Skip to content

क्षितिज पृथ्वी अनि आकाश (देश देखेको रचना)


हरेक रात हाम्रो पृथ्वी निदाएपछि
धुवाको मुस्लोहरुको पर्दा पछाडि लुकेर
हरेक रात उसको दासले
अलिकति पर सार्दिन्छ आकाशमा क्षितिज

जब,
बिहान म ब्यूँझिन्छु र हेर्छु
हरेक दिन देख्छु मेरो क्षितिजवारिको बादल फाटिरहन्छ
कुनै नदीकिनारले खोला धारको माटो
या प्रलय पहिरोले बाटो काटे झै काटिरहन्छ
हेरेक दिन मेरो उचाइ र आयतन घटिरहन्छ
मेरो पृथ्वीको घनत्व घटिरहेकै हुन्छ

ओहो! के भएको हो यस्तो मलाई ?
जहाँ, मलाई म भएकै अनुभव भएकै छैन
भनिदेऊ, मलाई के भएको हो मलाई
यो के हुन लागेछ यो मेरो शान्त धर्तीलाई

मेरो प्रिय पृथ्वीलाई
म कहाँ छु प्रभु परमेश्वर
कहाँ छु ईश्वर म अहिले
मेरो आवाज ! मेरो बोली किन निस्किदैन बाहिर
म मरिसके कि जीवितै छु
यो बिपना हो
या सपना
यदि म बाँचेकै हु भने
यसैलाई लिपुलेक
र कालापानी सम्झिएर
मलाई अहिले यही जमिनमै गाडीदेऊ !
यदि म मरेको हु भने
मेरो आकाशमै समाधि बनाइदेऊ
आज के हुन लागिरहेछ त्यो तपाईङ्को स्वप्न आकाशमा
इन्द्रराज
के भैरहेछ यो ब्रह्माण्डमा ?
किन कोही पनि बोल्दैन
किन सबै मौन छन् पृथ्वीका यी मान्छेहरू
खै कहाँ गए ती स्वार्थी रछ्यकहरू
खै कहाँ छन्
ती दूरदर्शी दर्शकहरू ?

नत्र भने यो के भएको हो भगवान ?
हामी नै आकाश आएको हो कि
हाम्रो जग्गा जमिन नै अर्को ग्रहमा गएको हो ?
या, हाम्रो पृथ्वी नै अहिले आकाश भएको हो ?

के हो यो अन्धकार जस्तो मेरा यी आँखाहरुमा ?

खै कहाँ छ अहिले हाम्रो त्यो क्षितिज
तिमी हामी बीचको त्यो सम्बन्ध ?

तिम्रो बिसाल आकाशको छातीमा
किन धुमिल हुँदै गैरहेछ
हाम्रो जमिनको धुलो दिनहुँ धमिलो
किन तिम्रो आकाशको भयङ्गकर शरीरले कुल्चिएर
दिनहुँ तिर्मिर तिरमिर भैरहेछ मेरो माटो
किन हामी निदाएपछि मात्र दिनहुँ दबाइरहन्छौ हामीहरुलाई ?
किन अन्धकारमा कुवाको पानी जस्तै गरेर सुकाएर
धुवाँ र बाफ झै माथिमाथि गुरुत्वाकर्षण गरिरहन्छौ, तानिरहन्छौ हामीहरुलाई ?
जाऊ ! तिम्रा ती तेज प्रकाशहरू !
लैजाऊ तिम्रो बादल पछाडि आकाशका ती सबै सिपाहीहरू
हामीलाई यहाँभन्दा धेरै गुलाम नबनाउ
हामीलाई बेकाम नबनाउ
हेर हाम्रो शिरको टोपी खोसेर हामीलाई अपमान नगर
हाम्रो सगरमाथाको उचाइ काटेर आफ्नो नक्कली उचाइ नबनाउ
हाम्रो पहिचान पुरेर यहाँभन्दा हद अब हामीलाई हत्तास नबनाउ
तिमी दिनहुँ मेरो दूध चोरेर मोटाइरहेकी मेरी छिमेकी ठाइआमा
वा हिस्टपुस्ट बोक्सी आइमाई झै
म दिनहुँ दुब्लाइरहेछु कुनै टुहुरो बचेरो झै
यहाँभन्दा अब कति खान्छौ मेरो दूध लुकीछिपी
अब भन कैलेसम्म चाहन्छौ ?
तिमीले त पैले नै दुइतिहाइ दूध खाइसकेकी छौ हैन र ?
चोरिचोरी,
भन अब अँझै कति खान्छ्यौ मेरो भागको दूधहरू ?

