रो आफ्नै अनुहार लज्जित हुन्थिए
अफ्सोच आज उनीहरू हार खाएर
तिम्रो अनुहार हेर्नै नसकेर
शिर निहुरियाएर हिडेका छन्
जस्ले हिजो तिम्रो सामुन्ने आएर बारम्बार अहङ्गकार गरेर गएका थिए
कहाँ छन् खै ती चतुर खरायोहरु ?
खै कहाँ छन् ती भुत्ते कुकुरहरु ?
वाहा …
कछुवा
वाहा …
तिमीले त आज कति सजिलै प्रमाणित गरिदियौ कि
“म कुवा वा इनारमा कुण्ठित केवल कुनै भ्यागुताहरू हैन भनेर”

कछुवा लौ आऊ आज
तिम्रो जित भएको छ
तिम्रो प्रयास सफल भएको छ
लाज मानेर झुकेको अभिनय गरेर नहिड
दुनियाले देखोस
यो संसारले चाल पाओस अवश्य अब
आऊ मन्दिर नजिकै आऊ म तिमीलाई आज
तिम्रो त्यो निधारमा
विजयका फूलमाला टीकाहरू लगाइदिन्छु

कछुवाखास ! को।थियौ ! त ! तिमी
कहाँ थियो ! तिम्रो घर
हतास हतास खोलानाला बगरबाट आयौ
कि सागरबाट
पातालबाट हो
या आकाशबाट …
अब, कहाँ जान्छौ तिमी
एक्लै एक्लै एकनासले हिडेर
कहाँसम्मको हो सफर
किन हिडिरहन्छौ दौडिरहन्छौ निरन्तर
पत्थरमा पनि … ?
पृथ्वीमा पनि …
जलमा पनि …
समथलमा पनि …

एक अमर आयु लिएर
जिन्दगीभर आफैमा आफ्नै घरबार बोकेर
सधा झै सधैं सधैं सिङ्गो दरबारै बोकेर
आफैलाई आजाद सम्झिएर हिडिरहेका
ए कछुवाहरू हो !

तिमीहरू त ठ्याक्कै मलाई
कसैका बुढाबुढी बुवा आमाहरू जस्तै लाग्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *