Skip to content

हरिण मामा र सारौँ भाञ्जी


सारौँ :
हरिण मामा, हरिण मामा कता जाने हो ?
मलाई शिरमा बोकी बोकीसँगै लाने हो ?

हरिण :
जान हुन्थ्यो भाञ्जी तर नलगाऊ कर
टाउकोबाट भुइँमा तिमी खस्छ्यौ भन्ने डर

सारौँ :
आफ्नै सुरमा कुद्नुस् मामा मुन्टो ठड्याई
खस्दिनँ म जोडले बस्छु पञ्जा अड्याई

हरिण :
सारौँ भाञ्जी आकाशमा उड्न सक्दछ्यौ
मभन्दा नि तिमी छिटो पुग्न सक्दछ्यौ

सारौँ :
हजुर पनि कम हुनून्न छिटो कुद्नून्छ
उस्तै परे कुद्दा कुद्दा आफै उड्नून्छ

हरिण :
भाञ्जी हेर्दा सानी तर कति जानेकी
आफूलाई किन त्यस्तो कम्ती ठानेकी ?

सारौँ :
हेर्छु आज हजुर बस्ने सहर कस्तो छ
मामासँगै जाने मलाइरहर कस्तो छ

हरिण :
मलाई अलि जरुरी छ कुरो बुझ्या खै ?
तिमी उड्दै गर है, आउँछु म नि त्यैँ

सारौँ :
जान दिन्नँ बस्छु बरु बाटो छेकेर
घुम्न मन छ हजुरको शिरमा टेकेर

हरिण :
किन भाञ्जी तिमीलाई पार्नु पिरैमा
त्यसो भए आऊ बस मेरो शिरैमा !

– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *