Skip to content

नारायणगोपालअघि र नारायणगोपालपछि


नेपाली सङ्गीतको इतिहास लेखिँदा बिफोर नारायणगोपाल र आफ्टर नारायणगोपाल भनेर नै लेखिनेछ, यसमा विवाद नरहला।

नारायणगोपालले गोपाल योञ्जन र नगेन्द्र थापासित मिलेर आफ्नो गायनको विशेष यात्रा सुरु गर्दा उनका यसअघिका ६ गीतका इतिहासले एउटा अद्वितीय पाना ओगटिसकेको थियो।

हिन्दी गीत भर्सेज् एन गोपाल
किलागल बस्ने नारायणगोपाल गुरुवाचार्य र कमलपोखरी बस्ने रत्नशमशेर थापालाई जोड्ने श्रेय त्यति वेलाको त्रिचन्द्र कलेजलाई जान्छ। रत्नशमशेर थापासित भेट्नुअघि नारायणगोपालले प्रेमध्वज प्रधान र माणिकरत्न स्थापितको संयुक्त सङ्गीतमा गीतकार राममान श्रेष्ठको शब्दमा ‘जीवन पङ्खका स्वाद लिएर उडे’ बोलको गीत रेडियो नेपालमा गाइसकेका थिए, स्वर परीक्षामा।

शाही शासनकालको रेडियो नेपालमा हिन्दी गीत गाएर स्वर परीक्षा दिने परम्परा तोड्ने पहिलो गायक नै सम्भवतः नारायणगोपाल थिए। त्यसो त नारायणगोपालको प्राथमिक गायन वा अभ्यासी शैलीका गीतमा हिन्दी गीत नै विशेष थिए, विजय भट्ट निर्देशित बैजु बावरा काठमाण्डौंको जय नेपाल चित्रघरमा प्रदर्शित हुँदा नारायणगोपाल हल बाहिर भीड जम्मा गरेर गाउन पुग्थे भन्ने उनका कान्छा भाइ लक्ष्मणगोपाल गुरुवाचार्यलाई सम्झना छ।

नारायणगोपालका घनिष्ठ मित्र थिए, भक्तपुरका गायक सङ्गीतकार अभिनेता नगेन्द्र हाडा। भक्तपुरको प्रसिद्ध सिनेमा हल नवदुर्गाका साहु दैवज्ञरत्न हाडाका छोरा नगेन्द्रलाई नारायणगोपाल नाति भनेर बोलाउँथे। हाडाले पनि नारायणगोपाललाई सानुबाबु भन्थे। दुवैको मातृभाषा नेवारी थियो र यी दुई नेवारीमाभन्दा बढी हिन्दीमै कुरा गर्थे।

नातिको घरमा नारायणगोपालले कैँयौपटक हिन्दी गीत गाएका छन्, विशेषतः बलिउड गायक मोहम्मद रफीका फिल्मी गीतमा उनी खुब जम्थे। नातिकै घरमा नारायणगोपालको हिन्दी गीत सुनेका र आफूले पनि नारायणगोपाललाई अङ्ग्रेजी गीत सुनाएका नेपालका प्रथम रक गायक मुकुन्द के खड्का भन्छन्, ‘उहाँले रफीको साथी ना कोही मञ्जिल र तलत महमुदको आँसु समझ के क्योँ मुझे’ बोलको गीत गाउँदा नगेन्द्रदाइको घरको दलिन हल्लिए जस्तो महसुस भएको थियो। त्यो आज पनि मलाई याद छ। मैले उहाँलाई इँग्लिस गीत एल्भिस प्रेस्लेको ‘हेल्प मी मेक इट थ्रु द नाइट’ सुनाएपछि उहाँले नगेन्द्रजीतिर हेरेर ‘ए नाति भाइलाई हाइँ’ भन्नुभयो। मैले बुझिनँ। पछि हाडाजीलेभन्दा त्यो त उहाँले प्रशंसा गरेको हो, मुकुन्दजी।’

मुकुन्दका अनुसार नारायणगोपाल र नगेन्द्रका बीच यस्तो घनिष्ठता थियो, तर दुवैले दुवैको गीत कहिल्यै गाएनन्, न त मागे। यो थियो, एन गोपालको क्वालिटी। नारायणगोपाल सुरुवातमा एन गोपालको नामबाटै रेडियोमा प्रवेश गरेका थिए, पछि पोखराबाट सरोजगोपाल नामका गायक आएपछि उनले आफ्नो नाम नारायणगोपालकै रूपमा दर्ता गरे, तर त्रिचन्द्र कलेजको झिगु सः नामक कार्यक्रममा उनको नाम एन गोपाल लेखिएको थियो।
त्रिचन्द्र कलेजबाट निस्केपछि नारायणगोपालले तबलावादका साथै गायनमा आफ्नो अधिपत्य जमाए।

सम्पादक नारायणगोपाल
आफ्नै सङ्गीतमा रत्नशमशेर थापाका पुगनपुग आठवटा रेकर्ड र अन्य रेकर्ड हुन नपाएका गीतपछि नारायणगोपालको अर्को इनिङ गोपाल योञ्जनसित सुरु भयो। गोपाल योञ्जनसित सन् १९६५ मार्च २१का दिन भारतको दार्जिलिङमा कवि गीतकार ईश्वर वल्लभले मित लगाइदिएपछि मितेरी सङ्गीतको युग सुरु भयो।
मितेरी सङ्गीतको त्यो सालीन युगमा नारायण र गोपालसित नगेन्द्र थापा पनि जोडिए।

नगेन्द्र थापाका मस्ट रोम्याण्टिक गीत ‘सँगाल घुम्टोहरू, बिर्सेर फेरि मलाई नहेर’ जस्ता गीत गाए पनि नारायणगोपालले आफू हिँडेर आएको बाटो फर्केर हेर्नुपरेन।

उनी त्यतिवेला भारतको बरोडास्थित महाराज सर्वेजय सङ्गीत महाविद्यालयमा शास्त्रीय सङ्गीत पढ्दै थिए। यहीँ हुँदा उनले नगेन्द्र थापाकै शब्द, गोपाल योञ्जनको सङ्गीतमा ‘चिनारी हाम्रो धेरै पुरानो’ गाए।
यो गीतपछि उनको दार्जिलिङसित वैवाहिक सम्बन्ध जोडियो।
नारायणगोपाल यसपछि नेपालको जस्तै भारतको दार्जिलिङका पनि प्रिय गायक भए।

लोकप्रियताको प्रथम चरणमा हुँदै उनले शास्त्रीय सङ्गीतको अध्ययन त्यागिदिए। उनले शास्त्रीय सङ्गीतको विशाल राजमार्गमा हराउनुभन्दा नेपाली सुगम सङ्गीतमा नयाँ राजमार्ग बनाउने सोच बनाए, यसमा गोपाल, नगेन्द्र उनका साथ थिए। यही वेला नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र मिलेर बाजा, गीत र नाचको त्रैमासिक पत्रिका बागिना निकाले। नगेन्द्रको पैसा, गोपालको व्यवस्थापन र नारायणको सम्पादनमा प्रकाशित बागिना नेपालको तेस्रो सङ्गीत प्रधान पत्रिका थियो, हिमाली कलाकार र सङ्गीत सरितापछि।

नारायणगोपाल यहाँसम्म आइपुग्दा नेपाली गीतको आधुनिकतामा बच्चु कैलाश बस्न्यात, प्रेमध्वज प्रधान, माणिकरत्नले बनाएको गायनको मधुर युग अकासिएको थियो।

नारायणगोपालको स्वरारोहणमा स्वरिता मात्र थिएन, शब्दको त्वरित भावन अनि समकालिकताको उच्छ्वास प्रशस्ति थियो। उनी दोयम टाइपका गायक थिएनन्, अब्बल श्रेणीका थिए।

पिताको इच्छाविरुद्ध सुगम सङ्गीतमा लागेदेखि नै उनलाई आधुनिक गीति गायनमा पनि प्राज्ञिक चेतना ल्याउन सकिन्छ भन्ने सोचको बलियो धार बन्दै गयो। उनले कवि ईश्वरवल्लभ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशी, नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठका गीतमा हाइजम्प मार्न थालिसकेका थिए।

यही समय बागिनापछि नागोन (नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापा)ले अर्को छलाङ लगाए, मितज्यू नाइट।
मितज्यू नाइट २०२६ भाद्र ५, ६ र ७ गते काठमाण्डौंको महेन्द्र पुलिस क्लबमा सम्पन्न भएको थियो। यो म्युजिकल स्वाइरीमा नारायण र गोपाल मञ्चमा गायनमा थिए भने नगेन्द्र कार्यक्रम उद्घोषकका रूपमा। सहयोगी कलाकारमा कमला श्रेष्ठ, राजपाल थापा र ध्रुव हाडा पनि समाहित थिए।

मितज्यू नाइटको समीक्षात्मक टिप्पणीमा साहित्यकार पारिजातले नारायणगोपालको धज्जी उडाइन्। गोरखापत्रमा छापिएको सो समीक्षा पढेपछि नारायणगोपाल पनि तत्कालै प्रतिकारमा उत्रिए।

नारायणगोपालले आफूले साहित्यकारसित खुलेआम आफूलाई जोडेको र तोडेको यही वेला हो। २०२६ को यो घटनापछि नारायणगोपाल कैयौँ वर्ष मञ्चमा देखिएनन्। त्यसको दश वर्षपछि उनी सिटी सुसेलीमा सभागृहमा देखिए, जुन कार्यक्रममा हुटिङका कारण गीत नगाई उनी मञ्चबाट ओझेल परेका थिए।

म्युजिक ह्याण्ड एण्ड नारायणगोपाल
नारायणगोपालले आफ्नो गीत रेकर्डिङ गर्दा सदैव देख्ने एउटा समस्या हो, वाद्यवृन्दको। जसलाई उनी म्युजिकल ह्याण्ड्स् भन्थे।

आफ्नो पहिलो निजी अल्बम गीति यात्रा रेकर्ड गर्दा उनले पश्चिम बङ्गालको दार्जिलिङबाट कार्निभल समूहको वाद्यवादक नेपाल झिकाएका थिए, जसरी सङ्गीतकार अम्बर गुरुङले कहिले लहर कहिले तरङ्ग रेकर्ड गर्दा उतैबाट वाद्यवादक झिकाएका थिए, त्यसमध्ये धेरै अहिले यतै निर्वासित भएसके।

नारायणगोपालको जीवनको पहिलो रेकर्डिङ कोलाकातामा सम्पन्न भयो, त्यहाँ उनले व्यापक म्युजिकल ह्याण्डस् देखे, तर नेपालमा त्यसको अभाव नै महसुस गरे। उनैले पहिलोपटक चलचित्र परिवर्तनको गीत गाउन जाँदा अँझै धेरै वाद्यवादक देखे, उनी ताज्जुब भए, त्यस समयदेखि उनले नेपालमा सङ्गीत विद्यालय हुनुपर्छ र वाद्यवादकको समूह खोलिनुपर्छ भनेर सपना देखे।

नारायणगोापाल हिँडेको बाटोमा म्युजिक स्कुल वा म्युजिकल ह्याण्डस्को अर्गनाइजेसन एउटा प्रमुख एजेण्डा थियो, उनले गीत गङ्गा त्यतिवेला सोचेका थिए, आज बल्ल त्यसको खाका कोरिँदै छ।

गीत रेकर्डिङमा अत्यावश्यक बाजा भ्वायलेन, सैक्सोफोन, क्लार्नेट, सितार, सन्तुर, एकतारे यी सबै वाद्यवृन्दमा हामी कमजोर हुनुहुँदैन भन्ने उनको ठोकुवा सदैव कायम थियो।

वाद्यवादकको अभाव महसुस गर्दागर्दै पनि उनले चलचित्रका गीत मम्बई र कलकत्तामा रेकर्ड गरे। कान्छी, परिवर्तन, मनको बाँध आदि चलचित्रको रेकर्डिङ कलकत्तामा गरे भने सिन्दुर, लाहुरे, चिनो, दक्षिणा, कोसेली आदिको भारतको मुम्बइमा गरे।

पछिल्लो समय गाएका दुई चलचित्र मायाको गीत यहीँ ललितपुरस्थित साँग अडियो स्टुडियोमा रेकर्ड गरियो भने बदलिँदो आकाशको गीत शाही नेपाल चलचित्र संस्थानको स्टुडियोमा ।

श्याम राई निर्देशित फिल्म चोट नामक फिल्मको गीत रेकर्डिङ पनि यहीँ सम्पन्न भयो।

नेपालमा उनी रेकर्डिङमा त्यति धेरै सन्तुष्ट हुन नसक्नुको कारण म्युजिकल ह्याण्डस् नै मानिन्छ। उनका धेरै गीत रेकर्डिङ गर्ने प्रदीप उपाध्याय, सुदन खत्री यही बताउँछन्।

प्रदीप उपाध्यायले माया फिल्मका उनका गीत रेकर्ड मात्र गरेनन्, त्यसलाई मास्टरिङ पनि उनैले गरेका हुन्। नारायणगोपालको पछिल्लो अल्बम गीति यात्राको संयोजन र रेकर्डिङ पनि उपाध्यायले नै गरेका हुन्।

सुदन खत्रीले रेडियो नेपालमा भएका प्रायः रेकर्डिङको टेक उनैले लिएका हुन्।

ब्ल्याकलिस्टदेखि ब्ल्युनोट्ससम्म
सिंहदरबारभित्र कैद भएको रेडियो नेपाल बिस्तारै दुई सङ्गीतकार अनि एक गायिकाको मुठीमा परेपछि नारायणगोपालले रेडियो नेपालले आयोजना गरेको एक साङ्गीतिक साँझमा खुलेर रेडियो नेपालको विरोध गरे। त्यसपछि उनी रेडियो नेपालको ब्ल्याक लिस्टमा परे, यो उनका निम्ति चुनौतीकोभन्दा चयनको नयाँ बाटो बन्न गयो।

रेडियो नेपालसितको दोस्ती दुश्मनीमा बदलिएपछि नारायणगोपालले दिव्य खालिङसितको सहकार्यमा रत्न रेकर्डिङमा चार गीत रेकर्ड गराए, ती प्रायः गीत पछि रेडियो नेपालले नै हिट बनायो।

दिव्य खालिङको ‘सधैँ नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा, विपना नभई बाँचिदिने, म त लाली गुराँस भएछु’ जस्ता गीतले उनलाई भव्य सफलता दियो। यी गीत नारायणगोपालका लागिभन्दा दिव्यका निम्ति एल दराडो (ग्रिक सभ्यताको एक मिथक) साबित भयो।

चेतन कार्कीको फिल्म विश्वासको रिहर्षलताका नारायणगोपालको गोपाल योञ्जनसित ठाकठुक परेपछि बोलचाल र मित्रतामा क्षयीकरण आइसकेको थियो। गोपाल योञ्जनपछिको दोस्रो इनिङ नारायणगोपालको दिव्य खालिङसित सुरु भयो। दिव्यसितै मिलेर पछि नारायणगोपालले रत्न रेकर्डिङको ब्ल्यु नोट्स् विद नारायणगोपाल सुरु गरे।

धेरैले नारायणगोपालको यो अल्बमलाई ब्ल्युजसँग जोडेका छन्, तर यो ब्ल्युज् अर्थात् रोइला गीत भने होइन। ब्ल्यु नोट्समा नारायणगोपालले पुनः हरिभक्त कटुवाललाई भित्र्याए। आसामका ख्यातिप्राप्त कवि कटुवालको दुई रचना नारायणगोपालले अम्बर गुरुङको सङ्गीतमा ‘मेरो यो गीतमा जो मुच्र्छना छ र पोखिएर घामको झुल्का’ गाइसकेका थिए। नारायणगोपालले राजेन्द्र थापाको शब्दमा अम्बर गुरुङको सङ्गीतमा ‘पोहोर साल खुसी फाट्यो’ गाउने तयारी गर्दागर्दै यी दुईको बीच पनि द्वन्द्व सुरु भयो, यो गीत अञ्जु सिंह मोथेले गाउने तयारी भयो। तर, रेकर्डिङको दिनमा यो गीत अरुणा लामाले गाउँदै थिइन्।

रत्न रेकर्डिङ, दिव्य खालिङपछि नारायणगोपालले आगामी पुस्ताका निम्ति ढोका खोले।

दिव्यपछि उनले दीपक जङ्गम, शुभ–शम्भुजित, चन्दन लम्जेल, भूपेन्द्र रायमाझी, द्वारिकालाल जोशी, रञ्जित गजमेर, मधु क्षेत्री आदिको निम्ति बाटो खोलिदिए। यसमध्ये द्वारिकालाल जोशीको एक नेवारी गीत ‘जीवनय् छक जिँ मतिना’ चैँ रेकर्ड हुन पाएन।

नारायणगोपालको मातृभाषा नेवारी भए पनि उनले नेवारीमा गिरिजाप्रसाद जोशी र दुर्गालाल श्रेष्ठका चार गीत गाएका छन्, जसको प्रामाणिक रेकर्डिङ हुन पाएन।

सांस्कृतिक संस्थानका एक्ला जिएम
एक फरक प्रसङ्गमा हेर्दा नारायणगोपाल के हुन सक्छन् ? उनको आफ्नै भाषामाभन्दा उनी गायक नभइदिएको भए इतिहासको प्राध्यापक हुन्थे। तर भएनन्। कुश्तीबाजी, चेस अनि फुटबलमा रुचि भएका नारायणगोपाल तबलावादकका रूपमा सांस्कृतिक संस्थान प्रवेश गरेर त्यहीँका हाकिम भए। ‘घ’ श्रेणीको संस्थानमा उनी घमण्डी जिएमका रूपमा चिनिए। तत्कालीन मन्त्री केबी शाहीले गीतकार नगेन्द्र थापालाई सो पद अफर गरेपछि उनले विनासर्त नाराम्बाहेक यो पदमा अरु कोही हुन सक्दैन भने।

नारायणगोपाल सांस्कृतिक संस्थानको जिएम हुने बित्तिकै उनका साथीभाइ उनीबाट दूर भए।

उनी संस्थानको जिएम भएकै समय दशैङ्को मुखमा ४० जना कलाकारको अस्थायी जागिर गयो, त्यसमध्ये उनकै साथी माणिकरत्न पनि परे। हाँस्यकलाकार हरिवंश आचार्य, श्रीधर थापा, तारादेवी त्यही समयका विरोधी भए।

कलाकार हिमालय लोहनीले यस कदमको विरोध गर्दै पम्पलेटिङसम्म गरे।

यी सबै घटनाका बाबजुद पनि नारायणगोपालले आफू महाप्रबन्धक हुँदा सांस्कृतिक संस्थानबाट गीति नाटक मुनामदन सफलतापूर्वक मञ्चन गरे। निर्देशक हरिप्रसाद रिमालको निर्देशनमा ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘कुहिरोभित्र अल्मलिँदा’ जस्ता सफल र व्यावसायिक नाटक मञ्चन गरेर आर्थिक लाभ गरे र संस्थानका निम्ति पहिलो गाडी किने।

उनी महाप्रबन्धक हुँदा सांस्कृतिक संस्थान एउटा राद्येभ्यूँ (जमघट गर्ने थलो) थियो, कलाकारहरूको, साहित्यकार, चित्रकारको भेटघाट थलो। नारायणगोपाल महाप्रबन्धक भएको समयमै उनले कवि वासु शशिको नाटक ‘सबथोक गर्नुपर्छ’, ‘अनि देउराली रुन्छ’बाट ख्याति कमाएका मनबहादुर मुखियालाई पुनरागमन गराए, क्रसमा टाँगिएको जिन्दगीमार्फत।

उनकै महाप्रबन्धकत्वकालमा भारतको दार्जिलिङमा चल्दै गरेको भाषा आन्दोलन विषयक नाटक ‘हाँस्दै जल्नुपर्छ’ उनले मञ्चन गरेर आलोचना खाए।

इण्डनोट
पङ्क्तिकारको नारायणगोपालसित पहिलो भेट पनि सांस्कृतिक संस्थानका महाप्रबन्धकै रूपमा भएको हो। एक कलाकारका रूपमा सांस्कृतिक संस्थानमा अन्तर्वार्ता दिन जाँदा मैले उनलाई शिक्षा संस्कृति मन्त्रालयका सहसचिव रमेशजङ्ग थापा, रङ्गमञ्च निर्देशक प्रचण्ड मल्लका साथ अन्तर्वार्ताकर्ताका रूपमा भेटेको थिएँ। त्यो भेटपछि गीत–सङ्गीतको चासोका कारण अलिअलि घनिष्ठ र बलिष्ठ हुँदै गयो।

ठमेलको नरसिंह चोकदेखि सानेपाको किरण भवन। अनि कालिमाटीको साल्ट ट्रेडिङ पछाडिको दिव्य खालिङको डेरा हाम्रा प्रमुख भेटघाट स्थल भए।

केही समय हामी त्यौडको गोपालदाइको रेस्त्राँमा पनि भेटियौँ।
केही समय भोटाहिटीको हरिचाको भट्टीमा पनि।

एक दिन स्वयं नारायणगोपाल मेरो घरको पुरानो गल्लीमा प्रकट भए, आफ्ना दुई मित्रका साथ रसियन जिपमा।

उनले एउटा प्रस्ताव लिएर आए, सांस्कृतिक संस्थानले दार्जिलिङबाट कलाकार बोलाएर एउटा साङ्गीतिक कार्यक्रम गर्दैछ, त्यस कार्यक्रममा दार्जिलिङका कलाकारलाई चिन्ने मान्छेले उद्घोषण गर्नुप-यो। त्यो तिमी नै हौ। चुपचाप म उनको अगाडि उभिएको थिएँ।

जीवनमा पहिलोपटक म उद्घोषकका रूपमा मञ्चमा जाँदै थिएँ, उनका अनुसार। रहरको काम थिएन त्यो। तर बाध्यता मेरा निम्ति एउटा अवसर पनि बन्यो।

२०३९ पुस २७ गते हुने सो कार्यक्रमको नाम थियो– स्मृतिका कोसेली हाम्रा गीतहरू। उद्घोषणमा मेरा साथ पहिलो नेपाली सिने नायिका भूवन चन्द थापा हुनुहुन्थ्यो, हामी दुवै मञ्चमा उत्रियौँ, ब्याक स्टेजबाट। हाम्रा साथमा सङ्गीतकार कर्म योञ्जन, गायिका अरुणा लामा, कुन्ति सुन्दास, रिमला मोक्तान, डेजी बराइली, नन्दा सुब्बा गायकमा पेमा लामा, शङ्कर गुरुङ आदि थिए। कार्यक्रम निकै दिन चल्यो, करिब नौ दिन।

नारायणगोपालले कुनै दिन गीत गाएनन्, कार्यक्रम सकेको अन्तिम दिन सबै कलाकारको अनुरोधमा उनले एक गीत सुनाए र थङ्काए हार्मोनियम। यो मेरा निम्ति यादगार क्षण थियो, दार्जिलिङका कलाकारसित निकट हुने।

कार्यक्रममा जसरी नारायणगोपालले मलाई अप्रत्याशित रूपमा उद्घोषको पगरी लगाइदिए, त्यो अनौठो कुरा थियो मेरा निम्ति। तर, त्योभन्दा अनौठो कुरा मेरा निम्ति अर्को भयो, सो कार्यक्रम सञ्चालन गरेबापत प्रति सो पाँच सय रुपैयाँ दिने निर्णय पनि नारायणगोपालले नै गरेका थिए। त्यतिबेला रेडियो नेपालमा गीत गाएबापत गायकले तीन सय रुपैयाँ पाउँथे। रेडियो नेपालले ‘क’ श्रेणीका कलाकारलाई प्रतिमीनेट बोलेको ५२ रुपैयाँ दिन्थ्यो।

म पर डे फाइभ हण्ड्रेडमा मञ्चमा बोल्दै थिएँ।

पर डे फाइभ हण्ड्रेडको त्यो कार्यक्रमपछि म फेरि नारायणगोपालको पछि कहिले सिर्जना आर्ट ग्यालरी, कहिले न्युरोको सन्देश गृह, कहिले न्युरोडको ब्याङ्ग्लोर कफी हाउस, कहिले भोटाहिटीको हरिचाको पसल हुँदै थिएँ।

यसपछि आयो, २०४४मा सिलिगुडी र डुवर्समा हुने नारायणगोपालको एकल साँझ, जहाँ म उद्घोषक र उनी गायक हुने कुरा निश्चित थियो, तर कारणवश म भइनँ।

नारायणगोपाल भारतको सिलिगुडीमा एकल साँझ सकेर काठमाण्डौं आइपुगे, एक असफल कार्यक्रमको रिपोर्ट लिएर।

यसपछि नारायणोपाललाई देशान्तर साप्ताहिकमा शिव अधिकारीले भने– भन्न हुने भए म यिनलाई स्वरसम्राट भनिदिन्थेँ।

यो त्यतिवेलाको समय हो, जुन वेला समीक्षा साप्ताहिकमा मदनमणि दीक्षितको ‘मेरो देश मेरो संसार’ र देशान्तरमा शिव अधिकारीको रचना विधा खुब पढिन्थ्यो।

नातिकाजी श्रेष्ठको सङ्गीतमा योगेश वैद्यले गाएको गीत ‘सपना भुलाई सारा’ गीतमार्फत लोकप्रिय भइसकेका गीतकार शिव अधिकारी नारायणगोपालले एउटा गीत गाइदिन्छ कि भन्ने म्याराथुनमा थिए, तर त्यो कामयाब नहुँदै नारायणगोपालको गीतियात्रा बजारमा आयो। नारायणगोपाल म्युजिक नेपालमार्फत सर्वत्र भए।

म उनकै पछि थिएँ, फेरि आयो, २०४६ जेठ ८ को शनिबार अर्थात् स्वर्णिम सन्ध्या। यसपालि म उद्घोषकका रूपमा होइन, उनले पिउने तीन रङ्गको पेय पदार्थका साथ उनले गाउने हलको अघिल्लो दीर्घामा थिएँ। हलमा बाँकी ११४१ जनामा मेरा साथ श्रीमती नारायणगोपाल अर्थात् पेमाला भाउज्यू।

नारायणगोपालले ६० हजार रुपैयाँ लिएर बाह्रवटा गीत गाएको कार्यक्रम।

भोलिपल्ट नारायणगोपाल पुनः खालि हल हेर्न आए, रेकर्डिस्ट यादव खरेल र म गफ गर्दै थियौँ, उनी पसे। हिजो जमेको हल आज सुनसान थियो।

नारायणगोपालले खालि हलतिर हेरेर भने यादे हिजो हल भरिएको थियो नि है ?

‘थियो दाइ,’ उनीभन्दा अग्ला यादव बोले।

मलाई अँगालेर नारायणगोपालले भने, ‘कस्तो भयो प्रोग्राम ?’
यादवजी र म चुप थियौँ।

उनले भने, ‘६० हजारमा त्योभन्दा राम्रो के गाउनु होइन यादे ?’
नारायणगोपाल चप्पल मात्र लगाएको खुट्टाले मोटरसाइकल स्टार्ट गरेर गए। त्यो अन्तिम वार्ता थियो।

२०४७ मंसिर २० को दिन यो उनको अन्तिम यात्रा भयो, हामी सबै नारायणगोपालको पछि थियौँ। यसपालि नारायणगोपालको स्वरमा क्यासेट बजिरहेको थिए। म भीडमा सबभन्दा पछाडि थिएँ, झञ्झन् पछाडि।

०००

श्रोत – https://nagariknews.nagariknetwork.com/news/107491/

Leave a Reply

Your email address will not be published. Required fields are marked *