हामीलाई सर्पको निर्जीव जहरहिन थोत्ते बच्चो नसम्झ ।
हामीलाई अमर सिङ्ग र टाइगरको लङ्गडो डमरु र शिशुहरू नसम्झ
हामीलाई बादरको झुर पुच्छर नसम्झ, हामीहरुलाई काएर कुकुरहरू नसम्झ,
सायद, तिमीले बिर्सियौ कि क्याओ!
तिमीसँग केवल बादल छोप्ने कमाण्डरहरू होलान
हामीले हङ्गकङ्ग सिङ्गापुर बेलायत विश्व ब्रह्माण्डसम्म फैलिने गरी
वीर गोर्खालीहरू पालेका छौ
इतिहासमा पुर्खाहरुले जन्माएका ती बहादुरहरू
अँझै आज जीवित छन् याद रहोस
अहिले तिम्रै आकाशको वायुलहरमा पनि
मेरो जमिनमै जन्मिएका सेनाहरू
तिम्रो देशको झण्डाहरू लिएर
तिमीलाई हरप्रहर बिपतहरुबाट बचाइरहेछन्
तिमीले बिर्सियौ सायद
जामु कस्मिरमा बसेर
हिमाल पहराको भिरमा उभिएर
भुलेऊ सायद आफ्नै स्वाभिमान !
या,
पाकिस्तानको पड्काइ ! मुसलमानको चुटाइ!
बन्दुकको बिस्फोट ! बमको छररा
अनि सिलिण्डरका आवाजहरू
देश दिल्ली प्रस्थान हुन नदिने त्यो निर्भिक कमाण्डर कस्को हो ?
तिम्रो हिन्दूस्तानको मन्दिरमा प्रवेश निषेध गर्ने
त्यो शैनिक कस्को हो ?
भो!
नबोलाउ!
नउठाउ !
चाहिदैन तिम्रो चाहे चन्दधरातल होस
या,
मेघालय
बिन्ती बरु मलाई भुइमै छाडिदेऊ
बिन्ती तिम्रो आकाशबाट आजादि देऊ
बिन्ती हामीलाई बरु भुइमै ओरालिदेऊ
हामीलाई जिन्दगीभरका लागि तल उतारिदेऊ
हामो क्षितिज नछेक्देऊ
हामीलाई हाम्रो लिपुलेक देऊ
हामीलाई हाम्रो जमिन देऊ
किनकि,
हामी हाम्रो जन्मभूमि !
हाम्रै मातृभूमि !
नेपालको माटोमै मर्न चाहन्छौ !

सायद,
अवसर हुनसक्छ यो आज
सायद,
रहरहरू हुनसक्छ त्यो आज
कि ईश्वरको अदालतमा आज तिमी नठाटिकन
भारत माताको कसम खाएर भन ?
खै कहाँ छ अहिले मेरो मातृभूमिको माटो ?
खै कहाँ पुर्यायौ समचार जस्तै गरेर हाम्रो क्षितिज कुनै गुप्तचर झै ?
किन पर सार्यौ पिल्लरहरू
किन बिगार्यौ
तिमी हामी बीचको त्यो सदियौ देखिको सम्बन्ध!
किन भत्कायौ
दोभानमा गाडीएका बलिया बोर्डरहरु… ? !

हामीलाई अहिले सिर्फ हाम्रो जमिन टेक्ने अधिकार देऊ
हामीलाई हाम्रो प्राण प्यारो पृथ्वीमै छाडिदेऊ
किनकि त्यो पृथ्वी,
हाम्रो घर
एक स्वतन्त्र शान्त र सुन्दर
अनि आजाद देश हो हाम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *